निजी क्षेत्र डराउनु पर्दैन, समस्या समाधान गर्न हामी छौं : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए । बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशङ्कित हुनु नपर्ने बताए । “समस्या समाधानका लागि हामी खुला छौं”, उनले भने, ‘केही समस्या छन् भने समाधानका लागि हामी खुला छौं ।’ गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष छ अर्ब बचत रहेको बताए । रासस
चोभार सुख्खा बन्दरगाहबाट चार महिनामा साढे १५ करोडको आयात
काठमाडौं । काठमाडौँको चोभारमा रहेको सुख्खा बन्दरगाहबाट चार महिनामा साढे १५ करोड रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिना (गत साउनदेखि कात्तिक मसान्तसम्म) को तथ्यांक अनुसार १५ करोड ६८ लाख ८४ हजार रुपैयाँ बराबरको आयात भएको हो । चार महिनाको अबधिमा ३३ लाख ८ हजार रुपैयाँ बराबरको मात्र निर्यात भएको छ । गत चैत २२ गतेदेखि बन्दरगाहा औपचारिक रुपमा सञ्चालनमा आएको सो बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार सञ्चालनमा आएदेखि हालसम्म बन्दरगाहमा ७५ वटा कन्टेनरमा सामान भित्रिएका छन् भने दुई कन्टेनर सामान निर्यात भएका छन् । सरकारले चोभार सुख्खा बन्दरगाहा निर्माणका लागि २०७५ सालबाट तयारी थालेको थियो । लामो तयारी पश्चात १ खर्ब ६० करोड लागतमा २ सय ६१ रोपनी जग्गामा बन्दरगाहा निर्माण गरिएको हो । सुख्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीहरुलाई काठमाडौंमै ल्याएर भन्सार चेकजाँच र पास गराउने गर्दै आएको छ । वीरगन्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाहा भन्सार कार्यालय सिर्सिया पर्साबाट नेपालमा प्रवेश गर्ने मालवस्तुहरुमात्र चोभार भित्रने पाउनेछन् ।
उद्योगीले छुट पाएपछि स्पञ्ज आइरनको आयात बढ्यो, मर्कामा एमएस बिलेटका व्यापारी
काठमाडौं । सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिँदा आयातसँगै राजश्व संकलनमा बृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/०८० को चार महिना (गत साउनदेखि कात्तिक मसान्तसम्म) को तथ्यांक अनुसार स्पञ्ज आइरनको आयातमा बृद्धि भएको हो । सरकारले आर्थिक विधेयक २०७९ मार्फत फलामे डण्डीको कच्चा पदार्थ स्पञ्ज आईरनको आयातमा भन्सार महशुल १ प्रतिशत मात्र कायम गरी अन्तशुल्क पूर्ण छुट गरेको छ । न्यून भन्सार महसुल तथा अन्तशुल्कमा पूर्ण छुट पाएका उद्योगीहरुले चार महिनामा साढे १२ अर्ब बढीको स्पञ्ज आइरन आयात भएको हो । उक्त अबधिमा भारतबाट १२ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ बराबरको २० करोड २८ लाख १८ हजार ८३३ किलो स्पञ्ज आइरनको आयात भएको छ । उक्त आयातबाट सरकारले १ अर्ब ७४ करोड १४ लाख ८१ हजार रुपैयाँ रावश्व संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अबधिमा न्यून आयात भएको स्पञ्ज आइरन चालू आर्थिक वर्ष लागेसँगै बृद्धि हुन थालेको छ । गत आर्थिक वर्ष ५ अर्ब ४८ करोड ६२ लाख ९६ हजार रुपैयाँ १० करोड १९ लाख ३७ हजार किलो आइरन आयात भएको थियो । उक्त आयातबाट सरकारले ८१ करोड ७२ लाख १९ हजार रुपैयाँ बराबर राजश्व संकलन गरेको थियो । स्पञ्ज आईरन उद्योगको अन्तशुल्कमा छुट तथा भन्सार दर १ प्रतिशत कायम गर्दा सरकारले एमएस बिलेट आयातमा ४।७५ प्रतिशत भन्सार दर कायम गरी भन्सार विन्दुमै प्रति मेट्रिक टन ३५०० रुपैयाँ अन्तशुल्कलाई बनाएको छ । यसअघि भन्सार दर ४।७५ प्रतिशत र अन्तशुल्क प्रति मेट्रिक टन २५०० रुपैयाँ रहेकोमा आगामी आर्थिक वर्षको बजेटमा अन्तशुल्कमा प्रतिमेट्रिक टन १ हजार रुपैयाँले बृृद्धि गरी ३५०० रुपैयाँ बनाईएको हो । घट्यो एमएस बिलेट आयात गत आर्थिक वर्षको तुलनामा चालु आवमा भन्सार महसुल सँगै अन्तशुल्कमा बृद्धि भएपछि एमएस बिलेट आयात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्यांक अनुसार गत आवको तुलनामा एमएस बिलेट आयातमा कमी आएको पाइएको हो । चार महिनाको अबधिमा ९ करोड ३१ लाख ९७ हजार किलो बराबरको ७ अर्ब ६८ करोड १६ लाख १७ हजार रुपैयाँ बराबरको मात्रै बिलेट आयात भएको हो । उक्त आयात हुँदा सरकारले १ अर्ब ७५ करोड ११ लाख बढी राजश्व संकलन भएको छ । गत आर्थिक वर्षको चार महिनाको अबधिमा ४२ करोड ५० लाख १६ हजार किलो बराबरको ३५ अर्ब ९ करोड ६७ लाख बढीको बिलेट आयात भएको थियो । उक्त आयातबाट सरकारले ६ अर्ब ७८ करोड ८९ लाख बराबर राजश्व संकलन गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले गत आर्थिक वर्ष प्रतिस्थापन विधेयक र चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै एमएस बिलेटमा लाग्दै आएको अन्तशुल्क बढाएका थिए । प्रतिस्थापन विधेयक ल्याउनु अघि आयत हुने बिलेटमा प्रति मेट्रिक टक १ हजार ६५० रुपैयाँ अन्तशुल्क लाग्दै आएकोमा उनले त्यसमा वृद्धि गरी प्रति मेट्रिक टक २ हजार ५०० रुपैयाँ अन्तशुल्क लगाएका थिए । उनले गत आर्थिक बर्षको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै कच्चा पदार्थ ९स्पञ्ज आइरन० आयातमा भन्सार दर तथा अन्तशुल्क शूल्य गर्ने व्यवस्था गरेका थिए । नयाँ अर्थमन्त्रीको पर्खाइमा बिलेट उद्योगी दुई कार्यकालसम्म स्पञ्ज आइरन उद्योगलाई छुट दिएका अर्थमन्त्रीको बिदाईमा एमएस बिलेट उद्योगीहरु रहेका छन् । जनादर्न शर्माले एकै प्रकृतिका उद्यागमा एकलाई छुट दिएर अर्को उद्योगलाई मर्का पारेको भन्दै बिलेट उद्योगीहरु नयाँ अर्थमन्त्रीका पखाईमा बसेको जनाएका छन् । नेपाल स्टिल रोलिङ मिल्स एसोसिएशन अर्थमन्त्री जनादर्न शर्माको बिदाईसँगै उद्योगीको मर्का बुझिदिने नयाँ अर्थमन्त्रीको पखाईमा बसेको जनाएको छ । ‘जनादर्न शर्माले हामी उद्योगीको समस्या बुझेनन्, एकै प्रकृतिका उद्योगलाई फरक÷फरक नीति ल्याएर हाम्रो व्यवसाय नै चौपट बनाए’, एक उद्योगीले भने, ‘अर्थ नबुझेका मन्त्री हुँदा हामीलाई समस्या भएको थियो, अब आउने नयाँ अर्थमन्त्री उद्योगीका समस्या बुझने खालको हुनुपर्छ, हामी जनादर्न शर्माको बिदाई पर्खिरहेका छौँ ।’