अमेरिकमा तीव्ररूपमा फैलियो बर्ड फ्लू , महामारीबाट बच्न विश्व समुदाय तयार नभएको प्रतिवेदन सार्वजनिक

पेरिस । अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा हुने महामारीबाट बच्नका लागि संसार तयार नभएको कडा चेतावनी दिएको मंगलबार एक प्रतिवेदनमा बताइएको छ । प्रतिवेदनमा नेताहरूलाई शीघ्र कदम चाल्न आग्रह गरिएको छ । कोभिड–१९ महामारीको प्रारम्भको चार वर्षभन्दा धेरै समयपछि राजनीतिज्ञहरूले प्रकोपको पुनरावृत्तिबाट बच्नका लागि पर्याप्त पैसा वा प्रयास नगरेर ‘उपेक्षाको माध्यमबाट जुवा’ खेलिरहेको प्रतिवदेनमा उल्लेख छ । अमेरिकाभरि फार्महरूमा गाईवस्तु र केही मानवलगायत स्तनधारी जनावरमा बर्ड फ्लू एच५एन१ तीव्ररूपमा फैलिरहेको छ । यसबाट यो भाइरसले भविष्यमा महामारी फैलाउन सक्छ भन्ने डर उत्पन्न भएको छ । ‘यदि एच५एन१ एउटा व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सुरु गर्यो भने विश्व पुनः अभिभूत हुनेछ,’ प्रतिवेदनका सह–लेखक तथा न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले एक पत्रकार सम्मेलनमा भने, ‘यो सम्भावितरूपमा कोभिडभन्दा पनि धेरै विनाशकारी हुनसक्छ ।’ ‘हामी प्रकोप फैलिनुअघि रोक्न पर्याप्तमात्रामा सुसज्जित छैनौँ,’ प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विशेषरूपमा बालबालिकालाई प्रभावित गर्ने एमपक्सको घातक तनावलाई संकेत गर्दै उनले भने । धनी मुलुकहरूसँग एमपक्सको प्रकोपसँग लड्न खोप भए पनि ती खोप मध्य अफ्रिकी मुलुकलाई उपलब्ध नगराइएको उनले बताए । अहिले दक्षिण अफ्रिकामा एमपक्स स्ट्रेनबाट दुई जनाको मृत्यु भएको भन्दै क्लार्कले यसबाट बेवास्ता गर्दा कसरी रोगजनकहरू फैलिन्छन् भन्ने देखिएको उनले बताए। प्रतिवेदनको नेतृत्व क्लार्क र लाइबेरियाका पूर्वराष्ट्रपति एलेन जोनसन सिरलिफले गरेका थिए । सिरलिफले यसअघि महामारीको तयारीमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई सल्लाह दिने स्वतन्त्र प्यानलको सह–अध्यक्षका रूपमा काम गरेका थिए । ‘सन् २०२१ मा प्यानलको सल्लाहका बावजुद आवश्यकताको तुलनामा अहिले उपलब्ध धनराशि कम छ र उच्च आम्दानी भएका मुलुकहरूले इक्विटीका लागि परम्परागत परोपकारमा आधारित दृष्टिकोणलाई बलियोसँग पक्रिरहेका छन्,’ क्लार्कले भने । विशेषगरी सम्पन्न मुलुकहरू र कोभिड संकटको समयमा कटौती गरिएका महसुस गर्नेहरूबीचको भिन्नताका कारण डब्लुएचओका सदस्यहरू अझै पनि बहुचर्चित महामारी सम्झौतामा सहमत हुन सकेका छैनन् । प्रतिवेदनमा सरकार तथा अन्तर्राष्ट्रिय संगठनहरूलाई डिसेम्बरसम्ममा नयाँ महामारी सम्झौतामा सहमत हुनका साथै खोप उत्पादनलाई बढावा दिन, डब्लुएचओको शक्तिलाई बढाउन र भाइरससँग लड्ने राष्ट्रिय प्रयासहरूलाई बढावा दिनका लागि थप प्रयासहरूलाई वित्तपोषित गर्न आह्वान गरिएको छ । सम्भावित खतरामाथि जोड दिनका लागि प्रतिवेदनले आगामी २५ वर्षमा कोभिडजस्तै आकारको महामारीको सामना गर्ने एकरदुई सम्भावनाका मोडेलिङ अनुसन्धानलाई औंल्याएको छ । एजेन्सी

टाट पल्टियो भारतको व्यावसायिक घराना जेपी ग्रुप

काठमाडौं । कुनै समय भारतको जेपी ग्रुपले द्रुतमार्ग, राजमार्ग, हाइराइज बिल्डिङ, अस्पताल र रियल इस्टेट विकासकर्ताका रूपमा आफ्नो प्रभूत्व जमाएको थियो । अहिलेको अवस्थामा जेपी ग्रुपको अन्तिम कम्पनी पनि डुब्ने स्थितिमा पुगेको छ । यो कथा हो जेपी अर्थात् जयप्रकाश समूहको । जेपी ग्रुपको कम्पनी जेपी हेल्थकेयर विरुद्ध एनसीएलटीले खारेज प्रक्रिया सुरु गर्न आदेश दिएको छ । जेपी हेल्थकेयर जेपी ग्रुपको अन्तिम मूल्यवान कम्पनी हो, जुन अहिले टाट पल्टिएकाे छ । इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार देशका धेरै ठूला कम्पनीहरूले जेपी हेल्थकेयर किन्न चासो देखाइरहेका छन्, जसमा फोर्टिस हेल्थकेयर, अपोलो अस्पताल, मेदान्ता र म्याक्स हेल्थकेयर जस्ता ठूला खेलाडीहरू समावेश छन् । रिपोर्टका अनुसार एनसीएलटीको इलाहाबाद बेन्चले जेपी हेल्थकेयरलाई कर्पोरेट दिवालियापन र रिजोलुसन प्रक्रियाका लागि जेसी फ्लावर्स एसेट रिकन्स्ट्रक्सन कम्पनीले दायर गरेको याचिका स्वीकार गर्न मौखिक आदेश दिएको छ । यस आदेशमा लिखित प्रतिलिपि आएको छैन । केयर रेटिङ्सले गरेको खुलासा अनुसार कम्पनीको विभिन्न बैंकमा १० अर्ब रुपैयाँ ऋण छ । यद्यपि, जेपी समूह यो परिस्थितिबाट गुज्रिएको पहिलो घटना भने यो हो होइन । राष्ट्रिय कम्पनी कानुन न्यायाधीकरणले ऋण संकटमा फसेका जयप्रकाश एसोसिएट्स लिमिटेडलाई खारेजी प्रक्रियामा जान स्वीकृति दिएको छ । निर्माण, सिमेन्ट र हस्पिटालिटी व्यवसायमा काम गर्ने कम्पनी चर्को ऋणमा डुबेको छ । ऋण घटाउनका लागि कम्पनीले विगत केही वर्षमा आफ्ना धेरै सिमेन्ट प्लान्ट बेचेको छ । आज कठिन समयबाट गुज्रिरहेको जयप्रकाश ग्रुपको जग २ सय १८ रुपैयाँ तलब लिने इन्जिनियरले राखेका हुन् । २ सय १८ रुपैयाँ तलब लिने एक साधारण इन्जिनियरले करोडौंको व्यापार गर्न सक्छ भन्ने कुरा सायदै कसैले पत्याउन सक्छ । सन् १९३१ मा यूपीको बुलन्द सहरमा जन्मेका जयप्रकाश गौर मध्यम वर्गका थिए। उनका बुबाले उनलाई केही पैसा जोहो गरेर रुडकीको सिभिल इन्जिनियरिङमा भर्ना गराए । पढाइ सकेर जागिर खाएका उनले तलब २ सय १८ रुपैयाँ मात्रै पाए । बेतवा खोलामा निर्माण भइरहेको बाँध आयोजनामा ​​जयप्रकाश गौरले काम पाएका थिए । उनले इन्जिनियरका २ सय १८ रुपैयाँ तलब पाउँदा ठेकेदारले भने मासिक ५ हजार रुपैयाँ पारिश्रमिक लिइरहेको देखे । उनले त्यही क्षण जागिरको सट्टा आफ्नै काम गर्ने निर्णय गरे । सन् १९५८ मा जेपी गौरले जागिर छाडेर आफ्नै काम सुरु गरे । केही वर्षको संघर्षपछि उनले सफलता पाउन थाले । देशकै पहिलो एक्सेस कन्ट्रोल एक्सप्रेसवेको काम जयप्रकाश गौरको कम्पनीले पायो । केही वर्षभित्रै, कम्पनीले एक्सप्रेसवे, राजमार्गदेखि फर्मुला वान रेसिङ ट्र्याकसम्म सबै निर्माण गर्ने रेकर्ड बनायो । १ हजार ६ सय ५ किलोमिटर लामो ग्रेटर नोएडा–आग्रा एक्सप्रेसवे वा यमुना एक्सप्रेस जेपीको योगदान हो । कम्पनीले घरजग्गा क्षेत्रमा पनि धेरै नाम कमाएको छ । दिल्ली–एनसीआरमा ३२ हजारभन्दा बढी फ्ल्याटहरू निर्माण गरेको छ । २ सय १८ रुपैयाँ तलब पाएका एक साधारण इन्जिनियरले करोडौंको कारोबार भएको कम्पनी स्थापना गरे । एकपछि अर्को क्षेत्रमा व्यापार बढ्दै गयो सन् १९८१ मा जेपी ग्रुप होटल र हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेर पहिलो होटल व्यवसाय सुरु गर्यो । १९८७ मा जयप्रकाश एसोसिएट लिमिटेड स्टक एक्सचेन्जमा सूचीकृत भयो । कम्पनीले १९९२ मा जलविद्युत क्षेत्रमा प्रवेश गरेको थियो । १९८६ मा जेपी सिमेन्ट सञ्चालनमा आएको थियो । जेपी इन्स्टिच्युट अफ इन्फर्मेसन एन्ड टेक्नोलोजीको आधार २००१ मा राखिएको थियो । जेपी इन्फ्रास्ट्रक्चर कर्पोरेसन २००८ मा अस्तित्वमा आएको थियो। २०११ मा जेपीले घरजग्गा क्षेत्रमा प्रवेश गरेको थियो भने २०१४ मा जेपीले मल्टि स्पेसलिटी अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको थियो । कम्पनीमा ऋणको बोझ चुलिँदै गयो देशमा मात्रै नभएर विदेशमा पनि कम्पनीको काम विस्तार हुन थाल्यो । १९७९ मा जेपी ग्रुपले इराकमा २ अर्ब ५० करोड रुपैयाँको काम पाएको थियो । कामसँगै उनको सम्पत्ति पनि बढ्दै गयो र २०१० मा फोर्ब्स पत्रिकाको भारतीय अर्बपतिको सूचीमा ४८औं स्थानमा थियो । डेढ अर्ब डलर सम्पत्ति भएका जयप्रकाश गौरको सम्पत्ति बढ्दै जान थाल्यो । तर, कम्पनीको कारोबार बढेसँगै कम्पनीमाथि ऋणको बोझ पनि बढ्दै जान गाल्यो । कर्जा र ब्याजको बोझले कम्पनी चुक्न थाल्यो । ऋण तिर्नका लागि कम्पनीहरू एकपछि अर्को डुब्दै गए । पछिल्लो समय जेपी इन्फ्राको कारोबार सुरक्षा समूहले किनेको थियो । ऋण तिर्नका लागि कम्पनीले एकपछि अर्को गर्दै सिमेन्ट व्यवसाय बेच्नुपरेको थियो । ऋण कम्पनीको लागि विनाशको कारण बन्यो । एजेन्सी

भारतमा अत्यधिक गर्मीले घट्यो डिजेलको माग, जुनमा ४ प्रतिशत गिरावट

काठमाडौं । भारतमा अत्यधिक गर्मीका कारण डिजेलको माग घटेको छ । देशका विभिन्न भागमा अत्यधिक गर्मीका कारण मानिसहरूले कम यात्रा गर्न थालेपछि डिजेलको मागमा कमी आएको बताइएको छ । चुनावको समयमा परम्परागत रूपमा वृद्धि हुने इन्धन बिक्रीले यस वर्ष यो प्रवृत्तिलाई कमजोर बनाएको बताइएको छ । यो गिरावट लोकसभा निर्वाचनपछि पनि जारी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जुन १ देखि १५ सम्म डिजेल बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.९ प्रतिशतले घटेर ३९.५ लाख टनमा सीमित भएको छ । भारतमा सबैभन्दा बढी खपत हुने इन्धनको माग अप्रिलमा २.३ प्रतिशत र मार्चमा २.७ प्रतिशतले घटेको थियो । यो महिनामा भने १.१ प्रतिशतले गिरावट आएको छ । पेट्रोल र डिजेलको मूल्य पनि घट्याे मध्य मार्चमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको थियो । दर संशोधनको लगभग दुई वर्ष लामो अन्तरालपछि पनि इन्धन खपत द्दटेको बताइएको छ । गत वैशाख १ देखि १५ सम्म मासिक रूपमा पेट्रोलको बिक्री १४.७ लाख टन खपतको तुलनामा ३.६ प्रतिशतले घटेको छ । डिजेलको माग मेको पहिलो पन्ध्र दिनमा मासिक आधारमा ३५.४ लाख टनमा स्थिर रह्यो । भारतमा डिजेल सबैभन्दा बढी खपत हुने इन्धन हो, जसमा खपत हुने सबै पेट्रोलियम पदार्थको करिब ४० प्रतिशत हो । देशको कुल डिजेल बिक्रीको ७० प्रतिशत यातायात क्षेत्रको छ । यो हार्वेस्टर र ट्रयाक्टर लगायत कृषि क्षेत्रमा प्रयोग हुने प्रमुख इन्धन हो । जुन १ देखि १५, २०२४ को बीचमा हवाई इन्धनको माग वार्षिक रूपमा २.३ प्रतिशतले बढेर ३ लाख ३१ हजार टन पुगेको छ । असार १ देखि १५ सम्म खाना पकाउने ग्यास (एलपीजी) को माग वार्षिक आधारमा ०.१ प्रतिशतले बढेर १२.४ लाख टन पुगेको छ । एजेन्सी