हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त
काठमाडौं । हिमालयन बैंकको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी समुह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गरेका नकर्मीलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । हिमालयन बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा सुुरु गरी करीब ३० वर्षदेखि यसै क्षेत्रमा कार्यानुभव भएका नकर्मी हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालय मार्फत ७५ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । यो संस्थाले करीब १ अर्ब बचत संकलन गरेको छ भने यसको लगानी ४ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।
राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा पाठक नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर पाठक नियुक्त भएका छन् । पाठक अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक पदमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक पाठकले भदौ १३ गते नै कम्पनीका अध्यक्षबाट पद तथा गापनियताको सपथ ग्रहण गरेका हुन् । यससँगै उनी अर्को व्यवस्था नभएसम्मको लागि सञ्चालक सदस्यमा रहने छन् ।
न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग
काठमाडौँ । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले सरकारले नै श्रमिकको ज्यालामा विभेद गरेको भन्दै न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ । युनियनले मंगलबार पत्रकार सम्मेलन गरी सरकारी कार्यालयमा कार्यरत कार्यालय सहयोगीको न्यूनतम पारिश्रमिक २६ हजार तीन सय ४८ रहेको अवस्थामा सरकारले निजी क्षेत्र र उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्दा विभेद गरेको आरोपसमेत लगाएको छ । सरकारले गत साउन ३२ गते नेपाल राजपत्रमा प्रकाशित गरी साउन १ गतेदेखि २६ दिनको १७ हजार तीन सय पारिश्रमिक निर्धारण गरेको थियो । सरकारले निर्धारण गरेको उक्त न्यूनतम पारिश्रमिक पनि कार्यान्वयनमा नआउने खतरा बढेको युनियनको भनाइ छ । सुरक्षा श्रमिक ट्रेड यूनियनका अध्यक्ष प्रेमबहादुर कार्कीले समान कामको समान ज्याला, श्रमको सम्मान र श्रमिकको समृद्धिबिना समाजवादमा पुग्न नसकिने जिकिर गरे । नेपाल उद्योग परिसङ्घले सरकारको निर्णयलाई चुनौती दिँदै वृद्धि भएको न्यूनतम पारिश्रमिक अहिलेको अवस्थामा कार्यान्वयन गर्न नसक्ने जनाउँदै विज्ञप्ति जारी गरेको भन्दै अध्यक्ष कार्कीले त्यसको विरोध गरे । आउटसोर्स क्षेत्रमा कार्यरत श्रमिक कानुनप्रदत्त हक अधिकारबाट वञ्चित रहनुपरेको उनको भनाइ थियो । हालै शिक्षा मन्त्रालयअन्तर्गतको सहिद नेत्रलाल बहुप्राविधिक शिक्षालय सल्यानले आधारभूत पारिश्रमिक र महँगी भत्ताबाहेक अन्य कुनै सुविधा नपाउने भनी सुरक्षा गार्ड आपूर्तिको बोलपत्र आह्वान गरेको भन्दै युनियनले आपत्ति जनाएको छ । उक्त टेण्डर श्रम ऐन विपरीत रहेको युनियनको भनाइ छ । श्रम कानुनविपरीत बोलपत्र आह्वान गर्ने कार्यालय प्रमुखलाई विभागीय कारबाही गर्न युनियनले सरकारसँग माग गरेको छ । रासस