बुक बिल्डिङ्गबाट सेयर किन्न तीन वाणिज्य बैंकसहित थप १० कम्पनी योग्य

काठमाडौं । बुक बिल्डिङ्ग बिधिबाट सार्वजनिक निष्काशन हुने धितोपत्रको लागि तीन वाणिज्य बैंकसहित थप १० कम्पनी संस्थागत लगानीकर्ताको रुपमा योग्य भएका छन् । नेपाल धितोपत्र बोर्डले आज (फागुन २५ गते) मंगलबार सो मात्राको कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको हो । थप १० याेग्य कम्पनीमध्ये लक्ष्मी बैंक, कुमारी बैंक र सनराइज बैंक परेका छन् । त्यस्तै, उषा इन्भेष्टमेन्ट, गुडविल फाइनान्स, युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर, विशाल ग्रुप, गणेश प्रोपर्टिज एण्ड एन्भेष्टमेन्ट प्रा. लि., प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा. लि. र सिड इन्फ्रा प्रा. लि.ले पनि बुक बिल्डिङ्ग मार्फत सेयर जारी गर्न पाउने भएका छन् । बोर्डले यसअघि पनि कूल ६४ वटा कम्पनीलाई उक्त स्वीकृति प्रदान गरेको थियो । अब थप १० कम्पनीसहित कूल ७४ कम्पनीले बुक बिल्डिङ्गमा योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्ने भएका छन् । बोर्डले निवेदक संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा विवरण पेश गरेका कूल ७४ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको हो । हालसम्म कुन कुनले पाए स्वीकृति [pdf id=263539] सम्बन्धित समाचार बुक बिल्डिङ्ग: लगानी कोष र एनएमबि बैंकसहित थप १८ कम्पनी बने योग्य संस्थागत लगानीकर्ता बुक बिल्डिङ्गमार्फत सेयर जारी गर्न ४६ संस्था मात्रै योग्य, कुन कुन ?

रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग मार्फत आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले नयाँ विधिबाट १४ लाख ६० हजार कित्ता सेयर जारी गर्न लागेको हो । उक्त सेयर निष्काशन गर्नको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धि सम्झौतापत्रमा मिल्सको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा रिलायन्स स्पिनिङ्ग मिल्सको मुख्य लगानीकर्ता रहेका कार्यकारी अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यानको उपस्थिति रहेको थियो । नेपालको सबैभन्दा ठूलो यो मिल्स वि.सं. २०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै सञ्चालनमा आएको हो । मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत १४ लाख ६० हजार कित्ता सेयरमध्ये ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । ४ हजार ३०० भन्दा धेरैे जनालाई रोजगार दिन सफल रहेको यस कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ भने उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्र्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले उद्योगबाट उत्पादित वस्तुहरु विश्वबजार त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्ने गरेको छ ।

हकप्रद सेयर जारी गर्न अरुण हाइड्रोले पायो स्वीकृति, बुक क्लोज कहिले ?

काठमाडौं । अरुण हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । कम्पनीले फागुन २५ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यससँगै कम्पनीले १ बराबर ०.५ प्रतिशतको अनुपातमा अर्थात ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन गर्ने प्रयोजनको लागि संस्थाले आगामी चैत ९ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय फागुन २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।