अष्ट्रेलियामा बाढीका कारण जनजीवन प्रभावित

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्समा व्यापक बर्षपछि आइतबार आएको बाढीका कारण सयौँ व्यक्ति प्रभावित भएका छन् । उत्तरपूर्वी सिड्नीमा भारी वर्षापछि बाढी र डुबानको जोखिमबाट सुरक्षा दिन करिब ३०० घरखाली गराइएको आपतकालीन सेवाहरूले जनाएका छन् । सङ्घीय विपद् व्यवस्थापन मन्त्री क्याथरिन किङले बाढीको पानीले छोटो समयमा नै राज्यभरि व्यापक क्षति पुर्याएको बताएका छन् । ‘न्यू साउथ वेल्स सरकारले क्षतिको आँकलन गर्न र यस विपत्तिको प्रभाव बुझ्ने कार्यलाई जारी राखेको छ,’ मन्त्री किङले भने । आपतकालीन सेवा राज्यमन्त्री जिहाद डिबका अनुसार उद्धारकर्मीले शुक्रबारदेखि समाचार तयार पार्दासम्म् करिब २०० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थलमा पुर्याएका छन् । उहाँका अनुसार करिब पाँच हजार स्वयंसेवकले रातभर काम गरेर प्रभावितलाई सहयोग गरेका थिए । राज्यका आपतकालीन आयुक्त कार्लीन योर्कले बाढी प्रभावित क्षेत्रमा बाढीजन्य जोखिमबाट बच्न नियमित सूचना जारी गरिरहेको जानकारी दिए । जलवायु परिवर्तनले बाढी, डढेलो र चक्रवातजस्ता प्राकृतिक प्रकोपको जोखिम बढाउँछ भनेर अनुसन्धाताहरूले बारम्बार चेतावनी दिँदै आएका समय पछिल्लो डेढ बर्षमा यस क्षेत्रमा सात पटकभन्दा बढी बाढी आएको छ । अधिकारीहरूले सफाइ खर्च र आपतकालीन आवासका लागि भुक्तानीमासहयोग गर्न प्रकोप सहायता सुरु गरेका छन् । रासस

गर्मी बढे्सँगै भारतले थाल्यो गर्मी सम्बन्धी रोग व्यवस्थापनको तयारी

काठमाडौं । भारतले अप्रिल र जुनको बीचमा अत्यधिक गर्मीको सामना गर्नुपर्ने भन्दै स्वास्थ्य उपचारको तयारी थालेको छ । देशमा गर्मी सम्बन्धी रोगहरूको लागि जनस्वास्थ्य तयारीको समीक्षा गरिएको हो । बुधबार बसेको बैठकमा स्वास्थ्यमन्त्री मनसुख मण्डवीयले गर्मीका कारण हुने रोग र मृत्युका घटनाको क्षेत्रगत तथ्याङ्क बाँड्नका लागि राज्यबाट प्राप्त जानकारीसहितको केन्द्रिय डाटाबेस निर्माण गर्नुपर्नेमा जोड दिए । समयमै सल्लाह र रोकथामका उपायहरूबारे जनतामा व्यापक चेतनाले गर्मी सम्बन्धी रोगहरुलाई कम गर्न सकिने बताए । बैठकले गर्मीका कारण लाग्ने रोगको प्रभावकारी व्यवस्थापनमा राम्रो समन्वय र सहकार्यका लागि आह्वान गरेको छ । भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले देशले अप्रिलदेखि जुनसम्म अत्यधिक गर्मीको सामना गर्ने जनाएको छ । यसैबीच जलवायु परिवर्तन र मानव स्वास्थ्यका लागि भारतको राष्ट्रिय कार्यक्रमले अत्यधिक गर्मीमा सार्वजनिक स्वास्थ्य सल्लाहकारमा शारीरिक परिश्रम, प्रत्यक्ष घाम, भीडभाड र छायाँ वा पानीमा कठिन पहुँचले कमजोर मानिसहरूको स्वास्थ्य बिग्रन सक्ने चेतावनी दिएको छ ।

इजिप्टले दैनिक उपभोग्य वस्तुको मूल्य घटायो

काठमाडौं । इजिप्ट सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य १५ देखि २० प्रतिशतसम्म घटाएको छ । सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आगामी साता खाद्यवस्तुको मूल्य ३० प्रतिशतले घटाउने लक्ष्य लिएकाले गत मंगलबारदेखि कुखुरा र अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ । विगतको अवधिमा, डलरको अभावले इजिप्टको बजारमा मूल्य वृद्धि भएको छ । जसका कारण केही कम्पनीहरूले ६० प्रतिशतभन्दा बढी मूल्य वृद्धि गरेका छन् ।