सुरक्षा निकायको जागिर न्यून आकर्षण, प्रशासनिकको तुलनामा ३४ गुणा कम आवेदन

काठमाडौं २१, कात्तिक । सार्वजनिक प्रशासनको तुलनामा सुरक्षा निकायको जागिरमा सर्वसाधारणको आकर्षण न्यून देखिएको छ । सुरक्षा निकायको भर्नामा तुलनात्मक रूपमा थोरै मात्र आवेदन पर्ने गरेको छ । निजामती प्रशासनको भर्नामा सयौँ गुना बढी आवेदन पर्ने गरेको छ । गत वर्ष लोकसेवा आयोगले ४ सय ८५ जना नायब सुब्बा माग गरेकोमा ३ सय ३५ गुना बढी आवेदन परेको थियो । तर, नेपाल प्रहरीले ५ सय ५१ जना असइ माग गरेकोमा ३४ गुना बढी अर्थात् १८ हजार ९ सय ६६ जनाको मात्र आवेदन परेको थियो। नेपाली सेनामा एक सय ५० सेकेन्ड लेफ्टिनेन्ट माग भएकोमा एक हजार ४ सय २२ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरीले सोही तहको असईमा ३६ जनाको माग गर्दा ४ हजार एक सय ३१ आवेदन परेको थियो । नेपाल प्रहरीले ८९ जना इन्सपेक्टर माग गरेकोमा २ हजार ८ सय ५४ जनाले मात्र आवेदन दिए । त्यस्तै, ५ सय ५१ जना असई माग गरेकोमा १८ हजार ९ सय ६६ जनाको आवेदन परेको थियो । त्यस्तै, सशस्त्र प्रहरी बलमा ५४ जना इन्स्पेक्टरको माग भएकोमा एक हजार २ सय ४१ आवेदन परेको थियो । असईमा ३६ जनाको माग भएकोमा ४ हजार एक सय ३१ आवेदन परेको थियो । सुरक्षा निकायको तुलनामा निजामती सेवाको भर्नामा उमेर हद फराकिलो हुन्छ । त्यसबाहेक पनि सुरक्षा निकायको जागिर बढी कठिन हुने, करिअर अनिश्चित हुने र निष्पक्ष भर्ना प्रणालीमा विश्वास कम भएकाले आवेदन न्यून पर्ने गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी हेमन्त मल्ल प्रहरीमा निश्चित उमेरहदसम्म मात्र आवेदन दिन पाइने भएकाले निजामतीको भन्दा कम आवेदन पर्ने बताउँछन् । ‘प्रहरीमा भर्ना हुने शारीरिक रूपमा पनि दुरुस्त हुनुपर्छ, सबैजना त्यसका लागि सक्षम हुँदैनन्, त्यसकारण पनि आवेदन कम परेको हुनसक्छ,’ उनले भने । नेपाल प्रहरीले तुलनात्मक रूपमा भर्नामा आवेदन नपरेपछि गत वर्ष प्रहरीको जागिरप्रति आकर्षण बढाउन डकुमेन्ट्री नै बनाएको थियो । नयाँ पत्रिका दैनिकबाट ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा राजन खनाल नियुक्त

काठमाडौं, १९ कात्तिक । मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा अर्थ मन्त्रालय, राजस्व सचिव राजन खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले ख्वपः विश्वविद्यालयसम्बन्धी विधेयकलाई थप छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए। सिंहदरबारमा शुक्रबार बसेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको उपेक्षित, उत्पीडित तथा दलित उत्थान विकास समितिको कार्यकारी निर्देशकमा डा वुद्धिबहादुर नेपालीलाई मनोनयन तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतका विकास समितिहरुका अध्यक्ष नियुक्तिका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । रासस

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सोमेश्वर सेठ नियुक्त

काठमाडौं, १९ कात्तिक । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सोमेश्वर सेठ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले सेठलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । सेठले कात्तिक १६ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।