श्रीलंकाले गर्यो अनलाइन भिसा आवेदन प्लेटफर्म पुनःस्थापना
श्रीलंकाको सर्वोच्च अदालतले भिसा प्रशोधन विदेशी कन्सोर्टियमलाई आउटसोर्स गर्ने विवादास्पद करोडौं डलरको सम्झौतालाई निलम्बन गरेपछि श्रीलंकाले पर्यटनलाई प्रोत्साहन गर्न अनलाइन भिसा आवेदन प्लेटफर्म पुनःस्थापना गरेको छ । मुलुकको अर्थतन्त्र सन् २०२२ को वित्तीय सङ्कटबाट बिस्तारै बाहिर निस्कँदै गर्दा यो कदम मुलुकको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न लक्षित रहेको नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेको सरकारले बिहीबार राति बताएको थियो । पर्यटकहरूले अब भारतस्थित भिएफएस ग्लोबलले लिने २५ डलर शुल्क नतिरी अनलाइन भिसाका लागि आवेदन दिन सक्नेछन् । भिएफएस ग्लोबलले अप्रिलमा अघिल्लो सरकारबाट आउटसोर्सिङ सम्झौता जितेको थियो । अधिकारकर्मीहरूले अदालतमा सम्झौता पारदर्शी तरिकाले प्रदान नगरिएको आरोप लगाउँदै कन्सोर्टियमले १६ वर्षको अवधिमा दुई अर्ब ७५ करोड डलरसम्म कमाउन सक्ने बताए । अगस्टमा श्रीलङ्काको सर्वोच्च अदालतले अध्यागमन अधिकारीहरूलाई भिएफएसलाई प्रदान गर्नुअघि प्रयोग गरिएको उक्त अनलाइन प्लेटफर्ममा फर्कन आदेश दिएको थियो । राष्ट्रपति दिसानायकेको कार्यालयले बिहीबार वक्तव्यमा भनेको छ, ‘भिएफएस ग्लोबलले प्रदान गरेको भिसा सुविधाले धेरै मानिसलाई उल्लेखनीय कठिनाइ निम्त्याएको छ ।’ साथै विदेशीहरूले भिसा प्राप्त गर्न चुनौतीको सामना गर्नुपरेको पनि कार्यालयले बताएको छ । सर्वोच्च अदालतको फैसलाको निर्णय पालना नगरेको आरोपमा बुधबार अध्यागमन प्रमुख हर्ष इलुकपिटियालाई पक्राउ गरिएको थियो । इलुकपिटिकियाले अप्रिलदेखि भिसा आवेदन प्रशोधन गर्न भारतको जिबिएस टेक्नोलोजी सर्भिस र आइभिएस ग्लोबल एफजेडसिओका साथै भिएफएस ग्लोबललाई साझेदारका रूपमा करोडौं डलरको सम्झौता गरेका थिए । ‘हामीले भिएफएस ग्लोबसलसँग सम्बन्धित अनियमतिताहरूको अनुसन्धान गर्न तत्काल फरेन्सिक लेखापरीक्षण सुरु गरेका छौं,’ राष्ट्रपति कार्यालयले बिहीबार भनेको छ, ‘कुनै पनि विसङ्गति फेला परे कानूनी कारवाही गरिनेछ ।’ आउटसोर्सिङ सम्झौताअन्तर्गत श्रीलङ्कामा प्रवेश गर्ने कुनै पनि विदेशीले २५ डलर भिसा प्रशोधन शुल्क भुक्तानी गर्नुपर्थ्यो । यहाँसम्म कि श्रीलङ्काका साथै भिसा–मुक्त भ्रमणको व्यवस्था भएका मुलुकका नागरिकले पनि त्यति शुल्क तिर्नुपर्थ्यो । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार यस वर्षको पहिलो सात महिनामा करिब ११ लाख ९० हजार पर्यटक श्रीलङ्का आएका छन् । यो सन् २०२३ को सोही अवधिको तुलनामा ५६ प्रतिशतले बढी हो । रासस
अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि
काठमाडौं । अस्ट्रेलियामा पछिल्लो तीन महिनामा एमपक्स (मंकीपक्स)का घटनामा तीव्र वृद्धि भएको छ । स्वास्थ्य विशेषज्ञहरूले कम खोप दरले शहरबाहिर एमपक्स सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । सन् २०२४ सेप्टेम्बरको अन्त्यसम्ममा ७३७ व्यक्तिमा एमपक्स सङ्क्रमण देखिएको छ घने तीमध्ये अधिकांश सङ्क्रमण पछिल्ला केही महिनामा भएका छन् । अष्ट्रेलियामा गत वर्ष २६ र सन् २०२२ मा १४४ व्यक्तिमा एमपक्स सङ्क्रमण पुष्टि भएको थियो । यस वर्षको अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यहरूका रहेका र दुई जनाबाहेक अन्य सबै सङ्क्रमित महिला रहेका छन् । अस्ट्रेलियन डिपार्टमेन्ट अफ हेल्थ एन्ड एज्ड केयरका प्रवक्ताले एएफपीसँग कुरा गर्दै यस वर्षको मे महिनादेखि नै सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताएका छन् । अस्ट्रेलियाले खोप लगाउनका लागि यस पहिलेकोे प्रतिबन्ध हटाएर ‘एमपिक्सको जोखिममा रहेका सबै उमेर समूहका व्यक्तिहरू’ ले खोप लगाउन सक्ने बताएको छ । सिड्नीका यौन स्वास्थ्य चिकित्सक तथा जीपी म्याथ्यु शिल्ड्सले राष्ट्रिय प्रसारक एबीसीलाई बताएअनुसार खोप दर कम भएका महानगर क्षेत्रबाहिर भाइरस सङ्क्रमण पत्ता लागेको छ । एमपक्स सङ्क्रमित जनावरहरूबाट मानिसमा सर्ने भाइरस हो । यो शारीरिक सम्पर्कको माध्यमबाट पनि मानिसबाट मानिसमा सर्न सक्छ। कुनै–कुनै अवस्थामा घातक यस भाइरसका कारण ज्वरो आउने, मांसपेशी दुख्ने र छालामा ठूलो फोकाजस्तो घाउहरू आउने गर्छ । सन् २०२२ को मे महिनामा क्लेड २ बी विश्वभरि फैलिएपछि यो भाइरसबारे अन्तर्राष्ट्रिय रूपमा चासो बढेको थियो । जुलाई २०२२ मा, विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । अस्ट्रेलियाले एमपक्सको अधिक खतरनाक मानिएको नयाँ ‘क्लेड १ बी भेरियन्ट’को मानिसमा सङ्क्रमण पुष्टि भने गरेको छैन । रासस
भारतको वृद्धि प्रक्षेपण ७ प्रतिशत रहने एडीबीको प्रक्षेपण
काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षको भारतको वृद्धि प्रक्षेपण ७ प्रतिशतमा कायम राखेको छ । सुधारिएको कृषि उत्पादनमा आगामी त्रैमासिकमा अर्थतन्त्रले गति लिने अपेक्षा गरेको छ । एशियाली विकास बैंकले भारतको आर्थिक वृद्धि बलियो रहने प्रक्षेपण गरेको छ । एडीबीका अनुसार यी प्रक्षेपणहरू बैंकको एशियन डेभलपमेन्ट आउटलुक (एडीओ) सेप्टेम्बर २०२४ को हिस्सा हुन् । प्रतिवेदनले देशका अधिकांश भागमा औसतभन्दा माथिको मनसुनले आर्थिक वर्ष २०२४ मा ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँदै कृषिको वृद्धितर्फ लैजाने देखाएको छ । बहुपक्षीय संस्थाले अप्रिलको प्रतिवेदनमा ४.६ प्रतिशतको तुलनामा मुद्रास्फीति ४.७ प्रतिशतले छिटो बढ्ने प्रक्षेपण गरेको छ ।