बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता

काठमाडौं । बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित अमेरिकी विमान निर्माता बोइङसँग तीन अर्ब ७० करोड डलरको ठूलो सम्झौता गर्ने तयारी गरेको छ । यसअन्तर्गत आगामी दशकमा १४ वटा नयाँ विमान खरिद गरिनेछ, जसले देशको हवाई सेवामा उल्लेखनीय विस्तार ल्याउने अपेक्षा गरिएको छ ।      राज्य सञ्चालित बीएसएस समाचार एजेन्सीका अनुसार यो सम्झौता संयुक्त राज्य अमेरिकासँग भएको व्यापार तथा कर सहमतिको एक महत्त्वपूर्ण अंश हो । उक्त योजनाले बङ्गलादेश एयरलाइन्सको इतिहासमै सबैभन्दा ठूलो आधुनिक फ्लीट विस्तार सुनिश्चित गर्ने बताइएको छ ।      प्रस्तावित सम्झौताअनुसार आठ वटा बोइङ ७८७–१० ड्रीमलाइनर, दुई वटा बोइङ ७८७–९ ड्रीमलाइनर र चार वटा बोइङ ७३७–८ म्याक्स विमान खरिद गरिनेछन् । यससम्बन्धी औपचारिक हस्ताक्षर समारोह बिहीबार साँझ ढाकामा आयोजना हुने तय गरिएको छ ।      हाल बङ्गलादेश एयरलाइन्ससँग १९ वटा विमान छन्, जसमध्ये करिब १४ वटा बोइङ कम्पनीकै रहेका छन् । नयाँ खरिदले कम्पनीको सेवा क्षमता, दक्षता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउने विश्वास गरिएको छ ।      यो खरिद निर्णयको पृष्ठभूमिमा राजनीतिक र आर्थिक परिवर्तन पनि जोडिएको छ । सन् २०२४ को राजनीतिक उथलपुथलपछि अन्तरिम सरकारले अगस्ट २०२५ मा उक्त खरिदमा सहमति जनाएको थियो । त्यसपछि फेब्रुअरी २०२६ मा नयाँ सरकार निर्वाचित भएको हो ।      बङ्गलादेशले संयुक्त राज्य अमेरिकासँगको व्यापार सन्तुलन मिलाउन तथा सम्भावित उच्च करबाट जोगिन यो सम्झौता अघि बढाएको हो । विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादकका रूपमा रहेको बङ्गलादेशको कुल निर्यातमा करिब ८० प्रतिशत हिस्सा कपडा तथा रेडिमेड गार्मेन्टको छ, जसमा अमेरिकी बजारले करिब २० प्रतिशत हिस्सा ओगटेको छ ।      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बङ्गलादेशी वस्तुमा उच्च कर लगाउने चेतावनी दिएपछि ढाकाले बोइङ विमान खरिदका साथै अमेरिकी गहुँ, कपास र तेल आयात बढाउने प्रस्ताव अघि सारेको थियो । सुरुमा २५ वटा विमान खरिद गर्ने प्रस्ताव गरिए पनि पछि घटाएर १४ मा सीमित गरिएको हो ।      यो निर्णयले युरोपेली विमान निर्माता एयरबससँग भइरहेको सम्भावित सम्झौतामा असर पारेको छ । बङ्गलादेशसँग एयरबस विमान बिक्रीका लागि भइरहेको छलफल यस सम्झौतापछि प्रभावित भएको बताइएको छ ।      ट्रम्प प्रशासनले बङ्गलादेशी कपास उत्पादनमा ३७ प्रतिशतसम्म कर लगाउने चेतावनी दिएको थियो, जुन पछिल्लो सहमतिपछि घटाएर २० प्रतिशतमा ल्याइएको छ । यसले बङ्गलादेशको निर्यातमुखी अर्थतन्त्रलाई केही राहत दिएको छ ।      सन् २०२४ को अशान्तिपछि पुनःस्थापनाको चरणमा रहेको बङ्गलादेशको गार्मेन्ट उद्योगलाई स्थिर बनाउन पनि यस्तो आर्थिक तथा व्यापारिक सम्झौताले भूमिका खेल्ने अपेक्षा गरिएको छ । रासस   

सन् २०२२ पछिकै महँगो भयो कच्चा तेल, प्रति ब्यारेल १२६ डलर नाघ्यो

काठमाडौं । कच्चा तेलको मूल्य सन् २०२२ पछि सबैभन्दा उच्च स्तरमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरान युद्धसँग सम्बन्धित नयाँ सैन्य विकल्पहरूबारे जानकारी दिइएको खबरपछि बिहीबार एसियामा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको हो । न्यूज वेबसाइट एक्सियोसका अनुसार अमेरिकी सेन्ट्रल कमान्डले इरानमाथि आक्रमण गर्ने योजना तयार पारेको छ, जसको उद्देश्य इरानसँगको वार्तामा देखिएको गतिरोध अन्त्य गर्नु हो । ब्रेन्ट क्रूडको मूल्य करिब ७ प्रतिशत बढेर प्रति ब्यारेल १२६ डलरभन्दा माथि पुगेको छ, जुन सन् २०२२ मा रूसले युक्रेनमाथि पूर्ण आक्रमण गरेपछि देखिएको सबैभन्दा उच्च स्तर हो । यस हप्ता ऊर्जा मूल्यहरूमा वृद्धि भएको छ किनभने शान्ति वार्ता अवरुद्ध भएको देखिन्छ र महत्त्वपूर्ण समुद्री मार्ग होर्मुज स्ट्रेट बन्द रहेको छ । एक्सियोसको रिपोर्टमा अज्ञात स्रोतहरूको हवाला दिँदै प्रस्तावित आक्रमणहरूमा पूर्वाधारलाई लक्ष्य बनाउन सकिने बताइएको छ । रिपोर्टअनुसार अर्को योजनामा होर्मुज स्ट्रेटको केही भागमा नियन्त्रण कायम गरेर त्यसलाई व्यापारिक जहाजहरूका लागि पुनः खोल्ने प्रस्ताव गरिएको छ ।

बालेनको उदय र नेपालको भविष्यबारे विभिन्न देशका कूटनीतिज्ञले गरे विश्लेषण

काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एनआईआईसीई) ले प्रधानमन्त्री बालेन शाहको नेतृत्व र नेपालमा भइरहेको राजनीतिक रूपान्तरणको विषयमा अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरेको छ ।  ‘नेपालको विकसित शासन प्रणाली र अन्तर्राष्ट्रिय दृष्टिकोण’ विषयक उक्त कार्यक्रममा विश्वका २५ देशका २६ जना कूटनीतिज्ञ, नीति निर्माता तथा विद्वानहरूले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा भारत, अमेरिका, चीन, बंगलादेश, पाकिस्तान, जापान र भुटान लगायतका देशका प्रतिनिधिहरूले नेपालको वर्तमान राजनीतिक परिदृश्यलाई सूक्ष्म ढङ्गले विश्लेषण गरे । एनआईआईसीईका कार्यक्रम संयोजक विवेकध्वज थापाले नेपाल सरकारको परराष्ट्र नीतिबारे देशभित्र पर्याप्त चर्चा भए पनि बाहिरी विश्वले वर्तमान नेतृत्वलाई कसरी हेरिरहेको छ भन्नेबारे छलफल कम हुने गरेको जानकारी दिए । सोही रिक्तता पूर्ति गर्न विश्वभरका विज्ञहरूलाई एकै थलोमा ल्याइएको उनको भनाइ छ । चिनियाँ विज्ञ डा. चाङ चियाडोङले वर्तमान नेतृत्वलाई ‘व्यावहारिक, भ्रष्टाचारविरोधी र जनकेन्द्रित’ भएको बताए । उनले यो शासन शैलीले युवा पुस्तासँग गहिरो सम्बन्ध स्थापित गरेको र प्रत्यक्ष प्रशासनतर्फको परिवर्तनको संकेत गरेको उल्लेख गरे । भारतका पूर्वराजदूत मन्जीव सिंह पुरीले नेपालको रूपान्तरणमा सामाजिक सञ्जाल र युवा आकांक्षाको ठूलो हात रहेको बताउँदै द्विपक्षीय सम्बन्धलाई आर्थिक सहकार्य र सम्पर्क सुदृढीकरणमा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।  त्यस्तै, पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरनले यसलाई ‘नयाँ पुस्ताद्वारा सञ्चालित निरन्तर राजनीतिक विकास’ को संज्ञा दिए । अमेरिकाका डा. रोब योर्कले नेपालले चीन र भारतबीच अपनाएको रणनीतिक सन्तुलनलाई विश्वले नजिकबाट हेरिरहेको बताए । उनले युवामुखी नीति नल्याए राजनीतिक अस्थिरता बढ्न सक्ने चेतावनीसमेत दिए । बंगलादेशका डा। साहाब इनाम खानले बालेन शाहको नेतृत्वले युवाहरूको आकांक्षालाई चुनावी सफलतामा बदल्न सफल भए पनि संस्थागत सुदृढता र स्पष्ट वैचारिक ढाँचाको अभावले दीर्घकालीन चुनौती निम्त्याउन सक्ने विश्लेषण गरे । युरोपेली संघकी जोएल हिभोनेटले नेपालको परिवर्तनलाई लोकतान्त्रिक संक्रमणको महत्त्वपूर्ण उदाहरण मानिन् भने पाकिस्तानकी डा. आम्ना खानले नेपाललाई क्षेत्रीय सहकार्यको नमुनाका रूपमा प्रस्तुत गरिन् । नेपालको राजनीतिक रूपान्तरणलाई विश्वले निकै आशावादी दृष्टिले हेरेको वक्ताहरूले बताएका थिए । अन्ततः, जनआकांक्षाको सम्बोधन, बलियो संस्थागत आधार र समग्र स्थिरता नै यसको दीर्घकालीन सफलताका निर्णायक कडी हुनेछन् ।