कोरियामा कामदारको तलब वृद्धि, नेपालीले मासिक एक लाख २० हजार कमाउने

काठमाडौं, २ साउन । कोरिया सरकारले कामदारको तलब वृद्धि गरेको छ । कोरियाले सन २०१७ देखि लागु हुने गरि कामदारको तलब ७ दशमलब ३ प्रतिशतले वृद्धि गरेको हो । यो वृद्धिसँगै अब कोरियामा रहेका नेपाली कामदारहरुले सन २०१७ देखि मासिक न्युनतम एक लाख २० हजार रुपैंयाँ आम्दानी गर्नेछन् । ज्याला निर्धारण समितिमा रहेका १६ जनामध्ये ११ जनाको समर्थनमा ज्याला बढाउने निर्णय भएको हो र सो निर्णय सन २०१७ को जनवरी १ तारिख देखि लागु हुनेछ । तलब वृद्धिको निर्णय कार्यान्वयनमा आएपछि कोरियामा कामदारले मासिक १३ लाख ५२ हजार २ सय ३० वन(कोरियाली मुद्रा) प्राप्त गर्नेछन् । हाल उनीहरुले मासिक १२ लाख ६० हजार २ सय ७० वन प्राप्त गर्दै आएका छन् । यसले कोरियामा काम गर्ने नेपालीहरुको आम्दानीमा उल्लेख्य वृद्धि हुनेछ ।

भूकम्प पीडितले ट्याक्सी पाउने, प्रभावित १४ जिल्लाका वासिन्दाले आवेदन दिन पाउने

काठमाडौ १ साउन। यातायात व्यवस्था विभागले भूकम्प पीडित १४ जिल्लाका जनताका लागि १५ सय ट्याक्सी संचालन गर्न दिन आवेदन खुला गरेको  छ । काठमाडौं उपत्यकाभरी ट्याक्सी चलाउनको लागि यो आवेदन खुला गरेको  विभागले जनाएको छ। यातायात  व्यवस्था विभागले सूचना प्रकाशित गर्दै साउन ५ गतेदेखि भदौ २ गतेभित्र भूकम्प प्रभावित जिल्लाका वासिन्दाले आवेदन दिन सक्ने उल्लेख गरेको छ । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई स्वरोजगार दिने उदेश्यले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्षको जेठमा यो निर्णय गरेको थियो । भूकम्प पीडितले सक्कल नागरिकतासहित स्वंय उपस्थित हुनुपर्ने व्यवस्था विभागले गरेको छ । विभागका अनुसार एक भूकम्प पीडितले एउटामात्रै आवेदन दिने पाउनेछन् । भूकम्प पीडितको प्रमाणपत्र भएको व्यक्ति स्वयंको दस्तखत र ल्याप्चेसहित निवेदन फाराम दर्ता गर्नुपर्ने विभागले जनाएको छ । १५ सय भन्दा बढी आवेदन परेमा गोलााप्रथामार्फत ट्याक्सीको छनौंट गरिने विभागले जनाएको छ ।   विभागका अनुसार सरकारद्धारा निर्धारित १४ जिल्लाका भूकम्प प्रभावित बासिन्दाले आवेदन दिन पाउनेछन् । आवेदन दिँदा हालसालै खिचिएको पासपोर्ट साईजको फोटो एक प्रति, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, भूकम्प पीडित भएको आधिकारिक प्रमाणपत्रको सक्कल एवं सोको प्रतिलिपी पेश गर्नुपर्ने विभागले जनाएको छ ।

बैंक अफ काठमाण्डू लुम्बिनीको सीईओमा अजय श्रेष्ठ नियुक्त

काठमाडौं, ३० असार । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जभएर आजदेखि एकिकृत कारोबार शुरु गरेको बैंक अफ काठमाण्डू लुम्बनीको प्रमुख कार्यकारी अधिकृत पदमा अजय श्रेष्ठलाई नियुक्त गरेको छ । मर्जपछि बनेको सञ्चालक समितिको असार २९ गते बसेको  बैठकले श्रेष्ठलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । श्रेष्ठले विगत ८ वर्षदेखि बैंक अफ काठमाण्डूमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका थिए । ‘श्रेष्ठको कार्यशैली र प्रर्फमेन्स दुबै राम्रो थियो । नयाँ बोर्डले आगामी चार वर्षको लागि उनलाई नियुक्त गर्ने निर्णय गरेको छ’ बैंकका एक सञ्चालकले विकासन्युजसँग भने । शालीन, सरल र मिहेनती बैंकर्सको रुपमा उनलाई धेरैले चिन्ने गरेका छन्। तत्कालीन ग्रिण्डलेज बैङ्कमा सहायकस्तरको कर्मचारीबाट सेवा शुरू गरेका उनले बैकिङ क्षेत्रमा तीन दशक काम गरिसकेका छन् । श्रेष्ठले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । २० वर्ष पुरानो बैंक अफ काठमाण्डू र १८ वर्ष पुरानो लुम्बिनी बैंक मर्जपछि आजबाट एकिकृत कारोबार शुरु गरेको छ । एकिकृत कारोबारको उद्घाटन राष्ट्र बैंकमा गभर्नर डा चिरञ्जीवि नेपालले गरेका छन् ।