बोनसपछि राधी विद्युतको सेयर मूल्य समायोजन
काठमाडौं । आज(असार १५ गते) मंगलबार राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३६.५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य ८२१ रुपैयाँ कायम भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ११२० रुपैयाँमा भएको थियो । यससँगै अबको कारोबारमा कम्पनीको सेयर कारोबार प्रतिकित्ता ८२१ रुपैयाँदेखि शुरु हुने छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३६.५० प्रतिशत बोनस सेयर(कर बाहेक) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको आगामी १५औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीकाे सभा असार २९ गते बिहान ११ बजे बस्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको छ । ३६.५० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ पुग्ने छ । र, बोनसपछि कायम भएको चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद जारी गर्ने सञ्चालक समितिले प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश गत दुई वर्षयताकै उच्च हो । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ मा १० प्रतिशत र २०७३/७४ को नाफाबाट सेयरधनीलाई १०.६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको सेयरमा आकर्षण
काठमाडौं । बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा यूनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही कारण पनि लगानीकर्ताको चासोमा सो कम्पनीको सेयर परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज मात्रै सो कम्पनीको कूल आठ लाख दुई हजार ४८७कित्ता सेयर ६६ करोड ९४ लाख ४८ हजार ९८९ मा खरीद बिक्री भयो । अघिल्ला दुई कारोबार दिनमा सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । आज पनि सो कम्पनीको सुरुआती कारोवारमा सकारात्मक सर्किटको मूल्यसम्म नै वृद्धि भएको थियो । नेप्सेको विवरण अनुसार सो कम्पनीको सेयर बिक्रीमा अधिक बिक्री चाप पर्यो । आज बजार बन्द हुँदा सो कम्पनीको शेयर प्रतिकित्ता ७९० रुपैयाँमा रोकिएको छ । कारोवार समयसम्म माथिल्लो तामाकोशीको सेयरमा प्रतिकित्ता ११० रुपैयाँको उतारचढाव देखिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको दुई वटा यूनिटबाट बिजुली उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
जीवन विकासको आईपीओ भोलिसम्म भर्न पाइने, हालसम्म कतिले भरे ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरिरहेको आईपीओमा भोलि(असार १५ गते) सम्म आवेदन दिन पाइने छ । इन्छुकले भोलि अपरान्ह ५ बजेसम्म उक्त आईपीओ आवेदन दिन पाउने छन् । यससँगै हालसम्ममा उक्त आईपीओमा १७ लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार आज(असार १४ गते) बिहान १०ः४० बजेसम्ममा १७ लाख २ हजार २७९ जनाले २ करोड ५७ लाख ८६ हजार कित्ता सेयर माग गरिसकेका छन् । जुन संस्थाले सर्वधारणमा माग गरेको भन्दा १३.४५ गुणा बढी आवेदन हो । संस्थाले सर्वसाधारणमा मात्रै १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । जीवन विकासको योजनाः एक वर्ष भित्रै ५८ वटा शाखा खोल्ने, कर्जा लगानीमा आक्रामक बन्ने यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । थप सामाग्री जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, भर्ने की नभर्ने ? यस्तो छ सीईओको सुझाव