आरएमडीसीद्वारा ललितपुरको अपाङ्ग सेवा संघलाई सहयोग
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले अपाङ्ग सेवा संघलाई नगद तथा खाद्य सामाग्री प्रदान गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको बुङमतीस्थित रहेको उक्त संघलाई सहयोग स्वरुप नगद तथा खाद्य सामाग्री प्रदान गरेको हो । उक्त संघले विभिन्न किसिमका अपाङगता भएका बालबालिकालाई आश्रय दिँदै आइरहेको छ । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले अपाङ्ग सेवा संघका अध्यक्ष दयाराम महर्जनलाई ५० हजार रुपैयाँ बराबरको खाद्य सामाग्री र अपाङ्ग सेवा संघको नाममा ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रममा आरएमडीसीका कामु नायव प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापा, वरिष्ठ प्रवन्धक अन्नपूर्ण श्रेष्ठ, प्रवन्धक ज्ञानु माया भण्डारी, उक्त संस्थाका अन्य पदाधिकारीहरु लगायत सोही संस्थाका बालबालिकाहरुको उपस्थिति रहेको थियो । संस्थाले साझेदार संस्थाहरु मार्फत पिछडिएका वर्गका महिलाहरुलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष योजना पुर्याउँदै आईरहेकोे छ ।
मोलुङ्ग हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ कराेड ३१ लाख रूपैयाँ बराबरकाे साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणलाई एक सय अंकित दरको ३५ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्ने लागेको हो । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त गर्ने सम्झाैता भएकाे छ । उक्त सम्झाैतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध संचालक अमृतकुमार महर्जन तथा सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । कूल ३५ लाख ३१ हजार कित्ता सेयरमध्ये आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई ८ लाख २ हजार ५ सय कित्ता सेयर छुट्टयाईएको छ । मोलुङ्ग हाइड्रोपावर कम्पनीको ७ मे.वा. क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट २०७४ चैत १२ गतेबाट व्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । मिति २०७७ माघ २५ गते सम्पन्न कम्पनीको ११ औं वार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी वृद्धि गरी एक अर्ब र जारी पुँजी बृद्धि गरी ८० करोड २५ लाख रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । उक्त निर्णय पश्चात कम्पनीले सेयर संरचना अन्तर्गत जारी पुँजीको ५६ प्रतिशत अर्थात ४४ लाख ९४ हजार कित्ता संस्थापक सेयर र ४४ प्रतिशत अर्थात ३५ लाख ३१ हजार कित्ता सर्वसाधारण सेयरको सार्वजनिक निष्काशनबाट पुँजी कायम गर्ने भएको छ ।
साना किसान विकास लघुवित्तको हकप्रद सेयर लिलामीमा, फागुन २८ गतेदेखि आवेदन खुला
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले बिक्री नभएको हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । संस्थाले हकप्रद निष्काशन गरी बिक्री नभएको कूल १२ हजार ४४२ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको हो । जसमध्ये ३ हजार ३६८ कित्ता संस्थापक र ९ हजार ७४ कित्ता सर्वसाधारण सेयर रहेको छ । उक्त सेयर लिलाम बिक्री गर्न गत पुस २८ गते सम्पन्न संस्थाको १९औं वार्षिक साधारणसभाले पारित गरेको थियो । यससँगै संस्थाले आगामी फागुन २८ गतेदेखि चैत १३ गतेसम्म उक्त सेयरहरु लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । इच्छुक संस्थापक साना किसान सहकारी संस्थाले मात्र चैत १३ गते एक बजेभित्र प्रतिकित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो त्यसमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् । उक्त लिलाम बिक्रीका लागि बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त भएको छ । यससँगै इच्छुकले काठमाडौंको नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग र साना किसान विकास लघुवित्तको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । कम्पनीले सेयरको न्युनतम मुल्य एक सय रुपैयाँ तोकेको हुँदा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्युनतम सय कित्ता र अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।