आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट
श्रीलङ्काको अर्थतन्त्रमा ३९ वर्षमा पहिलो पटक उपभोक्ता मूल्यमा गिरावट आएको सरकारी आँकडाले सोमबार देखाएको छ । आँकडाअनुसार सेप्टेम्बरको मुद्रास्फीति ऋणात्मक ०.५ प्रतिशतमा झरेको छ । जनगणना तथा तथ्याङ्क विभागको आँकडाले अगस्टमा ०.५ प्रतिशत मुद्रास्फीति रहेकामा सेप्टेम्बरमा खाद्य र गैर–खाद्य वस्तु दुवै वस्तुको मूल्यमा गिरावट आएर अपस्फीति भएको देखाएको छ । यसअघि सन् १९८५ अक्टोबरमा ऋणात्मक २.१ प्रतिशतको अपस्फीति दर्ता गरिएको थियो । दुई वर्षअघि श्रीलङ्कामा अभूतपूर्व आर्थिक सङ्कटको चरम अवस्थामा मुद्रास्फीति ६९. ८ प्रतिशत पुगेको थियो । खाद्यान्न, इन्धन र औषधिको चरम अभावलले महिनौंसम्म विरोध प्रदर्शन हुँदा अन्ततः तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षले अस्थायी रूपमा मुलुक छाड्न र सन् २०२२ जुलाईमा पदबाट राजीनामा दिन बाध्य हुनुपरेको थियो । उनका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले २ अर्ब ९० करोड डलरको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को राहत प्याकेज प्राप्त गरी अर्थतन्त्रलाई स्थिर बनाउन कर र मूल्य वृद्धि गरेका थिए । सेप्टेम्बर महिनाको प्रारम्भमा राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे पराजित भएका थिए । निर्वाचनमा विजयी भएका अनुरा कुमारा दिसानायकेले आइएमएफ कार्यक्रमलाई जारी राख्ने तर यसले लागु गरेका केही कठोर मितव्ययी उपायलाई खुकुलो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अधिकांश देशमा पेट्रोलियम सवारी बिक्रीमा प्रतिबन्ध, कुन देशको कस्तो नीति ?
काठमाडौं । पृथ्वीको तापक्रम बढेसँगै जलवायु परिवर्तनको समस्या बढेको छ । यसलाई रोक्न धेरै देशहरूले उत्सर्जन घटाउने उपायहरू गर्न थालेका छन् । यसमा नयाँ पेट्रोल र डिजेल सवारीसाधनको बिक्रीमा प्रतिबन्ध पनि समावेश छ । तर, विभिन्न देशले यसका लागि फरक-फरक लक्ष्य राखेका छन् । उदाहरणका लागि युरोपेली देश नर्वेमा अर्को वर्ष पेट्रोल र डिजेलमा चल्ने सवारी साधनको बिक्री बन्द हुने भएको छ । भारतले सन् २०४० मा गर्ने योजना बनाएको छ । त्यसैगरी चीनले सन् २०३५ मा पेट्रोल र डिजेलमा चल्ने नयाँ कारको बिक्री रोक्ने लक्ष्य राखेको छ । यस मामिलामा नर्वेको योजना सबैभन्दा महत्वाकांक्षी छ । यो देशले अर्को वर्ष अर्थात् २०२५ मा नयाँ पेट्रोल र डिजेल गाडीको बिक्री बन्द गर्नेछ । बेल्जियमले यो २०२९ मा गर्ने संकल्प गरेको छ । यसैबीच जर्मनी, ग्रीस, आइसल्याण्ड, इजरायल, नेदरल्याण्ड, स्वीडेन र डेनमार्कले सन् २०३० मा पेट्रोल र डिजेलमा चल्ने नयाँ कारको बिक्री रोक्ने लक्ष्य राखेका छन् । क्यानडा, चिली, चीन, इटाली, जापान, दक्षिण कोरिया, पोर्चुगल, थाइल्याण्ड, बेलायत र अमेरिकाले सन् २०३५ सम्ममा पेट्रोल–डिजेल गाडीको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने योजना बनाएका छन् । भारतसँगै धेरै देशले सन् २०४० सम्ममा पेट्रोल र डिजेल सवारी साधनको बिक्री बन्द गर्ने लक्ष्य राखेका छन् । यसमा अस्ट्रिया, क्रोएसिया, इजिप्ट, एल साल्भाडोर, आयरल्याण्ड, मेक्सिको, न्यूजिल्याण्ड, पाकिस्तान, पोल्याण्ड, स्पेन र टर्की पर्छन् । चाखलाग्दो कुरा के छ भने इजिप्ट बाहेक अफ्रिकाका कुनै पनि देशले यस्तो लक्ष्य राखेका छैनन् । साथै, सबैभन्दा बढी कच्चा तेल उत्पादन गर्ने खाडी देशहरूले पनि त्यस्तो कुनै लक्ष्य तोकेका छैनन् । एजेन्सी
पाकिस्तानले भन्यो- बाढीपहिरोले समस्या भोगिरहेको नेपाललाई सघाउँछौं
काठमाडाैं । पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट गरेका छन् । यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार सन् २०२२ मा विनाशकारी बाढीको सामना गरेको पाकिस्तानले दुःखको यस घडीमा ऐक्बद्धता प्रकट गर्दै नेपाल सरकारलाई आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको छ ।