आगामी १२ वर्षमा नर्वेको रक्षा बजेट करिब दुई गुणा हुने
ओस्लो । रुससँग सीमा जोडिएको नाटो सदस्य नर्वेले आगामी १२ वर्षमा आफ्नो रक्षा बजेट ८३ प्रतिशतले बढाउने योजना बनाएको शुक्रबार बताएको छ । प्रधानमन्त्री जोनास गाहर स्टोरले ‘विश्वको हाम्रो हिस्सामा खराब सुरक्षा स्थिति’ लाई ध्यानमा राख्दै सन् २०२४ र सन् २०२६ बीच सेनालाई अतिरिक्त छ खर्ब क्रोनर (पाँच करोड ६० लाख अमेरिकी डलर) खर्च गर्ने प्रस्ताव गरेको बताए । उनले यो एउटा ‘ऐतिहासिक प्रयास’ रहेको बताए । नौसेना युद्धपोतबारे सरकारको रक्षा श्वेतपत्र प्रस्तुत गर्दै प्रधानमन्त्री स्टोरले भने, ‘हाम्रो सुरक्षा र हाम्रा सहयोगीहरूलाई खतरामा पार्न खोज्नेहरूलाई निवारकका रूपमा यहाँको बलियो रक्षा प्रणालीले काम गर्नेछ ।’ ‘हामीले धेरै वर्षसम्म अझ धेरै खतरनाक, अप्रत्याशित छिमेकीको सामना गर्नुपर्नेछ भन्ने हामो प्रारम्भिक परिकल्पना हो’, उनले रुसका बारेमा भने । नर्वे र रुसले सुदूर उत्तरमा एक सय ९८ किलोमिटर भूमि सीमा र बेरेन्ट सागरमा सामुद्रिक सीमा साझा गर्छन् । श्वेतपत्रअनुसार नाटो सैन्य गठबन्धन सदस्य ओस्लोले पाँच नयाँ फ्रिगेट, कम्तीमा ५० पनडुब्बी, विभिन्न आकारका २८ जहाज, सामुद्रिक निगरानी ड्रोन, हेलिकप्टर र गहन हमला गर्ने हतियार अर्डर गर्ने योजना बनाएको छ । प्रादेशिक सेनामा ब्रिगेडको सङ्ख्या एकबाट बढेर तीन हुनेछ । विमान प्रतिरोधी प्रणालीहरूको सञ्चालन गर्ने ब्रिगेड दोब्बर भएर आठ हुनेछ र एन्डोयामा सामुद्रिक गस्ती एयर बेस बन्द गर्ने पछिल्लो निर्णय उल्ट्याइने छ । बजेटमन्त्री ट्रिग्वे स्लाग्स्भोल्ड वेदमले रक्षा बजेट यो वर्षको ९१ अर्ब क्रोनरबाट बढेर सन् २०३६ मा एक सय ६६ अर्ब क्रोनर हुने जानकारी दिए । यसले नर्वेको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तीन प्रतिशत प्रतिनिधित्व गर्दछ । यो यस वर्षको दुई प्रतिशतभन्दा धेरै हो । नाटोेको न्यूनतम सीमा पनि दुई प्रतिशत रहेको छ । केन्द्रको वामपन्थी अल्पमत सरकारलाई विधेयक स्वीकृत गराउन अन्य दलको समर्थन आवश्यक छ । मुख्य विपक्षी कन्जरभेटिभ पार्टीले श्वेतपत्र ‘वार्ताका लागि राम्रो आधार’ रहेको भन्दै पहिला नै सकारात्मक सङ्केत पठाएको छ । राससरएएफपी
विश्व बैंकद्वारा अफगानी महिला उद्यमीलाई सहयोग गर्न डेढ करोड अमेरिकी डलर विनियोजन
काबुल । विश्व बैंकले विशेष गरी महिलाहरूको स्वामित्वमा सञ्चालित अफगानी साना व्यवसायहरूलाई सहयोग गर्न एक करोड ६० लाख अमेरिकी डलर छुट्याएको खामा प्रेसले जनाएको छ । बैंकले बुधबार संयुक्त राज्य अमेरिकाको आगा खान फाउन्डेसनले अफगानिस्तान पुनर्निर्माण ट्रस्ट कोषमार्फत यस कोषलाई प्रत्यक्ष वितरण गर्ने उल्लेख छ । अफगानिस्तानमा साना वित्तीय प्रदायकलाई सहयोग गर्ने अफगानिस्तानमा वित्तीय स्रोतहरूमा पहुँच बढाउनका लागि सान्दर्भिक विकल्पमध्ये यो सहयोग एक हो । यो कार्यक्रम महिला लक्षित रहेको अफगानिस्तानका लागि विश्व बैंककी निर्देशक मेलिन्डा गुडले बताइन् । परियोजनाको उद्देश्य अफगानिस्तानमा साना वित्तीय क्षेत्रलाई सुदृढ पारी साना व्यवसाय र महिला नेतृत्वको उद्यम व्यवसायको पुनर्निर्माण गर्नु, र निजी क्षेत्रको पुनरुत्थानमा योगदान पुर्याई आवश्यक वित्तीय ऋणमा पहुँच गर्न सकून भन्ने रहेको निर्देशक गुडले जानकारी गराइन् । विश्व बैंकले अफगानिस्तानमा साना र मध्यम आकारका उद्यमहरूका लागि वित्तीय स्रोतहरूमा पहुँच बढाउन प्रयास गरिरहेको जनाएको छ । जुन निजी क्षेत्रका व्यापार र लगानीमा काम गर्ने महिलाहरूका लागि अन्तर्राष्ट्रिय संस्थाहरूको समर्थनमा भएको वृद्धिसँग समानान्तर हुन्छ । बैंकका अनुसार यो पहल अफगानिस्तानका काबुल, कुन्दुज, नङ्गरहार, परवान, समङ्गन, सर–ए पोल, तखर, हेरात, डिकुन्डी, फरयाब र जोजजानलगायतका १५ प्रान्तहरूमा केन्द्रित हुनेछ । यसबाहेक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले महिलाहरूलाई रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले धेरै परियोजनाहरू घोषणा गरेको छ । यसले अफगानिस्तानको अर्थतन्त्रलाई बढावा दिई अफगान महिला उद्यमीहरूको कम्पनीहरू चलाउन सशक्त बनाउने कुरामा जोड दिएको छ । अफगानिस्तानमा, शिक्षा र रोजगारीमा महिलाहरूकोे पहुँचमा सीमितताको परिणाम स्वरूप व्यापार र व्यवसायमा महिलाको चासो बढेको छ । रासस
एआईले विश्वव्यापी साइबर अपराध बढाएको विश्वकै ठूलो पुनर्बीमा कम्पनीको दावी
बर्लिन । विश्वको सबैभन्दा ठूलो पुनर्बीमा जर्मन कम्पनी ‘म्युनिख रेले’ प्रविधिको तीव्र विकास, विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण बढ्दो साइबर जोखिमको बारेमा चिन्ता व्यक्त गरेको छ । बिहीबार प्रकाशित गरेको पुनर्बीमा कम्पनीले आफ्नो प्रतिवेदनमा गत महिनामा ‘साइबर अपराधमा वृद्धि भएको र यसमा रेन्समवेयर (रेन्समवेयर यस्तो साइबर हमला हो जहाँ भाइरस भएको सपट्वेयर इन्टरनेटको माध्यमबाट पठाइन्छ)’ ले भूमिका खेलेको छ । गत वर्ष मात्रै अघिल्लो तीन वर्षको तुलनामा दोब्बर साइबर अपराध आक्रमण भएको थियो । डाटा प्लेटफर्मले स्टाटिस्टा (यो तथ्याङ्कको एक व्यापक संग्रहसंगै एक वैश्विक डाटाको खुफिया प्लेटफर्म हो) ले अनुमान गरेका अनुसार साइबर अपराधको वार्षिक विश्वव्यापी लागत ८.१५ ट्रिलियन अमेरिकी डलरबाट १३.८ ट्रिलियन अमेरिकी डलरमा बढ्न सक्ने भनेको छ । साइबर अपराधीले एआईद्वारा संचालित फिसिङ इ-मेलहरू र कलहरू पीडितहरूलाई धोका दिन प्रयोग गर्न सक्ने प्रविधि विशेषज्ञहरूको समूह ‘म्युनिख रे’ ले चेतावनी दिएको छ । एआईद्वारा निर्माण गरेको ‘भ्वाइस इन्जिन’ले रेकर्ड गरेको श्रव्य सामग्रीको मात्र १५ सेकेन्ड प्रयोग गरेर कुनै पनि व्यक्तिको आवाज उत्पन्न गर्न सक्ने र त्यो धेरै जोखिमपूर्ण मानिएको उनीहरूले बताएका छन् । विगत एक दशकमा साइबर जोखिम व्यवस्थापनको अत्यावश्यक अङ्गका रूपमा साइबर बीमा रहेको छ । विगत पाँच वर्षमा साइबर बीमा बजारको आकार झण्डै तीन गुणा बढेको र सन् २०२७ सम्ममा दोब्बर हुने (करिब २९ अर्ब अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ । साइबर युद्धबाट हुने क्षति निजी क्षेत्रले वहन गर्न नसक्ने म्युनिख रेका साइबर विशेषज्ञ जुर्गेन रेनहार्टले बताए । रासस/सिन्ह्वा