ट्रम्पको शपथ ग्रहणका लागि चन्दा दिन ठूला कम्पनीबीच प्रतिस्पर्धा, कसले कति दिए ?

काठमाडौं । डोनाल्ड ट्रम्पले जनवरी २० मा अमेरिकी राष्ट्रपतिको शपथ लिँदैछन् । उनको शपथग्रहण समारोहका लागि पैसा चन्दा दिने कम्पनी र धनी व्यक्तिबीच प्रतिस्पर्धा चलिरहेको छ । अब यो सूचीमा विश्वकै मूल्यवान कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुक पनि सामेल भएका छन् । मिडिया रिपोर्टका अनुसार कुकले ट्रम्पको सपथ ग्रहण समारोहका लागि १० लाख डलर दिने घोषणा गरेका छन् । यस कार्यक्रमका लागि अहिलेसम्म धेरै कम्पनीहरूले चन्दा घोषणा गरेका छन् । यसमा अमेजन, ओपन एआई, उत्तरी अमेरिकाको टोयोटा मोटर र क्रिप्टोकरेन्सी कम्पनीहरू क्राकेन, रिपल र ओन्डो समावेश छन् । यद्यपि अमेरिकामा सबैभन्दा बढी कर तिर्ने टीम कुकको कम्पनी एप्पलले चन्दा दिने अपेक्षा गरिएको छैन । एप्पलले भर्खरै मुद्दा सुल्झाउन ९.५ करोड तिर्नुपरेको छ । कम्पनीलाई भर्चुअल असिस्टेन्ट सिरीको सहयोगमा आइफोन र अन्य डिभाइसहरू प्रयोग गर्ने मानिसहरूको कुराकानी सुनेको आरोप लगाइएको थियो । तर, कम्पनीले आफ्नो सम्झौतामा कुनै गल्ती गरेको स्वीकार गरेको छैन । कसकसले गरे दान ? टोयोटा मोटर नर्थ अमेरिकाले ट्रम्पको उद्घाटनका लागि १० लाख डलर दान गर्दैछ । फर्ड मोटर र जनरल मोटर्सले समान रकम दान गरेका छन् । अमेरिकी अटो कम्पनीहरूले यस कार्यक्रमको लागि सवारीसाधनहरू दान गरिरहेका छन् । रिटेल ट्रेडिङ प्लेटफर्म रोबिनहुड मार्केट्सले २० लाख डलर दान गरेको छ । उबर टेक्नोलोजी र यसका सीईओ दारा खोसरोशाहीले १०-१० लाख डलर दान गरेका छन् । अमेजनले पनि १० लाख डलर दान गरेको छ । साथै कम्पनीले आफ्नो ओटीटी प्लेटफर्म प्राइम भिडियोमा कार्यक्रमलाई लाइभ स्ट्रिम गर्नेछ । फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मले पनि यस कार्यक्रमका लागि १० लाख डलर सहयोग गरेको छ । सिटाडेल एलएलसी हेज फण्डका संस्थापक केन ग्रिफिनले पनि १० लाख डलर दान गर्ने योजना बनाएका छन् । ग्रिफिनले चुनावअघि ट्रम्पको राष्ट्रपति अभियानमा चन्दा दिएका थिएनन् । ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहको तयारीका लागि विशेष प्यानल गठन गरेका छन् । यो एक गैर-लाभकारी संस्था हो र असीमित चन्दा स्वीकार गर्ने अधिकार प्राप्त गर्दछ ।

गुगलका सुन्दर पिचाईलाई पछाडि पार्दै यी सीईओ, एक दिनमै कमाउँछन् ६४ करोड रुपैयाँ

काठमाडौं । विश्वमा सबैभन्दा बढी पारिश्रमिक लिने सीईओको चर्चा हुँदा गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाई, माइक्रोसफ्टका सत्य नडेला, एडोबका शान्तनु नारायण आदिको नाम आउँछ । तर अब अर्को भारतीय मूलका सीईओले ती सबैलाई पछाडि पारेका छन् । उनको दैनिक ६४ करोड रुपैयाँ छ । उनी विश्वकै सबैभन्दा धेरै तलब पाउने कर्मचारी बनेका छन् । हामी क्वान्टमस्केप कम्पनीका संस्थापक र सीईओ जगदीप सिंहको बारेमा कुरा गर्दैछौं । भारतीय मूलका जगदीप सिंहले एक वर्षमा २८ हजार करोड रुपैयाँ तलब पाएका छन् । अर्थात् उनले दैनिक ६४ करोड रुपैयाँ तलब पाउँछन् । धेरै कम्पनीसँग उनको वार्षिक तलब जति कमाइ छैन । यति धेरै पारिश्रमिक लिएर जगदीप सिंह चर्चामा आएका हुन् । को हुन् जगदीप सिंह ? जगदीप सिंहले स्ट्यानफोर्ड विश्वविद्यालयबाट बीटेक र क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेबाट एमबीए पूरा गरेका छन् । क्वान्टमस्केप स्थापना गर्नुअघि उनले विभिन्न कम्पनीमा १० वर्ष काम गरेका थिए । यसले उनलाई ब्याट्री टेक्नोलोजीमा क्रान्तिकारी सफलताको लागि अवसर बुझ्ने मौका दियो । सिंहले सन् २०१० मा कम्पनीको स्थापना गरेका थिए । उनको कम्पनी क्वान्टमस्केपले नयाँ पुस्ताको सोलिड स्टेट रिचार्जेबल लिथियम मेटल ब्याट्री बनाउँछ । यी ब्याट्रीहरू विद्युतीय सवारीसाधन (ईभी) मा प्रयोग गरिन्छ । फक्सवागन र बिल गेट्सजस्ता दिग्गजहरूले पनि उनको कम्पनीमा लगानी गरेका छन् । क्वान्टमस्केपको मुख्यालय क्यालिफोर्नियामा छ । कसरी पाए यति धेरै तलब ? क्वान्टमस्केप सन् २०२० मा अमेरिकी सेयर बजारमा सूचीकृत भएको थियो । यसमा लगानीकर्ताबाट ठूलो सहयोग प्राप्त भएको छ । जगदीप सिंहको तलब प्याकेजमा २.३ बिलियन डलरको सेयर पनि समावेश छ । जसकारण उनको वार्षिक तलब लगभग २८ हजार करोड पुगेको हो । नवप्रवर्तनमा ध्यान जगदीप सिंह नवप्रवर्तनका लागि परिचित छन् । उनकाे कम्पनीमा निर्मित ठोस स्टेट ब्याट्रीहरू सामान्य ब्याट्रीहरू भन्दा धेरै अगाडि छन् । ब्याट्रीले लामो समयसम्म पावरमात्र प्रदान गर्दैन, यो चाँडै चार्ज पनि हुन्छ । यस कारण ब्याट्री ईभीमा व्यापक रूपमा प्रयोग भइरहेको छ । अहिले ईभी क्षेत्र फस्टाउँदै गएकाले उनको कम्पनी पनि नयाँ उचाइमा पुगिरहेको छ ।

अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन

काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी (ईभी) कम्पनी बीवाईडीले विश्व अटोमोबाइल बजारमा हलचल मच्चाएको छ । गत वर्ष कम्पनीको बिक्री ४१ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस अवधिमा कम्पनीले कूल ४२ लाखभन्दा बढी गाडी बिक्री गरेको छ । यो कम्पनीले विद्युतीय र हाइब्रिड सवारीसाधन उत्पादन गर्दै आइरहेको छ । गत वर्ष कम्पनीले १७.९ लाख ईभीहरू बेचेको थियो र एलन मस्कको टेस्लालाई उछिन्न नजिकै पुगेको थियो । टेस्लाको बिक्री १० वर्षभन्दा बढीमा पहिलो पटक घटेको छ । कम्पनीले यस अवधिमा १७.९ लाख सवारीसाधन बिक्री गरेको थियो भने सन् २०२३ मा १८ लाख सवारीसाधन बिक्री गरेको थियो । बीवाईडीको उदयले संसारभरका अटो कम्पनीहरूको निद्रा बिथोलेको छ । हालै जापानका दुई ठूला कम्पनीले मर्जरको घोषणा गरेका छन् । परम्परागत विदेशी अटोमोबाइल निर्माता कम्पनीहरूले चीनको विद्युतीय कार (इभी) बजारमा आफूलाई अनुकूल बनाउने समय सकिँदै गएको विश्लेषकहरू बताउँछन् । विश्लेषकहरू कम्पनीहरूले चीनमा आफ्नो स्थायित्व कायम राख्न स्थानीय कम्पनीसँग साझेदारी गर्नैपर्ने दावी गर्छन् । चीनमै ९० प्रतिशत बिक्री बीवाईडीले आफ्ना ९० प्रतिशत कार चीनमा बेच्दै आइरहेको छ, जुन टेस्लाका साथै जर्मनीको फक्सवागन र जापानको टोयोटाका लागि महत्त्वपूर्ण बजार हो । चीनमा कडा प्रतिस्पर्धा र सरकारी अनुदानका कारण ईभीको माग बढिरहेको छ । फक्सवागन, फर्ड र जनरल मोटर्सले बिक्री लक्ष्य घटाएका छन् । हालै जापानी अटो कम्पनी होन्डा र निसानले मर्जरका लागि वार्ता सुरु गरेका छन् । चिनियाँ कम्पनीसँग विश्वका अधिकांश कम्पनी ध्वस्त पार्ने क्षमता अक्टोबरमा युरोपेली संघ (इयू) ले चीनबाट ईभी आयातमा ४५.३ प्रतिशत ट्यारिफ लगाएको थियो । अमेरिकाले पनि चिनियाँ ईभीमा शतप्रतिशत शुल्क लगाएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अझै बढाउने धम्की दिएका छन् । यसका बावजुत पनि बीवाईडी धेरै देशमा आफ्नो उपस्थिति बढाउँदैछ । यो कम्पनीमा के छ जसले विश्वव्यापी अटो उद्योगको निद्रा बिथोलेको छ ? कम्पनीले ब्राजिल, हंगेरी, थाइल्याण्ड र उज्वेकिस्तानमा एसेम्बली लाइन निर्माण गरिरहेको छ । यसले इन्डोनेसिया र मेक्सिकोमा पनि एसेम्बली लाइन खोल्ने योजना बनाएको छ । गत वर्ष मस्कले चिनियाँ कम्पनीसँग विश्वका अधिकांश कम्पनी ध्वस्त पार्ने क्षमता रहेको बताएका थिए । बीवाईडीको स्थापना बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । सुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनीसमेत बनेको थियाे । सन् २००३ मा बीवाईडी इन्धनबाट चल्ने सवारीसाधन उत्पादनका साथ अटोमोटिभ इन्डस्ट्रीमा प्रवेश गरेको थियो । अमेरिकी अधिकारीको अपमान २००३ मा बीवाईडीले कार निर्माण गर्ने एउटा कारखाना किन्यो । सुरुवातमा उसले धेरै कठिनाइहरूको सामना गर्नुपर्‍यो । २००७ को कुरा हो, बीवाईडीले कार निर्माण गर्दै थियो  । उसले आफ्नो सबैभन्दा नयाँ मोडेल ग्वाङ्झाउ अटो शोमा प्रदर्शनीका लागि राखेको थियो । त्यतिबेला अमेरिकी अधिकारीहरूले यसको धेरै मजाक उडाएका थिए । कारण थियो कि उक्त कारमा रंग पनि ठीकसँग लगाइएकाे थिएन र यसको ढोका पनि ठीकसँग फिट भएको थिएन । बीवाईडीको लोकप्रियता २००८ मा बीवाईडीकाे बिक्री बढ्न थाल्यो । २०१२ सम्ममा माग बढेपछि उत्पादन बढ्यो । कम्पनीका सीमित मोडलमात्र थिए । २०१६ मा कम्पनीले अडीका प्रख्यात डिजाइनर वोल्फगाङ एगरलाई बोर्डमा भित्र्यायाे । एगरले सयौं कार इन्जिनियरहरू ल्याए र बीवाईडीको मोडलहरूको मुहार पूर्ण रूपमा परिवर्तन गरे । हालै १ करोड न्यु इनर्जी भेहिकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न बीवाईडी सफल भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारीसाधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भयो । बीवाईडीले सन् २०२५ मा नयाँ पुस्ताको ब्लेड ब्याट्री सार्वजनिक गर्ने योजनासमेत बनाइसकेको छ । उक्त ब्याट्रीले राम्रो दूरी प्रदर्शन गर्ने अपेक्षा बीवाईडीको छ । आगामी दिनमा बीवाईडीले अटोमोटिभ सिस्टमका लागि इन्टेलिजेन्ट टेक्नोलोजीमा कृत्रिम बौद्धिकता  (एआई)लाई एकीकृत गर्न र ड्राइभिङ सिस्टम अपग्रेड गर्न १०० अर्ब युआन लगानी गर्ने घोषणासमेत गरिसकेको छ । ३० वर्ष पहिले २० कर्मचारीबाट सुरुवात भएको बीवाईडी हाल विश्वभर करिब १० लाख कर्मचारीसहितको बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण भएको छ । सम्बन्धित सामग्री :  होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी बेलायतमा ईभीको वर्चश्व बढ्दै, आगामी दशकसम्म पेट्रोलबाट चल्ने कारको संख्या आधा घट्ने झन् सशक्त बन्दै बीवाईडी, अर्को वर्ष नयाँ पुस्ताको ब्लेड ब्याट्री लन्च गर्ने चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस गरिब किसानको छोराले बनाएको ‘हुन्डाई’, विश्वको तेस्रो ठूलो कार कम्पनी