साना मझौलादेखि सबै खाले व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउँछु : उमेशलाल श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले सबै उद्योगी व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउनुपर्ने आवश्यकता टड्कारो रहेको बताएका छन् । ‘अहिले साना, घरेलु तथा मझौला उद्योगी व्यववसायीहरुको समस्या एकदमै जटिल बन्दै गएको छ भने वस्तुगत र जिल्ला नगरका उद्यमी व्यवसायीको अवस्था एकदमै दयनीय बनेको छ,’ महासंघको ५७ औं साधारणसभामा बोल्दै उनले भने, ‘वस्तुगत तथा जिल्ला नगरका साथिहरु आफ्ना समस्या लिएर सडक अन्दोलनमा उत्रदा पनि महासंघ नेतृत्वले नदेखेको र नसुनेको अवस्था छ ।’ अहिले महासंघका जिल्ला नगर, वस्तुगत, एसोसिएट्स र द्धिराष्ट्रिय संघबीच अन्तरसम्बन्ध नरहेको भन्दै आगामी दिनमा सबै पक्षहरुबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । ‘मेरो विरासत कुनै ठूलो व्यवसायिक घरना होइन तर मैले सानोबाट प्रवेश गरेर अहिले राम्रै अवस्थामा आफ्नो व्यवसाय संचालन गरिरहेको छु भने महासंघमा पनि मेरो लामो अनुभव छ,’ उनले भने, ‘महासंघमा उद्योगी व्यवसायीहरुको जे माग हो मेरो एजेण्डा पनि त्यहिँ नै हो त्यसैलाई सम्बोधन गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु ।’ महासंघका उद्योगी व्यवसायीका समस्या सुन्ने, देख्ने र उक्त समस्या समाधानका लागि सम्बन्धित निकायका लिएर लविङ गर्न सक्ने निडर नेतृत्वको आवश्यकता रहेको भन्दै त्यसका लागि आफु निर्विकल्प रहेको समेत उनको दावी थियो । ‘हामीले व्यवसायी माझ जे बोल्छौं सरकारसँग पनि त्यहिँ विषय इमान्दारिताका साथ उठाउन पर्छ,’ उनले भने, ‘त्यो इमान्दारिता मसँग छ यदि तपाइहरुले निर्वाजित गरेर पठाउनु भएको खण्डमा पूर्ण रुपमा पालना गर्नेछु ।’ नयाँ नेतृत्व चयनसँग महासंघमा अबका दिनमा हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको सहयोगीको रुपमा अघि बढन् वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको भन्दै आफुले जितेको अवस्थामा सबै खाले उद्यमी व्यवसायीले अपनत्व गर्ने महासंघ बताउने समेत उनको प्रतिवद्धता थियो । ‘चन्द्रजीले बिहीबारबाट महासंघको नेतृत्व सम्हाल्दै हुनुहुन्छ,’ उनले भने, ‘म पनि जितेर गएको अवस्थामा एक महिनाभित्रै व्यवसायिक हकहितमा काम गर्ने महासंघ पाउनुहुनेछ ।’ आर्थिक क्षेत्रको सम्वाहक निजी क्षेत्र भएको र निजी क्षेत्र नभई सरकार नचल्ने भन्दै अहिलेको अवस्थामा निजी क्षेत्रको मनोवल उकास्न नयाँ नयाँ कार्यक्रम ल्याउनका महासंले पहल गर्नुपर्ने बताए । ‘बजारमा आएको मागको गिरावटको कारण अहिले उद्योगी व्यवसायीको सामान बिक्री हुने अवस्था छैन जसका कारण बैंकको कर्जा तिर्न सक्ने अवस्थामा छैनौं,’ उनले भने, ‘हामी उद्योगी व्यवसायीले बैंकको कर्जा वा ब्याज तिर्दैनौं भनेका छैनौं तर अहिलेको अवस्थामा राष्ट्र बैंकले कर्जाको पुर्नतालिकिरण र सरकारले ब्याजमा सहुलियत दिनु जरुरी छ ।’ देशको अर्थतन्त्रमा निजी क्षेत्रले ६५ देखि ७० प्रतिशत योगदान दिँदै आएको भन्दै अर्थतन्त्र जोगाउनका लागि पनि सरकारले निजी क्षेत्रको सुरक्षा दिनुपर्ने बताए । साथै अहिले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाईदिनुपर्ने समेत उनले बताए । ‘हामीले सरकारसँग खोजेको सम्मान फुलमाला वा खादा होइन,’ उनले भने, ‘अहिलेको झण्झटिलो नीति नियम परिवर्तन गरेर काम गर्ने वातावरण बनाईदिनु पर्यो त्यहिँ नै हो हाम्रा लागि सम्मान ।’ उक्त कार्यका लागि महासंघले नेतृत्व लिनुपर्ने समेत उनले बताए । अहिले महासंघभित्र शुद्धिकरण जरुरी देखिएको भन्दै आफु निर्वाचित भएको खण्डमा तुरुन्तै उक्त कामको थालनी गर्ने बताए ।

साधारणसभामा उपाध्यक्षका प्रत्याशी हेमराज ढकालको प्रश्न, महासंघले वस्तुगतसंघका समस्याहरुलाई किन वेवास्ता गर्दैछ ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत तर्फबाट उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले महासंघले वस्तुगत संघका समस्याहरुलाई वेवास्ता गरेको बताएका छन् । ‘महासंघ संचालनको ब्रेन भनेको वस्तुगत संघ हो,’ महासंघको ५७ औं साधारणसभामा बोल्दै उनले भने, ‘तर महासंघले त्यहिँ ब्रेनलाई चलाउन नसक्दा अहिले महासंघलाई सोचे अनुरुप अघि बढाउन सकिएको छैन ।’ महासंघले साना मझौला उत्पादनहरु, मौलिक उत्पादनहरु, वैकल्पिक ऊर्जा, उत्पादनमुलक उद्योग, सेवामुलक, पर्यटन, कृषि, व्यापारलगायत क्षेत्रलाई महासंघसँग आवद्ध विभिन्न समिति, फोरम, परिषद्मा जोड्दै उक्त समस्या समाधान गर्न पहल गर्नुपर्ने उनको माग छ । ‘महासंघमा ठूलो हिस्ता ओगट्ने वस्तुगत संघलाई सबैभन्दा न्यून क्षेत्राधिकार दिइएको छ,’ उनले भने, ‘अब महासंघले तत्काल विधान संसोधन गरी वस्तुगत संघको क्षेत्राधिकार बढाउनु पर्छ ।’ साथै उनले वस्तुगत संघहरुका साथिहरुको समस्या, चुनौतीलाई सरकारसँग पुर्याएर समाधान तथा सम्भावनालाई साथ दिनका लागि उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको बताए । यसैगरी उनले अहिले अवस्थामा उद्योग व्यवसाय टिकाउनका लागि कर्जाको ब्याजदर तत्काल एकल अंकलमा ल्याउनुपर्ने बताएका छन् । यस्तै राष्ट्र बैंकको अब्यवहारिक नीतिका कारण बैंकहरुले आधारदरमा ६ प्रतशितसम्म प्रिमिय जोड्दा साना तथा मझौला उद्योगी व्यवसायी मारमा परेको भन्दै त्यसलाई बढीमा २ प्रतिशतमा लकअप गरिनुपर्ने समेत उनको भनाई थियो । ‘विशेषगरी मौलिक उत्पादन र निर्यातजन्य उद्योगहरुका लागि सरकारले तत्काल सहुलियत र पुनर्कर्जा दिनुपर्दछ,’ उनले भने, ‘देशको अर्थतन्त्रमा साना तथा मझौला उद्योगको योगदान ठूलो छ तर सरकारले तीनै उद्योगी व्यवसायीका समस्यालाई वेवास्ता गर्दै आएको छ ।’ साथै अहिलेको मन्दीका कारण उद्योगी व्यवसायीले बैंकको किस्ता तिर्न नसक्ने अवस्था रहेको भन्दै चैतमा तिर्नुपर्ने किस्ता र ब्याजलाई कम्तीमा असार मसान्तसम्म सार्नुपर्ने उनको माग थियो । अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं जायज माग राख्दा पनि सुन्न छाडेको भन्दै महासंघले आफ्ना समस्या सरकारसँग दरिलो रुपमा राख्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ । ‘जससम्म सरकारले निजी क्षेत्रलाई साझेदारको रुपमा हेरेर सहकार्य गर्दैन तवसम्म देशमा हामीले सोचेजस्तो आर्थिक विकास हुन सक्दैन,’ उनले भने । कार्यक्रममा उनले आफुले निर्यात, उत्पादनमुलक, सेवा, कृषि, बैंकिङ, सीपलगायत हरेक क्षेत्रमा आवद्ध भएर काम गर्दा वस्तगत संघहरुको समस्यालाई नजिकसँग बझेको भन्दै उक्त समस्या समाधानका लागि पनि आफुलाई उपाध्यक्षमा जिताएर पठाउन आग्रह गरेका छन् । ‘मैले दुई पटक वस्तुगत संघबाटै सदस्यमा चुनाव जितेर यहिँ क्षेत्रका साथिहरुको हकहितका लागि काम गरिसकेको छु,’ उनले भने, ‘ महासंघले जिम्मेवारी दिएका हरेक क्षेत्रमा अब्बल काम गर्दै आएको र अहिलेपनि सरकारसँग मिलेर कसरी यी क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ भनेर छलफल गरिरहेको छु ।’ यदि आफु उपाध्यक्षमा निर्वाचित भएर गएको अवस्थामा वस्तुगत संघको समस्या बुझरे समाधान गर्ने महासंघ बनाउने समेत उनको प्रतिवद्धता थियो ।

शिवशक्तिका अग्रवाल ठूला करदाताको रुपमा सम्मानित

काठमाडौं । शिवशक्ति घिउ उद्योगका कार्यकारी निर्देशक सन्दिपकुमार अग्रवाल ठूला करदातामध्ये एकको रुपमा सम्मानित भएका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभाका अवसरमा उनी निर्यात कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएका हुन् । मंगलबार काठमाडौंमा आयोजित महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन सत्रमा शिवशक्ति घिउ उद्योग प्रालिलाई निर्याततर्फको सबैभन्दा ठूलो करदाताको रुपमा सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकारी निर्देशक अग्रवाललाई उक्त सम्मान हस्तान्तरण गरेका थिए । शिवशक्ति घिउ उद्योग प्रशोधित तेल उत्पादन र निर्यातमा संलग्न छ । अग्रवाल बुधबार हुने महासंघको निर्वाचनमा कार्यकारिणी सदस्य उम्मेदवार पनि छन् ।