वरिष्ठ उपाध्यक्ष ढकालद्वारा वृहत् राष्ट्रिय विमर्शको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान संकट समाधानको लागि वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्न आग्रह गर्दै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष ढकाल यो साधारण सभाबाट महासंघको अध्यक्ष बन्दै छन् । “यतिखेर मुलुकको अर्थतन्त्र संकटको डिलमा छ । आर्थिक गतिविधिहरु शिथिल छन् । आपूर्ति प्रणाली खलबलिएको छ । उद्योगी/व्यवसायीहरु समस्यामा छौँ । विकास खर्च अत्यन्त न्यून छ । राजश्वले साधारण खर्च समेत धान्न सकिरहेको छैन,” उनले भने, “तर, अर्थतन्त्रका सबै सरोकारहरुले बेलैमा बिचार पुर्‍याउने हो भने अहिलेको आर्थिक समस्यालाई पार लगाउन गाह्रो छैन ।” उनले हाम्रो जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्ने बताए । बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफू अध्यक्ष भएपछि निजी क्षेत्रलाई प्रोटोकल कायम गर्ने बताएका छन् । जसको लागि सरकारसँग पहल कदम चाल्ने उनको भनाई छ । ‘नजिकको तीर्थ हेला भने जस्तै निजी क्षेत्रलाई हेर्ने दृष्टि गलत छ, निजी क्षेत्रसँग हातेमालो गरेर विकसित मुलुक बन्न सम्भव छ, यो क्षेत्रको आधुनिकिकण गर्न सरकारलाई आग्रह छ,’ उनले भने । उनले सरकारले लगानी बिना प्रतिफल हुने गरि वातावरण कायम गर्नु पर्ने बताए । एफडीआईबाट आउने लगानीलाई सहि रुपमा प्रयोग गर्न सक्नु पर्ने उनकोे भनाई छ । ‘पुराना नियन्त्रणमुखी कानुनहरु संशोधन गर्न जरुरी रहेको बताउँदै उनले भने- ‘नयाँ सरकार बनेपछि नयाँ नयाँ मन्त्री आउँदा निजी क्षेत्र अन्यौल बनेको उनले भने । साथै, उनले सातै प्रदेशमा ठूला आयोजना निर्माण कार्य अघि बढाएको जानकारी गराए ।

जिम्मेवारी सुम्पिँदै अध्यक्ष गोल्छाले भने- महासंघमा कोरिएका अक्षरहरु मानसपटलमा आइरहन्छन्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघमा कोरिएका अक्षरहरु आफ्नो बुबाको स्मृतिस्वरुप मानसपटलमा आइरहने बताए । मंगलबार महासंघको ५७औं वार्षिक साधारणसभामा महासंघको जिम्मेवारी सुम्पिँदै उनले सो बताएका हुन् । ‘महासंघ मेरो मन्दिर हो र सधैं मन्दिरका रुपमा रहिरहने छ, यहाँ कोरिएका अक्षरहरु मेरो पूजनीय बुबाको स्मृति मानसपटलमा आइरहन्छन्,’ उनले भने । साथै, उनले आफ्नो कार्यकाल चुनौतिपूर्ण रहेको बताउँदै कोरोना महामारी लगायत रुस र यूक्रेनका कारण काम गर्ने वातावरणमा असहज परिस्थिति आएको बताए । राजनीतिक अस्थीरताका कारण आफ्नो कार्यकालमा ३ जना प्रधानमन्त्रीलाई स्वागत गर्नुपर्ने स्थिति आएको उनले स्मरण गरे । ‘हामीभन्दा कमजोर मुलुक आर्थिक रुपमा समुन्नत भैसके तर हामी पछि धकेलिनु परेको छ, उद्यम व्यवसाय चल्न सकेनन् भने बैंकहरु चल्न सक्दैनन् भनेर बैंकहरुले हेक्का राख्नु पर्छ, निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन लगायत पर्चा सबैले देखिने गरि संसद र संसद बाहिर राख्न आग्रह छ,’ उनले भने । त्यस्तै, जीडिपीमा ८१ प्रतिशत योगदान निजी क्षेत्रको रहेको छ । साना उद्यमीलाई बिना धितो कर्जा दिन व्यवस्था सरकारले गरेको छ । साना तथा मझौला सम्मेलन गरेर १० बुदे घोषणापत्र जारी गरेको छ । बैंकर्स संघसङ्ग छलफल गरेर धेरै ठाउँका विवाद समाधान गरिएको बताउँदै अध्यक्ष गोल्छाले व्यापार घाटा थेग्न नसक्ने अहिलेको अवस्थालाई तत्काल समाधान गनुपर्ने बताए । बिजुली किन सस्तो हुन सकेन ? व्याज किन धेरै उतारचढाव हुन्छ ? यो विषयमा सरकारले सोच्नु पर्ने भैसकेको समेत उनले बताए । विदेशी कम्पनी स्वदेश आएर सँचालन हुदा नाफा भएपनि बिदेशी लगानीका कम्पनी आउन नमानेको जानकारी गराउँदै यो विषयमा सरकार उदार भएर काम गर्नु पर्ने उनको भनाई छ ।

प्रधानमन्त्रीलाई उद्योगमन्त्रीको आग्रह- तत्काल ब्याजदर घटाऔं

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्र बिना सरकारले काम गर्न नसक्ने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘निजी क्षेत्रको सहयोग बिना सरकारले काम गर्न सक्दैन, निजी क्षेत्रका सबै समस्या समाधान गर्न सरकार तयार रहेको छ’, उनले भने- ‘देशलाई समृद्धिमा लैजान हातेमालो गर्न तयार छु ।’ यस्तै, उनले अहिले देश चुनौतीपूर्ण अवस्थामा पुगेको बताउँदै आयात निर्यातमा ठूलोा ग्याप रहेको बताए । उद्योगमन्त्री रिजालले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको ब्याजदरका कारण निजी क्षेत्रका उद्योगी व्यवसायीलाई समस्या थपिएको भन्दै अर्थमन्त्री र प्रधानमन्त्रीलाई तत्काल ब्याजदर घटाउन आग्रह समेत गरे । यस्तै, उनले अहिलेको मन्दीलाईलाई सरकारले हेरेर मात्रै नबस्ने भन्दै काम गरेर देखाउने दाबी गरे ।