अमेरिका लैजाने आवश्वासनमा ठगी, एकै व्यक्तिको २९ लाख गुम्यो
काठमाडौं ६, मंसिर । मन्त्रीको भ्रमण टोलीमा मिसाएर बेलायत पुर्याइदिने आश्वासन पाएपछि पर्वत शंकरपोखरीका विनोद सेवाले २९ लाख रुपैयाँ बुझाए । काठमाडौं, कपनका सन्तोष कटवालले पनि उसैगरी अमेरिका पुर्याइदिने आश्वासनमा विश्वास गरेर ९ लाख रुपैयाँ बुझाए । उनीहरू दुवै त्यतिबेला झसंग भए, जतिबेला रकम लिएको मान्छे नै सम्पर्कविहीन भयो । उनीहरूलाई अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम असुल्ने व्यक्ति थिए, ललितपुर इमाडोलका मनोजबहादुर सिंह । आफूलाई राजा बाबु र अनुप सिंह जस्ता नामबाट चिनाउने र कोहीलाई पाइलट बताउने, कसैलाई हिन्दु प्रजातान्त्रिक पार्टी नेपालको उपाध्यक्ष रहेको परिचयपत्र देखाउने सिंह यसअघि पनि वैदेशिक रोजगारीको ठगीको मुद्दामा परेका व्यक्ति हुन् । वैदेशिक रोजगार विभागमा परेको ठगी मुद्दामा २०७० साउन २० मा उनले बयान दिएको रेकर्डले देखाउँछ । रामकाजी श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, विष्णु गौतम, कमल गौतम, कृष्णकान्त गौतम, रिसव गौतम र हर्षमान गौतमलाई वैदेशिक रोजगारीमा लगिदिने बहानामा ९३ लाख रुपैयाँ लिएको भन्दै अशोककुमार कारिन्जतविरुद्ध परेको मुद्दामा सिंह तानिएका थिए । कारिन्जतले बयानका क्रममा पीडितहरूबाट उठाएको ९३ लाख रुपैयाँ सिंहले लिएको बताएका थिए । ठगिएका अधिकांशलाई सिंहले मन्त्री विदेश जाने टोलीमा समावेश गरेर पठाइदिने आश्वासन दिएका थिए । केहीलाई भने दलित कोटामा पारेर ‘सेटिङ’मा अमेरिका पुर्याउने बचन दिएका थिए । उनले सेवा र कटवालजस्तै करिब २९ जनाबाट उस्तै प्रकृतिको आश्वासनमा करिब चार करोड रुपैयाँ उनले लिएको खुलेको छ । बडी गार्ड लिएर हिँडने र विभिन्न मन्त्रीसँग आफ्नो सोझो सम्बन्ध रहेको बताउने सिंहले रकम बुझाएकाहरूलाई झुलाउन अनेकन तिकडम रचेको देखिन्छ । कतिसम्म भने उनले असार २० मा इमाडोलस्थित एक होटलमा पासपोर्ट वितरण गरिने कार्यक्रम आयोजना हुँदैछ भन्ने व्यहोराका पत्रसमेत तयार पारेका थिए । सिद्धिदाता इन्टरप्राइजेजको नामबाट तयार पारिएको उक्त पत्रमा विषय लेखिएको छ, प्रमुख अतिथिको आसन ग्रहण गरी पासपोर्ट वितरण गरिने सम्बन्धमा । उक्त पत्रमा तत्कालीन उपप्रधानमन्त्री, श्रम तथा रोजगार मन्त्री र वाणिज्य मन्त्रीको उपस्थिति हुनेसमेत उल्लेख छ । कोही आफन्तमार्फत, कोही ज्योतिषमार्फत पीडितहरू मनोजको सम्पर्कमा पुगेको देखिन्छ । खिमबहादुर परियारले सिंहका निकट आकाश लामालाई ३८ लाख रुपैयाँ बुझाएका थिए । ‘पैसा जसले बुझे पनि मनोजकै पासो हो,’ परियारले भने । उनलाई सिंहले अमेरिकाको भिसा लागेको नक्कली कागज नै बनाएर दिएका थिए । अमेरिका पुर्याएर छाडिदिने आश्वासनको चंगुलमा परेकाहरूले बैंकिक च्यानलमार्फत नभई हातैमा रकम बुझाएका थिए । आइतबार नै ठगिएका केही पीडित महानगरीय प्रहरी परिसर पुगेर एसएसपी सर्वेन्द्र खनाललाई पनि भेटेका थिए । कान्तिपुर दैनिकबाट ।
नेपाली देशमा काम नपाएर कालापहाड पुग्छन्, भारतीय नेपाल आउँछन्
वीरगन्ज, ३ मङ्सिर । सीमावर्ती भारतको रक्सौल बस्ने व्यास मुखिया एकाबिहानै साइकलमा एक टोकरी स्याउ लिएर वीरगन्जको मीना बजारमा आउने गर्दछन् र दिनभरि व्यापार गरी साँझपख घर फर्किने गर्दछन् । कामको खोजीमा कालापहाड जाने नेपालीको सङ्ख्या धेरै भएपनि सीमापारिका भारतीय नागरिकले भने वीरगन्ज बजारमा सजिलैसँग व्यापार गरी आर्थिक लाभ लिने गरेका छन् । भारतको उत्तर प्रदेश, हरियाणा, पञ्जाब, दिल्ली लगायतका ठाउँमा पुग्ने नेपाली कामदार त्यहाँ खेतीपाती, सडकको काम तथा नोकरी गर्ने गरेका छन् भने भारतीय नागरिकका लागि नेपाली बजार सुलभ व्यवसाय गरिने थलोका रुपमा विकसित हुने गरेको छ । सीमावर्ती भारतीय बजार तथा गाउँबाट दैनिक एक हजारभन्दा बढी भारतीय वीरगन्जबजारमा आई किराना पसल, चिया पसल, खाजा पसल, तरकारी व्यापार लगायतका व्यवसाय गरी साँझपख मोटो रकम लिई आफ्नो घर भारत फर्किने गरेको उनीहरुको दिनचर्या रहेको छ । भारतीय व्यापारीले दैनिक १० लाखभन्दा बढीको व्यापार गरेका छन् भने नेपाली कडा परिश्रम गर्न कालापहाड जाने गरेका छन् । कामको खोजीमा कालापहाड जाने भनी पर्सा, बारा, रौतहट, मकवापुर, चितवन लगायतका ग्रामीण क्षेत्रका युवा भारत जाने गरेका छन् भने भारतका विभिन्न ठाउँमा करिब ६ महिना काम गरी स्वदेश फर्किने गर्दछन् । तर सीमापारि भारतबाट आउने फुट्कर व्यापारीले विभिन्न मौसम अनुसारको व्यापार गरी आर्थिक लाभ लिँदै आएका छन् । उनीहरु फुट्कर व्यापारबाहेक सिकर्मी, डकर्मी, सिरक, डसना बनाउनाका साथै ढुङ्गा, माटोका काम, घर बनाउने, रङ लगाउने जस्ता काम गर्दछन् । “कामको खोजीमा भारत कालापहाड जानुभन्दा आफ्नै देशमा सुन फलाउन सकिन्छ”, मीनाबजारका व्यापारी माधवप्रसाद गुप्ता भन्छन्–“विदेशमा गएर परिश्रम गर्नुभन्दा आफ्नै देशमा पसिना चुहाएर मनग्य आम्दानी गर्न सकिन्छ ।” सीमापारि भारतबाट कामको खोजीमा वीरगन्ज आउने कामदार व्यापार गर्नुका साथै यहाँका कलकारखानामा समेत काम गर्ने गरेका छन् । यहाँ आधाजसो काम गर्ने त भारतीय नै छन् । मीना बजारका अर्का व्यापारी वीरेन्द्रप्रसाद साह भन्नुहुन्छ, “भारतीय सजिलो तरिकाले वीरगन्जमा आएर व्यापार गर्छन् तर नेपाली कामका लागि कालापहाड जानु दुखद हो । ती व्यापारी वीरगन्जका कुनाकाप्चा, टोलगल्लीमा गई सिरक, डसना बनाउने र आर्थिक लाभ लिने गर्छन् तर नेपाली भने अन्यत्र जान्छन् । आफ्नो गाउँसहरमा मिहेनत गरी सुन फलाउन सकिन्छ ।” रासस
अष्ट्रेलियाका महिलाको कमाई पुरुषको भन्दा २३ प्रतिशत कम, ६ जना कार्यकारी मध्ये १ जना मात्र महिला
क्यानवेर्रा, १ मंसिर । अष्ट्रेलियाका महिलाले औसतमा पुरुषले भन्दा २३ प्रतिशत कम कमाई गर्ने गरेको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको लैङ्गिक समानता सम्बन्धी एक संस्थाले गरेको अध्ययनका अनुसार, सन् २०१६ को आर्थिक बर्ष सकिन लागेको यस समयसम्म पनि महिलाले औसतमा पुरुषले भन्दा २० हजार डलर कम कमाई गरेका छन् । करिब १२ हजार अष्ट्रेलियाली रोजगारदाता र चालिस लाख कामदारहरुमा गरिएको अध्ययनले यस्तो देखाएको सो संस्थाले जनाएको छ ।लैङ्गिक समानता सम्बन्धी संस्थाका निर्देशक लिब्बी लिओनस्ले “पूर्वाग्रह र विभेद” का कारण महिला र पुरुषको आम्दानीमा अन्तर परेको बताए । “तर मलाई लाग्छ, यहाँ केही सकारात्मक संकेतहरु पनि छन्,” उनले भने। उनका अनुसार अघिल्ला बर्षहरुको भन्दा यस बर्ष आम्दानीको अन्तर भने धेरै घटेको छ । यस बर्ष १.६ प्रतिशत घटेको उनले बताए । अष्ट्रेलियन ब्रोडकाष्टिङ कर्पोरेसन (एबीसी) सँग निर्देशक लिब्बीले भने, “समानतामा पुग्न हामी अझ धेरै हिड्न बाँकी छ ।” “अहिलेसम्म पनि ६ जना प्रमुख कार्यकारी अधिकृत मध्ये ५ जना पुरुष नै छन् र चार जना निर्देशक मध्ये तीन जना पुरुष छन्” उनले जानकारी दिए । निर्देशक लिब्बीले यो अन्तरको अन्त्य गर्न व्यवस्थापनको क्षेत्रमा महिलाहरु शसक्त रुपमा आईरहेको बताए । उनले भने “यहाँ अर्को पनि प्रेरणाको तथ्य छ, त्यो के भने यस बर्ष पहिलो पटक ४२ जना महिलाहरुले व्यवस्थापकीय जिम्मेबारी पाउने गरी नियुक्ती तथा पदोन्नती भएको छ । एजेन्सी