एफएनसीसीआई अध्यक्ष ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोष मिसनबीच भेटवार्ता
काठमाडौं । नेपालबारे अध्ययन गर्न आएको अन्तर्राष्टिय मुद्रा कोषको मिसन टोलीसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भेटवार्ता गरेका छन् । शुक्रबार महासंघ सचिवालयमा उनीहरुबीच औपचारिक भेटवार्ता भएको हो । भेटवार्तामा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताएको महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुर्नसंरचना, पुर्नतालिकीकरण पुर्नकर्जा सुविधा दिनुपर्नेमा महासंघले राष्ट बैंकसंग आग्रह गरिरहेको जानकारी ढकालले मुद्रा कोषको मिसन टोलीलाई गराएका थिए । बजारमा उद्यमी व्यवसायीहरुको आत्मविश्वास बढाउनु अहिले सबैभन्दा महत्वपूर्ण बिषय रहेको ढकालको भनाई थियो । भेटमा मिसन टोली प्रमुख टिएडन किन्डाले अहिलेको अवस्थामा निजी क्षेत्रको धारणा बुभ्mनु आवश्यक भएकोले आपूm महासंघ आएको बताएका थिए । उनले बजारमा माग घटनुको कारण र पछिल्लो बजेटको प्रभावबारे जिज्ञासा राखेका थिए । महासंघ अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र पनि श्रीलंकाको जस्तै हुनसक्ने आशंकामा माग संकुचन गर्न ल्याइएका कार्यक्रमले बजारमा समस्या भएको बताए । महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्युन क्षमतामा संचालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको बताएका थिए । महासंघका लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताएका थिए । मिसन टोली प्रमुख किन्डाले आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने बताएको महासंघले जनाएको छ ।
सहकारीमा डेढ अर्ब हिनामिना, सञ्चालक र कर्मचारी कारागार चलान
काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश डा.दिवाकर भट्टको इजलासले आज सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सहकारीले १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै १ हजार ४८१ जना बचतकर्ताले १ अर्ब ३० करोड रुपैयाँ बिगो दाबी गरेर सहकारीका कर्मचारी र सञ्चालक गरी ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गरेका थिए । सहकारीमा संस्थागत खाता रहेका प्रभा माध्यमिक विद्यालय निसीखोला, पौदिटार आधारभूत विद्यालय बडिगाड, युनियन लाइफ क्लब बागलुङ, दुदिलाभाटी स्वास्थ्यचौकी गलकोट, भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था बागलुङ, कालिका सहकारी संस्था बागलुङ, गलकोट बहुउद्देश्यीय सहकारी संस्था बागलुङ, दुदिलाभाटी इङ्लिस बोर्डिङ स्कुल गलकोट, सेयर सदस्य बागलुङ नगरपालिका–३ निवासी लालचन्द्र राजभण्डारी, मुकेशचन्द्र राजभण्डारी, राजकपुर श्रेष्ठ, लोकेन्द्र केसी, टङ्कप्रसाद पन्त, भीमसेनप्रसाद श्रेष्ठ, बा नपा–२ निवासी मनोविज्ञान श्रेष्ठ, दयाराम पौडेल, सञ्जु प्रधान पालिखे, लेखबहादुर खड्का, दिलप्रसाद कँडेल, बानपा–८ निवासी लक्ष्मी जिसी कार्की, बानपा–४ निवासी आत्माराम पौडेल, बानपा–७ निवासी मीनबहादुर कार्की, बानपा–१ निवासी दुर्गाबहादुर कुँवर, कुश्मा नगरपालिका–१ का हिरामणि उपाध्याय, गलकोट नगरपालिका–३ निवासी मञ्जु शर्मा चालिसेसहित एक हजार चार सय ८१ जना बचतकर्ताले अदालतमा गत असार २५ गते ठगीको मुद्दा दर्ता गराएका थिए । बचतकर्ताको उजुरीपछि प्रहरीले सञ्चालक भण्डारीलाई गत जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी रोकालाई असार १ गते ताराखोलाबाट पक्राउ गरेको थियो भने असार ११ गते इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक किसानलाई पक्राउ गरेको थियो । सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख ढोरपाटन नगरपालिका–१ वुर्तिवाङ निवासी देवकुमार नेपाली, गलकोट नगरपालिका–११ निवासी रुपा विक, ढोरपाटन नगरपालिका–१ निवासी डोरबहादुर परियार, ढोरपाटन–१ निवासी सुनिल नेपाली, सोही ठाउँका अनिल नेपाली, बडिगाड गाउँपालिका–२ बोहोरागाउँ निवासी झकबहादुर साही र निसीखोला गाउँपालिका–१ निवासी अनिता बुढामगरको खोजीकार्य भइरहेको छ । सहकारीका सञ्चालक र कर्मचारीलाई आठदेखि १० वर्ष कैद सजायको माग गरेर मुद्दा दर्ता गराएको जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले जानकारी दिए । बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेर सहकारीका संस्थापक अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिका नगरप्रमुख नेपाली डेढ महिनादेखि बेपत्ता छन् । नेपाली बेपत्ता भएपछि बचतकर्ता चरणबद्ध आन्दोलनमा छन् । उनीहरूले जिल्लाका राजनीतिक दल र विभिन्न सरोकारवाला निकायसँग आफ्नो रकम फिर्ता गर्नका लागि सहजीकरण गरिदिन आग्रह गरेको पीडित तथा सङ्घर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताए ।
सलिकोले उठायो साढे ४ अर्ब प्रिमियम, ग्राहकलाई विश्वसनीय सेवा दिने प्रण
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले गत आर्थिक वर्षमा साढे ४ अर्ब बढी बीमाशुल्क आर्जन गरेको छ । साविकको सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भइ बनेको सलिकोले आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क अर्थात प्रिमियम उठाउन सफल भएको हो । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । हालसम्म कम्पनीले ३ लाख ११ हजार ३५८ वटा बीमालेख अर्थात बीमा पोलिसी बिक्री गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ छ । गत आवमा कम्पनीको नेटवर्थ ५ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । कम्पनी हाल स्थापनाकालको २७औं वर्ष पार गरी २८औं वर्षमा प्रवेश गरेको छ । यो अवधिसम्म कम्पनीले देशभरका ११३ वटा शाखाका ६३७ जना कर्मचारीमार्फत ग्राहकहरुलाई सेवा दिइरहेको छ । साथै, २७औं वर्षको अवसरमा सलिकोले आफ्ना ग्राहकहरुलाई थप सशक्त, सबल, गतिशील र विश्वसनीय बीमा सेवा दिने प्रतिवद्धता गरेको छ ।