यस्तो छ बिहीबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रुपैयाँ १३ पैसा कायम भएको छ ।  केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ दुई पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४७ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ १९ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६१ रुपैयाँ ०६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर कन्द्रीय बैङ्कका ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

यूनाइटेड मोदीको साधारणसभा सम्पन्न, हकप्रद सेयर प्रस्ताव पारित

काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ११औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । सभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष नविन सिलवालले गरेका थिए । सभाले कम्पनीको चुक्ता पुँजीको १ः०.६५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। यसअघि १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरिएको थियो, जसलाई संशोधन गरी १ः०.६५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पेश गरिएको हो । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत पारित गरेको छ । साथै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गरिएको छ । सभाले लेखापरीक्षण समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ । त्यसैगरी, अन्य लगानीयोग्य क्षेत्रको पहिचान गरी आवश्यकता अनुसार लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय सभाले गरेको छ । साथै, हकप्रद सेयर निष्कासनका लागि कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गरिएको छ । हकप्रद सेयर निष्कासनका क्रममा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियामक निकायमा आवश्यक अभिलेखन कार्य गर्नका लागि सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने प्रस्ताव समेत सभाबाट पारित भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र नियामक निकायहरूबाट जारी निर्देशनअनुसार थपघट गर्नुपर्ने परेमा त्यससम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गरिएको छ ।

गोर्खाज फाइनान्सको कामु सीईओमा दिपक न्यौपाने

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले दिपक न्यौपानेलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नियुक्त गरेको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि न्यौपानेलाई कामु सीईओको जिम्मेवारी दिन निर्णय गरेको हो । वित्तीय संस्थामा हाल कार्यकारी प्रमुख पद रिक्त रहेको छ भने हालसम्म कार्यवाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका मुकुन्द श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि उक्त जिम्मेवारी न्यौपानेलाई दिइएको हो । नवनियुक्त न्यौपाने विगत तीन वर्षदेखि गोर्खाज फाइनान्समा वरिष्ठ प्रबन्धकको रूपमा कार्यरत छन् । अर्थशास्त्रमा एमफिलसम्मको शैक्षिक योग्यता हासिल गरेका न्यौपानेलाई वित्तीय क्षेत्रको करिब एक दशकको अनुभव छ । उनले विभिन्न वित्तीय संस्थामा विभागीय प्रमुखको भूमिका निर्वाह गर्नुका साथै लेखापरीक्षण फर्महरूमा समेत काम गरेका छन् ।