दुई परियोजना कार्यान्वयन गर्न बेलायतले ११ अर्ब ७० करोड अनुदान दिने
काठमाडौं । संयुक्त अधिराज्यले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस-एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम-जिजिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउण्ड (करिब ११ अर्ब ७० करोड रुपैयाँ) अनुदान उपलब्ध गराउने भएको छ । आगामी सात वर्षसम्म दुवै परियोजना सञ्चालन हुने गरी बेलायतले उक्त अनुदान प्रदान गर्न लागेका हो । नेपालको भ्रमणमा रहेका अफ्रिकाका निम्ति बेलायतका विकास मन्त्री एन्ड्र मिचेल र अर्थमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र बेलायती दूतावासका विकास निर्देशक पिपा बर्डले हस्ताक्षर गरे । यो अनुदानमा प्राविधिक सहायता र वैदेशिक विकास सहायता पनि समावेश गरिएको छ । अर्थ मन्त्रालयका अनुसार एनआइबी कार्यक्रमबाट प्राप्त हुने अनुदान नेपालको समग्र आर्थिक विकास, गरिबी निवारण र समग्र आर्थिक समृद्धिको बाटो निर्धारणमा सहयोग गर्ने अपेक्षा गरिएको छ । यो कार्यक्रमले साना तथा मझौला उद्यमलाई सहयोग गर्नेछ । साना तथा मझौला उद्यमलाई उत्पादनमा जोड्ने र त्यस्ता व्यवसाय विकासका लागि वित्तपोषण गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी, हरित नेपाल विकास कार्यक्रमले उद्योग तथा सेवा क्षेत्रमा लगानी गर्न, जलवायु अनुकूलित पूर्वाधार निर्माण गर्न, दिगो आर्थिक नीतिलाई सुदृढ गर्न र आर्थिक सहजीकरण गरी समावेशी विकासका लागि सहयोग गर्नेछ । त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्रमा सुधार र जलवायु अनुकूल लगानी परियोजना विकासमा योगदान गर्ने बताइएको छ । त्यस अवसरमा अर्थमन्त्री महतले नेपाल-बेलायत सम्बन्धबारे चर्चा गर्दै नेपालको सामाजिक-आर्थिक विकासका प्राथमिकतालाई पूरा गर्न बेलायत सरकारले निरन्तर सहयोग गरेकमा आभार व्यक्त गरे । उनले नेपालको आर्थिक वृद्धि, दिगोपन प्रवर्द्धन, गरिबी घटाउनेलगायत महत्वपूर्ण कार्यक्रम कार्यान्वयनका निम्ति अनुदान उपयोगी हुने विश्वास व्यक्त गरे । ‘आर्थिक रुपान्तरण, जलवायु परिवर्तनका मुद्दा, सामाजिक सेवा तथा समावेशीकरणका लागि पनि अनुदानबाट सञ्चालन हुने कार्यक्रम महत्वपूर्ण छन्’, उनले भने । बेलायतीमन्त्रीले आर्थिक रुपान्तरण, जलावायु परिवर्तनका प्रभावसँग सम्बन्धित विषय, सबल सामाजिक सेवा प्रवाह, समावेशिता प्रवर्द्धनमा सहयोग र सहकार्यका प्रशस्त क्षेत्र रहेका बताए । रासस
मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपात : चिसोले ६ लाख पशु मरे
मङ्गोलिया । यस हिउँदमा, मङ्गोलियामा कीर्तिमानी हिमपात भएको छ । जुन सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले मङ्गलबार जनाएको छ। यस हिउँदमा हालसम्म औसत हिमपात ९.६ मिलिमिटर पुगेको मौसम अनुगमन निकायले जनाएको छ । मङ्गोलियाका लगभग सबै प्रान्तहरूमा बारम्बार भारी हिमपात भएको छ । बारम्बार हिमपातका कारण यस हिउँदमा चरम चिसोको अनुभव गरिएको एजेन्सीले जनाएको छ । देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकेको छ। सोमबारसम्म मङ्गोलियामा अत्यधिक चिसो मौसमका कारण हुने पशुको मृत्युको सङ्ख्या ६ लाख ६७ हजार ८४१ पुगेको छ। मङ्गोलिया संसारको नोमाडिक देशहरूको मध्ये एक हो यहाँ लगातार कडा हिमपात, धुलो, आँधीहुरी आइरहने कठोर महाद्वीपीय जलवायुले युक्त छ । रासस
अब नेपालीले सजिलै भारतीय सीम कार्ड पाउने
काठमाडौं । अब नेपालका नागरिकले सजिलै भारतीय सीम कार्ड पाउने भएका छन् । भारतले कानुन नै संशोधन गरेर नेपाली नागरिकलाई सजिलै सीम कार्ड दिने व्यवस्था गरेको हो । यससँगै अब नेपालीले देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र लगायत विभिन्न कागजातको आधारमा सीम कार्ड उपलब्ध गराउने भएको हो । पहिलो प्राविधिक कारणले पाइँदैन थियो । यसअघि पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सीम कार्ड वितरण गरिने व्यवस्था थियो । राजदुतावासले औपचारिक अनुरोध गरेको केही सातामै भारतले उक्त निर्णय गरेको नेपाली दूतावासले बताएको छ । त्यस्तै, उक्त सीम कार्ड तीन महिनाका लागि मात्र सक्रिय हुने र त्यसपछि नवीकरण गर्नुपर्ने बताइएको छ ।