सिटिजन्स बैंकको सहयोगमा दृष्टि फाउण्डेसनका ६५ महिला तथा बालबालिकालाई राहत
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढीस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग प्रदान गरेको छ । फाउण्डेसनले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र तिनका बालबालिकाको संरक्षण तथा पुनःस्थापनको काम गर्दै आएको छ । बैंकले संस्थालाई करिब ६५ जना लाभग्राहीका लागि दुई महिनासम्म पुग्ने सरसफाइ तथा उपभोग्य सामग्रीहरू हस्तान्तरण गरेको हो । धनगढीमा आयोजित एक समारोहका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सामग्री हस्तान्तरण गरे। कार्यक्रममा उनले सानो सहयोगमार्फत संस्थाको कार्यमा संलग्न हुन पाउँदा आफू सन्तुष्ट भएको बताउँदै, यस्ता संस्थाहरूले समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरिरहेको उल्लेख गरे । सिटिजन्स बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने पनि जनाएको छ ।
कामना सेवा विकास बैंकद्वारा चितवनका विद्यार्थीलाई पोशाक वितरण
चितवन । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको श्री राष्ट्रिय आधारभूत विद्यालय, ज्योतिनगरका विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ । बैंकको नारायणगढ क्षेत्रका प्रविण बर्तौलाले विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेको उपस्थितिमा विद्यार्थीहरूलाई पोशाक हस्तान्तरण गरे । सो अवसरमा प्रधानाध्यापक न्यौपानेले बैंकको सहयोगले विद्यार्थीहरूलाई पढाइमा थप उत्साह मिल्ने विश्वास व्यक्त गरे । बैंक प्रतिनिधि बर्तौलाले भरतपुर महानगरपालिकासँगको समन्वयमा समुन्नत समाज निर्माणमा हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कामना सेवा विकास बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धी साक्षरता र सहयोग कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।
गभर्नर सिफारिस समितिकाे बैठक सुरु, विश्व पाैडेल नियुक्त हुँदै
काठमाडौं । गभर्नर सिफारिस समितिकाे बैठक सुरु भएकाे छ । मंगलबार अपरान्ह समितिकाे बैठक सुरु भएकाे हाे । अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजक विष्णु पाैडेलले बैठक बोलाएका हुन् । बैठकमा अर्थमन्त्रीसहित समितिका सदस्य महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी छन् । आज प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । ओली र देउवासँगै अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । उनीहरूबीच डा. विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति भएको बुझिएको छ । समितिको बैठकले आजै गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने सम्भावना छ । ओली र देउवाकाे छलफलपछि मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको हाे ।