सिंगापुरको तापक्रम ३६ डिग्री नाघ्यो
काठमाडौं । नोभेम्बर सन् २०२४ सिंगापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९.० मिलिमिटर वर्षा भएको राष्ट्रिय वातावरण एजेन्सी (एनइए) ले घोषणा गरेको छ । यो कुल वर्षाले नोभेम्बर सन् १९९२ मा सेट गरिएको ३९०.१ मिमीको अघिल्लो रेकर्ड तोडेको छ । गत शनिबार सिंगापुरमा डिसेम्बरको सबैभन्दा तातो दिन भएको वातावरण एजेन्सीले जनाएको छ । पूर्वी सिंगापुरको तापक्रम ३६.२ डिग्री सेल्सियस पुगेको छ, जुन अघिल्लो सन् २०१६ डिसेम्बर ६ मा तोकिएको ३५.९ डिग्रीभन्दा बढी थियो ।
एनभीडीयाको सेयर घट्यो, चीनद्वारा एकाधिकारविरोधी कानुन उल्लङ्घनको अनुसन्धान सुरु
काठमाडौं । अमेरिकी मल्टीनेसलन टेक कम्पनी एनभीडीयाको सेयर घटेको छ । एनभीडीयाविरुद्ध एकाधिकारविरोधी कानुन उल्लङ्घनको आरोपमा चीनले अनुसन्धान सुरु गरेसँगै एनभिडियाको सेयरमा दबाब परेको हो । सेयर लगभग २.५५ प्रतिशत ले घटेको हो । राज्य बजार नियमन प्रशासन (एसएएमआर) ले एनभीडीयाको इजरायली प्राविधिक कम्पनी मेलानोक्सको अधिग्रहण र यसका सम्बन्धित सम्झौताहरूमा सम्भावित उल्लङ्घनको विषयमा अनुसन्धान थालेको हो । एनभीडीयाले सन् २०२० मा मेलानोक्सलाई अधिग्रहण गरेको थियो, जसले डाटा सेन्टर र सर्भरहरूको लागि नेटवर्क समाधान प्रदान गर्दछ। एसएएमआरले भनेको छ, ‘हालैका दिनहरूमा एनभीडीयाले चीनको एकाधिकारविरोधी कानुन उल्लङ्घन भएको आशंकामा र मेलानोक्स सेयर अधिग्रहणसँग सम्बन्धित सर्तहरूलाई लिएर अनुसन्धान सुरु गरिएको हो ।’ यस समाचारले अमेरिका र चीनबीचको चिप निर्माणको प्रतिस्पर्धालाई थप तताएको छ । अमेरिकी राष्ट्रपति कार्यालयले चिप बिक्रीमा कडा प्रतिबन्ध लगाउने प्रयास गरेको छ, जसले चीनको सैन्य क्षमतामा सुधार रोक्ने उद्देश्य राख्छ । एनभीडीयाले भनेको छ, ‘हामी नियामक निकायहरूबाट आएका सबै प्रश्नहरूको जवाफ दिन तयार छौं ।’ यो वर्ष कृत्रिम बाैद्धिकता (एआई) चिप्समा उच्च मागका कारण एनभीडीयाको सेयर १८० प्रतिशतले वृद्धि भएको थियो ।च्याटजीपीटीको लोकप्रियता र व्यापक प्रविधि क्षेत्रमा लगानीकर्ताहरूको रुचिले सेयर बजारमा सुधार ल्याएको छ ।
१२ प्रतिशतले घट्यो रिलायन्स इन्डस्ट्रिजको सेयर, ३ अर्ब डलर ऋण खोज्दै मुकेश अम्बानी
काठमाडौं । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा अर्बपति मुकेश अम्बानीलाई ऋणको खाँचो परेको ब्लूमबर्गले जनाएकाे छ । यसका लागि उनले करिब आधा दर्जन बैंकसँग वार्ता गरिरहेका छन् । रिलायन्स इन्डस्ट्रिजको ऋण तिर्न अम्बनीले ऋण खोजेका हुन् । ब्लूमबर्गले आफ्नो एक रिपोर्टमा यो जानकारी दिएको हो । इकोनोमिक टाइम्समा प्रकाशित ब्लुमबर्गको रिपोर्टअनुसार मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रीजले अर्को वर्षसम्म आफ्नो ऋण तिर्न चाहन्छ । यो ऋण तिर्न कम्पनीलाई ३ अर्ब डलर ऋण चाहिन्छ। आधा दर्जन बैंक छलफलमा प्रतिवेदनमा भनिएको छ कि लगभग आधा दर्जन बैंकहरू ऋणको लागि रिलायन्स समूहसँग छलफलमा छन् । केही व्यक्तिलाई उद्धृत गर्दै प्रतिवेदनमा यो जानकारी दिइएको हो । सर्तहरू अझै टुंगोमा पुगिसकेका छैनन् । कम्पनीमाथि २.९ अर्ब डलर ऋण ब्लूमबर्ग न्यूजको तथ्यांकअनुसार रिलायन्स इन्डस्ट्रीजको करिब २.९ बिलियन डलर ऋण छ । यसमा कम्पनीले सन् २०२५ मा तिर्नुपर्ने ब्याज पनि समावेश छ । रिलायन्स इन्डस्ट्रिजले पनि सन् २०२३ मा ८ अर्ब डलरभन्दा बढी ऋण लिएको थियो । कम्पनीको सेयरको अवस्था कस्तो छ ? कम्पनीको सेयर अहिले ओरालो लागेको छ । सोमबार रिलायन्स इन्डस्ट्रिजको सेयर १.१६ प्रतिशतले घटेको थियो । पछिल्ला ६ महिना कम्पनीका लागि निकै कठिन रह्यो । बजारमा आएको गिरावटले रिलायन्स इन्डस्ट्रिजको सेयरमा ठूलो असर गरेको छ । पछिल्लो ६ महिनामा कम्पनीको सेयर करिब १२ प्रतिशतले घटेको छ । कम्पनीको बजार पुँजी पनि घटेको छ । यस वर्षको कुरा गर्ने हो भने कम्पनीको सेयरमा एक प्रतिशत पनि प्रतिफल आएको छैन ।