बाँकेमा एक सय ६० उद्योग बन्द

बाँके । बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताए । उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी/व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका उनको भनाइ छ । कोभिड–१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन् । कैयौँ उद्योगी र व्यवसायी नेपालगञ्जबाट विस्थापित भएको उनको भनाइ छ । जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या पनि गत आर्थिक वर्षमा घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा एक हजार सात सय १२ नयाँ उद्योग दर्ता भएकामा आर्थिक वर्ष २०७९/८० मा जम्मा आठ सय ७६ मात्र नयाँ उद्योग दर्ता भएका निमित्त प्रमुख बुढाथोकीले जानकारी दिए । उनका अनुसार गत आवमा कृषि तथा वनजन्यतर्फ तीन सय ६५, उत्पादनमूलक एक सय ४०, पर्यटन सम्बन्धी एक सय ३२ र सेवामूलक दुई सय ३९ गरी कूल आठ सय ७६ उद्योग दर्ता भएका छन् । गत आवमा तीन सय १४ उद्योग नवीकरण भएका बुढाथोकीले बताए। नयाँ उद्योग दर्ता तथा नवीकरणबापत ८५ लाख ३० हजार एकसय ५० राजस्व सङ्कलन भएको उनले जानकारी दिए।

चेम्बरले अन्तर्राष्ट्रिय व्यापार र भन्सार प्रक्रियाबारे युवा उद्यमीलाई दियो प्रशिक्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अन्तराष्ट्रिय व्यापार पहुँच एवं भन्सार प्रक्रियाबारे युवा उद्यमीहरुलाई प्रशिक्षण दिएको छ । विश्व बजारमा भन्सारको प्रक्रिया, निर्यात जन्य वस्तुहरुको हार्मोनिक कोड लगायतका प्राविधिक विषयमा चेम्बरले करिव ५० जना युवा उद्यमीलाई प्रशिक्षण दिएको हो । व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको प्राविधिक सहयोगमा चेम्बरले ४ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको समापन समारोहलाई सम्वोधन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले युवा उद्यमीहरुलाई निर्यात प्रर्वद्धनमा सहयोग पुर्याउनका लागि प्रशिक्षण आयोजना गरिएको जानकारी दिए । मुलुकभित्र रहेका प्राकृतिक श्रोतको उच्चतम प्रयोग गरेर निर्यात प्रर्वद्धन मार्फत व्यापार घाटा कम गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । अध्यक्ष मल्लले भने, ‘आयात र निर्यातबीचको असन्तुलनका कारण व्यापार घाटा ९ गुणा सम्मले वृद्धि भएको छ । आन्तरिक उत्पादन वृद्धि गरेर निर्यात प्रर्वद्धनका लागि युवा उद्यमीलाई आर्कषित गराउन आवश्यक छ। ’ मुलुकभित्र प्राकृतिक श्रोत र साधनको उच्चतम प्रयोग गरेर बस्तुहरु उत्पादन एवं निर्यात प्रर्वद्धनका लागि चेम्बरले आफ्नो लोगो उपलव्ध गराउने समेत अध्यक्ष मल्लले प्रतिवद्धता जनाए । निर्यात अभिवृद्धिका लागि भन्सार सहजिकरण एवं मुख्य मुख्य नाकामा अन्तराष्ट्रियस्तरको क्वारेन्टिन ल्याव स्थापना गर्नुपर्ने अध्यक्ष मल्लले बताए । निर्यात प्रर्वद्धनका लागि उत्पादिन बस्तुहरुको प्याकेजिङ र ब्राण्डिङमा समेत चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लले बताए । अन्तराष्ट्रिय व्यापार पछिल्लो समय डिजिटल युक्त बन्दै गएकाले अनलाईन डेलिभरीलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाई छ । भन्सारमा कारोबार मुल्यलाई मान्यता दिई सन्दर्भ मुल्यलाई खारेज गरिनुपर्नेमा उनले जोड दिए । चेम्बले व्यापार सहजिकरणका लागि प्रत्येक वर्ष युवा उद्यमी लक्षित विभिन्न कार्यक्रम गर्ने बताए ।

बैंकले ऋण नदिँदा घट्यो नयाँ उद्योग दर्ता, एक करोड बढी राजस्व सङ्कलन

पर्सा । पर्सामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ । जबकि आव २०७८/७९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो । आव २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको सङ्ख्या भने बढेको छ । सो कार्यालयका अनुसार आव २०७९/८० मा एक सय ७७ वटा उद्योगको लगतकट्टा गरिएको छ भने अघिल्लो आव २०७८/७९ मा एक सय ५२ उद्योगको लगतकट्टा भएको थियो । विश्वव्यापीरूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायतका कारणले नयाँ उद्योग दर्तामा कमी आएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख धनञ्जयकुमार सिंहले बताए । आव २०७९/८० मा एक हजार दुई सय ७५ उद्योगको नवीकरण, एक सय ६५ वटाको पुँजी वृद्धि, ३३ को ठाउँसारी, ८४ को नामसारी गरिएको सो कार्यालय जनाएको छ । ती शीर्षकबाट आव २०७९/८० मा रु एक करोड छ लाख ३९ हजार दुई सय ५० राजस्व सङ्कलन भएको प्रमुख सिंहले जानकारी दिए । उक्त आवमा छ सय ५४ पुरुष र चार सय ५० महिला गरी एक हजार एक सय चार उद्यमी थपिएका छन् भने तीन हजार दुई सय ४७ पुरुष र एक हजार दुई सय १३ महिला गरी चार हजार चार सय ६० जनाले रोजगारी पाएको प्रमुख सिंहको भनाइ छ । आव २०७९/८० मा उद्यमी सिर्जना तथा सीप विकास, स्केलअप र भगत सर्वजित तालिम कार्यक्रमअन्तर्गत तीन सय ६२ पुरुष र ९८ महिला गरी चार सय ६० जनालाई सीपमूलक तालिम दिइएको प्रमुख सिंहले बताए । यससँगै पर्सा जिल्लामा पछिल्लो छ वर्षको अवधिमा सात हजार दुई नयाँ उद्योग थपिएका छन् । गत आव २०७४/७५ देखि आव २०७९/८० सम्ममा सेवामूलक उद्योग, कृषि तथा वन्यजन्य, उत्पादन उद्योग र पर्यटन गरी सात हजार दुई नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय वीरगन्ज पर्साले जनाएको छ । गत आव २०७४/७५ देखि आव २०७९/८० सम्मको अवधिमा नयाँ उद्योग दर्ता, उद्योगको नवीरकण र उद्योगको लगतकट्टालगायतका शीर्षकबाट छ करोड ९७ लाख ९२ हजार सात सय ८० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सिंहले बताए । रासस