नेपाल फाइनान्सकाे हकप्रद खुल्याे, कहिलेसम्मका सेयरधनीले आवेदन दिन पाउँछन् ?
काठमाडौं । नेपाल फाइनान्सको हकप्रद सेयर आज अर्थात मंसिर ४ गतेदेखि खुला भएको छ । कम्पनीले आजदेखि सेयरधनीलाई चुक्ता पुँजीको १२५ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो । फाइनान्सले एक सय रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६ कित्ता हकप्रद सेयर खुल्ला गरेको हो । सो प्रयोजनको लागि फाइनान्सले गत कात्तिक ६ गते बुक क्लोज गरेको थियो । यससँगै गत कात्तिक ५ गते बुधबारसम्म कायम संस्थाका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउने छन् । उनीहरुले आगामी मंसिर २४ गतेसम्म मेरो सेयर तथा संस्थाकाे बिक्री प्रबन्धकको जुनसुकै कार्यालयबाट आवेदन दिन सक्ने छन् । फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सको हकप्रद सेयरलाई ‘इक्राएनपी आइआर सी वान’ रेटिङ्ग प्रदान गरेको छ । हाल संस्थाको चुक्ता पुँजी १३ करोड ५८ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी पश्चात संस्थाको चुक्ता पुँजी ३० करोड ५५ लाख रुपैयाँ नाघ्ने छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रस्तावित ८ अर्बको आईपीओ पारित
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रस्तावित ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर(आईपीओ) पारित भएको छ । आज अर्थात मंसिर ३ गते बुधबार सम्पन्न बैंकको दोस्रो वार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै, कम्पनीले जारी पुँजीको ४० प्रतिशतले हुन आउने ८ करोड कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ । साथै, सभाले आर्थिक वर्ष २०७६/७७ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ । नेपालकै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको यस बैंकको साधारण सभा बैंककै रजिष्टर्ड कार्यालय काठमाडौंको बानेश्वरमा अनलाईन मार्फत भएको थियो । मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको यस बैंकले आ.व. २०७६/७७ मा जलविद्युत, सीमेन्ट क्लिङ्कराइजेशन एवं सौर्य उर्जा समेत ५ वटा परियोजनाहरुमा ६ अर्ब रुपैयाँ कर्जा स्वीकृत गरी ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, चालु आ.व. मा ३ वटा परियोजनाहरुमा २ अर्ब ८५ करोड रुपैयाँको थप कर्जा स्वीकृत गर्दै हालसम्म जम्मा ८ अर्ब ८५ करोड रुपैयाँ बरबरको कर्जा स्वीकृत गरेको छ ।
महुली र नव किरण मर्जपश्चात मंसिर ८ गतेदेखि एकीकृत कारोबार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था र नव किरण लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज पश्चात आगामी मंसिर ८ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । कार्तिक २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनदेखि एकीकृत कारोबार शुरु गर्ने निर्णय गरेको हो । यससँगै महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मंसिर ८ गते सोमबारदेखि एकीकृत कारोबार हुने छ । एक आपसमा मर्जको लागि यी दुई संस्थाले गत कार्तिक १९ गते नै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृत पाएका थिए ।