विकासन्युजमा नयाँ सिरिज ‘रेमिट्यान्सको संसार’ आउँदै

काडमाडौं । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्स तथा वैदेशिक रोजगारसम्बन्धी नयाँ सिरिज (कार्यक्रम) विकासन्युजमा प्रसारण हुने भएको छ ।  यो कार्यक्रम वैदेशिक रोजगारीका अवसर र चुनौती उजागर गर्दै रेमिट्यान्सलाई अझ प्रभावकारी रूपमा परिचालन गर्ने उपाय पहिल्याउने प्रयास हो ।   ‘रेमिट्यान्सको संसार’ विकासन्युज डटकमको अफिसियल युट्युब च्यानल विकासन्युजमा बैशाख १९ गतेदेखि हरेक शुक्रबार बेलुकी ८ बजे प्रसारण हुनेछ ।  नेपालबाट लाखौँ श्रमिक विदेशिने गरेका छन् । यसले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा व्यापक परिवर्तन ल्याइरहेको छ । त्यस्तै, यसका आफ्नै असर पनि छन् । शृङ्खलामा नेपालबाट बहुसङ्ख्यक श्रमिक जाने प्रमुख गन्तव्यको श्रम नीति, त्यहाँका कामदारको अवस्था, त्यहाँ नेपालीले पाउने पारिश्रमिक र सुविधा तथा श्रमिकले भोग्ने चुनौतीसम्बन्धी तथ्य र तथ्याङ्क प्रस्तुत गरिएको छ ।  रेमिट्यान्सले लाखौँ नेपालीको जीवनशैलीमा परिवर्तन ल्याएको छ । विदेशमा श्रम गरेर कमाएको आम्दानीले एकातिर परिवारका आवश्यकता र अर्कातिर देशको आर्थिक वृद्धिमा योगदान गरेको छ । तर पनि रेमिट्यान्सको प्रभाव आर्थिक पक्षमा मात्र सीमित छैन, यसले सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि असर पारिरहेको छ । रेमिट्यान्सको संसार कार्यक्रममा यिनै विषयमा केन्द्रित हुनेछ । सही सीप विकास, अवसरको सदुपयोग र परिश्रम नै श्रमबजारमा सफलताका आधार मानिन्छन् । रेमिट्यान्सको संसार कार्यक्रममा रेमिट्यान्सभित्रको सकारात्मक र नकारात्मक प्रभावबारे विश्लेषण गरिनेछ । प्रवासी नेपालीको योगदान अझ प्रभावकारी बनाउन, रेमिट्यान्सको सही सदुपयोग गर्न र भविष्य सुरक्षित बनाउने सवालमा कार्यक्रम केन्द्रित हुनेछ । साथै, बैदेशिक रोजगारीमा जाने सोचमा रहेका युवा पुस्तालाई गन्तव्य मुलक र नेपालको नीतिबारे महत्वपूर्ण जानकारी दिइनेछ । विशेष कारण शुरू मिति एक सातापछि सारिएकाे-सम्पादक

‘बिना तयारी भारु विनिमय दर बजारमा छाड्दा सामाजिक, राजनीतिक र आर्थिक संकट निम्तिन सक्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले भारतीय रुपैयाँसँगको स्थिर विनिमय दर प्रणालीलाई एकाएक बजारको जिम्मा दिनु घातक हुनसक्ने चेतावनी दिएका छन् । उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनपछि यो विषयले सार्वजनिक बहस लिएको सन्दर्भकाे कुराकानीमा थापाले तयारीविना प्रणाली परिवर्तन गर्नु राजनीतिक, सामाजिक र आर्थिक संकट निम्त्याउने तर्फ सचेत गराएका हुन् । ६५ वर्षपछि स्थिर विनिमय दर प्रणाली बजारमा छाड्ने बेला भएको हो ?   २०१७ सालअघि विनिमय दर सराफ र मनी चेन्जरहरूले निर्धारण गर्थे । त्यो बेला दर अत्यन्तै अस्थिर हुन्थ्यो-बिहान र दिउँसो फरक पर्थ्यो । यसले आम नागरिकलाई पीडा मात्रै दियो । त्यसैले २०१७ सालमा स्थिर विनिमय दर लागू गर्ने निर्णय गरियो । आज पनि १६० को दर कायम छ, जुन २०१७ कै दर हो । तर अब यो दरलाई बजारले निर्धारण गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ । सैद्धान्तिक रूपमा त्यो सही हो, तर व्यवहारमा हामी तयार छैनौं । भारतसँगको व्यापार घाटाको सन्दर्भमा बजार दर लागू गर्दा अप्ठ्यारो नपर्ला त ? नेपालको भारतसँगको वार्षिक व्यापार घाटा १० खर्ब हाराहारीको छ । यस्तो स्थितिमा विनिमय दर १६० होइन, २०० हुनुपर्छ भन्ने माग हुन सक्छ । यदि दर एक्कासि १६० बाट २०० पुग्यो भने पेट्रोल, खाद्यान्न, औषधि-सबैको मूल्य आकासिनेछ । हामीसँग न त अर्थतन्त्रको संरचना मजबुत छ, न त सुशासन, नै पारदर्शी नियमन । बजार दर प्रणाली ल्याउनु भनेको त्यसका लागि तयार हुनु हो र त्यो तयारी अझै भएको छैन । ब्याजदर जस्तै विनिमय दर पनि बजारलाई छाड्दा बजारले ठीकसँग काम गर्ला ?   ब्याजदरलाई बजारमा छाड्दा पनि धेरै अस्थिरता देखियो । राष्ट्र बैंकले अहिले पनि अप्रत्यक्ष नियन्त्रण गर्छ । विनिमय दर पनि त्यसैगरी बजारमा छाडियो भने-बजार, उपभोक्ता, लगानीकर्ता कसरी प्रतिक्रिया गर्छन् भन्ने गम्भीर प्रश्न खडा हुन्छ । बजारले मूल्य निर्धारण गर्नु आदर्श अवस्था हो, तर त्यहाँ पुग्नका लागि अर्थतन्त्रको संरचनात्मक सुधार जरुरी छ । अहिले नै विनिमय दर बजारमा छाड्ने हो भने कुन–कुन संकट देख्न सकिन्छ ? सबैभन्दा ठूलो खतरा सामाजिक र राजनीतिक अस्थिरता हो । दर बढेपछि तेल, खाद्यान्न महँगिन्छ, आन्दोलन सुरु हुन्छ । पेट्रोलको लाइन, जनआक्रोश, राजनीतिक दबाब—यी सबै सम्भावित संकट हुन् । त्यसैले तयार भएर मात्र बजार प्रणालीमा जानुपर्छ । तयारी बिना विनिमय दर प्रणाली हचुवामा छाड्नु विनाशको निम्तो दिनु हो । अन्ततः बजार आधारित प्रणालीतर्फ जानुपर्ने हो भने समाधान के हो ?   विकासशील अर्थतन्त्रको लक्ष्य भनेकै बजारमै आधारित मूल्य प्रणाली हो। त्यसले स्रोतको सही बाँडफाँट गर्छ, लगानीलाई दिशा दिन्छ । तर त्यो हासिल गर्न व्यापक पूर्वतयारी, संस्थागत सुधार, नियामक संयन्त्र बलियो बनाउनु आवश्यक  छ। भविष्य बजार प्रणालीतर्फ जानु छ तर अहिले होइन । योजना, छलफल, संरचनागत तयारीपछि मात्र सम्भव छ ।

मातृभूमि लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा वैशाख २ गते सम्पन्न गरेको छ । सभाले संस्थापक र सर्वसाधारण समूहतर्फका नयाँ सञ्चालकहरू निर्वाचित गरेको छ । नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय कार्यक्षेत्र भएको यस लघुवित्त संस्थाको सञ्चालक समितिमा संस्थापक समूहबाट शम्भु प्रसाद घिमिरे, बिमला योगी, इन्द्र कुमार शाह र खडानन्द सापकोटा निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूहतर्फबाट भरत बहादुर हमाल र विनोद आचार्य सञ्चालकमा निर्वाचित भएका छन् । लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पठाएको सूचना अनुसार नवनिर्वाचित सञ्चालकहरूको नाम र ठेगाना सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । यससँगै नयाँ सञ्चालक समितिले मातृभूमि लघुवित्तको भावी रणनीति र संस्थागत सुदृढीकरणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।