मोरङमा औद्योगिक कोरिडोरका उद्योगमा विद्युत् कटौती

मोरङ । मोरङ–सुनसरी–कटहरी क्षेत्रका औद्योगिक कोरिडोरका उद्योगमा नेपाल विद्युत् प्राधिकरणले विभिन्न प्राविधिक त्रुटि देखाउँदै विद्युत् आपूर्ति कटौती गरिरहेकामा मोरङ व्यापार सङ्घले आपत्ति जनाएको छ । विगतका कोभिडका कारण भएको बन्दाबन्दी तथा विद्यमान अवस्थामा तरलता अभाव, चर्को बैंक ब्याजदरलगायत आर्थिक जटिलताको अवस्थामा जेनतेन सञ्चालनमा रहेका उद्योगका लागि अतिआवश्यक विद्युत् आपूर्तिसमेत असहज हुँदा उद्योग जोखिमपूर्ण अवस्थामा पुगेका छन् । प्राधिकरणबाट केही महिनायता भइरहेका अपर्याप्त, अनियमित र अनिर्धारित विद्युत् कटौतीबाट समस्याग्रस्त बनेको उद्योग क्षेत्रको नेतृत्व गर्दै यस सङ्घले प्राधिकरणका प्रादेशिक कार्यालय र ग्रिडमा गई उद्योग क्षेत्रका लागि निर्वाद विद्युत् आपूर्ति गर्न तथा विद्युत् कटौती गर्ने निर्धारित तालिका उपलब्ध गराउन माग गरेको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उद्योगको हकमा हाम्रो नेतृत्वमा सञ्चालित उक्त कार्यकम लगत्तै हाल प्राधिकरणले उद्योगमा क्यापासिटर बैंक नभएको वा सञ्चालन नगरेका उद्योगलाई सामान्य प्राविधिक कारण देखाउँदै लिखित सूचना बिना मौखिकरूपमा विद्युत् आपूर्ति कटौती गरिदिने कुरा यस सङ्घको विरोध कार्यक्रमको प्रतिशोधस्वरुप आएको हो कि भन्ने प्रश्न उठेको जनाइएको छ । विद्युत् आपूर्ति सहज गरिदिन, विद्युत् कटौतीको निर्धारित तालिका उपलब्ध गराउन, क्यापासिटर बैंक सञ्चालनमा ल्याउन नसकेका उद्योगलाई उचित समय दिन, सङ्कटग्रस्त उद्योगमा कुनै प्रकारका धम्की/त्रासका वातावरण सिर्जना नगराउन तथा उद्योगमा कार्यरत हजारौँ श्रमिकको रोजगारीको संरक्षण गराउन प्राधिकरणसहित सम्बन्धित सबैमा सङ्घले आग्रह गरेको छ । रासस

होटल व्यवसायलाई उद्योग सरहको मान्यता हुनुपर्ने

काठमाडौं । होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने होटल तथा पर्यटन व्यवसाय सङ्घ वीरगञ्जले सरकारसँग आग्रह गरेको छ । सङ्घका अध्यक्ष हरि पन्त नेतृत्वको होल तथा पर्यटन व्यवसायीको टोलीले सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो । मुलुकको आर्थिक विकासमा होटल तथा पर्यटन व्यवसाय क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै होटल तथा पर्यटन व्यवसायीले यस क्षेत्रको विकासका लागि उद्योग सरहको मान्यता दिनुपर्ने माग गरेका छन् । उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा वैदेशिक मुद्रा आर्जनको उपयुक्त माध्यम होटल तथा पर्यटन व्यवसाय भएकोले यसको विकासका लागि उद्योग सरहको मान्यता दिनुपर्ने माग आफूले मन्त्रीसमक्ष गरेको सङ्घका अध्यक्ष पन्तले जानकारी दिए । होटल तथा पर्यटन व्यवसायले उद्योग सरहको मान्यता प्राप्त गरेपछि सहुलियत र सुविधाहरू पनि पाउने भएकाले यसबाट होटल तथा पर्यटन व्यवसायलाई तङ्ग्रिन र विकास गर्नमा मद्दत मिल्ने अध्यक्ष पन्तको भनाइ छ । होटललाई उद्योग सरह मान्यता दिएको खण्डमा व्यवसायीले राज्यबाट विभिन्न सुविधा प्राप्त गर्ने भएको हुनाले व्यवसायीलाई प्रोत्साहन मिल्ने उनले बताए । ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले छिट्टै नीतिगत र प्रक्रियागत अड्चनलाई सच्याएर होटल तथा पर्यटन क्षेत्रलाई पनि उद्योग सरह मान्यता दिलाउनेमा प्रतिबद्ध रहेको बताए ।

चिया निर्यात वृद्धि, आम्दानी भने घट्यो

काठमाडौं । पछिल्लो समय चियाको निर्यातमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने आम्दानीमा कमी आएको पाइएको छ । प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधाव्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चियामा हुने मिसावटलगायत कारणले न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताले यो क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न सकेको छैन । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७७/७८ मा ११ हजार नौ सय २० मेट्रिकटन चिया निर्यात भई रु तीन अर्ब ७९ करोड ७१ लाख कारोवार भएकामा आव २०७८/७९ मा निर्यात वृद्धि भई १२ हजार चार सय ९४ मेट्रिकटन पुगेको छ । कारोबार भने घटेर रु तीन अर्ब ४३ करोड ४३ लाख पुगेको हो । बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईका अनुसार भारतलगायत अन्य मुलुकमा चिया पाँच सय ७४ मेट्रिकटन निर्यात वृद्धि हुँदा ३६ करोड २८ लाखले कारोबारमा कमी हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७औँ ‘राष्ट्रिय चिया दिवस’ का सन्दर्भमा यही वैशाख १४ देखि आजसम्म चिया प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेको छ । दिवसका क्रममा नेपाली अर्थोडक्स चियामा ‘ट्रेसाविलिटी प्रणाली’ लागू गरिएको छ । उक्त प्रणालीबाट चिया उत्पादक कम्पनीको उत्पादनलाई बिक्री वितरण गर्दा सूचना अनिवार्य बारकोटमा राख्नुपर्ने व्यवस्था गरिएको छ । उपभोक्ताले चियाका बारे आवश्यक सूचना बारकोटबाट प्राप्त गर्ने हुँदा गुणस्तर र तौलमा ठगी हुन पाउँदैन । चियाको उत्पादनमा वृद्धि तथा निर्यात प्रवद्र्धन गर्नसकेमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा बलियो योगदान गर्न सक्नेछ । अन्तर्राष्ट्रिय बजारमा हुने चिया निर्यातले बढ्दो व्यपार घाटा न्यूनीकरण गरी कृषकको आर्थिक रुपान्तरणमा सहयोग पुग्नेछ । दिवसमा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी व्यवसायी, बिक्रेता, उपभोक्ता, विभिन्न राष्ट्रबाट सहभागी हुने कूटनीतिज्ञलगायत विशिष्ट व्यक्तिको सहभागितामा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सवसमेत गरिएको छ । महोत्सवमा विभिन्न प्रकारका चिया प्रदर्शनी गरिएको हो । दिवसअन्तर्गत इलाममा चियाका बगैँचा अवलोकनका लागि भ्रमणका साथै नेपाली र विदेशी चिया व्यापारीबीच शिष्टाचार व्यापारिक बैठक गराइने कार्यक्रम छ । यस वर्ष ‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ । विसं १९२० मा इलाममा कर्णेल गजराजसिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त चियाको बिरुवा रोपेपछि नेपालमा चियाखेतीको सुरुआत भएको मानिन्छ । त्यस अगाडि चिया रोपण भएको कुनै जानकारी छैन । कर्णेल थापा त्यस क्षेत्रमा बडाहाकिमका रुपमा कार्यरत रहँदा चियाखेती सुरु भएको इतिहास छ । त्यसको केही वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चियाखेती क्रमशः विस्तार हुँदै गएको हो । सरकारले विसं २०३९ मा झापा, पाँचथर, धनकुटा र तेह्रथुमलाई चिया क्षेत्रका रुपमा घोषणा गरी सरकारी तहबाट व्यावसायिक चिया खेतीको प्रवद्र्धन गरेको पाइन्छ । हाल नेपालका पूर्वी जिल्लाबाहेक ललितपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङलगायतका जिल्लामा समेत चिया खेती गर्न थालिएको बोर्डका निर्देशक दिपक काफ्लेले जानकारी दिए। विसं २०५७ मा सरकारले राष्ट्रिय चिया नीति ल्याएको थियो । सरकारले चिया प्रवद्र्धनका लागि बनाएको चिया तथा कफी विकास बोर्डले समेत प्रभावकारी काम गर्न नसकेको व्यवसायीको भनाइ छ । चिया किसान विकास लामाले चियाको विश्व बजारमा ठूलो माग हुँदा पनि नेपालले अपेक्षित लाभ लिन नसकिरहेकाले सरकारले उचित नीति निर्माण गर्नुपर्ने बताए । नेपालको भौगोलिक अवस्था र वातावरण चिया खेतीका लागि उपयुक्त छ । यहाँको जैविक चियाको गुणस्तर राम्रो भएकाले विश्वबजारमा लोकप्रिय मानिन्छ । चिया क्षेत्रलाई व्यवस्थित गर्न सरकारले किसान प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने चिया किसान लामाको माग छ । चिया क्षेत्रमा अझै पनि निकै समस्या छन् तर समाधानमा सरकार, निजी क्षेत्र र किसानको समन्वय तथा सहकार्यको खाँचो रहेको बताइन्छ ।