राष्ट्र बैंकले सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कर्जाको ब्याजदर घटाउन राष्ट्र बैंकलाई आग्रह गरेका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग बुधबार उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीले गरेको भेटमा कर्जाको ब्याजदर घटाउन अध्यक्ष ढकालले आग्रह गरेका हुन् । बजारमा तरलता पर्याप्त भएपनि माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनले बताए । राष्ट्र बैंकले सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा उनले जोड दिए । ‘निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा छन्, असार मसान्तसम्मका लागि पुर्नसंरचना र पुर्नतालिकीकरणको सुविधा दिनुपर्छ, बैंकहरुको खराब कर्जा समेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्छ,’ अध्यक्ष ढकालले भने । अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र न्युन माग र उच्च मुल्य वृद्धिका कारण समस्यामा परेको बताए । केन्द्रिय बैंकले अर्थतन्त्रमा देखिएका समस्या समाधानतर्फ लाग्नुपर्ने उनको भनाइ छ । गभर्नर अधिकारीले पछिल्लो समय ब्याजदर घट्दोक्रममा रहेकाले हरेक विषयलाई बैंक तथा वित्तीय संस्थाको ब्याजदरसँग नजोड्न आग्रह गरे । निजी क्षेत्रका माग तथा सुझावलाई सकारात्मक रुपमा लिएको उनले बताए । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा, बजेट र मौद्रिक नीति मार्फत् पनि महासंघका सुझावहरु समावेश गरिने उनको भनाइ छ ।

बढ्न थाल्यो भन्सार राजश्व, एक महिनामै थपियो ३३ अर्ब

काठमाडौं । सरकारले विभिन्न वस्तुको आयातमा लगाएको आयात प्रतिबन्ध हटेपछि पछिल्लो समय राजश्व संकलनमा बृद्धि हुन थालेको छ । गत माघदेखि सरकारले विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्ध, एलसीको मार्जिन हटाएपछि पछिल्लो समय भन्सार राजश्वमा बृद्धि हुन थालेको हो । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालू आवको नौ महिनाको तथ्यांक अनुसार राजश्व संकलनमा बृद्धि भएको हो । गत फागुन महिनाको तुलनामा चैत महिनामा मात्रै ३३ अर्ब ३२ करोड ९२ लाख २७ हजार रुपैयाँ बढीको राजश्व संकलन भएको हो । गत फागुन महिनासम्म भन्सारले २ खर्ब ४२ अर्ब ७२ करोड ४४ लाख ३२ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएकोमा चैत महिनामा २ खर्ब ७६ अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको हो । भन्सार विभागका सूचना अधिकारी पछिल्लो समय राजश्व संकलनमा बृद्धि हुन थालेको बताउँछन् । ‘विभिन्न वस्तुको आयातमा लगाईएको प्रतिबन्ध हटेपछि त्यसको असर भन्सार राजश्वमा देखिन थालेको छ, विस्तारै राजश्व संकलन बढ्ने हाम्रो अनुमान छ’, उनले भने । चालू आवको नौ महिनाको अबधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको छ । गत फागुन महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बराबरको आयात भएको थियो । यस्तै, चालू आवको नौ महिनाको अबधिमा एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आवमा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा चालू आवमा २६.३४ प्रतिशतले निर्यातमा कमी आएको हो । चालू आवको नौ महिनाको अबधिमा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ ।

व्यापार घाटा ११ खर्ब, १८ प्रतिशतले घट्यो आयात

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अबधिमा विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांक अनुसार आयातसँगै निर्यातमा कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको ९ महिनाको तथ्यांक अनुसार आयातमा १८ र निर्यातमा २६ प्रतिशतले कमी आएको छ । नौ महिनाको अबधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो आवको तुलनामा चालू आवको ९ महिनामा १८.८ प्रतिशतले आयातमा कमी आएको हो । अघिल्लो वर्षको सोही अबधिमा १४ खर्ब ६६ अर्ब ६२ करोड २० लाख रुपैयाँ बराबरको आयात भएको थियो । यस्तै, चालू आवको नौ महिनाको अबधिमा एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आवमा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा चालू आवमा २६.३४ प्रतिशतले निर्यातमा कमी आएको हो । चालू आवको नौ महिनाको अबधिमा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । व्यापार घाटामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.०६ प्रतिशतले कमी आएको हो । नौ महिनाको अवधिमा देशको कूल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबर भएको विभागले जनाएको छ । अघिल्लो आवमा १६ खर्ब २७ अर्ब २३ लाख ४९ हजार रुपैयाँ बराबरको कूल व्यापार भएको थियो ।