अधिकतम मूल्य तोक्दा समस्या हुँदैन, चोरी पैठारी र बदमासी गर्ने व्यवसायीलाई समस्या पर्छः महानिर्देशक दाहाल

काठमाडौं । सरकारले सबै उपभोग्य वस्तु तथा सेवा क्षेत्रमा अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने नियम कडाइका साथ कार्यान्वयन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीले आफ्नो प्रत्येक सामानको उत्पादन मिति, प्रयोग अवधि र मूल्य अनिवार्य राख्नुपर्ने नियमलाई कार्यान्वयन गरेको हो । राष्ट्रिय व्यवसायी महासङ्घद्वारा आयोजित अन्तरक्रियामा विभागका महानिर्देशक कुमार प्रसाद दाहालले उपभोक्ताले खरिद गर्ने वस्तु तथा सेवाको अधिकतम मूल्य थाह पाउने अधिकार रहेकाले त्यसको संरक्षण गर्ने उद्देश्यले सो नियमलाई कार्यान्वयनमा कडाइ गरिएको बताए ।  कालोबजारी नियन्त्रण गर्न तथा उपभोक्ता ठगिने क्रमलाई अन्त्य गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै महानिर्देशक दाहालले उक्त नियमले अनौपचारिक व्यवसायलाई करको दायरामा ल्याउने बताए ।  अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या नहुने बताउँदै चोरी पैठारी तथा बदमासी गर्ने व्यवसायीलाई समस्या पर्ने उनको भनाइ छ । बजार अनुगमनका क्रममा १६ हजार मूल्य बराबरको औषधिको विजक बनाएर १ लाख ६० हजारमा बिक्री गरेको पाइएकाले त्यस्तालाई कारबाही गरिएको विभागले जनाएको छ ।  उपभोग्य वस्तु साथै शिक्षा, स्वास्थ्य, पर्यटनलगायत सेवा क्षेत्रमा पनि मूल्य तोक्ने व्यवस्थालाई तीव्र पारिएको छ । वस्तु उत्पादन तथा आयात गर्दा अन्तिम लागतमा २० प्रतिशतसम्म नाफा राखेर मूल्य तोक्ने व्यवस्था छ । महासङ्घका अध्यक्ष मनोज श्रेष्ठले पछिल्लो समय सरकारले गरेको अनुगमन तथा बिक्री गर्ने वस्तुमा अधिकतम मूल्य राख्नुपर्ने नियमको पालना गर्न आफ्नो सङ्गठन मातहतका व्यवसायीलाई आग्रह गरे । 

गभर्नरलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन महासंघ अध्यक्षको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरुसँगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन् । निजी क्षेत्रको प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार राष्ट्र बैंकमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैंकका निर्णयहरू पूर्वानूमानयोग्य हुने बताए । ‘निजी क्षेत्र अर्थतन्त्रको संवाहक हो । अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ । निर्णयहरू पूर्वानूमानयोग्य हुनु पर्दछ । बैंकिङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नु भन्दा सरोकारवालाहरूसँग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो,’ उनले भने । गभर्नर पौडेलले राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताए । नवनियुक्त  गभर्नरलाई बधाई तथा शुभकामना दिँदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केन्द्रीय बैंकलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिए । उनले राष्ट्र बैंकले लगानीमैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि भूमिका खेल्नु पर्ने बताए ।  ‘चालु आवमा कर्जाको ब्याजदर न्यून हुँदा समेत कर्जा विस्तार हुन नसकेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन मौद्रिक र गैर मौद्रिक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ । नीतिगत अस्थीरता लगानीको मुख्य बाधक रहेको सन्दर्भमा हामीले लगानी दशक घोषणा गर्दै एकीकृत नीति र १० वर्षसम्म स्थीर नीतिको माग गरिरहेका छौं । केन्द्रीय बैंकका निितहरु प्नि स्थीर हुन आवश्यक छ,’ अध्यक्ष ढकालले भने । उनले देशको समग्र अर्थतन्त्र चलायमान हुन ग्रामीण अर्थतन्त्र चलायमान हुनु पर्ने उल्लेख गर्दै विप्रेषण आप्रवाह खुला र सहज बनाउनु पर्ने सुझाव दिए । अध्यक्ष ढकालले बजार चलायमान हुन नसक्नुको अर्को मुख्य कारण चालु पूँजी कर्जा सम्बन्धि मार्ग दर्शन रहेको हुँदा यसलाई क्षेत्र हेरि सहज बनाउनु पर्नेमा जोड दिए । महासंघले विगत वर्षहरुमा उच्च व्याजदरका कारण व्यवसायी एवं सर्वसाधारण समेतले कर्जाको किस्ता तिर्न नसक्दा चालु आ.व.मा खराब कर्जा बढ्दै गएको उल्लेख गर्दै कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव गभर्नरलाई दिएको छ । सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदा पनि देशको समग्र अथतन्त्र चलायमान हुन नसकेको उल्लेख गर्दै समग्र अर्थतन्त्र चलायमान हुनेगरी केन्द्रीय बैंकले भूमिका खेल्नु पर्ने बताए । यस्तै, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तथा उद्योग र व्यापारलाई दिइने कर्जाको व्याजमा अन्तर गर्नु पर्ने सुझाव दिए ।   सो अवसरमा महासंघका उपाध्यक्षहरू हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष भरतराज आचार्यले केन्द्रीय बैंकले अवलम्बन गर्ने मौद्रिक उपकरणहरू बजारमा माग सिर्जना गर्न लक्षित हुनुपर्ने सुझाव दिए । यस्तै, महासंघको प्रतिनिधीमण्डलले गभर्नर  पौडेललाई सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागू गर्नुपर्ने, साना तथा मझौला उद्यमीलाई पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा परियोजनाको सम्भाव्यताको आधारमा परियोजना कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिएको छ ।  

लगानी विस्तारमा आक्रामक बन्दै भाटभटेनी, रोडशोको सहकार्यमा ‘अपार्टमेन्ट’ निर्माण गर्दै

काठमाडौं । आर्थिक मन्दीका कारण चल्तीकै सपिङ सेन्टरहरू सुनसान भइरहेका बेलामा भाटभटेनी समूह भने देशैभर सञ्जाल विस्तारमा सक्रिय बनेको छ ।  पछिल्लो समय देशकै सबैभन्दा ठूलो सुपरमार्केट स्टोर भाटभटेनीले होटल, हस्पिटल तथा कोल्डस्टोर लगायतमा धमाधम लगानी गरिरहेको छ । यहीं दौरानमा भाटभटेनी समूह र रोडशो रियल स्टेटले काठमाडौंको चुच्चेपाटीमा 'बौद्ध लक्जरी अपार्टमेन्ट' बनाउने भएका छन् ।  दुवै समूहको संयुक्त लगानीमा बन्ने उक्त लक्जरी अपार्टमेन्टको निर्माणको कार्य यही जेठ महिनादेखि सुरु गरिने रोडशो रियल स्टेटका सञ्चालक सागर गुरुङले विकासन्युजलाई जानकारी दिए ।  सञ्चालक गुरुङले भने, 'हाल पौने ४ रोपनी जग्गाको नक्सा पासको काम अन्तिम चरणमा पुगेको छ । नक्सा पासको काम सकिएपछि यही जेठ महिनादेखि निर्माण कार्य थालिने छ । अपार्टमेन्ट एक-डेढ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिएका छौं ।' अपार्टमेन्टमा रोडशो र भाटभटेनीको ५०/५० प्रतिशत लगानी रहेको उनले जानकारी दिए । उनका अनुसार तारागाउँमा बन्ने उक्त अपार्टमेन्ट पौने ४ रोपनी जग्गामा फैलिनेछ । अपार्टमेन्टमा सिंगल बेसमेन्ट हुनेछ भने ९ तला रहनेछन् । प्रत्येक तलाको साइज एक हजार स्क्वार फिट हुनेछ । एक, दुई र तीन बेडरुमका युनिट हुने सञ्चालक गुरुङले जानकारी दिए । प्रत्येक तलामा ९ वटा युनिट बन्नेछन् । अपार्टमेन्टमा ६४ युनिट रहनेछन् । अपार्टमेन्टको बेसमेन्ट पार्किङको सुविधा हुनेछ ।  अपार्टमेन्टमा विभिन्न सुविधासहित सरकारले तोकेको मापदण्डमा बन्ने रोडशोले जनाएको छ । भाटभटेनी र रोडशोले बनाउन लागेको यो अपार्टमेन्टलाई प्रिमियम परियोजनाका रूपमा हेरिएको छ भने वान बीएचके अपार्टमेन्ट १ करोड ९५ लाखमा किन्न सकिनेछ।  रोडशोले विशेष गरी उपत्यका र पोखरामा अपार्टमेन्ट, हाउजिङ तथा ल्याण्ड पुलिङ बनाउँदै आइरहेको छ । हाल पोखरामा दुई अपार्टमेन्ट ४० युनिटको अन्नपूर्ण अपार्टमेन्ट मासबार तथा ६० युनिटको अन्नपूर्ण लेकसाइड परियोजना निर्माण गरिरहेको छ । जसमा १ अर्ब ५० करोडको लगानी छ भने करिब २ अर्ब लगानीमा काठमाडौंको बूढानीलकण्ठमा पनि आवासीय अपार्टमेन्ट निर्माण गरिरहेको छ ।    यसैगरी, हाल कास्कीमा रुचि ल्याण्ड प्लटिङ,  पुल्चोकमा हाइट अपार्टमेन्ट, दुवाकोट ल्याण्ड पुलिङ, ६ वटा आरएसएच हाउजिङ समेत निर्माण गरिरहेको छ । रोडसोले पोखरामा अन्नपूर्ण केबलकार सञ्चालन गरिरहेको छ।  यस्तै, उपत्यकाको बूढानीलकण्ठ, भाटभटेनी, मीनभवन, धुम्बाराही, चण्डोल, पुलचोकमा हाउजिङ बनाइसकेको छ भने कालिमाटी ट्रेड सेन्टर, रञ्जना ट्रेड सेन्टरलगायत व्यापारिक कम्पलेक्स समेत रोडसोले बनाइसकेको छ ।  यता भाटभटेनीले पनि पछिल्लो समय होटल, कोल्डस्टोर, हस्पिटलहरूमा लगानी गरिरहेको छ । जसमा चितवनको टाँडीमा ७२ हजार स्क्वायरफिट क्षेत्रफलमा कोल्डस्टोरको निर्माण भइरहेको छ ।  कोल्डस्टोर १० हजार म्याट्रिक टन क्षमताको हुने जनाइएको छ भने कोल्डस्टोर निर्माण गर्न अनुमानित २ अर्ब रुपैयाँ लगानी लाग्ने भाटभटेनीले जनाएको छ । यसैगरी, ४ वर्षदेखि तीनकुनेमा निर्माणाधीन रहेको काठमाडौं इन्टरनेशनल अस्पतालका संस्थापकले निर्माण गर्न नसकेपछि भाटभटेनीले करिब ४६ प्रतिशत सेयर किनेको छ ।  चितवन मेडिकल कलेजका संस्थापक तथा सञ्चालक प्राडा हरिचन्द्र न्यौपाने र उनको परिवारको नाममा बहुमत सेयर रहेको अस्पताल २०२४ भित्र निर्माण सकेर सञ्चालनमा ल्याउने लक्ष्य थियो ।  हेलिप्याडसहित सुपर स्पेसियालिटी बनाउने उद्धेश्यले २०७८ असारमा निर्माण सुरु गरेको थियो । तर हालसम्म निर्माण कार्य सम्पन्न नहुँदा भाटभटेनीले उक्त अस्पतालमा लगानी गरेको हो । अस्पतालाई अबको एक वर्षभित्र सञ्चालनमा ल्याइने भाटभटेनीले जनाएको छ । यसैगरी, ललितपुरको पुलचोक निदान अस्पतालमा पनि लगानी गरेको छ भने दरबारमार्गमा ४२ रोपनी क्षेत्रफलमा अन्नपूर्ण स्क्वायर होटेल बनाइरहेको छ । जसमा भाटभटेनीले २ अर्ब ७० करोडको लगानी गरेको छ । यस्तै, पूर्वराज्यमन्त्री मोतीलाल दुगडले १० वर्षदेखि बनाइरहेको विराटनगरको होटेल सेन्चुरी भाटभाटेनीले १५५ करोडमा किनेको छ भने यसलाई २ वर्षभित्र सञ्चालनमा ल्याएर पाँचतारे होटेलको सेवासुविधा दिने योजनाका साथ काम गरिरहेको छ ।  बर्दघाटमा रहेको भाटभटेनीको काठमाडौं स्टील नामको उद्योगमा १५० करोड लगानी गरेर असोजसम्ममा सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।   देशभर हाल भाटभटेनीका दुईदर्जनभन्दा बढी शाखा सञ्चालनमा छन् भने तीमध्ये काठमाडौं उपत्यकामा १३ तथा बाँकी विभिन्न प्रमुख सहरमा छन् ।