आइसिएफसी फाइनान्सको अध्यक्षमा अग्रवाल र विज्ञ सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं, ९ कात्तिक । आइसिएफसी फाइनान्सको अध्यक्षमा सुरेशकुमार अग्रवाल नियुक्त भएका छन् । सोमबार बसेको कम्पनीको १९६औँ सञ्चालक समितिको बैठकले अग्रवाललाई आगामी चार बर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । साथै, उक्त बैठकले कम्पनीको विज्ञ सञ्चालकमा राजेन्द्र गोपाल श्रेष्ठलाई नियुक्त गरेको छ । बैठकले श्रेष्ठलाई पनि आगामी चार वर्षको लागि विज्ञ सञ्चालकमा नियुक्त गरेको हो । कात्तिक ८ गतेको नियुक्त पाएका दुबै जना अग्रवाल र श्रेष्ठले कम्पनीको कार्यभार सम्हाल्नेछन् ।

नेपाली कामदारको कोटा बढाउन कोरिया सकारात्मक, नेपाली कामदार इमान्दार र लगनशील रहेको कोरियाली भनाई

काठमाडौं ६, कात्तिक । दक्षिणकोरियाले नेपाली कामदारको कोटा बढाउन सकारात्मक रहेको बताएको छ । काठमाडौंमा शुक्रबार भएको नेपाल दक्षिणकोरिया तेस्रो परामर्श संयन्त्र बैठक’ मा दक्षिणकोरियाली विदेश मन्त्रालयका अधिकारीले त्यस्तो बताएका हुन् । बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल नेतृत्वको सरकारी टोली सहभागी थियो भने कोरियाली विदेश मन्त्रालयका दक्षिणएसिया तथा प्रशान्त मामिला महाशाखाका महानिर्देशक र्‍यु जियोङ हृयुनले कोरियाली पक्षको नेतृत्व गरेका थिए । कोरियाली पक्षले कामदारको कोटा बढाउन सकारात्मक रहेको सहसचिव अर्यालले बताए । बैठकमा कोरियाली अधिकारीले नेपाली कामदार इमान्दार र लगनशील रहेको भन्दै प्रशंसा गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट।

निलम्बित कार्की अझैं अख्तियार चलाउँदै, प्रमुख आयुक्तसरह नियमित गतिविधि गर्दै

काठमाडौं ६, कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले टंगालस्थित कार्यालय परिसरबाटै अख्तियार सञ्चालन गरेको भेटिएको छ । आयोग मुख्यालयसँगै रहेको परिसरबाटै कार्कीले प्रमुख आयुक्तले झैं नियमित गतिविधि गरिरहेका छन् । कार्कीले शुक्रबार कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्णय गरेको स्रोतले बतायो । निलम्बन हुनुअघिको मिति राखेर कार्कीले कर्मचारीहरू कोरिया पठाउने सूची स्वीकृत गरेका हुन् । फाइल लिएर अख्तियारका सहसचिव बेगेन्द्र शर्मा पौडेल कार्कीको निवास पुगेका थिए । कार्कीको कार्यकक्ष र सचिवालयमा रहेका महत्त्वपूर्ण फाइल र प्रमाणका कागजात निवासमा पुर्‍याइएको स्रोतले बतायो । अधिकांश ठूला, संवेदनशील र महत्त्वपूर्ण मुद्दाका अनुसन्धान अधिकृतले सोझै प्रमुख आयुक्त कार्कीलाई ब्रिफिङ गर्थे । ‘प्रमुखको निजी सचिवालयमा अहिले खासै कुनै कागजात छैन,’ स्रोतले भन्यो, ‘सबै ओसारेर निवासमा पुर्‍याइएको छ ।’ कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा दर्ता भएपछि पनि आलोचक र विरोधीमाथि निगरानी र गोप्यताको जासुसी गर्न प्रयोग भएको टिम झनै सक्रिय भएको स्रोतले बतायो । स्रोतका अनुसार यसबीचमा कतिपयको फोनको ‘कल डिटेल’ हेर्ने र म्यासेजका विवरण तान्ने काम भइरहेको छ । यस्ता विवरण टंगाल परिसरस्थित कार्कीकै निवासमा पुर्‍याइन्छ । शुक्रबार आयोग कार्यालय खुल्नासाथ कान्तिपुर संवाददातालाई सूचना दिएको भन्दै सोधपुछ भइरहेको थियो । गोप्य ढंगले कान्तिपुरको सम्पर्कमा आएका एक उपसचिवले सामान्य भलाकुसारी गरेकै कारण आफूमाथि अप्ठेरो परेको बताए । कार्कीसँग निकट रहेर काम गरेका आयुक्त राजनारायण पाठकले आयोगभित्रका गतिविधिबारे उनलाई भेटेर जानकारी गराइरहेका छन् । कार्कीले नियमित काम कारबाही नगरे पनि आयोगका सुरक्षाकर्मी, उनीप्रति बफादार सचिवालयका कर्मचारी छन् । उनले विशेषज्ञका रूपमा नियुक्त गरेका केही व्यक्तिले हरेक महाशाखाको निगरानी गरिरहेको स्रोतले जनाएको छ । कान्तिपुर दैनिकबाट ।