सामाजिक सञ्जाल लिंक्डइनले आफ्नो सेवामा गेमिङ थप्ने
नयाँ दिल्ली । लाखौं व्यक्तिले पछिल्लो समय रोजगारीका अवसरहरु खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग गर्न थालेका छन् । माइक्रोसफ्टको स्वामित्वमा रहेको उक्त सामाजिक सञ्जालमा केही रमाइला सुविधा (फिचर)हरु थप्न तयारी भइरहेको उक्त समूहले जनाएको छ । जागिर खोजीमा रहेका व्यक्तिलाई अब गेमिङको सुविधा पनि थप्न लागिएको टेकक्रन्चले कम्पनीको स्रोतलाई उद्धृत गर्दै समाचार छापेको छ । वर्डल नामको गेमले पनि लाखौं व्यक्तिलाई जोड्नेजस्तो पजल–म्यानिया ( मस्तिष्कलाई चुनौती दिने क्लासिक पजलहरूको सङ्ग्रहको एक किसिमको खेल ) ले लोकप्रियता हासिल गर्न थालेको छ । माइक्रोसफ्टले अगाडि सारेका तीन वटा खेल ‘क्वीन्स’, ‘इन्फरेन्सन’ र ‘क्रसक्लिम्ब’ हुन् । लिंक्डइनका एक जना प्रवक्ताले ‘हामीले गेमिङमा काम गरिरहेको छौं तर अझैसम्म कुन मितिमा प्रारम्भ गर्ने भनेर तयारी भई सकेको छैन’, भने । उनले लिंक्डइनमा ‘पजल–आधारित’ खेलहरु रमाइलो गर्न र सम्बन्धलाई गहिरो बनाउनका लागि प्रयोगमा ल्याउन थालेका बताए । धेरै अन्य सामाजिक सञ्जालमा पहिले नै आफ्ना प्रयोगकर्ताहरूलाई मनोरञ्जनका लागि गेमहरू समावेश गरिसकेका छन् । लिंक्डइनमा अब यो गेमिङ फिचर कहिले थपिने हो हेर्न बाँकी छ । रासस
इजरायलले चौथो पटक बढायो इन्धनको मूल्य
जेरुसेलम । इजरायलले इन्धनको मूल्य ७.५१ शेकेलको तुलनामा ७.७२ शेकेल (करिब २.०९ अमेरिकी डलर) वृद्धि भएको घोषणा गरेको छ । इजरायली ऊर्जा मन्त्रालयले आइतबार एक वक्तव्य जारी गर्दै सोमबारदेखि लागू गरेको मूल्य वृद्धि एक महिनामा चौथो पटकको वृद्धि हो । सोमबारदेखि लागु हुने मूल्य वृद्धि गत वर्षको डिसेम्बरको भन्दा ११.२ प्रतिशतले वृद्धि भएको छ र सन् २०२२ जुलाई पछिको उच्चतम स्तरमा पुगेको छ । मन्त्रालयका अनुसार हालको वृद्धि भूमध्यसागरीय देशहरूमा औसत इन्धनको मूल्यलाई आधार बनाएर निर्धारित गरिएको हो । सन् २०२४ को बजेटमा उल्लेखित इन्धनको मूल्य निर्धारणको महत्वपूर्ण तत्व अन्तःशुल्क करका लागि अनुदान बन्द गर्ने सरकारको निर्णयबाट निरन्तर मूल्य वृद्धिको एउटा प्रमुख कारण हो । यसले जारी द्वन्द्वको बीचमा अन्य खर्चहरू घटाउँदै रक्षा खर्चलाई प्राथमिकता दिन्छ । ‘येदिओथ अहरोनोथ’ दैनिक पत्रिकाका वरिष्ठ विश्लेषक गड लिओरले सिन्ह्वालाई बताएअनुसार इन्धनको मूल्य वृद्धिले गर्दा इजरायलमा विद्युत् र पानीको मूल्यमा पनि छिट्टै वृद्धि हुन सक्छ र मुद्रास्फीति दरमा देखिएको घट्दो प्रवृत्तिलाई उल्टाउन सक्छ । एजेन्सी
स्पेसएक्सद्वारा २३ वटा भूउपग्रह प्रक्षेपण
लस एन्जलस । संयुक्तराज्य अमेरिकाको निजी क्षेत्रको स्पेस–एक्स कम्पनीले शनिबार २३ वटाभन्दा बढी स्टारलिङ्क भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । स्पेस–एक्सका अनुसार, अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेस फोर्स स्टेसनबाट उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो । कम्पनीले फाल्कन ९ नामक रकेट मार्फत् २३ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको जनाएको छ । स्टारलिङ्क भूउपग्रहहरुले पृथ्वीका दुर्गम क्षेत्र र इन्टरनेटको पहुँच कमजोर भएका क्षेत्रहरुमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको भनाई छ । रासस