१६ सहकारी खारेज गर्दै ललितपुर महानगर, ८ करोड अपचलन गर्ने दुई सहकारी प्रहरीको निगरानीमा
ललितपुर । ललितपुर महानगरपालिकाले गत चैत्र २२ मा सहकारीको अद्यावधिक विवरण पेस गर्न भन्दै सूचना जारी गरेको थियो । महानगरले विशेषगरी, २६ वटा सहकारीलाई लक्षित गरेर सूचना जारी गरेर ३० दिनमा विवरण अध्यावधिक गर्न भनेको थियो । ती सहकारी संस्थाहरूले ५ वर्षभन्दा बढी अवधिदेखि लेखा परीक्षण र साधारण सभाको विवरणसमेत नबुझाएपछि सूचना जारी गरिएको महानगरका सूचना अधिकारी तथा सहकारी विभागका प्रमुख देवप्रसाद गुरागाईले बताए । महानगरको सहकारी ऐन २०७५ को दफा २९ उपदफा (२) ले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र साधारण सभा गर्नुपर्ने व्यवस्था गरेको छ । दफा ५३ को उपदफा (१) ले भने आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र संस्थाको कारोबारको लेखा परीक्षण गराउनु पर्ने भनेको छ । त्यसरी विवरण अद्यावधिक नगरेका २६ मध्ये सूचना जारी भएपछि १० वटा सहकारीले मात्रै विवरण अद्यावधिक गरेको गुरागाईले बताए । बाँकी १६ सहकारी भने अझै सम्पर्कमा आएका छैनन् । सम्पर्कमा नआएका सबै सहकारीलाई एकमुष्टरुपमा खारेजी गर्ने तयारी गरिएको गुरागाईले बताए । सम्पर्कमा नआउनेमा गेट बचत तथा ऋण सहकारी, संकल्प बचत तथा ऋण सहकारी, गंगा सागर बचत तथा ऋण सहकारी, रातो मच्छिन्द्र गृहश्रमिक महिला सिपमुलक सहकारी, पासा पुच बचत तथा ऋण सहकारी र रिद्धिसिद्धि बचत तथा ऋण सहकारीलाई खारेज गर्ने प्रक्रिया महानगरले सुरु गरेको छ । यस्तै, सनापाताल बचत तथा ऋण सहकारी, पूर्णचण्डी बचत तथा ऋण सहकारी, सिलौटी बचत तथा ऋण सहकारी, सबल बचत तथा ऋण सहकारी, जेनिथ बचत तथा ऋण सहकारी, समभाव बचत तथा ऋण सहकारी, ललितपुर वातावरण सफाई सहकारी, खोकना पर्यटन सहकारी र नव जागरण कृषि सहकारी गरी जम्मा १६ वटा संस्थालाई खारेज गर्ने तयारी रहेको महानगरले बताएको छ । ‘यी सहकारी खारेजी हुन लागेको सूचना केही दिनमा प्रकाशन गर्दै छौं । त्यसपछि खारेजीको प्रक्रियामा जान्छ’, गुरागाईले भने । ८ करोड अपचलन ललितपुर महानगरपालिकाले दुई वटा सहकारी संस्थालाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । सहकारीले बचतकर्ताको करोडौं रुपैयाँ रकम हिनामिना गरेको भन्दै महानगरले कानुनी कारबाही गर्न प्रहरीमा पत्र पठाएको हो । ओम शान्ति र लभ नेपाल सहकारी संस्थालाई कारबाहीको माग गर्दै महानगरले प्रहरीलाई पत्र पठाएको गुरागाईले बताए । ओम शान्तिले करिब ६ करोड र लभ नेपाल सहरकारीले २ करोड रुपैयाँ रकम हिनामिना गरेको छ । बचतकर्ताको रकम लिएर फरार भएका सो सहरकारी वषौंदेखि सम्पर्कमा नआएपछि कारबाहीको प्रक्रियामा जानु परेको गुरागाईले बताए । ललितपुर महानगरमा ३१९ वटा सहरकारी दर्ता भएका छन् । गत वर्ष नै खारेज भए १० सहकारी खारेज ललितपुर महानगरले गत वर्ष १० वटा सहकारीलाई खारेज गरेको छ । लामो समयदेखि विवरण अद्यावधिक नगरेका र सम्पर्कमा नआएका सहकारी खारेज गरेको गुरागाईले बताए । महानगरले २०७९ माघ २९ को निर्णयबाट सहकारी खारेज गरेको थियो । महिला सीप विकास, बहुउद्देश्यीय सहकारी, बडीखेल पर्यटन सहकारी, प्रयास बहुउद्देश्यीय सहकारी, एभरग्रीन बचत तथा ऋण सहकारी, कुसुन्ती बहुउद्देश्यीय सहकारी, पारषीदेवी महिला विकास बचत तथा ऋण सहकारी, राजवृक्ष जडिबुटि सहकारी, एभरेष्ट कृषि सहकारी, रातो सूर्य सूचना तथा सञ्चार सहकारी र भृगेश्वर उपभोक्ता सहकारी खारेज भएका थिए ।
मनकामना इन्जिनियरिङ्गको आईपीओ : वैदेशिक श्रमिकलाई अन्तिम, स्थानिय बासिन्दालाई म्याद थप
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले जारी गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिने हो । कम्पनीले असार १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद साउन २ गते अन्तिम हो । कम्पनीले सोही दिनदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरेको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा भने आवेदन दिने म्याद थप गरेको छ। स्थानिय बासिन्दाहरुले कम्पनीको आईपीओमा अब साउन १७ गतेसम्म आवेदन दिन सक्ने भएका छन्। कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाउँपालिका ५, ६, ७ र ८, बिगु गाउँपालिका ४ र कालिञ्चोक गाउँपालिका ३ का स्थानीयलाई बिक्री गरेको हो । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम आयोजना प्रभावित क्षेत्रका स्थानीयले १ लाख कित्ता र वैदेशीक रोजगारीमा रहेका नेपालीले ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बि.ओ.के. क्यापिटल मार्केट रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, गौरीशंकर गाउँपालिकाको कार्यालय, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, स्वीकृति प्राप्त गरेका सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ ।
स्मार्ट क्यूआर र नेपाल–पे क्यूआरबीच अन्तरआबद्धताको सुरूवात
काठमाडौं । नेपाल–पे क्यूआरर स्मार्ट क्यूआरबीचक्युआर भुक्तानीको लागि नेटवर्क लेभलको अन्तरआबद्धता सुरु भएको छ । यससँगै नेपाल–पे क्यूआरमा आबद्ध भएकामोबाइल बैंकिङ्ग, वालेट तथा कनेक्ट आईपीएसका प्रयोगकर्ताहरूले स्मार्ट क्यूआरको मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । स्मार्ट क्यूआरमा आबद्ध भएका मोबाइल बैंकिङ्ग र वालेटका प्रयोगकर्ताहरूले नेपाल–पे क्यूआर स्क्यानगरी भुक्तानी गर्न सक्नेछन् । स्मार्ट च्वाइस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधान लगायत बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधि र विभिन्न मिडियाका सञ्चारकमीहरुको उपस्थितिमा काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा यी सेवाहरू संयुक्तरुपमा सार्वजनिक गरिएको हो । एनसीएचएल र एसीटीको क्यूआर नेटवर्कबीच क्यूआर भुक्तानीलाई समर्थन र प्रवद्र्धन गर्न नेटवर्क लेभलको अन्तरआबद्धता भएको छ । यस अन्तरआबद्धता पश्चात ग्राहक र मर्चेन्टहरुले भुक्तानीका लागि निश्चित क्यूआर खोजिराख्नु पर्दैन । दुवै नेटर्वकका इस्युइङ एप र मर्चेन्ट क्यूआरले काम गर्नेछ । दुवै नेपालपे क्यूआर र स्मार्ट क्यूआरको भुक्तानी माच्छापुच्छ्रे बैंक, सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, कामनासेवा विकास बैंक, गरिमा विकास बैंक, आईसीएफसी फाइनान्स, आईएमई–पे, खल्ती, प्रभु–पे, हाम्रो–पे, सेल–पे, एन क्यास लगायतका वालेट तथा कनेक्ट आईपीएस बाट स्क्यान गरी भुक्तानी गर्न सकिने बताइएको छ । अन्य बैंक तथा वित्तीय संरथा र वालेटहरु पनि चाडैं थपिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल–पे क्यूआरमा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु र ३ भुक्तानी सेवा प्रदायकहरूले क्यूआर मर्चेन्ट इनरोलमेन्ट सेवामा उपलब्ध गराइरहेका छन् भने २५ भन्दा बढी बैंक तथा वित्तिय संरथाकामोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकहरूको वालेटहरू बाट नेपाल–पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, स्मार्ट क्यूआर नेटवर्कमा ६ भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु र ९ डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायकहरू आवद्ध छन् । स्मार्ट क्यूआर नेपाल–पे क्यूआरको नेटवर्कमा क्रमशः २ लाख ५० हजार र ३ लाख ५० हजार क्यूआरमर्चेन्टहरु छन्, जसअनुसार समग्रमा ६ लाख भन्दा बढि मर्चेन्टहरुको पहुँच हुनेछ । यी क्यूआरहरु इन्डिपेन्डेन्ट क्यूआरको रुपमा मर्चेन्टहरुको बिलिङ्ग प्रणाली वा पीओएस डिभाइस वाइकर्मस पोर्टलको पेमेन्ट गेटवेमा, फिजिकल क्यूआर वा डाइनामिक क्यूआरकोरुपमा उपलब्ध रहेका छन् ।