अपि पावरको नाफा १९६ प्रतिशत र आम्दानी १२१ प्रतिशतले बढ्यो
काठमाडौं । अपि पावर कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा १० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९५.९६ प्रतिशत बढी हो । गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा कम्पनीले ३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफासँगै आम्दानीमा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १४ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२१.२० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ३८ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी बढेर ३५.७४ रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२.८ रुपैयाँ रहेको थियो । कम्पनीको मूल्य आम्दानी अनुपात र प्रतिसेयर नेटवर्थ घटेर क्रमशः ५.४० गुणा र १२४.३० रुपैयाँमा झरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । गत आवको असोज मसान्तमा कम्पनीको जगेडा कोषमा ११ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको थियो । जुन यसै आवको सोहि अवधिमा बढेर २८ करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको छ ।
युनाईटेड इदी-मर्दीकाे आईपीओ भाेलिदेखि भर्न नपाइने, अब तिहारपछि मात्रै
काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले भाेलि अर्थात कात्तिक २७ गते बिहीबारबाट निष्काशन गर्ने भनेको साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने मिति परिवर्तन भएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ निष्काशनकाे मिति परिवर्तन भई अब तिहारपछि मात्र खुल्ने जानकारी गराएको हो । क्यापिटलका अनुसार कम्पनीकाे सेयर निष्काशन आगामी मंसिर ३ गतेदेखि मात्र हुने भएकाे छ । संस्थाले नेपाल धिताेपत्र बाेर्डकाे निर्देशन अनुसार आइपीओ निष्काशनकाे मिति परिवर्तन गरी तिहारपछि मात्रै खुलाउने निर्णय गरेकाे हाे । हाईड्रोले दोश्रो चरणमा प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न लागेकाे हाे । हालैमात्र कास्की जिल्लाका स्थानीय बासिन्दालाई पहिलो चरणमा निष्काशन गरी बाँडफाँड गरेको कम्पनीले अब दोश्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । मिति परिवर्तन भएसँगै हाईड्रोले आगामी मंसिर ३ गतेबाट ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन गर्ने छ । यससँगै सेयरधनीले साे दिनदेखि कम्पनीकाे सेयर भर्न पाउने भएका छन् । क्यापिटलका अनुसार इच्छुकले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि चुक्ता पुँजीको १० प्रतिशतले हुने ४ लाख २० हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये एक लाख ७६ हजार ९० कित्ता सेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ९१० कित्ता सेयर बाँकी रहेको छ । त्यसैले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ३० हजार कित्ता सेयरमा उक्त बिक्री नभएको २ लाख ४६ हजार ९१० कित्ता सेयर गरी कूल ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये सामूहिक लगानी कोषमा ४३ हजार ६९६ कित्ता सेयर बाँडफाँड गरेपश्चात ८ लाख १२ हजार ७३६ कित्ता सेयर बाँकी रहेको छ । र, कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता सेयर सुरक्षित गरिएको कम्पनीले जनाएको छ । उक्त सेयर निष्काशनको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर खुद सम्पत्ति ८५.८२ रुपैयाँ र प्रतिसेयर प्रतिसेयर आम्दानी (१२.९७) रुपैयाँ अर्थात ऋणात्मक रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ९७.६९ रुपैयाँ र ८.३३ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।
कामना सेवाको नाफा ९७३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । कामना सेवा विकास बैकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९७३ प्रतिशतले नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको असोज मसान्तमा १ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको यसै अवधिमा २० करोड एक लाख रुपैयाँ नाफा कमाएको हो । समीक्षा अवधिको तुलनामा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५२ प्रतिशत र २२३ प्रतिशतभन्दा बढी हो । बैंकले गैर सञ्चालन आम्दानी लगायत खुद व्याज आम्दानी र सञ्चालन आम्दानीमा समेत उल्लेख्य वृद्धि गर्न सफल भएको कारण बैंकको खुद नाफामा वृद्धि भएको हो । बैंकले असोज मसान्तसम्म ३६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः ४४ प्रतिशत र ३६ प्रतिशतको वृद्धि हो । बैंकको प्रतिसेयर आम्दानी ३१.५१ प्रतिशत छ भने प्रतिसेयर नेटवर्थ १२२.६२ र मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ । यस अवधिमा बैंकको आधार दर ९.२८ प्रतिशत, सीसीडी रेसियो ७७.४३ प्रतिशत र पुँजीकोष अनुपात १२.४४ प्रतिशत रहेको छ । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।