एक सहकारीले भन्यो – ‘ललितपुरका राकेश शाक्यसँग होसियार रहनु’
काठमाडौं । मानसरोवर कृषि सहकारी संस्थाले ललितपुरका राकेश शाक्यसँग होसियार रहन आग्रह गरेको छ । सहकारी संस्थाले पूर्व कर्मचारी ललितपुर महानगरपालिका ११ का राकेश शाक्यसँग होसियार रहन आग्रह गरेको हो । शाक्य गैरकानुनी क्रियाकलाप र जानाजान ठगीमा संलग्न रहेकाले मानसरोवर कृषि सहकारीको कुनै कागजपत्र, चेकबुक वा मुद्दती बचत रसिद ल्याएर कारोबार गर्न खोजेको खण्डमा कारोबार नगर्न आग्रह गरेको हो । सहकारीका अनुसार ललितपुर महानगरपालिका ११ घर भई हाल गोदावरी नगरपालिका १० बस्ने शाक्य वि.सं. २०७६ साउन १ गतेका दिन प्रबन्धक पदमा नियुक्त भए । उनले वि.सं. २०७७ भदौ १ गतेदेखि स्वेच्छाले संस्थाको जागिर छाडेका थिए । संस्था छाडेर जाँदा आफ्नो जिम्मेवारीमा संस्थाको चलअचल सम्पत्ति बुझाई, हरहिसाब फरफारक गरेर जानुपर्ने हो । तर, उल्टै कृषि विकास बैंकको चापागाउँ शाखामा रहेको यस संस्थाको बैंक खातामा दस्तखत चल्ने सञ्चालकहरुले दस्तखत गरिसकेको चेक नं. १२९८४७०१ चोरेर लगी ४६ लाख ५० हजार रुपैयाँको चेक काटेर त्यसलाई बाउन्स गराए । त्यस्तै, उनले संस्था सञ्चालक समितिका सदस्यहरुलाई कालोसूचीमा राख्न सम्बन्धित निकायमा निवेदन समेत दर्ता गराए । खाता सञ्चालनमा प्रयोग हुने दस्तखत वि.सं. २०७७ असोज ३० गते नै परिवर्तन भइसकेको थियो । तर, शाक्यले वि.सं. २०७९ चैत १३ गतेको मितिमा चेक काटेर त्यसलाई बाउन्स गराएर संस्थालाई बदनाम गराउने, दुःख दिने र आफूले गैरकानुनी लाभ लिने नियत रहेको संस्थाको आरोप लगाएको छ । त्यसैले शाक्यले आगामी दिनमा पनि यस्ता गैरकानुनी क्रियाकलाप गर्न सक्ने भएकाले संस्थासँग कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्था, सहकारी संघ र संस्थाका सेयर सदस्यहरुलाई सजग रहन आग्रह गरेको हो । साथै, संस्थासँग लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्न र हिनामिना गरेको रकमको हिसाब एक हप्ताभित्र बुझाउन भनेको छ । अन्यथा संस्थालाई पुर्याएको हानिनोक्सानी उपर कानुनी कारवाही अघि बढाउने सहकारीले चेतनावनी दिएको छ ।
‘वित्तीय क्षेत्रको स्वनियमनमा संस्थागत नैतिक अभ्यास अपरिहार्य’
काठमाडौं । बैंकिङ क्षेत्रमा अपनाउन थालिएको विनियमन (डिरेगुलेसन)को अभ्यास र बढ्दो सूचना प्रविधिको कारण बैंकिङ क्षेत्रका नैतिक अभ्यास अपरिहार्य बन्दै गएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् । शुक्रबार मोर्गन इन्टरनेसनल कलेजले आयोजना गरेको ‘इथिकल बैंकिङ’ विषयक सेमिनारमा राष्ट्र बैंकका उपनिर्देशक डा. गुणराज भट्टले अबको बैकिङ प्रणाली नियम कानूनभन्दा बढी नैतिक अभ्यासबाट निर्देशित हुनुपर्ने बताए । काठमाडौंको बसुन्धारामा रहेको मोर्गन इन्टरनेसनल कलेजले नियमित श्रृङ्खला अन्तर्गत शुक्रबार बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा सेमिनार आयोजना गरेको हो । ‘बैंकले सर्वसाधारणको निक्षेपमा व्यवसाय गर्ने भएकाले अन्य संस्थाभन्दा बढी बैंकिङ क्षेत्रमै नैतिक अभ्यास आवश्यक पर्छ । सर्वसाधारणले पनि बैंक तथा वित्तीय संस्थाको नैतिक अभ्यासकै आधारमा मूल्याङ्कन गरेका हुन्छन्’, डा. भट्टले भने । राष्ट्र बैंकका अर्का उपनिर्देशक रामशरण पोखरेलले बैंक तथा वित्तीय संस्थालाई स्वनियमनमा ल्याउन वित्तीय संस्थामा हुने नैतिक अभ्यासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘बैंक तथा वित्तीय संस्थालाई पारदर्शी र जवाफदेही बनाउन राष्ट्र बैंकले निरन्तर काम गरिरहेको छ । अबको दिनमा बैंक तथा वित्तीय संस्थाहरु स्वनियमनमा रहनुपर्छ । त्यसलाई संस्था भित्रको नैतिक अभ्यासले सघाउँछ’, पोखरेलले भने । मोर्गन इन्टरनेसनल कलेजले विद्यार्थीहरुलाई बैंकिङ क्षेत्रको असल अभ्यास र आगामी दिनमा बैंक तथा वित्तीय क्षेत्रले ध्यान दिनुपर्ने विषयमा जानकारी गराउने उद्देश्यले सेमिनार आयोजना गरेको क्याम्पस प्रमुख डा. दीपेन्द्र भण्डारीले बताए । ‘विद्यार्थीहरुलाई व्यवहारिकरुपमै सक्षम बनाउनका लागि सेमिनारहरुले सहयोग गर्ने भएकाले नियमितरुपमा आयोजना गरिरहन्छौं । स्रोत व्यक्तिहरुको अनुभव विद्यार्थीलाई सुनाउँदा ज्ञान हासिल गर्न सक्छन् । सोही उद्देश्यका लागि सेमिनार आयोजना गरिएको हो’, डा. भण्डारीले भने । सेमिनारमा कलेजका स्नातक तहका विद्यार्थी, अध्यापक एवं कर्मचारीहरुको सहभागिता थियो ।
सहकारीलाई सुत्केरी व्यथा लागेको छ, अप्रेसन गर्नुपर्ने हुनसक्छ : रजिस्ट्रार घिमिरे
काठमाडौं । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले अहिले सहकारीलाई सुत्केरी व्यथा लागेको टिप्पणी गरेका छन् । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले तयार गर्ने प्रतिवेदनमा सुझाव दिनका लागि शुक्रबार आयोजना गरिएको कार्यक्रममा रजिस्ट्रार घिमिरेले सहकारीलाई व्यवस्थित गर्नका लागि कठोर निर्णय लिनुपर्ने बताएका हुन् । ‘सहकारीलाई सुत्केरी व्यथा लागेको छ, यो प्रशव व्यथा जटिल छ । अपरेशन गर्नुपर्ने अवस्था हुनसक्छ’, घिमिरेले भने । सहकारी क्षेत्रमा गम्भीर सुधारको आवश्यकता रहेको र त्यसका लागि कठोर निर्णय गर्नु पर्ने उनले बताए । ‘सहकारी सापटीको लागि हो, ऋणको लागि हो । सापटीमा धितो हुँदैन र करोडौं ऋण पनि हुँदैन । सहकारीबाट सापटी लिएर गर्जो टार्ने हो व्यवसाय गर्ने होइन’, घिमिरेले भने । सहकारीमा अहिलेको जस्तो अवस्था आउनुमा को कति जिम्मेवार छन् ?सञ्चालकबाट के कति गल्ती भयो ? नियामकको के कति कमजोरी भयो ? भन्ने विषयको खोजी गरिनुपर्ने उनले बताए । ‘सहकारीमा यस्तो अवस्था आउन हुँदैनथ्यो । सहकारीका बचतकर्ता र सञ्चालकबाट पनि आन्दोलन गर्ने अवस्था आउनु हुन्थेन । यसको सिद्धान्तले यस्तो परिकल्पना गरेको पनि छैन । सहकारीलाई कुन भूमिकामा राख्नुपर्छ भन्ने ढंगबाट काम गर्नु पर्नेछ’, घिमिरेले भने । सहकारीका नियामकहरु पुनरावलोकनको लागि सोचिरहेको र यस विषयमा सुझाव माग गरिरहेको उनले बताए ।