प्रभु क्यापिटलले सञ्चालनमा ल्यायो ‘८ टु ८’ सेवा, के-के पाइन्छ ?

काठमाडौं । प्रभु क्यापिटलले ‘८ टु ८’ सेवा सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिन बाहेक हरेक दिन लागू हुने गरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म विभिन्न सेवाहरु प्रदान गर्न लागेको हो । क्यापिटलले डिम्याट खाता सम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने अभिप्रायले आफ्ना ग्राहकलाई नियमित कार्यालय समय बाहेक बिहान र साँझको अतिरिक्त समयमा समेत डिम्याट खाता सम्बन्धी सेवा प्रदान गर्ने भएको हो । क्यापिटलले बिहान ८ बजेदेखि नियमित कार्यालय समय १० बजेसम्म र साँझ ४ बजेपछि बेलुकी ८ बजेसम्म ‘८ टु ८’ अन्तर्गत निम्नलिखित सेवाहरु प्रदान गर्ने छ । ‘८ टु ८’ अन्तर्गत पाइने सेवाहरु १. डिम्याट खाता खोल्ने, २. मेरो सेयर खाता खोल्ने, ३. डिम्याट र मेरो शेयर खाता नविकरण गर्ने, ४. मेरो सेयरको पासवर्ड रिसेट गर्ने, ५. भौतिक सेयरलाई अभौतिकीकरण कार्य गर्ने, ६. बैंक खाता लगायत डिम्याटका विवरणहरु अद्यावधिक गर्ने, ७. राफसाफको लागि डीआईएस लिने, ८. सेयर रोक्का राख्ने कार्य, आदि ।

सबै आवेदकले माग गरेजति पाए सानिमा लार्ज क्याप फण्डको इकाई

काठमाडौं । सानिमा लार्ज क्याप फण्डको ईकाई शुक्रबार बाँडफाँड भएको छ । गत माघ ९ गतेदेखि १५ गतेसम्म निष्काशन गरिएको उक्त फण्ड आज(माघ २३ गते) शुक्रबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । उक्त फण्डमा रितपूर्वक आवेदन दिने सबै आवेदकले आफुले माग गरेजति इकाईहरु पाएका छन् । क्यापिटलका अनुसार १० करोड ६ लाख ११ हजार ६० इकाईहरु रितपुर्वक आवेदन दिने आवेदलाई माग गरे बमोजिम बाँडफाँड गरिएको छ । १० रुपैयाँ अंकित दरको १२ करोड इकाईहरु मध्ये बीज पुँजीको रुपमा १६.१६ प्रतिशत अर्थात १ करोड ९३ लाख इकाई कोष प्रवद्र्घक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई बाँडफाँड गरिएको छ । र, बाँकी रहेको १० करोड ६ लाख ११ हजार ६० इकाईहरु रितपुर्वक आवेदन दिने आवेदलाई माग गरे बमोजिम बाँडफाँड गरिएको छ । फण्डको प्रतिइकाई मूल्य १० रुपैयाँ अंकित दरको १० करोड इकाईहरु निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । जसमा निष्काशन अवधी भित्र माग गरेभन्दा अधिक इकाई खरिदको लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।

चन्द्रागिरी हिल्सको आईपीओ सूचीकृत, आइतबारदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर माघ २३ गते शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर आइतबार (माघ २५ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल सीजीएच दिइएको छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९६.६९ रुपैयाँ र अधिकतम २९०.०७ रुपैयाँ तोकेको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि नक्सालको ग्लोबल आईएमई क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । सम्बन्धित समाचार चन्द्रागिरी हिल्सकाे सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त