माछापुच्छ्रे बैंकको विज्ञ सञ्चालकमा जय मुकुन्द खनाल नियुक्त

काठमाडौं, २३ भदौ । माछापुच्छ्रे बैंकको सञ्चालक समिति सदस्यमा जयमुकुन्द खनाल नियुक्त भएका छन् । भदौ १५ गते बसेको बैंक सञ्चालक समितिले खनाललाई आगामी चार वर्षको लागि विज्ञ सञ्चालक पदमा नियुक्त गरेको हो । खनाल नेपाल सरकारका पूर्वसचिव हुन् । उनीले केही महिनाअघि मात्र रक्षा सचिवबाट अवकाश पाएका हुन् । त्यसअघि उनी प्रधानमन्त्रीको कार्यालय, उद्योग मन्त्रालय, कृषि मन्त्रालयमा समेत रहेर सचिवको भूमिका निर्वाह गरेका थिए ।

विद्यार्थीभन्दा प्राध्यापक धेरै, इतिहास विभागमा एक विद्यार्थी १२ प्राध्यापक

काठमाडौं २३, भदौ । त्रिभुवन विश्व विद्यालय (त्रिवि)का केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै रहेका छन् । फाइल तस्बिर त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ। तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै भएको समाचार विहिबारको नयाँ पत्रिकामा छापिएको छ। मानविकी संकायअन्तर्गत भूगोल केन्द्रीय विभागमा यस वर्ष प्रथम सेमेस्टरमा विद्यार्थी भर्ना भएनन्। इतिहास केन्द्रीय विभागमा भने एक विद्यार्थी भर्ना भएका छन् । प्राध्यापक भने १२ छन् । त्रिवि भूगोल केन्द्रीय विभाग प्रमुख नरेन्द्रराज खनालले प्रथम सेमेस्टरमा भर्ना शून्य रहेको र तेस्रो सेमेस्टरमा नियमित पाँच विद्यार्थी हाजिर हुने गरेको बताए। सो विभागमा १४ प्राध्यापक छन् । त्रिविका आधा दर्जन केन्द्रीय विभागमा १० जनाभन्दा कम विद्यार्थी छन् । तर, प्राध्यापकको संख्या त्योभन्दा धेरै छ । आधा दर्जन विषयमा विद्यार्थीभन्दा प्राध्यापक संख्या धेरै छ । अहिले त्रिविमा प्रथम सेमेस्टरका विद्यार्थी परीक्षा सकेर बसेका छन तेस्रो सेमेस्टर सञ्चालनमा छ। त्रिविमा स्नातकोत्तर चार सेमेस्टरको हुने गरे पनि एउटै समयमा दुईवटा सेमेस्टर मात्र सञ्चालन हुने गरेको छ । त्रिविको भूगोल केन्द्रीय विभागमा प्रवेश परीक्षा दिन विद्यार्थीले निवेदन दिएका थिए । तर, प्राध्यापकले विद्यार्थीले चाहेको समयमा नपढाउने भएपछि प्रथम सेमेस्टरमा विद्यार्थी शून्य भएको हो।

सर्वोत्कृष्ट निजामती पुरस्कारः अर्थ सचिव शान्तराज सुवेदीलाई

काठमाडौ २२ भदौ । यस वर्षको ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीलाई दिइने भएको छ । सुवेदी हाल अर्थ सचिवमा सरुवा भएका हुन् । मुख्य सचिव डा. सोमलाल सुवेदीको सयोजत्वका गठित पाँच सदस्यीय पुरस्कार छनौट समितिले सचिव सुवेदीलाई सर्वोत्कृष्ट पुरस्कार दिइने निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए । पुरस्कारको राशि दुई लाख रहेको छ । यसैगरी यसवर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई दिइने भएको छ । समितिले सिफारिस गरेअनुसार पुरस्कार पाउनेमा किरण पौडेल सहन्यायधिवक्ता महान्याधिवक्ताको कार्यालय, देवेन्द्र कार्की सहसचिव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खगेन्द्रप्रसाद सुवेदी मुख्य मनोविज्ञान वेत्ता सहसचिव लोक सेवा आयोग गजेन्द्रबहादुर श्रेष्ठ उपमहालेखा नियन्त्रक महालेखा नियन्त्रकको कार्यालय, प्रदीपराज कँडेल उपसचिव गृहमन्त्रालय रहेका छन् । यसैगरी हुमबहादुर केसी उपसचिव कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, माधवप्रसाद लामिछाने निर्देशक महालेखा परीक्षकको कार्यालय, हरिबाबु पोखरेल उपसचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गोकुल बस्नेत उपसचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कृष्णवहादुर बोगटी इन्जिनियर खानेपानी तथा सरसफाइ कार्यालय बझाङ रहेका छन्। पुरस्कारको राशि जनही एक लाख रहेको छ । यसैगरी निजामती सेवा पुरस्कार ३० जना निजामती कर्मचारीलाई दिइने मन्त्रालयका सूचना अधिकारी चेम्जोङले जानकारी गराए । उक्त पुरस्कारको राशि ५० हजार रहेको छ । तीनवटै पुरस्कार बुधबार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वितरण गर्ने मन्त्रालयका उपसचिव सुप्रभा खनालले जानकारी गराए । यसैगरी ‘सेवानिवृत राष्ट्र सेवक कर्मचारी सम्मान’को बुधबार दिवसको अवसरमा नाम घोषणा गरिनेछ । उपसचिव खनालका अनुसार अवकास प्राप्त ५० जनालाई दिइने उक्त सम्मान पछि मन्त्रालयमा आयोजित कार्यक्रममा वितरण गरिनेछ । आज १३ औ निजामती सेवा दिवस मनाइदै छ । अहिले करिब ८३ हजार निजामती कर्मचारी रहेका छन् । रासस