ट्रम्प र जेलेन्स्कीबीचको चर्काचर्कीपछि युरोपेली नेताहरूले भने- युक्रेन ‘एक्लो छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित देखिने गरी युद्धविराम गराउन बाध्य पार्ने छन् भन्ने चिन्तामा रहेका अमेरिकी सहयोगी युरोपेली मुलुकका नेताले अमेरिकी र युक्रेनी नेताहरूबचिको चर्काचर्की सञ्चारमाध्यममा आएसँगै जेलेन्स्की र युक्रेनको समर्थनमा आफ्ना भनाइहरू सार्वजनिक गरेका छन् । युरोपेली आयोग र युरोपेली काउन्सिलका क्रमशः प्रमुख उर्सुला भोन डेर लेयेन र एन्टोनियो कोस्टाले जेलेन्स्की कहिल्यै एक्लो नभएको बताएका छन् । ‘बलियो बन्नुस्, साहसी बन्नुस् र निडर बन्नुस्,’ भोन डेर लेयन र कोस्टाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै जेलेन्स्कीलाई भने, ‘हामी न्यायपूर्ण र स्थायी शान्तिका लागि तपाइको साथमा सहकार्य गरिरहनेछौँ ।’ यसैबीच, इयूका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले युरोपेली शक्ति र वासिङ्टनबीचको ट्रान्सएटलान्टिक गठबन्धनबारे अमेरिकी नेतृत्वमाथि प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज, यो स्पष्ट भयो कि यो चुनौतीको सामना गर्नको लागि स्वतन्त्र विश्वलाई नयाँ नेताको खाँचो छ। यसका लागि हामी युरोपेलीहरू के गर्छौँ यसमा निर्भर रहनेछ ।’ वार्ता अवरूद्ध भएसँगै युक्रेनको समर्थनमा पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जेलेन्स्कीलाई सङ्केत गर्दै भने, ‘तपाईं एक्लो हुनुहुन्न ।’ बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग फोनमा कुरा भएको र किएभलाई ‘अटुट समर्थन’ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले संयुक्त राज्य अमेरिका, युरोप र युक्रेनका सहयोगीहरूबीच ‘अविलम्ब’ शिखर सम्मेलन गर्न आह्वान गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेन युद्धमा रुस ‘आक्रमणकारी’ भएको बताए । ‘आक्रमणकारी रुस हो । युक्रेनलाई सहयोग गर्ने र रुसलाई तीन वर्षअघि नै प्रतिबन्ध लगाउने र त्यसलाई निरन्तरता दिने हाम्रो निर्ण सही थियो,’ उनले भने । जेलेन्स्कीविरुद्ध ट्रम्पले लगाएको आरोपलाई संकेत गर्दै उनले भने, ‘यदि कोही तेस्रो विश्वयुद्धमा खेलिरहेको छ भने त्यो रूसी नेता पुटिन हुन् ।’ जर्मनीका सम्भावित चान्सलर फ्रेडरिक मर्जले जेलेन्स्कीलाई समर्थन गर्ने आश्वासन दिएका छन् । ‘हामीले यस भयानक युद्धमा आक्रमणकारी र पीडितलाई कहिल्यै भ्रमित गर्नु हुँदैन,’ मर्जले भने । निवर्तमान चान्सलर ओलाफ स्कोल्जले पनि युक्रेनको समर्थन गरेका छन् भने विदेशमन्त्री एनालेना बेयरबोकले पनि किएभको ‘शान्ति र सुरक्षाको खोजी हाम्रो हो’भनेका छन् । यसैबीच, हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैका निकटतम साझेदारमध्येका एक ओर्बानले शान्तिका लागि बहादुरीका साथ उभिएकोमा धन्यवाद दिए । ओर्बानले एक्समा लेखेका छन्, ‘शक्तिशाली मानिसले शान्तिको पक्षमा माहोल बनाउँछ, कमजोर मानिसले युद्ध गर्छ ।’ इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनीले संयुक्त राज्य अमेरिका, युरोप र तिनका सहयोगीहरूलाई युक्रेन युद्धको विषयमा एकजुट हुन आह्वान गरेका छन् । उनले भने, ‘ढिलो नगरी शिखर सम्मेलन आवश्यक छ । युक्रेनबाट सुरु भएको आजको प्रमुख चुनौतीहरूको सामना कसरी गर्ने भन्ने बारेमा हामी स्पष्ट रूपमा कसरी कुरा गर्न चाहन्छौँ।’ ‘युक्रेनका लागि नेदरल्याण्डको समर्थन अझै कम भएको छैन,’ ,प्रधानमन्त्री डिक स्कूफले एक्समा भने, ‘विशेष गरी अहिले हामी स्थायी शान्ति चाहन्छौं र रूसले सुरु गरेको आक्रमणको युद्धको अन्त्य चाहन्छौँ।’ किएभ कट्टर सहयोगी पोल्याण्डले विवादपछि युक्रेनीहरूलाई आश्वस्त पार्न कदम चालेको थियो। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जेलेन्स्कीलाई सम्बोधन गर्दै भने, ‘प्रिय युक्रेनी मित्रहरु, तपाईं एक्लो हुनुहुन्न ।’ स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युद्धग्रस्त युक्रेनको पक्षमा आफ्नो देश उभिने बताए । युक्रेनी मित्रहरू, स्पेन तपाईंहरूको साथमा उभिएको छ,” सन् २०२२ मा रुसले गरेको आक्रमणपछि युक्रेनका कट्टर समर्थक सान्चेजले एक्समा लेखेका छन् ।

ट्रम्प र जेलेन्स्कीबीचको वार्तामा चर्काचर्की, ह्वाइट हाउसबाट बाहिर जान निर्देशन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ओभल अफिसमा भएको वार्तामा दुई नेताबीच आफ्ना आफ्ना अडान राख्ने क्रममा चर्काचर्की भएको छ । वार्ताका क्रममा दुबै नेताले आफ्ना धारणा राख्ने क्रममा उनीहरूबीच भनाभनको अवस्था आएको हो । वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेको कुरामा असहमति जनाएपछि आक्रोशित ट्रम्पले जेलेन्स्कीसँग भने, ‘तपाईंहरू या त सम्झौता गर्न तयार हुनुपर्छ। अमेरिका युक्रेनलाई सहयोग गर्ने बाटोबाट बाहिरिइसकेको छ।’ रुसमा अचानक अमेरिकी पहुँचलाई लिएर तनाव कम गर्ने उद्देश्यले भएको बैठकले उहाँहरूबीच भनाभनको अवस्था आएको हो । ‘तपाईं लाखौं मानिसहरूको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ । तपाईं तेस्रो विश्वयुद्ध निम्त्याउने जुवा खेल्दै हुनुहुन्छ र तपाईंले जे गरिरहनुभएको छ, त्यो यो देशप्रति अपमानजनक छ,’ ट्रम्पले भने । अमेरिकी राष्ट्रपतिले हालै आफ्ना युक्रेनी समकक्षीलाई तानाशाहको संज्ञा दिएपनि युक्रेनको खनिज सम्पदा बाँडफाँड गर्ने र रुससँग शान्ति सम्झौताबारे छलफल गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निमन्त्रणामा जेलेन्स्कीले ह्वाइट हाउसको भ्रमण गरेका हुन् । फ्रान्स र बेलायतका नेताहरू पनि ह्वाइट हाउसमा आएर ट्रम्पलाई किएभसँगको सहकार्य नछोड्न गरिएको आग्रहपछि यो बैठक भएको हो । यद्यपि, उपराष्ट्रपति जेडी भान्सले युद्ध अन्त्यका लागि ‘कूटनीति’ आवश्यक रहेको बताएपछि आक्रोश चुलिएको थियो । भान्सको भनाइपछि जेलेन्स्कीले ‘कस्तो प्रकारको कूटनीति’ भनेर साँधेका र भान्सले त्यसपछि उनलाई राष्ट्रपतिको कार्यालयमा ‘अपमानजनक’ भएको आरोप लगाएका थिए । विवादपछि निकै अपेक्षा गरिएको अमेरिका र युक्रेनबीच हुने भनिएको खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएन र जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिरिन भनियो। राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि फक्स न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले आफु र ट्रम्पबीच हुन पुगेको विवाद ‘दुवै पक्षका लागि ठीक नभएको’ प्रतिक्रिया दिए । सो क्रममा उनले पछिल्लो घटनापछि पनि दुई देशबीच सम्बन्ध अगाडि बढ्न सक्ने आफ्नो विश्वास रहेको बताएका छन् । वार्ताका क्रममा ट्रम्पले रुससँग लडाइँ गरेर युक्रेनले जित्न नसक्ने बताए । जेलेन्स्कीले आफूले युद्धविराम चाहेको उल्लेख गरेको बताएको अमेरिकी राष्ट्रपतिको कार्यालय निकट स्रोतले जनाएको छ ।

अर्थतन्त्रले धेरै कठिनाइको सामना गर्नुपरेको चिनियाँ राष्ट्रपति सीको भनाइ

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङमा हुने प्रमुख राजनीतिक बैठकअघि प्रकाशित एक लेखमा देशको अर्थतन्त्रले अझै पनि ‘थुप्रै कठिनाइ’ को सामना गरिरहेको बताएका छन् । ‘अहिले बाह्य वातावरणमा आएको परिवर्तनको प्रतिकूल प्रभाव गहिरो भएको छ र चीनको अर्थतन्त्रले अझै पनि थुप्रै कठिनाइ र चुनौतीको सामना गरिरहेको छ,’ सीले सत्तारुढ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका किउशीमा शुक्रबार प्रकाशित लेखमा उल्लेख गरेका छन् । ‘अर्थतन्त्र सुधारमा देखिएका समस्याका बावजुद यो पनि स्वीकार गर्नुपर्छ कि असङ्ख्य फाइदाहरू, सशक्त लचिलोपन र विशाल क्षमताका साथ चीनको आर्थिक आधारभूत आधारहरू ठोस रहेका छन्,’ राष्ट्रपति सीले भने । उनले अगाडि भने, ‘दीर्घकालीन वृद्धि र समग्र सकारात्मक मार्गलाई समर्थन गर्ने परिस्थितिमा परिवर्तन आएको छैन ।’ चीनको राजनीतिक नेतृत्वले अर्को हप्ता ‘दुई सत्र’ मा हुने बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि र व्यापारमा देखिएका जोखिमबाट रुग्ण अर्थव्यवस्थालाई जोगाउने योजनाहरू तयार पार्ने अपेक्षा विश्लेषकहरूले गरेका छन् । प्रधानमन्त्री ली कियाङले सन् २०२५ का लागि आर्थिक वृद्धिको लक्ष्य तय गर्ने क्रममा बुधबार हुने नेसनल पिपुल्स कङ्ग्रेस (संसद) को उद्घाटनमा सबैको नजर रहनेछ । रासस