२ लाखभन्दा बढी पर्यटकहरूले गरे म्यानमारका संग्राहलय भ्रमण
याङ्गुन । सन् २०२३ को अप्रिल महिनाको सुरुदेखि सन् २०२४ को फेब्रुअरीसम्म २ लाखभन्दा बढी स्वदेशी पर्यटक र ४ हजारभन्दा बढी विदेशी पर्यटकले म्यानमारका विभिन्न संग्राहलयहरूको भ्रमण गरेका छन् । पुरातत्व विभाग र राष्ट्रिय संग्राहलयका सहायक निर्देशक विन पा पा माउले सिन्ह्वालाई यसबारे जनाकारी दिएका छन्। म्यानमारमा पुरातत्व विभाग र राष्ट्रिय संग्राहलयअन्तर्गत २९ वटा राष्ट्रिय संग्राहलय छन् । सो अवधिमा संग्राहलयहरूमा पर्यटक आगमनबाट ११० मिलियन क्याट्स (लगभग ५२ हजार ३८० अमेरिकी डलर) प्राप्त भएको थियो। यी संग्राहलयहरूमध्ये म्यानमारको राष्ट्रिय संग्राहलय (याङ्गुन), म्यानमारको राष्ट्रिय संग्राहलय (नेपी ताव), बागान पुरातात्विक संग्राहलय, मण्डले सांस्कृतिक संग्राहलयले सबैभन्दा बढी पर्यटकलाई आकर्षित गरेको उनले जानकारी दिएका छन् । विगतका वर्षको तुलनामा संग्राहलयमा धेरै पर्यटक आएकाले पर्यटनको प्रवाहमा वृद्धि हुँदा मुलुकको आम्दानीमा समेत वृद्धि भएको र संस्कृतिको संरक्षणमा टेवा पुगेको उनको धारणा छ । उनले देशको इतिहास र संस्कृतिबारे जानकारी लिन युवाहरूलाई संग्राहलय भ्रमण गर्न आग्रह गरेका छन् । एजेन्सी
ट्रेनी हुँदै टाटा ग्रुप अध्यक्ष बनेका चन्द्रशेखरनको तलब मात्रै १ अर्ब
काठमाडौं । विश्व विख्यात अटो कम्पनी टाटा ग्रुपको नेतृत्व गरिरहेका एन चन्द्रशेखरन टाटा सन्सका अध्यक्ष हुन । तर, टाटासँगको उनको सुरुवात इन्टर्नशिपबाट भएको थियो । उनले विगत सात वर्षदेखि टाटा समूहको नेतृत्व गर्दै आएका छन् । यतिमात्र होइन, चन्द्रशेखरनलाई रतन टाटाको दाहिने हात पनि मानिन्छ । रतन टाटाले उनलाई धेरै विश्वास गर्छन् । टाटा-सायरस मिस्त्री विवादका कारण एन चन्द्रशेखरनलाई टाटा सन्सको अध्यक्षको जिम्मेवारी दिइएको थियो । उनले कम्पनीलाई नयाँ उचाइमा पुर्याए । आज कम्पनीको मूल्य १ खर्ब २८ अर्ब अमेरिकी डलरबराबर पुगेको छ । सन् २०१९ मा चन्द्रशेखरनको तलब वार्षिक ६५ करोड रुपैयाँ थियो । त्यसपछि २०२१/२२ मा यसलाई बढाएर १ अर्ब ९ करोड रुपैयाँ पुर्याइयो । त्यसबेला चन्द्रशेखरन देशको पहिलो सबैभन्दा धेरै तलब पाउने बिजनेस एक्जिक्युटिभ थिए । पाँच वर्षमा टाटा समूहको राजस्व ६३ खर्ब ३७ अर्बबाट बढेर ९४ खर्ब ४४ लाख अर्ब रुपैयाँ पुगेको छ । सन् २०१७ मा समूहको नाफा ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ थियो । जुन २०२२ मा चन्द्रशेखरनले पदभार ग्रहण गर्दा ६ खर्ब ४२ अर्ब ६७ करोड रुपैयाँ पुग्यो । कलेज पूरा गरेपछि चन्द्रशेखरनले सन् १९८७ मा टाटा कन्सल्टेन्सी सेवामा इन्टर्न (प्रशिक्षार्थी) को रूपमा काम गर्न थाले । आफ्नो प्रतिभा र मिहिनेतका आधारमा उनले लगातार सफलता हात पारे । त्यसपछि कम्पनीले सन् २००७ मा उनलाई सञ्चालक समितिमा राख्यो । त्यसपछि मात्रै उनलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिइएको हो । सन् २००९ मा उनी टीसीएसको सीईओ बनेका थिए । उनी टाटा समूहको सबैभन्दा कान्छो सीईओ बने । चन्द्रशेखरनको जन्म सन् १९६३ मा तमिलनाडुको एक किसान परिवारमा भएको थियो । एन चन्द्रशेखको पत्नी र एक छोरा छन् । उनको करोडौंको सम्पत्ति छ । अहिले उनको वार्षिक तलब १ अर्बभन्दा बढी छ । एजेन्सी
गृहिणीले २० लाखमा थालेको व्यवसाय बन्यो सवा अर्बको
काठमाडौं । यदि कोही जीवनमा सफल हुन चाहन्छ भने उसले आफ्नो कडा परिश्रम र राम्रो विचारको आधारमा ठूलो उचाइ हासिल गर्न सक्छ । संसारमा यस्ता धेरै व्यक्तिहरू छन् जसले मानिसहरूलाई आफ्नो सफलताको कथाबाट प्रेरित गर्छन् । यो त्यस्तै एक भारतकी गृहिणीको सफलताको कथा हो जसले आज व्यावसायिक जगतमा नयाँ स्थान हासिल गरिसकेकी छिन् । उनी हुन् भारत केरलाकी शीला कोचौसेफ चिटिलापिल्ली । पति कोचौसेफ थोमस चिटिलापिल्ली म्याग्नेट र वी-गार्ड उद्योगका संस्थापक भएर उद्योग सम्हालिरहँदा शीला मात्र गृहिणी भएर घर सम्हालिरहेकी थिइन् । पछि उनलाई पनि केही गर्नुपर्छ भन्ने लाग्यो । उनका श्रीमानले उनलाई व्यवसाय सुरु गर्न सल्लाह दिए । त्यसपछि उनले सुरु गरिन् वी-स्टार क्रिएशन । जसका लागि उनले जग्गा भाडामा लिएर आफ्नो व्यवसाय विस्तार गर्न थालिन् । सानैदेखि शीलासँग कपडा डिजाइन गर्ने ट्यालेन्ट थियो । त्यही ट्यालेन्टलाई उनले व्यवसायमा ढालिन् र उनले सबैभन्दा पहिले भि–स्टार सलवार कमिजबाट आफ्नो व्यवसाय सुरु गरिन् । २० लाख रुपैयाँको लगानीमा सुरु गरिएको भि–स्टारमा सुरुमा १० जनामात्रै कर्मचारी थिए । भाडाको जग्गामा सुरु भएको उनको व्यवसाय आज १ अर्ब २५ करोडको ठूलो व्यापारमा परिणत भएको छ । भि–स्टार अन्तर्गत् महिला, पुरुष र बालबालिकाका लागि उत्पादनहरू पनि समावेश छन्। जसमा लाइफस्टाइल र इनरवियर (भित्री वस्त्र) पर्छन् । सन् १०५९ जुलाई ६ मा जन्मिएकी शीलाले १९९५ मा भी–स्टार कम्पनी सुरु गरेकी थिइन् । उनको यो कम्पनी अहिले दक्षिण भारत र मध्यपूर्वी एसियामा इनरवियर उत्पादन गर्ने सबैभन्दा ठूलो ब्राण्ड बनेको छ । भारतमा उनको कम्पनीको ३० कारखाना सञ्चालनमा छन् । एजेन्सी