बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
काठमाडौं । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ, जसलाई स्वास्थ्य क्षेत्रमा ठूलो मोडका रूपमा हेरिएको छ । संसद्बाट पारित यस कानूनले अबको पुस्तालाई चुरोटको पहुँचबाट क्रमशः टाढा लैजाने स्पष्ट सङ्केत दिएको छ । धूम्रपान नियन्त्रणका लागि दशकौँदेखि चलिरहेको अभियानपछि यो सफलता हासिल भएको भन्दै धूम्रपानविरुद्ध काम गर्ने संस्था ‘एक्सन अन स्मोकिङ एन्ड हेल्थ’ का प्रमुख कार्यकारी हेजल चिजम्यानले ‘धूम्रपानको अन्त्य अब टाढाको लक्ष्य होइन, अपरिहार्य प्रक्रिया बनिसकेको’ प्रतिक्रिया दिए । उनले यस कदमलाई सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि निर्णायक उपलब्धि ठानेका छन् । सुर्तीजन्य पदार्थ र भेपसम्बन्धी विधेयकअनुसार डिसेम्बर ३१, २००८ पछि जन्मिएका व्यक्तिहरूलाई जीवनभर चुरोट किन्न नपाउने व्यवस्था गरिनेछ । यसले हालको उमेर–आधारित सीमा हटाएर हरेक वर्ष न्यूनतम उमेर बढाउँदै लैजाने प्रणाली लागू गर्नेछ, जसका कारण अहिलेका किशोर–किशोरीहरू भविष्यमा पनि चुरोट खरिद गर्नबाट वञ्चित रहनेछन् । कानून प्रभावकारी हुनुअघि बेलायती राजा चाल्र्स तृतीयको औपचारिक स्वीकृति आवश्यक रहनेछ, जुन सामान्यतया औपचारिक प्रक्रिया मात्र मानिन्छ । त्यसपछि सरकारले सुर्तीजन्य पदार्थ, भेपिङ उपकरण र निकोटिनजन्य उत्पादनहरूको स्वाद, प्याकेजिङ र वितरणमा कडा नियमन लागू गर्न सक्नेछ । हाल बेलायतमा १८ वर्षभन्दा कम उमेरकालाई चुरोट, सुर्तीजन्य वस्तु वा भेप बेच्न प्रतिबन्ध छ । तर नयाँ कानूनले यस व्यवस्थालाई अझ कठोर बनाउँदै दीर्घकालीन रूपमा धूम्रपानको अन्त्यतर्फ उन्मुख गरेको छ । यही कारणले बेलायत अब विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक बनेको छ । यसअघि सन् २०२२ मा न्युजिल्यान्डले पनि यस्तै प्रकृतिको कानून ल्याएको थियो, तर पछिल्लो सरकारले त्यसलाई खारेज गरेको थियो । बेलायतको कदम भने दीर्घकालीन नीतिगत प्रतिबद्धताको रूपमा प्रस्तुत गरिएको छ । आँकडाअनुसार सन् १९७० को दशकयता बेलायतमा धूम्रपान गर्नेहरूको सङ्ख्या करिब दुई तिहाइले घटिसकेको छ । तर अझै करिब ६४ लाख मानिस, अर्थात् कुल जनसङ्ख्याको झन्डै १३ प्रतिशतले धूम्रपान गरिरहेका छन् । सरकारी तथ्याङ्कले हरेक वर्ष करिब ८० हजार जनाको मृत्यु धूम्रपानका कारण हुने देखाएको छ, जसले यसलाई मृत्यु, अशक्तता र खराब स्वास्थ्यको सबैभन्दा ठूलो रोकथामयोग्य कारण बनाएको छ । स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले नयाँ कानूनले बेलायतका बालबालिकालाई ‘पहिलो धूम्रपान–मुक्त पुस्ता’ बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार यसले भावी पुस्तालाई जीवनभरको लत र त्यसबाट हुने गम्भीर स्वास्थ्य जोखिमबाट जोगाउनेछ । रासस
आकाशमा हरित क्रान्ति : अब विमानमा पनि इथानोल, भारतको ठुलो नीतिगत फड्को
काठमाडौं । भारत सरकारले हवाई क्षेत्रको प्रदूषण कम गर्ने र पेट्रोलियम आयातमा रहेको परनिर्भरता घटाउने उद्देश्यले एभिएसन टर्बाइन फ्युल (एटीएफ) मा इथानोल र अन्य सिन्थेटिक हाइड्रोकार्बन मिसाउन अनुमति दिएको छ । यसका लागि सरकारले सन् २००१ को ‘एभिएसन टर्बाइन फ्युल (मार्केटिङ रेगुलेसन) अर्डर’ मा महत्त्वपूर्ण संशोधन गर्दै आवश्यक वस्तु ऐन, १९५५ अन्तर्गत नयाँ प्रावधानहरू लागू गरेको हो । यो परिवर्तनसँगै अब विमानमा प्रयोग हुने इन्धनको परिभाषा फराकिलो भएको छ र यसले आईएस १५७१ वा आईएस १७०८१ जस्ता उच्च गुणस्तरका मापदण्डहरू पूरा गर्ने नयाँ र आधुनिक इन्धन विकल्पहरूको प्रयोगका लागि बाटो खोलेको छ । यद्यपि, सरकारले हाललाई यो मिसावटलाई अनिवार्य भने गरेको छैन र यसका लागि कुनै तत्काल लागू हुने कडा समय-सीमा पनि तोकेको छैन । विश्वभर विशेषगरी बेलायत र जापान जस्ता विकसित देशहरूमा अहिले कच्चा तेलको सट्टा ‘सस्टेनेबल एभिएसन फ्युल’ (एसएएफ) को प्रयोगमा जोड दिन थालिएको छ । यो इन्धन कृषि अवशेष, नगरपालिकाको फोहोर, काठ, अन्न र फालिएका तेल वा बोसोबाट तयार पारिन्छ, जसलाई सिन्थेटिक हाइड्रोकार्बन पनि भनिन्छ । भारतले पनि अन्तर्राष्ट्रिय संस्था ‘कोर्सिया’ को नियम पालना गर्दै सन् २०२७ सम्म अन्तर्राष्ट्रिय उडानका इन्धनमा १ प्रतिशत एसएएफ मिसाउने लक्ष्य राखेको छ । यो लक्ष्यलाई सन् २०२८ सम्म २ प्रतिशत र सन् २०३० सम्म ५ प्रतिशतमा पुर्याउने सरकारको योजना छ । हाललाई यो नियम आन्तरिक उडानहरूमा लागू नगरिए तापनि अन्तर्राष्ट्रिय स्तरमा कार्बन उत्सर्जन घटाउने दिशामा यो एउटा ठूलो फड्को मानिएको छ । विशेषगरी मध्यपूर्वमा जारी युद्ध र तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल १२० डलरको हाराहारीमा पुगेपछि हवाई इन्धनको लागत ह्वात्तै बढेको छ । आर्थिक चुनौती र जलवायु परिवर्तनको जोखिमलाई ध्यानमा राख्दै सरकारले स्वदेशी स्रोतबाट उत्पादित इथानोल र जैविक इन्धनलाई प्रोत्साहन दिएको हो । सन् २०२१ देखि २०२६ सम्म स्वैच्छिक रूपमा लागू रहेको ‘कोर्सिया योजना सन् २०२७ बाट अनिवार्य हुने भएकाले पनि भारतले यो नीतिगत तयारी गरेको देखिन्छ । यस निर्णयले भविष्यमा हवाई यात्रालाई वातावरणमैत्री बनाउनुका साथै इन्धनको बढ्दो मूल्यबाट केही राहत मिल्ने र भारतको ऊर्जा सुरक्षामा थप बल पुग्ने अपेक्षा गरिएको छ ।
शान्ति पदयात्रा र सेलिब्रेटी कुकुरले तानेको ध्यान
काठमाडौं । श्रीलङ्कामा केसर रङका वस्त्रधारी बौद्ध भिक्षुहरूले बुधबारदेखि एक हप्ता लामो शान्ति पदयात्रा सुरु गरेका छन् । पदयात्रामा उद्धार गरिएको बेवारिसे कुकुरको उपस्थितिले विश्वभर थप ध्यान तानेको छ । ‘सबै प्राणीका लागि शान्ति’ भन्ने सन्देशसहित सुरु भएको यो पदयात्रा धार्मिक आस्था र सामाजिक सन्देशको अनौठो संयोजन बनेको छ । भियतनामी भिक्षु पन्नकाराको नेतृत्वमा १३ सदस्यीय टोलीले राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर उत्तरमा रहेको ऐतिहासिक डम्बुला बौद्ध मन्दिरबाट बिहान आफ्नो यात्रा प्रारम्भ गरेको हो । यो समूह यसअघि संयुक्त राज्य अमेरिकामा टेक्सासदेखि वासिङ्टन डिसीसम्म करिब तीन हजार ७०० किलोमिटर लामो १०८ दिनको पदयात्रा पूरा गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चित भएको थियो । त्यतिबेला उनीहरूले बरफले ढाकिएका सडक र कठोर मौसममा समेत यात्रा गर्दै शान्तिको सन्देश फैलाएका थिए । यसपटक उनीहरू ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने श्रीलङ्काको अत्यधिक गर्मीमा नाङ्गो खुट्टा हिँडिरहेका छन् । भीषण गर्मीबीच पनि स्थानीय भक्तजनहरूले उनीहरूको यात्रालाई समर्थन गर्दै सडकमा पानी छर्कने, हरियो केराका पात र फूलहरू राख्ने तथा शीतलता प्रदान गर्ने प्रयास गरेका छन् । केहीले त भिक्षुहरूलाई पानी छर्केर राहत दिन खोजिरहेका दृश्य पनि देखिएका छन् । यो पदयात्रा अप्रिल २८ मा राजधानी कोलम्बो पुग्ने अपेक्षा गरिएको छ । त्यहाँ श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले उनीहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको आयोजकहरूले बताएका छन् । यस पदयात्राको विशेष आकर्षण बनेको छ अलोका नामको उद्धार गरिएको आवारा कुकुर । यो कुकुरले भिक्षुहरूको साथमा अन्तर्राष्ट्रिय यात्रादेखि नै ध्यान तानेको छ । भारतमा उद्धार गरिएको उक्त कुकुरले अमेरिकी यात्रामा समेत भिक्षुहरूलाई साथ दिएको थियो र त्यसक्रममा ठूलो लोकप्रियता कमाएको थियो । अलोका पहिले भारतका भिक्षुहरूलाई पछ्याउँदै गर्दा कारको ठक्करबाट जोगिएको थियो र त्यसपछि उनीहरूकै साथमा यात्रा जारी राखेको थियो । पछि संयुक्त राज्य अमेरिकामा भएको पदयात्रामा पनि उसको उपस्थिति सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको थियो । उक्त यात्राले प्राप्त गरेको ध्यान र दानले सम्पूर्ण अभियानलाई आर्थिक रूपमा सहयोग पुगेको बताइएको छ । स्थानीय एक भिक्षुका अनुसार टेक्सासदेखि कोलम्बोसम्म अलोकालाई ल्याउने हवाई खर्च सामान्य यात्रुको तुलनामा करिब दस गुणा बढी परेको थियो । यसले अभियानको अन्तर्राष्ट्रिय पहुँच र लोकप्रियता झल्काएको छ । श्रीलङ्कामा अहिले अलोकाको सुरक्षाका लागि सेनाका कमान्डोहरू परिचालन गरिएको छ । दुई जना कमान्डोहरू लगातार कुकुरको दुवै छेउमा रहेर पदयात्रा अघि बढाइरहेका छन्, ताकि स्थानीय सडक कुकुरहरूबाट कुनै जोखिम नहोस् । प्रहरीको केनेल विभागसमेत यसको सुरक्षामा खटाइएको छ । पदयात्राको दृश्यले स्थानीय सडकमा ठूलो आकर्षण सिर्जना गरेको छ, जहाँ भक्तजनहरूले श्रद्धापूर्वक भिक्षुहरूलाई अभिवादन गर्दै यात्रा अवलोकन गरिरहेका छन् । यस अभियानको सामाजिक सञ्जालमा पनि व्यापक प्रभाव देखिएको छ । पिस वाकको फेसबुक पेजमा मात्रै ३० लाखभन्दा बढी फलोअर्स रहेका छन् भने श्रीलङ्का यात्राको प्रत्यक्ष प्रसारण पहिलो पाँच घण्टामै ५१ हजारभन्दा बढी पटक हेरिएको आयोजकहरूले जनाएका छन् । धार्मिक आस्था, सामाजिक सन्देश र एउटा उद्धार गरिएको कुकुरको उपस्थिति मिसिएको यो पदयात्रा अहिले श्रीलङ्कामा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै ध्यानको केन्द्र बनेको छ । रासस