मर्जपछि सारथी नेपाल लघुवित्तको सेयर सूचीकृत, कारोबार फुकुवा

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको २३ लाख ५३ हजार ८ सय २१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । साविकको नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भएपश्चात बनेको संस्थाको सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त दुई संस्था १ः१ को अनुपातमा एक आपसमा गाभिएका थिए । उक्त मर्जर प्रकृया सम्पन्न भएसँगै संस्थाको सो मात्राको सेयर सूचीकृत भएको हो । त्यस्तै, सेयर सूचीकरणसँगै संस्थाको सेयर कारोबार पनि फुकुवा गरिएको नेप्सेले जानकारी गराएको छ । यसअघि मर्जर प्रकृयामा रहेकाले नेप्सेले उक्त संस्थाको सेयर कारोबार रोक्का गरेको थियो ।

अपि पावरको हकप्रद सेयरको बिक्री खुला, कहिलेसम्मका सेयरधनीले आवेदन दिन पाउँछन् ?

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर आज अर्थात कात्तिक १४ देखि मंसिर ८ गतेसम्म खुला भएको छ । कम्पनीले साविकका सेयरधनीलाई १ सेयर बराबर नयाँ ०.४७ अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद बिक्रीमा राखेको हो । सो प्रयोजनको लागि कम्पनीले गत २०७६ चैत १ गते बुक क्लोज गरेको थियो । यससँगै २०७६ फागुन ३० गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रद सेयरलाई इक्राएनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय आधारभुत अवस्था औषतभन्दा कमजोर रहेको बुझाउँछ । यस आयोजना निर्माणका लागि जम्मा ७ अर्ब ४० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । कम्पनीले कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम २ अर्ब २२ करोड रूपैयाँ आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना गरेको छ । बाँकी ७० प्रतिशतले हुने रकम  ५ अर्ब १८ करोड रूपैयाँ हिमालयन बैंकको अगुवाईमा क्रमशः कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंक सहभागी गरी आयोजनाको सह-वित्तियकरणमा कर्जा लगानी गर्ने सम्झौता भएको छ । हाल चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीको आ.व. २०७६/०७७ को व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तिय विवरण अनुरुप कम्पनीको जम्मा नेटवर्थ १ अर्ब ३६ करोड रुपैयाँ रहेको, जगेडा कोष तथा संचित नाफामा १७ करोड रुपैयाँ रहेको र प्रति सेयर आम्दानी ८.०४ रुपैयाँ रहेको छ । अपिले यसअघि दार्चुलामा ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना र सोही नदीमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत गरी सञ्चालन गरिरहेको छ ।

शिव श्री हाइड्रोको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । शिव श्री हाइड्रोपावरको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । संस्थाको एक करोड ४७ लाख ६४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । गत कार्तिक ६ गते मात्र संस्थाको सो मात्राको सेयर नेप्सेमा सूचीकरण भएको हो । यससँगै लगानीकर्ताले उक्त सेयर दोश्रो बजारमा किनबेच गर्न पाउने छन् ।