एनएमबी माइक्रो फाइनान्सको सीईओ कोनाजो, ७% स्प्रेडदर काम गर्न सकिने

काठमाडौं, ७ साउन । एनएमबी माइक्रो फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिर्थरत्न कोनाजो नियुक्त भएका छन् । माइक्रो फाइनान्सको सञ्चालक समितिले साउन १९ गतेदेखि लागू हुनेगरी आगामी दुई वर्षको लागि उनलाई नियुक्त गरेको हो । यसअघि उनी रुरल माईक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडीसी) सहायक महाप्रबन्धकका रुपमा कार्यरत थिए । आरएमडीसीमा करिव १७ वर्ष काम गरेका कोनाजो माईक्रो फाइनान्सबारे गहिरो अनुभव हासिल गरेका छन् । त्यसअघि उनले नेपाल बैंकमा करिव १४ वर्ष र हिमालयन बैंकमा करिव ४ वर्ष काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । नयाँ मौद्रिक नीतिले माईक्रो फाइनान्सको स्प्रेडदर ७ प्रतिशत तोकेकोले आगामी दिन माईक्रो फाइनान्स सञ्चालन कार्य चुनौतिपूर्ण भएको तर असम्भव नभएको बताए । गरिब वर्गलाई वित्तीय सेवा दिन खुलेका लघुवित्तहरुले आफ्ना सेयरधनीलाई ६०/७० प्रतिशत लाभांश वितरण गर्न थालेपछि सबैको आँखा यस क्षेत्रमा परेको र राष्ट्र बैंकले स्प्रेडदर तोकेको उनले बताए । ‘लघुवित्त कम्पनीहरुले यसअघि नाफाको केही हिस्सा विपन्न वर्षको सामाजिक, सांस्कृतिक विकासको क्षेत्रमा लगानी गरेको भए अहिलेको अबस्था आउने थिएन’ विकासन्युजसँग कुरा गर्दै कोनाजोले भने–‘७ प्रतिशत स्प्रेडदरमा नयाँ लघुवित्तलाई गाह्रो हुन्छ तर ३ वर्षभन्दा पुराना संस्थाहरु चल्न सक्छन्, पहिला जस्तो धेरै नाफा वितरण गर्न सक्दैनन् ।’ ‘वाणिज्य बैंकहरुले मुद्दती खातामा पनि ६ प्रतिशतभन्दा बढी व्याज तिरेका छैनन् । ५ प्रतिशत स्प्रेडदरमा चलिरहेका छन् । लघुवित्त पनि ६ प्रतिशतमा रकम लिएर १३ प्रतिशतमा कर्जा लगानी गर्न सक्छन् । असम्भव भन्ने छैन’–उनले भने ।

मलेसियामा हडतालरत नेपाली श्रमिकका माग पूरा

काठमाडौं, ७ साउन । मलेसियास्थित नेपाली दूतावासको टोलीले मलेसियाको इपो राज्यमा अवस्थित लेटेक्स म्यानुफ्याक्चरिङ कम्पनीमा नेपाली श्रमिकले हडताल गरेकाले कम्पनीका उच्च प्रतिनिधिसँग तिनका मागबारे बुधबार वार्ता गरी समस्या समाधान गरेको छ । उक्त कम्पनीले हालै वृद्धि भएको तलब तत्कालै लागू गर्ने, अतिरिक्त समय मलेसियाली नियमानुसार लागू गर्ने तथा श्रमिकको स्वास्थ्य र सुरक्षामा ध्यान दिने लगायत प्रतिबद्धता व्यक्त गरेको छ । सम्झौतापछि आजदेखि श्रमिकहरु नियमित काममा फर्केका छन् । उक्त कम्पनीमा हाल एक हजार पाँच सय ५७ नेपाली कार्यरत छन् । यसैगरी मलेसियाको जोहोर राज्यको के फोर्स कम्पनीमा कार्यरत नेपाली सुरक्षाकर्मी सवार गाडी दुर्घटना भएकाले राजदूतावासले कम्पनीका उच्च प्रतिनिधिलाई फोन सम्पर्क गरी घाइतेको शीघ्र उपचारमा ध्यान दिन दबाब दिएपछि कम्पनीले सबैको उपचार गरेको र गम्भीर घाइते सागर श्रेष्ठको बुधबार शल्यक्रिया भएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । रासस

ट्याक्सीकालागि भूकम्म पिडितले दुई दिनमै मागभन्दा धेरै अावेदन दिए, छान्न कठिन

काठमाडौँः सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका जनतालाई उपलब्ध गराउने गरी ट्याक्सी दर्ता खुलाएको दुई दिनमै माग सङ्ख्याभन्दा धेरै निवेदन दर्ता भएको छन्। बुधबार एक हजार एकसय दुई र विहिवार एक हजार चारसय गरी दुई हजार पाँचसय दुई आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ। मागसंङ्ख्या भन्दा धरै दुईदिनमै भएका कारण विभागलाई छान्न कठिन हुने जनाएको छ। लामो समयदेखि ट्याक्सी दर्ता बन्द रहेकाले अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितले आवेदन दर्ता गराएका हुन्। चौध वर्षपछि गत वर्ष विभागले एक हजार अाठसय ट्याक्सी गोलाप्रथाद्वारा छनोट गरेको थियो। यसमा भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरका आधिकारिक प्रमाणपत्र भएका भूकम्पपीडितले आवेदन दर्ता गराउन सक्नेछन् । ट्याक्सी दर्ताका लागि साउन ५ गतेदेखि भदौ २ गतेसम्मको समय तोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । यसका लागि यातायात व्यवस्था कार्यालय, साना÷ठूला सवारी, वाग्मतीमा आवेदन दिन सकिनेछ । आवेदनका लागि रु १०० तिर्नुपर्ने विभागले जनाएको छ । भूकम्पपीडित परिचयपत्र भएका व्यक्तिले नै आवेदनमा हस्ताक्षर र ल्याप्चे लगाउनुपर्ने व्यवस्था गरिएको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार बुधबारदेखि ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको हो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितले दर्ता गर्न पाउने गरी मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता खोलिएको हाे।