कियोसाकी भन्छन्– चाँदीमा लगानी गर्नूहोस्, यो वर्ष मूल्य दोब्बर हुन्छ
काठमाडौं । रोबर्ट कियोसाकी ‘रिच ड्याड पुअर ड्याड’ किताबका लेखक हुन् । उनले लगानीकर्ताहरूलाई बेलाबेलामा चेतावनी दिँदै आएका छन् । उनले हालै भनेका छन् कि ‘नक्कली पैसा’ बचाउन छोड । कियोसाकी चाहन्छन् कि मानिसहरूले चाँदी, सुन र बिटकोइनमा लगानी गरून् । यस वर्ष चाँदीको मूल्य दोब्बर हुन सक्ने उनको विश्वास छ । कियोसाकीले धेरै वर्षदेखि सुन, चाँदी र बिटकोइन किन्ने सल्लाह दिँदै आएका छन् । चाँदीको मूल्य अहिले ३५ डलर प्रति औंस पुगेको छ । उनको भनाइमा चाँदी अहिले सबैभन्दा राम्रो डिल हो । उनलाई लाग्छ, चाँदीको मूल्य दोब्बर भएर यसै वर्ष ७० डलर प्रति औंस पुग्न सक्छ । चाँदी राम्रो लगानी कियोसाकी लामो समयदेखि चाँदीलाई एक उत्कृष्ट लगानीका रूपमा हेर्छन् । यो सुन वा बिटकोइनभन्दा सस्तो छ । चाँदी अझै पनि आफ्नो ऐतिहासिक उच्च मूल्यभन्दा धेरै तल छ । उनले अप्रिलमा चाँदीलाई ुआजको सबैभन्दा राम्रो लगानीु भनेका थिए । त्यसबेला उनले भविष्यवाणी गरेका थिए कि २०२५ मा चाँदी ७० डलर प्रति औंस पुग्नेछ । तर, शुक्रबारको पोस्टमा उनले यो समयसीमा झन् छोटो बनाएका छन् । उनका अनुसार यो धातुको मूल्य यसै वर्षको अन्त्यसम्म दोब्बर हुन सक्छ । के हो ‘नक्कली पैसा’? चाँदी अझै पनि कियोसाकीको पहिलो रोजाइमा छ । उनले यस हप्ताको सुरुमा लेखेका थिए, 'राम्रो खबर यो हो कि चाँदी अझै पनि आफ्नो उच्च मूल्यभन्दा ६० प्रतिशत तल छ । यो अझै पनि करिब ३५ डलरमा छ । जबकि सुन र बिटकोइन भने आफ्ना उच्चतम मूल्यहरूमा छन् वा नजिक छन् ।' कियोसाकी ‘नक्कली पैसा’ लाई अस्वीकार गर्छन् । उनी कागजी मुद्रालाई ‘नक्कली पैसा’ भन्छन् । उनी मानिसहरूलाई आफ्ना बचतलाई सुन, चाँदी र बिटकोइनजस्ता सम्पत्तिमा रूपान्तरण गर्न आग्रह गर्छन् ।
वैश्विक खाद्य मूल्यमा सामान्य गिरावट, मासु तथा दूधजन्य वस्तुको मूल्यमा वृद्धि
रोम । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जानकारी दिएको अनुसार मे महिनामा विश्वव्यापी खाद्य मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घटेको छ । यो कमी विशेष गरी तरकारी तेल तथा चिनीको मूल्यमा आएको उल्लेखनीय गिरावटका कारण भएको हो । एफएओका अनुसार अन्न तथा अन्नजन्य वस्तु, जुन सूचकाङ्कको सबैभन्दा ठूलो हिस्सा हो, त्यसमा १.८ प्रतिशतको गिरावट आएको छ । अर्जेन्टिना र ब्राजिलमा राम्रो मकै उत्पादन हुनुका साथै गहुँको माग घटेकाले मूल्य घटेको हो । यद्यपि, इन्डिका चामलको माग वृद्धि तथा अमेरिकी डलर कमजोर भएकाले चामलको मूल्य भने केही वृद्धि भएको देखिएको छ । मासु तथा दूधजन्य वस्तुको मूल्यमा वृद्धि मासुको मूल्य १.३ प्रतिशतले बढेको एफएओले जनाएको छ । गाई, सुँगुर र भेडाको मासुमा माग बढे पनि कुखुराको मासुको मूल्य केही घटेको हो, जुन केही बजारहरूमा पन्छी रुघाखोकीका कारण चिन्ता बढेकाले भएको हो । जर्मनीका उत्पादनकर्ताहरूमा लागेको रोग नहटेसँगै उनीहरू फेरि निर्यात बजारमा फर्किएका छन्, जसका कारण सुँगुर मासुको मूल्यमा वृद्धिको देखिएको हो । दूधजन्य वस्तुहरूको मूल्यमा पनि ०.८ प्रतिशतले वृद्धि भएको छ । एसियाबाट भएको उच्च मागले घ्यू, चिज तथा सम्पूर्ण दूध पाउडरको मूल्यमा उचालो आएको छ । तरकारी तेल र चिनीमा सबैभन्दा धेरै गिरावट तरकारी तेलको मूल्य ३.७ प्रतिशतले घटेको छ, यद्यपि यो अघिल्लो वर्षको तुलनामा अझै पनि १९.१ प्रतिशतले माथि छ । पाम, तोरी, सोया र सूर्यमुखी तेलहरूको उत्पादन वृद्धि तथा केही देशहरूमा माग घटेका कारण मूल्यमा कमी आएको हो । यसैगरी, चिनीको मूल्य २.६ प्रतिशतले घटेको छ । विश्वव्यापी व्यापारको अनिश्चित अवस्थाका कारण खाद्य तथा पेय पदार्थ उद्योगमा माग घट्दा चिनीको मूल्यमा कमी आएको एफएओले जनाएको छ । रासस
अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, सेयर बजारमा उछाल
काठमाडौं । संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ । डाउ जोन्स औद्योगिक सूचकाङ्क ४४३.१३ अङ्कले (अथवा १.०५ प्रतिशतले) बढेर ४२ हजार ७६२.८७ मा पुग्यो । एस एन्ड पी ५०० सूचकाङ्क ६१.०६ अङ्कले (१.०३ प्रतिशतले) उकालो लाग्दै पहिलो पटक ६ हजार माथि पुगेको हो । यस्तै, नासडाक सूचकाङ्क पनि २३१.५० अङ्कले (१.२० प्रतिशतले) वृद्धि भएर १९ हजार ५२९.९५ मा पुग्यो । रोजगारी प्रतिवेदनले आशा देखायो अमेरिकी श्रम विभागले मे महिनामा एक हजार ३९ हजार रोजगारी सिर्जना भएको जनाएको छ, जुन विश्लेषकहरूले अनुमान गरेको एक लाख २५ हजार भन्दा धेरै हो । बेरोजगारी दर भने ४.२ प्रतिशतमै स्थिर रहेको छ । यसले श्रम बजार अझै सशक्त रहेको सङ्केत दिएको छ, यद्यपि विश्व व्यापारमा अनिश्चितता कायमै छ । बैङ्क अफ अमेरिकाका अर्थशास्त्रीहरूका अनुसार, रोजगारीका तथ्याङ्कहरू ‘मजबुत मात्र होइन, अत्यन्तै सकारात्मक’ छन् । त्यसैले सङ्घीय रिजर्भ बैङ्क तत्काल ब्याजदर कटौती नगरी मूल्याङ्कन गर्ने अवस्थामा रहन सक्ने देखिन्छ । आप्रवासनमा गिरावट अर्थतन्त्रका लागि चिन्ताजनक डोयच बैङ्कका अनुसार, आप्रवासनको तीव्र गिरावटले दीर्घकालीन रूपमा अमेरिकी अर्थतन्त्रमा व्यापार नीतिहरूभन्दा ठूलो प्रभाव पार्न सक्छ । गत वर्षहरूको तुलनामा आप्रवासन ९० प्रतिशतभन्दा बढी घटेको र यसले श्रम बजारमा करिब २० लाख जनशक्ति अभाव गराएको उल्लेख गरिएको छ । रासस