इस्ताबुलमा टर्की एयरलाइन्सद्धारा २११ जना कर्मचारी बर्खास्त
इस्ताबुल, ११ साउन । टर्की एयरलाइन्सले आफ्ना २११ जना कर्मचारीलाई सोमबार बर्खास्त गरेको छ । टर्कीमा भएको सैनिक विद्रोहमा हात रहेको आरोप लागेका एकजना कारिन्दा तहका कर्मचारी फतुल्लाह गुलेनसँग आावद्ध रहेको आशङ्कामा टर्की एयरलाइन्सले ती कर्मचारीहरूलाई जागीरबाट हटाएको बताइएको छ । गत जुलाई १५ मा टर्कीमा भएको असफल सैनिक बिद्रोहपछि टर्की सरकारले सरकारी कर्मचारी, सैनिकलगायत पत्रकारलाई समेत पनि गिरफ्तार गर्ने र जागीरबाट हटाउने क्रम जारी राखेको छ । टर्कीमा भएको असफल सैनिक विद्रोहपछि राष्ट्रियस्तरमा छानबिन गर्ने क्रममा बिद्रोहीका नाइके गुलेनसँग कुनै न कुनै रूपमा सम्बन्ध राखेको आशङ्कामा यसअघि नै सरकारी सेवामा कार्यरत ४४ हजारभन्दा बढी निजामती कर्मचारी निलम्बन गरिसकेको छ । आतङ्ककारी सङ्गठन एफईटीलाई सञ्चालन गर्दै आएका फतुल्लाह टर्कीमा भएको असफल सैनिक विद्रोहको नाइके मानिएको छ । टर्कीमा गत १५ जुलाईमा भएको असफल सैनिक विद्रोहका नाइके ७५ वर्षीय फतुल्लाह गुलेन र उनका भतिजा मोहम्मद सईत गुलेन पलायन भै हाल अमेरिका निर्वासनमा रहेको आशङ्का गरिएको छ । गुलेनका प्रमुख सहयोगी हालिस हान्सि पक्राउ परिसकेका छन् । उनले दिएको बयानको आधारमा नै टर्की सरकारले पक्राउ र जागीरबाट निकाल्ने क्रम जारी राखेको छ । रासस
एनएमबी माइक्रो फाइनान्सको सीईओ कोनाजो, ७% स्प्रेडदर काम गर्न सकिने
काठमाडौं, ७ साउन । एनएमबी माइक्रो फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिर्थरत्न कोनाजो नियुक्त भएका छन् । माइक्रो फाइनान्सको सञ्चालक समितिले साउन १९ गतेदेखि लागू हुनेगरी आगामी दुई वर्षको लागि उनलाई नियुक्त गरेको हो । यसअघि उनी रुरल माईक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडीसी) सहायक महाप्रबन्धकका रुपमा कार्यरत थिए । आरएमडीसीमा करिव १७ वर्ष काम गरेका कोनाजो माईक्रो फाइनान्सबारे गहिरो अनुभव हासिल गरेका छन् । त्यसअघि उनले नेपाल बैंकमा करिव १४ वर्ष र हिमालयन बैंकमा करिव ४ वर्ष काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । नयाँ मौद्रिक नीतिले माईक्रो फाइनान्सको स्प्रेडदर ७ प्रतिशत तोकेकोले आगामी दिन माईक्रो फाइनान्स सञ्चालन कार्य चुनौतिपूर्ण भएको तर असम्भव नभएको बताए । गरिब वर्गलाई वित्तीय सेवा दिन खुलेका लघुवित्तहरुले आफ्ना सेयरधनीलाई ६०/७० प्रतिशत लाभांश वितरण गर्न थालेपछि सबैको आँखा यस क्षेत्रमा परेको र राष्ट्र बैंकले स्प्रेडदर तोकेको उनले बताए । ‘लघुवित्त कम्पनीहरुले यसअघि नाफाको केही हिस्सा विपन्न वर्षको सामाजिक, सांस्कृतिक विकासको क्षेत्रमा लगानी गरेको भए अहिलेको अबस्था आउने थिएन’ विकासन्युजसँग कुरा गर्दै कोनाजोले भने–‘७ प्रतिशत स्प्रेडदरमा नयाँ लघुवित्तलाई गाह्रो हुन्छ तर ३ वर्षभन्दा पुराना संस्थाहरु चल्न सक्छन्, पहिला जस्तो धेरै नाफा वितरण गर्न सक्दैनन् ।’ ‘वाणिज्य बैंकहरुले मुद्दती खातामा पनि ६ प्रतिशतभन्दा बढी व्याज तिरेका छैनन् । ५ प्रतिशत स्प्रेडदरमा चलिरहेका छन् । लघुवित्त पनि ६ प्रतिशतमा रकम लिएर १३ प्रतिशतमा कर्जा लगानी गर्न सक्छन् । असम्भव भन्ने छैन’–उनले भने ।
मलेसियामा हडतालरत नेपाली श्रमिकका माग पूरा
काठमाडौं, ७ साउन । मलेसियास्थित नेपाली दूतावासको टोलीले मलेसियाको इपो राज्यमा अवस्थित लेटेक्स म्यानुफ्याक्चरिङ कम्पनीमा नेपाली श्रमिकले हडताल गरेकाले कम्पनीका उच्च प्रतिनिधिसँग तिनका मागबारे बुधबार वार्ता गरी समस्या समाधान गरेको छ । उक्त कम्पनीले हालै वृद्धि भएको तलब तत्कालै लागू गर्ने, अतिरिक्त समय मलेसियाली नियमानुसार लागू गर्ने तथा श्रमिकको स्वास्थ्य र सुरक्षामा ध्यान दिने लगायत प्रतिबद्धता व्यक्त गरेको छ । सम्झौतापछि आजदेखि श्रमिकहरु नियमित काममा फर्केका छन् । उक्त कम्पनीमा हाल एक हजार पाँच सय ५७ नेपाली कार्यरत छन् । यसैगरी मलेसियाको जोहोर राज्यको के फोर्स कम्पनीमा कार्यरत नेपाली सुरक्षाकर्मी सवार गाडी दुर्घटना भएकाले राजदूतावासले कम्पनीका उच्च प्रतिनिधिलाई फोन सम्पर्क गरी घाइतेको शीघ्र उपचारमा ध्यान दिन दबाब दिएपछि कम्पनीले सबैको उपचार गरेको र गम्भीर घाइते सागर श्रेष्ठको बुधबार शल्यक्रिया भएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । रासस