भूकम्प पीडितले ट्याक्सी पाउने, प्रभावित १४ जिल्लाका वासिन्दाले आवेदन दिन पाउने
काठमाडौ १ साउन। यातायात व्यवस्था विभागले भूकम्प पीडित १४ जिल्लाका जनताका लागि १५ सय ट्याक्सी संचालन गर्न दिन आवेदन खुला गरेको छ । काठमाडौं उपत्यकाभरी ट्याक्सी चलाउनको लागि यो आवेदन खुला गरेको विभागले जनाएको छ। यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै साउन ५ गतेदेखि भदौ २ गतेभित्र भूकम्प प्रभावित जिल्लाका वासिन्दाले आवेदन दिन सक्ने उल्लेख गरेको छ । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई स्वरोजगार दिने उदेश्यले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्षको जेठमा यो निर्णय गरेको थियो । भूकम्प पीडितले सक्कल नागरिकतासहित स्वंय उपस्थित हुनुपर्ने व्यवस्था विभागले गरेको छ । विभागका अनुसार एक भूकम्प पीडितले एउटामात्रै आवेदन दिने पाउनेछन् । भूकम्प पीडितको प्रमाणपत्र भएको व्यक्ति स्वयंको दस्तखत र ल्याप्चेसहित निवेदन फाराम दर्ता गर्नुपर्ने विभागले जनाएको छ । १५ सय भन्दा बढी आवेदन परेमा गोलााप्रथामार्फत ट्याक्सीको छनौंट गरिने विभागले जनाएको छ । विभागका अनुसार सरकारद्धारा निर्धारित १४ जिल्लाका भूकम्प प्रभावित बासिन्दाले आवेदन दिन पाउनेछन् । आवेदन दिँदा हालसालै खिचिएको पासपोर्ट साईजको फोटो एक प्रति, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, भूकम्प पीडित भएको आधिकारिक प्रमाणपत्रको सक्कल एवं सोको प्रतिलिपी पेश गर्नुपर्ने विभागले जनाएको छ ।
बैंक अफ काठमाण्डू लुम्बिनीको सीईओमा अजय श्रेष्ठ नियुक्त
काठमाडौं, ३० असार । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जभएर आजदेखि एकिकृत कारोबार शुरु गरेको बैंक अफ काठमाण्डू लुम्बनीको प्रमुख कार्यकारी अधिकृत पदमा अजय श्रेष्ठलाई नियुक्त गरेको छ । मर्जपछि बनेको सञ्चालक समितिको असार २९ गते बसेको बैठकले श्रेष्ठलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । श्रेष्ठले विगत ८ वर्षदेखि बैंक अफ काठमाण्डूमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका थिए । ‘श्रेष्ठको कार्यशैली र प्रर्फमेन्स दुबै राम्रो थियो । नयाँ बोर्डले आगामी चार वर्षको लागि उनलाई नियुक्त गर्ने निर्णय गरेको छ’ बैंकका एक सञ्चालकले विकासन्युजसँग भने । शालीन, सरल र मिहेनती बैंकर्सको रुपमा उनलाई धेरैले चिन्ने गरेका छन्। तत्कालीन ग्रिण्डलेज बैङ्कमा सहायकस्तरको कर्मचारीबाट सेवा शुरू गरेका उनले बैकिङ क्षेत्रमा तीन दशक काम गरिसकेका छन् । श्रेष्ठले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । २० वर्ष पुरानो बैंक अफ काठमाण्डू र १८ वर्ष पुरानो लुम्बिनी बैंक मर्जपछि आजबाट एकिकृत कारोबार शुरु गरेको छ । एकिकृत कारोबारको उद्घाटन राष्ट्र बैंकमा गभर्नर डा चिरञ्जीवि नेपालले गरेका छन् ।
भूकम्प प्रतिरोधी घर बनाउन अर्घाखाँची सिमेन्टको तालिम
काठमाडौं, २८ असार । अर्घाखाँची ओ.पी.सि. सिमेन्टले सशस्त्रप्रहरी बलका प्राविधिकहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण तालिम प्रदान गरेको छ । सशस्त्रप्रहरी बल हलचोकमा आयोजित एक कार्यक्रममा अर्घाखाँची ओ.पी.सि. सिमेन्टको तर्फबाट भूकम्प प्रतिरोधी भवन निर्माण र गुणस्तरिय निर्माण सामाग्री छनौट सम्बन्धित तालिम प्रदान गरिएको हो । उक्त कार्यक्रममा सशस्त्रप्रहरी बलका देशभरि कार्यरत प्राविधिकहरुलाई तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । सशस्त्रप्रहरी बलकाप्राविधिकहरुलाई अर्घाखाँची ओ.पी.सि. सिमेन्टका इन्जिनियरले तालिम तथा जानकारी दिएका हुन् । कम्पनीका अनुसार भूकम्प प्रतिरोधी भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न सहयोग हुने उदेश्यले यो तालिम कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी सबै प्राविधिकहरुलाई बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गर्नुका साथै गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने तरिकाहरुको बारेमा पनि जानकारी प्रदान गरिएको छ । उक्त तालिम कार्यक्रममा सहभागी सबै प्राविधिकहरुलाई कम्पनीका सिनियर मेनेजर (सेल्स एण्ड मार्केटिङ्) रमेश थापाद्वारा प्रमाण पत्र प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा अन्य संगठनहरुमा पनि भूकम्प प्रतिरोधी भवन निर्माणको बारेमा तालिम तथा जानकारी दिने लक्ष्य राखेको छ । अर्घाखाँची ओ.पी.सि. सिमेन्ट गुणस्तरीय र भरपर्दो सिमेन्टको रुपमा उपभोक्ताहरु माझ परिचित रहेको छ । यसले उच्च स्तरको जर्मन प्रविधि सहित अटो रोटो प्रविधिबाट गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको छ ।