फोहोरबाट ५० लाखसम्म कमाइ, 'पहिले कवाडी भनेर गिज्याए, अहिले खोज्दै आउँछन्'
काठमाडौं । हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहर निस्कन्छ । यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने धेरैलाई चिन्ता छ । कसैलाई यो चिन्ताको विषय बनिरहँदा कोही फोहोरमै भविष्य देख्नेहरू पनि छन् । यहाँको तानसेन नगरपालिका-६ पदमेटारीका तीन दाजुभाइले विगत पाँच वर्ष यता फोहोरमा मोहर खोज्दै छन् । यहाँका सुशील, उमेश र टार्जन भण्डारीले तानसेन-७ लामिडाँडामा नेप्लिज वेस्ट बैंक नै सञ्चालन गरी फोहोरबाट मोहर खोज्दै आएका हुन् । पाल्पाको तानसेन बजारबाट दैनिक निस्कने फोहोरले बजार प्रदूषित भइरहेका बेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले तीन दाजुभाइ मिलेर कवाडी सङ्कलन र प्रशोधित गरी आम्दानी लिइरहेका छन् । उनीहरुले उद्योग दर्ता गरी केही युवाहरूलाई रोजगारीसमेत प्रदान गरेका छन् । उनीहरुले कागज, कार्टुन, किताब, कापी, फलामका टुक्रा, सिसा, बोतल जस्ता प्रयोग विहीन वस्तुहरू सङ्कलन गरी प्रशोधन गरेर आम्दानी गरिरहेका छन् । तीनै दाजुभाइले स्नातक सम्मको अध्ययन गरेका छन् । सुशील जसले मेकानिक्स डिप्लोमा सकेर हाल स्नातक गर्दै छन्, उमेशले बीएस्सी सकेर हाल एमए इकोनोमिक्स अध्ययनरत छन् र टार्जनले विविए पूरा गरिसकेका छन् । तर, उनीहरूमा न विदेश जाने सोच छ नत सरकारी जागिर नै । तीन दाजुभाइको एउटै सोच छ तानसेनलाई फोहोरमुक्त सहर बनाउने । सङ्कलित कवाडी वस्तुहरूको वर्गीकरण गरी उनीहरुले भैरहवा, काठमाडौं, वीरगन्जलगायत ठूला शहरका रिसाइकल कम्पनीमा पठाउने गरेको सञ्चालक उमेश भण्डारीले बताए । केही वस्तुहरू भने आफैँ रिसाइकल गर्ने गरेको उनको भनाइ छ । उनीहरुले कवाडी सङ्कलनबाट वार्षिक ३० देखि ५० लाख रुपैयाँसम्म कमाइ गर्दै आएका छन् । कवाडी सङ्कलनका लागि उनीहरुले ६ जनालाई रोजगारी दिएका छन् । यहाँ तीन जना नेपाली र तीन जना भारतीय नागरिकले रोजगार पाएका छन् । सुरुमा पढेका युवाहरूले फोहर सङ्कलन गर्ने काम गर्छन् भन्दा धेरैले गिज्याएका थिए, तर अहिले उनीहरुको काम देखेपछि धेरैले प्रशंसा गर्न थालेका छन् । उमेश सुरुका दिन संझदै भन्छन्, ‘सुरुवातमा हामीलाई यो काम गर्न त्यति सहज थिएन, कसैले सोचेका थिएनन्, पढेका युवाले कवाडी सङ्कलन गरेर खालान भनेर, त्यति बेला नत स्थानीय सरकारले सहयोग गर्यो न त समाजमा कसैले साथ दिए । परिवारलाई बुझाउन गाह्रो भो, बरु हामीले फोहर सङ्कलन गरेको देखेर समाजका केही व्यक्तिहरूले त फलाम, प्लास्टिक, बोतल टिप्ने कवाडी भनेर गिज्याए ।’ पहिले-पहिले फोहाेर सङ्कलनका लागि उनीहरू ग्राहक खोज्दै हिँड्थे । तर, अहिले ग्राहक ‘रिसाइकलर्स’ खोज्दै उनीहरूसम्म आइपुग्छन् । प्रत्येक दिन दुई टनभन्दा बढी कवाडी सङ्कलन हुन्छ । सङ्कलन भएका फोहोरलाई त्यसको प्रकारका आधारमा छुट्याएर पुनः प्रशोधनका लागि सम्बन्धित कम्पनीसँग समन्वय गर्छन् । कवाडीबाट प्राप्त आम्दानीबाट उनीहरुले तानसेन नगरपालिकालाई कर बुझाउँदै आएका छन् ।
परिमार्जन भएका कानूनहरू कार्यान्वयनमा ढिला नगरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय परिमार्जन भएका कानूनहरू सही रुपमा कार्यान्वयनमा जान जरुरी रहेको बताएका छन् । नेपाल जग्गा तथा आवाश विकास संघको राजधानीमा भएको कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रमैत्री पछिल्लो समय धेरै कानूनहरू सरकारले ल्याएकाले त्यसको सही रुपमा कार्यान्वयन हुनुपर्ने बताएका हुन् । उनकाअनुसार निजी क्षेत्रले पटकपटक भनेपछि सरकारले निजी क्षेत्रमैत्री कानूनहरू ल्याएको छ, अब कानूनहरुको सही कार्यान्वयन गरेर मुलुकलाई अघि बढाउनुपर्छ । अध्यक्ष ढकालले भने–‘अहिले हाम्रा जुन कानूनहरु परिवर्तन भएका छन । वास्तवमा त्यो निजी क्षेत्रकै सुझावका आधारमा भएको हो । निजी क्षेत्रले पटकपटक कुरा गर्दा बल्ल सरकारले सम्बोधन गरेको छ । धेरै कुराहरु परिर्वतन भएका छन् । यो हुन सक्यो भने धेरै छिटो समयमा कामको परिणाम राम्रो आउनेछ ।’ अध्यक्ष ढकालले हदबन्दी, वर्गीकरण सम्बन्धि व्यवस्थाहरु साँधुरो भएका कारण समस्या निम्ताएको बताए । उहाँकाअनुसार उच्चस्तरीय आर्थिक सुधार आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सरकारले अक्षरशः पालना गर्नुपर्छ । निजी क्षेत्रले राजस्वदेखि रोजगारीसम्म बढाउन सक्ने भएकाले यो क्षेत्रको विकासका लागि सरकार उदार हुनुपर्नेमा उनले जोड दिए । विगतमा निजी क्षेत्रले दिएका सुझावहरु कार्यान्वयन नगरिएकै कारण मुुलुकले आर्थिक मन्दीसम्मको सामना गर्नुपरेको अध्यक्ष ढकालले जानकारी दिए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपकुमार मल्होत्राले घरजग्गा व्यवसाय नफस्टाएको कारणले अरु धेरै क्षेत्रमा समस्या आएको बताएका छन् । अध्यक्ष मल्होत्राले सबैभन्दा पहिला घरजग्गा, रियल स्टेट क्षेत्रको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने– ‘घरजग्गा व्यवसाय नफस्टाएको कारणले अरु धेरै क्षेत्रमा समस्या आएको छ । सबैभन्दा पहिला घरजग्गा, रियल स्टेट क्षेत्रको समस्यालाई समाधान गर्नुपर्छ । यसबारेमा हामीले सबैभन्दा बढि महत्व दिनुपर्छ । जबसम्म यो क्षेत्र फस्टाउँदैन अन्य उद्योग फस्टाउँदैन । घरजग्गा क्षेत्रलाई अघि बढाइनेछ ।’ अध्यक्ष मल्होत्राले देशभर जाने र घरजग्गासम्बन्धि कारोबार गर्ने सबैलाई त्यस कम्पनीको सदस्य बनाउने बताए । उनकाअनुसार पहिलेपहिले बैंकमा गएर खराब ऋणीको सम्पती लिन होड चल्ने गरेकोमा अहिले बैंकले नै त्यस्ता सम्पत्ति लिन उद्योगी व्यापारीलाई भनिरहेका छन । बजारमा डिमाण्ड कम भएका कारणले त्यस्तो प्रवृत्ति बढेको उनले जानकारी दिए । कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका नवनिवार्चित अध्यक्ष दीपक कुँवरले घरजग्गा व्यवसायलाई उद्योगका रुपमा विकास गर्न जरुरी रहेको बताए । अध्यक्ष कुँवरले घरजग्गा व्यवसायलाई लगाइएको अंकुशका कारणले सिमेन्ट, रड उद्योगसम्म अप्ठ्यारो स्थीतिमा पुगेको छ । अध्यक्ष कुँवरले भने– ‘अहिलेसम्म घरजग्गा व्यवसायलाई उद्योगका रुपमा विकास गर्न सकिएको छैन । घरजग्गा व्यवसायलाई लगाइएको अंकुशका कारणले सिमेन्ट, रड, रंग उद्योगसम्म अप्ठ्यारो स्थीतिमा पुगेको छ । आज व्यवसाय चलायमान नहुँदा मजदूरदेखि इन्जिनियरसम्म निराश बन्नुपरेको छ ।’ कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका निर्वतमान अध्यक्ष विष्णुप्रसाद घिमिरेले देशको प्रधानमन्त्री, अर्थमन्त्रीले समेत चासो देखाउँदा पनि घरजग्गा क्षेत्रमा परेको समस्या हट्न नसकेको बताए । उनका अनुसार स्थानीय तहलाई जग्गा वर्गीकरणको जिम्मा दिदाँ उनीहरुले काम गर्न सकेनन्, जसकारण घरजग्गा क्षेत्र तहसनहस भइरहेको छ । यसमा राज्यको ध्यान जान जरुरी रहेको निवर्तमान अध्यक्ष घिमिरेले जानकारी दिए ।
सम्झौताअनुसार काम नगर्ने छुट कसैलाई छैन: उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालय मातहत रहेका विभाग तथा संस्थानहरूलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयले आयोजना गरेको ‘सार्वजनिक संस्थानहरूको सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उनले मन्त्रालय मातहत रहेका विभाग र संस्थानहरूले आर्थिक वर्षको सुरुमा गरेका सम्झौताबमोजिम काम सम्पन्न गर्नुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले प्रधानमन्त्रीसँग आफूले र आफूसँग सचिवहरूले, सचिवले महाशाखा, विभाग तथा संस्थानहरूसँग गरेका सम्झौताको सतप्रतिशत नतिजा दिनुपर्नुपर्ने आवश्यकता औँल्याए। कतिपय निकायले नीतिगत समस्या वा अन्य बहाना देखाउँदै काममा ढिलासुस्ती गर्ने गरेकाले अब ती बहाना स्वीकार्य नहुने उनको भनाइ छ। मन्त्री भण्डारीले भने, ‘हामीले आर्थिक वर्षको सुरुआतमा जे छलफल गर्यौं, त्यसको आधारमा गर्न सकिने कामहरूको मात्रै सम्झौता गरेका छौं । तीमध्ये कतिपय कामहरू सम्पन्न पनि भएका छन् तर सम्झौताअनुरुप सन्तोषजनक उपलब्धि हासिल भएका छैनन् । कतिपय काम अधुरा छन्, ती समयमा सम्पन्न पूरा गरेर देखाउनु छ, त्यसमा असफल हुने छुट कसैलाई छैन ।’ उनले मन्त्रालय मातहत रहेका सबै निकायलाई आजका मितिदेखि कामको गति बढाउन निर्देशन समेत दिए । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सबै निकायसँग कानुन, जनशक्ति र संरचनाको पर्याप्तता भएको अवस्थामा समेत काम सम्पन्न गर्न नसक्नु दुःखद् विषय भएको उल्लेख गरे । उनले भने, ‘कर्मचारीहरूलाई आवश्यक पर्ने सबै सुविधा हामीसँग हुँदाहुँदै पनि कहिलेकाहीँ जोखिम लिन नसक्ने, समन्वय गर्न नसक्नेलगायत कारणले कामले गति लिन सक्दैन । समस्याहरू केही भए केके छन्, यसै अन्तरक्रियामा खुलेर राखौं र समाधानसहित परिणाममुखी काममा लागौं ।’ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख छविचन्द्र पराजुलीले निर्देशित कामहरू पूरा गर्ने जिम्मेवारीका साथ कार्यशैली सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा मन्त्रालयका सबै महाशाखा प्रमुख, मातहत संस्थानका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थितिमा चालु आवको सुरुवातमा लिइएका लक्ष्य र त्यसको उपलब्धिका विषयमा छलफल भएको थियो ।