हर्मुज जलघाँटीको तनाव कम गर्न इरानको प्रस्ताव: नाकाबन्दी हटाउनुपर्ने सर्त, कूटनीतिक प्रयास जारी

काठमाडौं । विश्व ऊर्जा आपूर्तिको मुटु मानिने हर्मुज जलघाँटीमा जारी तनाव कम गर्ने प्रयासस्वरूप इरानले आफ्नो नियन्त्रण हटाउने प्रस्ताव अघि सारेको छ, तर त्यसको सट्टामा अमेरिकाले लगाएको नाकाबन्दी अन्त्य गर्नुपर्ने शर्त राखेपछि कूटनीतिक समीकरण झनै जटिल बनेको छ ।  आणविक कार्यक्रमलाई अलग राख्दै अघि सारिएको यो प्रस्तावले युद्धविरामलाई दीर्घकालीन समाधानमा रूपान्तरण गर्ने प्रयास भए पनि सहमति अझै टाढा देखिएको छ । यस विषयमा जानकारी राख्ने दुई क्षेत्रीय अधिकारीका अनुसार इरानले जलघाँटीमा लगाएको प्रतिबन्ध हटाउन तयार रहेको सङ्केत दिएको छ, तर त्यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी फुकुवा गर्नुपर्ने माग गरेको छ । तर यो प्रस्तावलाई अमेरिकी प्रशासनले सहज रूपमा स्वीकार गर्ने सङ्केत देखिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम अन्त्य नगरी कुनै दीर्घकालीन समाधान सम्भव नहुने अडान दोहोर्‍याएको छ । उनले आइतबार फक्स न्युजसँगको अन्तर्वार्तामा इरानसँग वार्ता गर्न आफू तयार रहेको जनाउँदै उनीहरूले प्रत्यक्ष सम्पर्क गर्नुपर्ने बताए । यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघची सोमबार रुसको सेन्ट पिटर्सबर्ग पुगेको छ । त्यहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने कार्यक्रम रहेको छ । इरानी सरकारी समाचार एजेन्सीका अनुसार अराघचीले पछिल्ला घटनाक्रमबारे रुससँग परामर्श गर्ने अवसरका रूपमा यो भ्रमणलाई लिएको छ । उनले ओमान, पाकिस्तान र अन्य क्षेत्रीय देशहरूसँग पनि वार्ता गर्दै कूटनीतिक पहललाई निरन्तरता दिएको छ । इस्लामाबादमा इरान–अमेरिका वार्ता पुनः सुरु हुने अपेक्षा गरिएको थियो । पाकिस्तानले मध्यस्थताको प्रयास गर्दै वार्ता आयोजना गर्न खोजे पनि अमेरिकी पक्षले प्रत्यक्ष भेटघाटभन्दा टेलिफोन संवादलाई प्राथमिकता दिएपछि प्रक्रिया प्रभावित भएको हो । अराघचीले वार्ता ढिलाइ हुनुमा अमेरिकी ‘अत्यधिक माग’ जिम्मेवार रहेको आरोप लगाएको छ । अर्कोतर्फ, ट्रम्पले इरानको नेतृत्वभित्र स्पष्टता नभएको टिप्पणी गर्दै यस्तो अवस्थाले सम्झौता गर्न कठिन भएको सङ्केत गरे । अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरलाई इस्लामाबाद पठाउने योजना अन्ततः रद्द भएपछि कूटनीतिक प्रयास थप अनिश्चित बनेको छ । पर्सियन खाडीको प्रवेशद्वार मानिने हर्मुज जलघाँटी अहिले पनि तनावको केन्द्रमा छ । विश्वको करिब पाँचौँ भाग तेल र ग्यास यही मार्ग हुँदै आपूर्ति हुने गर्दछ । इरानले आवागमनमा प्रतिबन्ध लगाएको र अमेरिकाले नाकाबन्दी जारी राखेका कारण विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल करिब १०७ डलर पुगेको छ । योयुद्धअघि करिब ७२ डलर थियो । जलघाँटीमा अवरोधका कारण तेल मात्र नभई, तरलीकृत ग्यास, मल र अन्य सामग्रीको आपूर्ति पनि प्रभावित भएको छ । धेरै ट्याङ्करहरू पर्सियन खाडीमै रोकिएका छन्, जसले विश्वव्यापी आपूर्ति शृङ्खलामा दबाब सिर्जना गरेको छ । यसबीच इरानले ओमानसँग जहाज आवागमनका लागि टोल प्रणाली लागू गर्ने सम्भावनामा पनि छलफल गरेको बताइएको छ । साथै, नयाँ वार्ता अघि अमेरिकाले नाकाबन्दी हटाउनुपर्ने माग दोहोर्‍याएको छ, जसले वार्ता अझ जटिल बनाएको छ । गत फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल संयुक्त आक्रमणपछि भड्किएको युद्ध औपचारिक रूपमा रोकिए पनि स्थायी समाधान निस्किएको छैन । हजारौँ मानिसको ज्यान गएको र विश्व अर्थतन्त्रमा असर पारेको यो द्वन्द्व अझै संवेदनशील अवस्थामा छ । दुवै पक्षले सैन्य चेतावनी पनि जारी राखेका छन् । इरानले अमेरिकी कदमलाई ‘समुद्री डकैती’ भन्दै कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ भने ट्रम्पले जलमार्गमा खतरनाक गतिविधि गर्ने डुङ्गाहरूलाई तत्काल कारबाही गर्न आदेश दिएको छ । ट्रम्पका अनुसार इरानले हालै ‘अझ राम्रो’ प्रस्ताव पठाएको भए पनि त्यसको विवरण सार्वजनिक गरिएको छैन । तर उनले इरानसँग आणविक हतियार नहुने सुनिश्चितता आफ्नो प्रमुख सर्त रहेको स्पष्ट पारेको छ । संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायका अनुसार इरानसँग ६० प्रतिशतसम्म समृद्ध युरेनियमको उल्लेख्य भण्डार रहेको छ, जुन हतियार-स्तरसम्म पुग्न केही प्राविधिक चरण मात्र बाँकी रहेको मानिन्छ । युद्धको मानवीय क्षति पनि गम्भीर बनेको छ । इरानमा कम्तीमा तीन हजार ३७५ र लेबनानमा दुई हजार ५०९ जनाको मृत्यु भएको छ भने इजरायल र खाडी क्षेत्रमा पनि मृत्यु सङ्ख्या बढेको छ । विभिन्न देशका सैनिक र संयुक्त राष्ट्रसङ्घका शान्तिरक्षकहरू समेत मारिएका छन् । यसैबीच इजरायल र हिजबुल्लाहबीचको युद्धविराम तीन हप्ता थप गरिएको छ, तर स्थायी शान्ति अझै टाढा देखिन्छ । यस समग्र अवस्थाले कूटनीतिक प्रयासलाई निरन्तरता दिइरहे पनि परिणाम अनिश्चित रहेको सङ्केत गरेको छ । 

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ । पछिल्ला दिनहरूमा लगातार देखिएको भूकम्पीय गतिविधिको शृङ्खलाबीच आएको यो कम्पनले जोखिम अझै टरेको छैन भन्ने सङ्केत दिएको छ ।      जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्प स्थानीय समयअनुसार बिहान ५ः२३ बजे होक्काइडोको दक्षिणी क्षेत्रमा केन्द्रित भएर आएको हो । यसको गहिराइ करिब ८३ किलोमिटर रहेको जनाइएको छ, जुन प्रारम्भिक ६.१ म्याग्निच्युडको अनुमानलाई संशोधन गर्दै ६.२ कायम गरिएको हो ।      यस भूकम्पपछि कुनै सुनामी चेतावनी जारी नगरिएको भए पनि प्रभावित क्षेत्रमा बलियो कम्पन महसुस गरिएको थियो । अमेरिकी भूगर्भीय सर्वेक्षणले जनसङ्ख्या कम रहेको क्षेत्र नजिक केन्द्रित भएकाले ठूलो जनधन क्षतिको सम्भावना न्यून रहेको आकलन गरेको छ । यद्यपि, जेएमएका अधिकारीहरूले शक्तिशाली कम्पन भएका स्थानहरूमा चट्टान खस्ने र भूस्खलनको जोखिम बढेको चेतावनी दिएका छन् ।      जेएमएले आगामी केही दिन तथा हप्तामा यस्तै स्तरका थप भूकम्प आउन सक्ने उच्च सम्भावना रहेको उल्लेख गर्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । यसअघि केही घण्टा अगाडि नै होक्काइडोभन्दा केही सय किलोमिटर दक्षिण समुद्री क्षेत्रमा ५.० म्याग्निच्युडको अर्को भूकम्प आएको थियो, जसले क्षेत्रको भूकम्पीय सक्रियता निरन्तर बढिरहेको सङ्केत दिएको छ ।      यो घटनाक्रम गत हप्ता उत्तरी इवाटे प्रान्तमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि आएको हो, जसले ठूलो क्षति नगरे पनि देशभर त्रास फैलाएको थियो । उक्त भूकम्पको प्रभाव राजधानी टोकियोसम्म पुगेको थियो, जहाँ ठूला भवनहरू हल्लिएका थिए र छ जना घाइते भएका थिए । साथै, इवाटे क्षेत्रमा करिब ८० सेन्टिमिटर उचाइका सुनामी छालहरू देखिएका थिए भने अन्य उत्तरी क्षेत्रमा साना छालहरू ठोक्किएका थिए । त्यसपछि जेएमएले ८.० वा सोभन्दा माथिको शक्तिशाली भूकम्प आउने सम्भावना सामान्य अवस्थाभन्दा बढी रहेको चेतावनी दिएको थियो । अहिलेको ६.२ म्याग्निच्युडको भूकम्पलाई पनि सोही शृङ्खलाको एक हिस्सा मानिएको छ ।      जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले विश्वकै सबैभन्दा भूकम्पीय रूपमा सक्रिय देशमध्ये एक हो । चार प्रमुख टेक्टोनिक प्लेटहरूको सङ्गममा रहेको यस देशमा हरेक वर्ष करिब एक हजार ५०० भूकम्प आउने गरेका छन् । यो विश्वभरका कुल भूकम्पको झन्डै १८ प्रतिशत हो ।      सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीले १८ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको वा बेपत्ता भएको थियो । त्यसयता जापानले भूकम्प पूर्वतयारी र जोखिम न्यूनीकरणमा ठूलो लगानी गर्दै आएको भए पनि पछिल्ला गतिविधिहरूले पुनः सतर्क रहनुपर्ने अवस्था देखाएका छन् । रासस    

चिनियाँ उद्योगमा ६ वर्षयताकै छलाङ, नाफामा १५.८ प्रतिशत वृद्धि

काठमाडौं ।  मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी तेल बजारलाई अस्थिर बनाउँदै कच्चा पदार्थको लागत उच्च बनाए पनि चीनका औद्योगिक कम्पनीहरूको नाफा मार्च महिनामा पछिल्ला छ महिनाकै सबैभन्दा तीव्र गतिमा बढेको छ । राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, मार्चमा औद्योगिक नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.८ प्रतिशतले बढेको हो, जुन गत वर्षको सेप्टेम्बरयताकै सबैभन्दा तीव्र वृद्धि हो । यसअघि यस वर्षको पहिलो दुई महिनामा १५.२ प्रतिशत वृद्धि भएको थियो । यस वर्षको पहिलो तीन महिनामा उद्यमहरूको नाफा १५.५ प्रतिशतले बढेको छ, जुन २०१७ पछि (२०२१ मा महामारीका कारण भएको असामान्य वृद्धि बाहेक) वर्षको सुरुआतकै सबैभन्दा तीव्र वृद्धि हो । एनबीएसका प्रमुख तथ्याङ्कविद् यू वेइनिङले उपकरण तथा उच्च प्रविधि उत्पादन क्षेत्रको नाफामा तीव्र वृद्धि भएको उल्लेख गरेका छन् । पहिलो त्रैमासमा यी क्षेत्रहरूको नाफा क्रमशः २१ प्रतिशत र ४७.४ प्रतिशतले बढेको छ । कृत्रिम बौद्धिकता (एआई) र अर्धचालक (सेमिकन्डक्टर) क्षेत्रमा आएको उछालले वर्षको पहिलो तीन महिनामा विभिन्न उपक्षेत्रहरूमा उल्लेखनीय नाफा वृद्धि गराएको छ ।  अप्टिकल फाइबर उत्पादकहरूको नाफा ३३६.८ प्रतिशतले बढेको छ भने अप्टोइलेक्ट्रोनिक्स र डिस्प्ले उपकरण उत्पादकहरूको नाफा क्रमशः ४३ प्रतिशत र ३६.३ प्रतिशतले बढेको छ । स्मार्ट (बौद्धिक) उत्पादनहरूको माग बढ्दा उदीयमान उद्योगहरूमा पनि आम्दानी बढेको छ । ड्रोन उत्पादकहरूको नाफा ५३.८ प्रतिशतले बढेको छ भने अन्य स्मार्ट उपभोक्ता उपकरण उत्पादकहरूले पनि उल्लेखनीय वृद्धि गरेका छन् । कच्चा पदार्थ उत्पादकहरूको नाफा पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा ७७.९ प्रतिशतले बढेको छ, किनभने तेल रिफाइनरीहरू नाफामा फर्किएका छन् । साथै एरोस्पेस, नयाँ ऊर्जा र नयाँ पुस्ताको सूचना प्रविधि जस्ता रणनीतिक उदीयमान उद्योगहरूले गैर–फलाम धातु कम्पनीहरूको नाफा ११६.७ प्रतिशतले बढाएको छ । यो वृद्धि २०२५ मा देखिएको स्थिरताको अवधिपछि आएको हो, जब औद्योगिक कम्पनीहरूको आम्दानी लगातार तीन वर्षको गिरावटपछि मात्र ०.६ प्रतिशतले बढेको थियो । पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झीवेइ झाङका अनुसार उत्पादकहरूको नाफा सुधार हुनुमा बलियो निर्यातको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । पहिलो त्रैमासमा चीनको निर्यात अमेरिकी डलरमा १४.७ प्रतिशतले बढेको छ, जुन २०२२ को सुरुआतपछि सबैभन्दा तीव्र वृद्धि हो । तर झाङका अनुसार मध्यपूर्वको द्वन्द्वले दोस्रो त्रैमासमा अर्थतन्त्रमा दबाब सिर्जना गर्न सक्छ, किनकि उच्च ऊर्जा मूल्य र कमजोर बाह्य मागले निर्यातकर्ताहरूका लागि चुनौती बढाउनेछ । संकटका बीच पनि तुलनात्मक स्थायित्व तेलको मूल्य बढ्दै जाँदा यसले विश्व अर्थतन्त्रमा असर पार्न थालेको छ, जसले आयात लागत बढाउने र कच्चा पदार्थमा निर्भर उत्पादकहरूको नाफा घटाउने जोखिम बढाएको छ । अमेरिका–इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि फेब्रुअरी अन्त्ययता ब्रेन्ट कच्चा तेलको मूल्य करिब ४८ प्रतिशतले बढेको छ, जसले रसायन, फाइबर र प्लास्टिक जस्ता क्षेत्रहरूको लागत बढाएको छ । मोरगन स्ट्यान्लीका चीनसम्बन्धी प्रमुख अर्थशास्त्री रोबिन सिङका अनुसार चीनको ऊर्जा संरचना जसमा कोइला र नवीकरणीय ऊर्जाको ठूलो हिस्सा छ । जसले तेल मूल्यको उतारचढावबाट केही संरचनात्मक सुरक्षा दिएको छ। ३२ वटा क्षेत्रको सर्वेक्षणमा करिब ७० प्रतिशत कम्पनीहरूले आफ्ना विश्वव्यापी प्रतिस्पर्धीहरूको तुलनामा ‘कम लागत झट्का र कम उत्पादन अवरोध’ अनुभव गरेको बताएका छन् । सिङका अनुसार, ‘चीन तुलनात्मक रूपमा राम्रो अवस्थामा छ र ठूलो तर अत्यधिक नभएको ऊर्जा झट्काबीच निर्यात बजार हिस्सा बढाउने अवसर पाउन सक्छ ।’ यद्यपि विश्वव्यापी माग सुस्त हुँदा निर्यातको गति सीमित हुन सक्छ र उच्च ऊर्जा आयात लागतले आपूर्ति श्रृंखलामा नाफा घटाउन सक्छ, जसले अर्थतन्त्रलाई पूर्ण रूपमा सुरक्षित राख्न सक्दैन । उद्यमहरूको नाफा पहिले नै दबाबमा थियो किनभने लामो समयदेखि कमजोर रहेको रियल इस्टेट बजार र कमजोर रोजगारी अवस्थाले आन्तरिक माग घटाएको थियो, जसले विभिन्न क्षेत्रमा प्राइस वार बढाएको थियो । हालै धातुको मूल्य बढ्नु र बेइजिङले अत्यधिक उत्पादन क्षमता नियन्त्रण गर्न तथा अत्यधिक प्रतिस्पर्धा कम गर्न गरेको प्रयासले अर्थतन्त्रमा मुद्रा संकुचनको दबाब केही कम गरेको छ । तेलको मूल्य बढेपछि चीनको उत्पादक मूल्य सूचकांक (पीपीआई) मार्चमा सकारात्मक भएको छ, जुन तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक वृद्धि भएको हो र दशकौं लामो अपस्फीतिको अन्त्य गरेको छ । मोरगन स्ट्यान्लीले यस वर्ष चीनको पीपीआई १.२ प्रतिशतले बढ्ने अपेक्षा गरेको छ, जबकि गत वर्ष २.६ प्रतिशतले घटेको थियो । उपभोक्ता मूल्य पनि यस वर्ष ०.८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ, जबकि गत वर्ष स्थिर थियो । समुद्रमा रहेका ट्यांकरहरूमा भण्डारण गरिएको इरानी तेल तथा ठूलो मात्रामा मौज्दातले विश्वकै सबैभन्दा ठूलो आयातकर्तालाई केही राहत दिएको छ । तर हालैका हप्ताहरूमा ट्रम्प प्रशासनले होर्मुज जलडमरूमा लगाएको नौसैनिक नाकाबन्दीले बेइजिङको रणनीतिमा परिवर्तन ल्याउन सक्छ, किनकि युद्ध सुरु हुनु अघि चीनको करिब आधा तेल आयात यही मार्गबाट हुने गरेको थियो । अमेरिकी प्रशासनले शुक्रबार चीनको एउटा स्वतन्त्र ‘टीपोट रिफाइनरीमाथि इरानी तेल खरिद गरेको आरोपमा प्रतिबन्ध लगाएको जनाएको छ । यसले चीनको कुल रिफाइनरी क्षमताको करिब चौथाइ हिस्सा ओगट्ने प्रमुख ऊर्जा स्रोतमा असर पार्न सक्छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)