नागरिक लगानी कोषले यसरी पुर्याउँदै ३ अर्ब पुँजी, एफपीओ जारी हुन सक्ने

काठमाडौं । नागरिक लगानी कोषले ३ अर्ब पुँजी पुर्याउने भएको छ । कोषले बोनस, हकप्रद, एफपीओ निष्कासन गरेर ३ अर्ब चुक्ता पुँजी पुर्याउने योजना अघि सारेको हो । हाल कोषको ९० करोड ३१ लाख सेयर पुँजी रहेको छ । सोमबार कोषको २४ औं साधारणसभाले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१६ नगद लाभांश पारित गरेको छ । साधारणसभामा राष्ट्रियसभाले गत चैतमा पारित गरेको नागरिक लगानी कोष ऐनलाई संशोधन गर्न बनेको विधेयकमा कोषको चुक्ता पुँजी तीन अर्ब रुपैयाँ पुर्याउनु पर्ने लक्ष्य तोकिएको बताउँदै कोषका कार्यकारी निर्देशक रमण नेपालले सो पुँजी पुर्याउन हकप्रद विकल्प रहेको बताए । साधारणसभामा शेयर लगानीकर्ताहरुले हकप्रदको सट्टा एफपीओ पनि निष्कासन गरेर पुँजी पुर्याउन सल्लाह दिएका छन् । यसको प्रति उत्तरमा कार्यकारी निर्देशक नेपालले पुँजी पुर्याउन एफपीओ पनि विकल्प हुन सक्ने बताएका हुन् । बोनस शेयर पारित पछि कोेषको शेयर पुँजी १ अर्ब १० करोड १८ लाख पुग्ने छ,’ उनले भने ‘अब २०७५/७६ मा पनि सोही अनुपातमा बोनस सेयर जारी गर्न सके नपुग शेयर पुँजी हकप्रद तथा एफपीओबाट पुर्याउन सकिन्छ ।’ नागरिक लगानी कोष ऐन, २०४७ स्वीकृत हुँदा दुई करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी थियो । प्रस्तावित संशोधित विधेयकमा शेयर नेपाल सरकारलाई २३.३४ प्रतिशत, राष्ट्रिय बीमा संस्थान ३१.५५ प्रतिशत, नेपाल स्टक एक लिमिटेडको १० प्रतिशत र सर्वसाधारण २० प्रतिशत रह्ने गरी प्रस्ताव गरिएको छ । २०७६ असार मसान्तसम्म कोषमा सहभागीहरूबाट १ खर्ब २३ अर्ब १६ करोड बचत भएको छ । अघिल्लो असारमसान्तसम्म कोषमा १ खर्ब ११ अर्ब ७३ करोड बचत भएको थियो । २०७६ असार मसान्तसम्ममा कोषको लगानी १६.७४ प्रतिशतले बढेर १ खर्ब २४ अर्ब ८७ करोड ९९ लाख पुगेको छ । २०७५ असार मसान्तसम्म कोषले विभिन्न क्षेत्रमा १ खर्ब ६ अर्ब ९७ करोड लगानी गरेको थियो । हाल कोषमा ४ हजार ८ सयभन्दा बढी संघ संस्थाका साढे ६ लाख सहभागीहरू आवद्ध छन् । कोषकोे लगानीको दायरा विस्तार गर्न निजी सार्वजनिक साझेदारी मोडेलका परियोजनाहरुमा लगानी गर्ने तथा संस्थागत लगानीकर्ताको रुपमा विभिन्न आयोजनाहरूको शेयर, डिवेन्चर र ब्रण्डमा लगानी गर्ने जस्ता कार्यक्रमहरु अगाडी बढाएको छ । कोषले उत्पादनमूलक क्षेत्रमा सुरक्षित लगानी विस्तारको क्षेत्र पहिचान गर्न र विद्युत्तीय कारोवारलाई सुरक्षित बनाउनु चुनौतिपूर्ण रहेको बताएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट मीट सम्पन्न

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल/सीएफटी तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक लगायत स्थानका २०० भन्दा बढी एजेन्टहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत सम्पूर्ण व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको जनाएको छ ।

मनास्लुमा लाग्न थाल्याे आरोहीको ओइरो, उठ्याे करिब ४ करोड

काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा ३०५ पुरुष र ९० महिला छन् । यस पटक सबैभन्दा बढी मनास्लु हिमाल आरोहणमा आकर्षण देखिएको छ । शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ । गत वर्षको तुलनामा यस वर्ष धेरै आरोही आएका हुन् । विभागको पर्वतारोहण शाखाका अनुसार यस यामको मनास्लु हिमाल आरोहणका लागि आजसम्म २६ आरोही समूहका २६० आरोहीले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा मनास्लु आरोहणमा १८ आरोही समूहका १९० आरोही गएका थिए । सगरमाथा आरोहणका लागि दुई आरोही समूहका १० आरोहीले आरोहण अनुमति लिएका छन् । त्यस्तै, धौलागिरि हिमाल आरोहणका लागि दुई आरोही समूहका ३० जनाले अनुमति पाएका छन् । नेपालसहित ४७ देशका आरोही यस याममा हिमाल आरोहणमा निस्किएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस याममा हिमाल आरोहणबाट हालसम्म रु तीन करोड ९६ लाखभन्दा बढी सलामी दस्तुर जम्मा भएको छ । विभागको विवरणमा सन् २०१८ को शरद ऋतुमा १६३ आरोही समूहले सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति लिएका थिए । आरोही दशैँ र तिहारसम्म आउने भएकाले यस याममा पनि आरोहीको सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ । रासस