सिमेन्टको मूल्य घटेको सरकारको दाबी, निर्माण व्यवसायी भन्छन्- मूल्य घटेको छैन, हल्लामात्र

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिले सिमेन्टको मूल्यमा प्रतिबोरा १५ देखि २५ रुपैयाँसम्म घटेको जनाएको छ । मन्त्रालयका अनुसार फलामे छडको मूल्य किलोमा २ रुपैयाँले घटाउने तयारी भइरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कारबाहीमा उत्रिएपछि उद्योगीहरूले निर्माण सामग्रीको मूल्य घटाउन तयार भएको मन्त्रालयले जनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार अहिले निर्माण सामग्रीको मूल्य देशभर नै घटिरहेको विभागका महानिर्देशक कुमार दाहालले बताए । उनले भने, ‘हामीले सिमेन्ट उद्योगीहरूलाई सिमेन्टको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोकेर मात्रै बजारमा ल्याउन भनेका थियौं । जसमा उद्योगीले पेश गरेका वास्तविक लागतको विवरण अध्ययन गरेपछि मात्रै एमआरपी तोक्न सजिलो हुन्छ । सबै वस्तुहरुमा एमआरपी अनिवार्य गर्दा अहिलेको भन्दा सहुलियत अवश्य हुन्छ, हामी त्यसका लागि छलफलमा छौं ।’ मूल्यवृद्धि किन गरियो भनेर आफूहरू अहिले सूक्ष्म ढंगले अध्ययन गरिरहेका महानिर्देशक दाहालको भनाइ छ । उनले वाणिज्यलाई सहजीकरण गर्ने र सँगसँगै उपभोक्ताको पनि हित गर्ने निकाय विभाग भएको दाबी गरे । उनले भने, ‘उपभोक्ताको अधिकारको ग्यारेन्टी हाम्रो दायित्वमा पर्छ । त्यसैले हामीले सबैलाई मिलाएर लैजानुपर्छ ।’ देशभरिका सबै उद्योगलाई भोलि (बुधबार) भित्र आफ्ना उत्पादनका प्याकेटमा खुद्रा एमआरपी राख्न यसअघि नै निर्देशन दिइसकेको समेत बताए । यसैगरी, सिमेन्ट र स्टिल उद्योगहरुबाट उत्पादन लागतको विवरण आइरहेको उनको भनाइ छ । हाल देशभरि जम्मा २६ वटा स्टिल उद्योग तथा ३२ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेका विभागले जनाएको छ । यता सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले सिमेन्टको मूल्य घटाएको बताए । उनले लोडसेडिङ बढेको कारण यसअघि थोरै मूल्य बढाएको जानकारी दिए । उनले भने,‘ प्राधिकरणले उद्योगहरूमा विद्युत लाइन काटेको कारणले मूल्य केही बढाइएको थियो । विद्युत लाइन काटिएपछि १२ घण्टा लोडसेडिङ भयो अनि हामीले ठूलो नोक्सानी खेप्नुपर्‍यो । २- ३ दिन भयो, लोडसेडिङको समस्या केही कम भएको छ । यसअघि १२ घण्टा लोडसेडिङ हुने गरेकोमा अहिले ६-७ घण्टामा झरेको छ । त्यसैले हाम्रो लागत घट्यो र भाउ घटायौं,’ अध्यक्ष मारुले भने । अध्यक्ष मारुले सिमेन्टको प्रतिबोरामा अब १५ देखि २५ रुपैयाँसम्म घटाएको जानकारी दिए । यसैगरी, अधिकतम मूल्य राख्ने विषयमा भने उपभोक्ता झनै मारमा पर्ने सक्ने उनको धारण छ । उनले भने, ‘बोरामै मूल्य राख्दा देशभरकै एकै मूल्य हुन्छ। दुर्गम ठाउँमा ढुवानी गर्न सजिलो छैन । ती ठाउँको लागि बढी रकमको एमआरपी लेख्नुपर्छ। यसरी मूल्य राख्दा ढुवानी खर्च कम लाग्ने ठाउँका उपभोक्तालाई समस्या हुन्छ । यस विषयमा सरकारसँग छलफल थप छलफल गर्छौं । अनि निर्णय लिन्छौं ।’ यता नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सिमेन्टको एमआरपी तोक्ने भनेको तर सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्य घटाउनुको सट्टा झन् बढाइरहेको आरोप लगाए । उद्योगीहरुले फेरि सिमेन्टको मूल्य २० देखि २५ रुपैयाँ बढाएको उनको दाबी छ । अध्यक्ष सिंहले भने, ‘सिमेन्ट र डण्डीको प्रायोजक सरकार हो । उद्योगी र सरकार मिलेर बजारमा कालोबजारी गरिरहेका छन् । हामीलाई सिमेन्ट महँगोमा बेचिरहेका छन् भने भारतलाई सस्तोमा दिइरहेका छन् । सरकार र सिमेन्ट उद्योगीहरू भित्री रूपमा सुरुदेखि नै मिलेर बजारमा नमिलेको झै गरिरहेका छन ।’ उनले यदि सरकार र सिमेन्ट उद्योगीहरू नमिलेको भए अहिलेसम्म किन यसलाई नियन्त्रण गर्न नसकेको भन्दै प्रश्न गरे । यस्तै, १०९ रुपैयाँ मूल्य रहेको फलामे जालीको मूल्य बढाएर १२५ पुगाएको उनको भनाइ छ ।

औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति हुन थालेपछि उद्योगी उत्साहित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेपछि उद्योगीहरू हर्षित भएका छन् । फेडेरेसन अफ नेपाल एक्स्पोर्ट एसोसिएसनले प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेको भन्दै खुसी जनाएको छ । औद्योगिक क्षेत्रले भोगिरहेको लोडसेडिङको विकराल समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गरेर लोडसेडिङ घटाएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, ऊर्जा मन्त्रालय र सरकारलाई एसोसिएसनले धन्यवादनसमेत दिएको छ । एसोसियसनले प्रेस विज्ञप्ति जारी गर्दै विगतमा औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङका कारण उत्पादनमूलक उद्योगहरूमा प्रत्यक्ष असर परिरहेको समेत जनाएको छ । एसोसियसनमा आवद्ध संघहरूमा सदस्य रहेका उद्योगहरूले क्षमताअनुसार निर्यातमुखी उत्पादन गर्न नपाएको कारणले उद्योगले आम्दानी तथा राज्यले राजश्व गुमाइरहेको र त्यसको असर समग्र अर्थतन्त्रमा परिरहेको समेत विज्ञप्तिमा उल्लेख छ । यस्तै, स्वदेशी श्रम एवं सीपमा आधारित कच्चा पदार्थ र उत्पादनलाई प्रवर्द्धन गर्दै विश्वबजारमा चिनाउने, बजारीकरण गर्ने, प्रतिस्पर्धी बनाउने र नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन निरन्तर लागिपरेका निर्यातमुखी उद्योगहरूले दैनिक १२ घण्टासम्म लोडसेडिङ भोगिरहेका कारण असुरक्षा र अनिश्चितताको विकराल समस्या भोगिरहेको विज्ञप्तिमा जनाइएको छ । पछिल्लो केही दिनयता छिमेकी राष्ट्र भारतबाट थप बिजुली आयात गरी नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न गरिरहेको छ । यससँगै अब औद्योगिक क्षेत्रले निरन्तर चौबीसै घण्टा विद्युत् उपभोग गर्न पाउने सुनिश्चितताको अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ । एसोसियसनले स्वदेशी कच्चा पदार्थ एवं उत्पादनहरु उपभोग तथा नियात प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी वृद्धि, नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तारसँगै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा योगदान गर्दै आएको विज्ञप्तिमा जनाइएको छ । यस्तै, यसमा संगठित उद्योगहरूले निर्यातमार्फत राज्य र अर्थतन्त्रमा गरिरहेको योगदान उल्लेख्य रहेको तथ्यांकले प्रमाणित गर्ने विज्ञप्तिमा उल्लेख छ । तर, विगत लामो समयदेखि निर्यातमा सरकारले दिने नगद सहुलियत रकम निकासा रोकिएको गुनासो समेत विज्ञप्तिमा एसोसियसनले गरेको छ । एसोसिएसनले यथाशीघ्र सहुलियत रकम प्रदान गर्नका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

उद्योगको लोडसेडिङ ५ घण्टामा झर्‍यो, उद्योगीले हितेन्द्रलाई बनाए बधाईका पात्र

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा हितेन्द्रदव शाक्यले नेतृत्व गरेको एक साता भयो । चैत १२ गते कार्यकारी निर्देशकका रूपमा पदभार ग्रहण गरेका उनले एक सातामा उद्योगको लोडसेडिङ ५ घण्टामा झारेका छन् । चर्को विवादका बीच प्राधिकरणको नेतृत्व सम्हालेका उनको क्षमतामाथि अहिले पनि प्रश्न नउठ्ने होइन तर उनले एक साताको बिचमा उद्योगमा हुने १२ घण्टा लामो लोडसेडिङलाई ५ घण्टामा झारिदिए । यो कसरी सम्भव भयो ? हामीले यो प्रश्न नवनियुक्त कार्यकारी निर्देशक शाक्यसँग राखेका छौं । जवाफमा उनले भने, ‘मैले कार्यभार सम्हालेदेखि केही सकारात्मक सन्देश देखापरेका छन्, जनताले चाहेअनुसारको नतिजा दिने गरी काम गरिरहेको छु, यो संकेत उद्योगको लोडसेडिङ कम गरेर भएको छ ।’ उनका अनुसार विद्युतको सहज आपूर्ति नभएर उद्योगीले समस्या भोगिरहेका थिए । ‘म प्राधिकरणमा आउनुअघि उद्योगमा १२/१३ घण्टा लोडसेडिङ थियो, अहिले ५/६ घण्टामा झरेको छ,’ उनले भने । भारतले रातको समयमा बन्द गरेको बिजुली अहिले राती ११ बजेदेखि बिहान ४ बजेसम्म थप गरेको र बिजुली नियमित आइरहेको उनको भनाइ छ । यसले उद्योगमा लोडसेडिङ कम गर्न मद्दत पुगेको उनको भनाइ छ । नेपाल र भारत सरकारको कुटनीतिक पहलमा बिजुली थप गरिएको उनले जानकारी दिए । उनले विगतमा उद्योगीहरुले झेल्दै आएको समस्या अहिले केही हदसम्म कम भएको धारणा राखे । यस्तै, उनले लामो समयदेखि रोकिएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुलाउने निर्णय समेत गरिएको बताए । यसअघि भारतसँग सम्झौता गरी रोकिएको २ सय ३० मेगावाट बिजुलीलाई ल्याउने प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिए । सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखे पनि कुलमानले पीपीए खुलाउन अस्वीकार गर्दै आएका थिए । शाक्यले भने, ‘अब देशमा लोडसेडिङ हुन्नँ, मैले एक सातामै परिणाम देखाएको छु  ।१० वर्षमा २८ हजार मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्य छ, त्यो लक्ष्य पूरा गर्न प्राधिकरण लागि पर्नेछ ।’ यस्तै, पाँच महिनाअघि चौबिसै घण्टा विद्युत् आयात गर्न पाउने गरी नेपाल र भारतबीच विद्युत् आदान–प्रदान गर्ने सम्झौता भएको थियो । जसमा नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्न सम्झौता गरेकै दिन ३ अक्टोबर २०२४ मा नेपाल विद्युत् प्राधिकरण र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच फेब्रुअरीदेखि मेसम्म २ सय ३० मेगावाट विद्युत् आयात गर्ने सम्बन्धी सम्झौता भएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) अन्तर्गतको डेजिग्नेटेड अथोरिटी र विद्युत मन्त्रालयबाट अनुमति लिएपछि मात्रै एनभीभीएनले नेपाललाई विद्युत् निर्यात गर्न पाउने सम्झौतामा उल्लेख थियो । तर, विद्युत प्राधिकरणले निरन्तर फलोअप नगर्दा ती निकायबाट अनुमति लिने काम नै नभएको र उक्त परिमाणको विद्युत् आयात हुन नसकेको उनको भनाइ छ । कार्यकारी निर्देशक शाक्यले देश अहिले ऊर्जा संकटमा रहेको र यो समय आफ्ना लागि चुनौती र अवसर दुवै भएको बताए । उद्योगी पनि खुसी सरकारले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको नेतृत्व सुम्पेपछि उद्योगी खुसी भएका छन् । शाक्यले यो एक साताको अवधिमा उद्योगको लोडसेडिङ कम गरेको भन्दै उनीहरुले खुसी व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति राजेश अग्रवालले अहिले ८० प्रतिशत औद्योगिक क्षेत्रमा लोडसेडिङ कम भएको बताए । उनका अनुसार हाल उद्योगमा दैनिक ५ घण्टामात्रै लोडसेडिङ छ । ‘गत फागुनसम्म उद्योगहरुमा दैनिक ५/६ घण्टा लोडसेडिङ थियो, चैतदेखि दैनिक १२/१३ घण्टा लोडसेडिङ हुन थालेको थियो, प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक आएपछि लोडसेडिङ ५ घण्टामा झरेको छ,’ अग्रवालले भने । उनका अनुसार अहिले साँझ ६ बजेदेखि ११ बजेसम्म उद्योगमा लोडसेडिङ हुने गरेको छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले पनि उद्योगहरुमा पहिलेको तुलनामा अहिले बिजुलीको समस्या क्रमिक रुपमा सुधार हुँदै गएको बताए । उनका अनुसार विगतमा दैनिक १२/१३ घण्टा लोडसेडिङ हुने गरेकोमा अहिले अधिकतम् ७ घण्टामात्रै लोडसेडिङ हुने गरेको छ । उनले भने, ‘विगतको जस्तो लोडसेडिङ अहिले छैन, विस्तारै बिजुलीको समस्या हट्ने संकेत देखिन्छ, उद्योग अर्थतन्त्रको मूल आधार हो । अर्थतन्त्रको आधार नै अवरुद्ध पारेर लाइन काटिनु गलत परिपाटी थियो, अब त्यो परिपाटीको अन्त्य हुने हाम्रो विश्वास छ,’ उनले भने । अम्बे स्टीलका सञ्चालक हरि न्यौपानेले प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक आएको केही दिनमै लोडसेडिङ कम भएको बताए। ‘प्राधिकरणमा हितेन्द्रजी आएको धेरै भएको छैन । बिजुलीमा सुधार हुने संकेत देखिएको छ, विद्युत् व्यापारमा प्राधिकरणको एकाधिकारले हामीले समस्या भोग्दै आएका थियौं, अब निरन्तर बिजुली आउँछ भन्ने आशा छ,’ उनले भने । उनले बिजुलीको लाइन काटिँदा उद्योगलाई ठूलो सकस परिरहेको र अहिले सरकारले यो समस्यालाई सम्बोधन गरेकोमा खुसी व्यक्त गरे । यस्तै, उद्योगी पशुपति मुरारकाले उद्योगमा दैनिक ६ घण्टा लोडसेडिङ कम भएको धारणा राखे । विगतमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म लोडसेडिङ हुने गरेकोमा अहिले साँझ ५ बजेदेखि राती ११ बजेसम्म मात्र लोडसेडिङ हुन थालेको उनको भनाइ छ । उद्योगमा लोडसेडिङ कम भएको छ । अहिले विद्युत कटौतीको समस्या पनि छैन, अब सुधारको बाटोतिर गइरहेको अनुभुति भइरहेको छ,’ उनले भने । औद्योगिक क्षेत्रमा लोडसेडिङ शून्य भएपछि मात्र उत्पादन वृद्धि हुने र लागत पनि कम हुने उनको भनाइ छ । जगदम्बा ग्रुपका कार्यकारी निर्देशक शाहिल अग्रवालले पनि दैनिक १ देखि ५ घण्टासम्म लोडसेडिङ हुने गरेको बताए । ‘कुनै क्षेत्रमा दैनिक एक घण्टा मात्र लोडसेडिङ छ, कुनै क्षेत्रमा ५ घण्टा पनि छ । उद्योगको स्थान र विद्युतीकरणको पूर्वाधार अवस्था अनुसार फरक फरक छ,’ उनले भने । नेपाल धागो उत्पादक संघका अध्यक्ष तथा उद्योगी पवन गोल्यानले पनि सरकारले उद्योगमा लोडसेडिङ कम गरेर उद्योगीको मनोबल बढाएको बताएका छन् । भारतबाट थप बिजुली आयात गरी नेपाल विद्युत् प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेकामा नेपाल धागो उत्पादक संघ हर्षित र उत्साहित भएको छ, औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गर्ने सरकारलाई धन्यवाद,’ उनले भनेका छन् । भारतले रातिको समयमा पाँच घण्टा ६ सय मेगावाट विद्युत् दिएसँगै नेपाली उद्योगमा लोडसेडिङ घटेको हो । भारतले राति ११ देखि बिहान ४ बजेसम्म ६ सय मेगावाट विद्युत् दिने स्वीकृति दिएसँगै नेपालका उद्योगहरुमा लोडसेडिङ कम भएको हो ।