क्यालिफोर्नियामा वर्षा र आँधी जारी, जनजिवन प्रभावित
अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यमा केही दिनदेखि आँधी र हिमपात जारी रहेको बताइएको छ । सोमबार पनि यहाँ थप वर्षा र हिमपात भएको छ । सो हिमपातका कारण यहाँका लाखौँ नागरिक प्रभावित भएका छन् । क्यालिफोर्नियामा आँधीले ठूलो जनधनको क्षति गरेको छ । बाढीका कारण यहाँका धेरै घर भत्किएका यहाँका विपद् व्यवस्थापन अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार यस प्राकृतिक प्रकोपमा हालसम्म १९ जनाको ज्यान गएको छ भने धेरै मानिस घरबारविहीन भएका छन् । स्थानीय प्रशासनले उद्धारका लागि अभियान चलाएको छ तर निरन्तरको आँधीका कारण नागरिकहरुको उद्धार हुन सकिरहेको छैन । यहाँको राष्ट्रिय मौसम सेवाले आगामी दिनमा क्यालिफोर्निया र प्यासिफिक उत्तरपश्चिमी क्षेत्रमा थप आँधी आउन सक्ने र यसबाट ठूलो विनाश निम्त्याउन सक्ने अनुमान पनि गरेको छ । यहाँको स्थानीय सलिनास नदीमा पानीको सतह खतराको तहमा पुगेको बताइएको छ । नदीमा देखिएको खतरापछि यहाँका उद्धारकर्मीहरुले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।क्यालिफोर्नियाका स्थानीय सञ्चारमाध्यमका अनुसार क्यालिफोर्नियामा आएको बाढीले गत हप्तामा मात्र दुई लाख भन्दा बढी घर र व्यवसायहरूले बिजुली कटौतीको सामना गरेका छन् । यहाँ हप्ता दिनभन्दा लामो समयदेखि नै निरन्तरको वर्षाका कारण बाढी र पहिरो समेत आएको छ । यसका कारण यहाँका नागरिकले आधारभूत आवश्यकताको पनि जोहो गर्न नसकेको बताइएको छ । अधिकारीहरुले खराब मौसमका कारण बाढी र पहिरोको पनि समस्या देखिएको बताएका छन् । जसका कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । यहाँका खेती लगाइएका खेतहरु तथा सडकहरू पनि डुबानमा परेका छन् । राससख
भारतमा एक प्रतिशत धनीसँग ४० प्रतिशत सम्पत्ति, ५० प्रतिशत बासिन्दासँग तीन प्रतिशत मात्रै
एजेन्सी । भारतमा १ प्रतिशत धनी मानिसहरु कुल सम्पत्तिको ४० प्रतिशतको मालिक बनेका छन् । अक्सफार्मले हालै सार्वजनिक गरेको प्रतिवेदनले भारतका ५० प्रतिशत बासिन्दासँग ३ प्रतिशत मात्रै सम्पत्ति रहेको खुलासा गरेको छ । भारतका धनी व्यक्तिहरुको सम्पत्तिमा २ प्रतिशत ट्याक्स लगाउने हो भने ३ वर्षसम्म कुपषित मानिसहरुको लागि ४० हजार चार सय २३ करोड भारु रकम प्राप्त हुनसक्ने अक्सफार्मले जनाएको छ । त्यस्तै, भारतका १० जना धनी व्यक्तिहरुको सम्पत्तिमा एकपटक पाँच प्रतिशत कर लगााउने हो भने एकसय ३७ लाख करोड भारतीय रुपैयाँ जुट्न सक्छ, जुन सन् २०२३ को हेल्थ एण्ड फैमिली वेलफेयर मिनिस्ट्री अथवा आयुष मन्त्रालयको अनुमानित फण्ड भन्दा १.५ गुणा बढी हो । अक्सफार्मले बताएअनुसार कोरोना महामारीको समयमा भारतका अरबपतिहरुको सम्पत्तिमा १२१ प्रतिशतले वृद्धि भएको छ । महामारी शुरु भएपछि २०२२ नोभेम्बर सम्ममा अरबपतिहरुको सम्पत्तिमा १२१ प्रतिशतले वृद्धि भएको थियो । भारतमा सन् २०२२ मा अरबपतिहरुको संख्या वृद्धि भएर १६६ पुगेको छ, जुन सन् २०२० सम्ममा १०२ मात्रै थियो । भारतका सबैभन्दा धनी १०० जना व्यक्तिको स्वामित्वमा अहिले ६६० अर्ब डलर सम्पत्ति पुगेको छ । रिपोर्टकाअनुसार भारतमा अधिक सम्पत्ति सिमित धनीहरुका हातमा भएपनि धेरै कर भने गरिवहरुले बुझाउने गर्दछन् । भारतको प्रणालीले दलित, आदिवासी, मुस्लिम, महिला र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई नै पिडित बनाएको अक्सफार्मका सिइओ अमिताभ बेहरले बताएका छन् ।
पेरुमा आपतकालको घोषणा
एजेन्सी । पेरुको सरकारले हालैका हप्ताहरूमा कम्तीमा ४२ जनाको ज्यान लिने राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शनका कारण राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा आपतकालिन अवस्थाको घोषणा गरेको छ । तीस दिनको लागि लागू हुने गरी सेनालाई व्यवस्था कायम राख्न हस्तक्षेप गर्न अधिकार दिइएको छ । आन्दोलन र भेलाको स्वतन्त्रता जस्ता धेरै संवैधानिक अधिकारहरू निलम्बन गरेको प्रकाशित एक आदेश जनाइएको छ । अपदस्थ राष्ट्रपति पेड्रो कास्टिलोका समर्थकहरुले डिसेम्बरदेखि दक्षिण अमेरिकी देशभर सडकमा ¥याली र नाकाबन्दी गरेका छन्, नयाँ चुनाव र बोलुआर्टेलाई हटाउन माग गर्दै आन्दोलन जारी राखेका छन् । ‘मेरो प्रतिबद्धता पेरूसँग छ’ शुक्रबार राति उनले टेलिभिजन सम्बोधन गर्दै राजीनामा दिन अस्वीकार गरेका छन् । आपतकालिन अवस्थाले लिमा, कस्को र पुनोका क्षेत्रहरू, साथै राजधानीको छेउमा रहेको कालाओ बन्दरगाहलाई समेट्छ । पेरुमा शनिबार विरोधीहरु १०० भन्दा बढी सडक अवरोध गरेका थिए । लिमावरपर क्षेत्र मुख्यतया अशान्तिको केन्द्रबिन्दु भएको छ । दक्षिणी पेरुको प्रख्यात माचुपिचु साइटको प्रवेशद्वार कुस्कोको एयरपोर्ट, विरोध प्रदर्शनको कारण बन्द भएपछि शनिबार फेरि खुल्ला भएको छ । प्रदर्शनकारीहरूले यातायातमा पुग्ने प्रयास गरेपछि अधिकारीहरुले बिहीबार देशको दोस्रो सबैभन्दा ठूलो हवाई यातायात ह्यान्डल गर्ने एयरपोर्टमा रोकथाम उपायको रूपमा सञ्चालन निलम्बन गरेका छन् ।