अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । पछिल्लो अमेरिकी व्यापार संरक्षणवादी उपायको घरेलु र अन्तर्राष्ट्रिय स्तरमा व्यापक विरोध भएको छ । ह्वाइट हाउसले १० प्रतिशत कर हालको कर बाहेक चीनबाट हुने सबै आयातमा लागू गरिएको बताएको छ । कार्यकारी आदेशअनुसार संयुक्त राज्य अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा पनि २५ प्रतिशत कर लगाएको छ । क्यानडाबाट आउने ऊर्जा उत्पादनहरूको लागि प्रशासनले १० प्रतिशत शुल्क लगाएको छ ।
भारतले नेपालका लागि छुट्यायो ७ अर्ब बजेट, कुन देशलाई कति ?
काठमाडौं । भारत सरकारले नेपालका लागि ७ अर्ब भारू (नेपाली ११ अर्ब २० करोड रुपैयाँ) बराबरको बजेट छुट्टाएको छ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले पेश सार्वजनिक गरेको सन् २०२५/२६ को बजेटमा छिमेकी मुलुक नेपालका लागि ७ अर्ब भारु अर्थात ११ अर्ब २० करोड रुपैयाँ छुट्याएकी हुन् । यसअघि अघिल्लो वर्षको बजेटमा पनि सोही आकारमा नेपालका लागि बजेट विनियोजन गरेको थियो । सन् २०२३/२४ का लागि नेपालका लागि भारतले ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० लाख रुपैयाँ) छुट्टाएको थियो । अर्थमन्त्री निर्मला सीतारमणले दक्षिण एसियाली ७ वटा देशसहित अन्य विकासोन्मुख देश अफ्रिकन, ल्याटिन अमेरिकन र युरोपियन देशका लागि समेत बजेट छुट्याएको छ । उनले विदेशी मामिला मन्त्रालयका लागि २ खर्ब ५ अर्ब भारू छुट्याएकी छन् । जसमध्ये विदेशी सहायता शिर्षकमा ५४ अर्ब ८३ करोड भारू छुट्याएकी हुन् । जुन अघिल्लो वर्षको तुलनामा ५८ अर्ब ६ करोड रुपैयाँ कम हो । भारत सरकारले भुटानका लागि सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ । भुटानलाई भारतले २१ अर्ब ४३ करोड भारू छुट्याएको छ । जबकी अघिल्लो वर्ष भारतले भुटानलाई २५ अर्ब २३ करोड भारू विनियोजन गरेको थियो । यस्तै, माल्दिभ्सका लागि ६ अर्ब भारू, अफगानस्तानका लागि १ अर्ब भारू, म्यानमारका लागि ३ अर्ब ५० करोड भारू, श्रीलंकाका लागि ३ अर्ब भारू बजेट विनियोजन गरेको छ । अफ्रिकी देशका लागि २ अर्ब २५ करोड भारू र ल्याटिन अमेरिकाका लागि ६० करोड भारू छुट्याएको अर्थमन्त्रीले जनाइन् ।
महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै, साढे २९ करोडले गरे स्नान
काठमाडौं । ७७ देशका नियोग प्रमुख र कूटनीतिज्ञ सहित ११८ सदस्यीय प्रतिनिधिमण्डलले शनिबार प्रयागराजमा महाकुम्भको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले विदेशी कूटनीतिज्ञले फेब्रुअरी १ मा हुने महाकुम्भ मेलाको भ्रमण गर्ने जानकारी दिए । यसैबीच, मौनी अमावस्याका अवसरमा चलिरहेको महाकुम्भमा भएको भागदौडको छानबिन गर्न गठित तीन सदस्यीय न्यायिक आयोगले शुक्रबार प्रयागराजस्थित स्वरूप रानी नेहरू अस्पतालको निरीक्षण गरेको छ । सङ्गममा बुधबार बिहान भएको दुखद घटनामा कम्तिमा ३० जनाको मृत्यु र ६० जना घाइते भएका थिए । यस सम्बन्धमा जारी सूचनामा आयोगलाई भागदौडको कारण र परिस्थितिबारे अध्ययन गरी भविष्यमा यस्ता घटना हुन नदिन सुझाव दिने जिम्मा दिइएको छ । आयोग गठन भएको एक महिनाभित्र छानबिन प्रतिवेदन बुझाउनुपर्नेछ । उत्तर प्रदेश सूचना विभागका अनुसार महाकुम्भमा २९ करोड ६४ लाख भन्दा बढी भक्त पवित्र सङ्गममा पवित्र स्नान गरेका छन् । महाकुम्भ मेला हिन्दू पौराणिक कथामा आधारित छ । यो विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघट हो । महाकुम्भ वेबसाइटका अनुसार मण्डलीमा मुख्यतया तपस्वी, सन्त, साधु, साध्वी, कल्पवासी र जीवनका सबै क्षेत्रका तीर्थयात्रीहरू सामेल छन् । महाकुम्भ मेला सन् २०२५ जनवरी १३ देखि २६ फेब्रुअरीसम्म प्रयागराजमा आयोजना हुँदैछ ।