नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै वसन्त

मान्म । कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९ मुम्राका ४६ वर्षीय वसन्त लुवार गाउँमा स्थापित नेपाली हाते कागजबाट मनग्य आम्दानी गरिरहेका छन् । पहिले रोजगारीका लागि अर्काको देशमा गएर जोखिमपूर्ण काम गर्नुपरे पनि त्यहाँबाट फर्केर गाउँमै उद्योग स्थापना गर्दा आफूसँगै अन्य युवाले पनि रोजगारी पाएका बताए । उनले स्थानीय केही युवा मिलेर स्थापना गरिएको उद्योगमा हाल २४ जनाभन्दा बढीले रोजगारी पाएका समेत जानकारी दिए । ‘पहिलो गाउँमा रोजगारीका अवसर थिएनन् । देशमा केही हुँदैन भनेर रोजगारीका लागि परदेश (भारत) गएर धेरै वर्ष काम गरे । अर्कोको देशमा जोखिमपूर्ण काम गर्नुपर्दा निकै दुःख पाएको थिए,’ उनले भने, ‘त्यहाँ अपमान र हण्डर खाएपछि आफ्नै गाउँमा फर्किएर उद्योग स्थापना गरेको हुँ । केही युवा मिलेर सिर्जनशील नेपाली हाते कागज लघुउद्योग स्थापना गरेका हौँ । हाल २४ जनाभन्दा बढी युवाले रोजगारी पाएका छौँ ।’ धेरै युवा नेपालमा केही गर्न सकिदैँन भनेर विदेशीएका छन् तर अर्काको देशमा गएर आर्थिक उपार्जन राम्रै भए पनि आत्मसन्तुष्टि र स्वाभिमानका लागि आफ्नै देशमा केही गर्नुपर्ने निष्कर्षसहित आफूहरू गाउँमै लघुउद्यममा लागेको वसन्तको भनाइ छ । ‘युवाले समूहिकरूपमा केही गरेमा नेपालमै केही गर्न सकिन्छ, गाउँमा हामीले त्यो उदाहरण पेस गरिसकेका छौँ । विदेश गएरमात्र पैसा कमाइन्छ भन्ने चलनको अन्त्य हुन जरुरी रहेको छ,’ उनले भने । उद्योग सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र केसीले स्थानीय युवा मिलेर गाउँमा स्वरोजगारको आधार तयार गरिरहेका बताउँछन् । उनले कच्चापदार्थको समस्या नभए पनि विद्युत अभावका कारण उद्योग पूर्णरूपमा सञ्चालन गर्न नसकिएकाले त्यसमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह गरे । उनले भने, ‘गाउँमा उत्पादन भएको नेपाली हाते कागज बाहिर लगेर बेच्ने गरेका छौँ । त्यसबाट २४ जना बढीले रोजगारी पाएका छौँ । विद्युत् आपूर्ति भई उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्नसके थप रोजगारी सिर्जना गर्न सकिन्छ ।’ गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंह सज्यालले समूहका सदस्यहरूले उत्पादन गरेका नेपाली हाते कागज न्याय समितिले खरिद गर्ने व्यवस्था मिलाइएको बताए । ‘गाउँमा स्थापित साना लघु उद्योगलाई स्थापित गरेर लैजाने पालिकाको कार्यनीति रहेको छ । त्यसैकारण उत्पादित कागज गाउँपालिकाले नै खरिद गरिदिने गरेका छौँ, बाँकी समस्या समाधानका लागि पनि हाम्रो सहयोग रहन्छ,’ उनको भनाइ छ । हाल उक्त उद्योगबाट उत्पादित कागज बेचेर मासिक १ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको वसन्तले बताए ।

मैदामा भ्याट छुट दिए कृषिबाट विदेशी मुद्रा भित्र्याउँछौं

काठमाडौं । नेपाल मैदा उद्योग संघका महासचिव राधेश्याम अग्रवालले मैदा उद्योगहरूको उत्पादन क्षमता ५० प्रतिशत घटेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि मैदा उद्योग संघका तर्फबाट सुझाव तथा माग पेस गर्दै उनले वार्षिक ७/८ लाख मेट्रिक टन मात्रै मैदा उत्पादन भइरहेको बताए । उनका अनुसार नेपालमा ४५ वटा मैदा उद्योग सञ्चालनमा छन् । ती उद्योगहरूको उत्पादन क्षमता वार्षिक १५/१६ लाख मेट्रिक टन भए पनि हाल ७/८ लाख मेट्रिक टन मात्रै मैदा उत्पादन भइरहेको उनले बताए । स्वदेशी लगानीमा स्थापना भएका मैदा उद्योगहरूले उच्च गुणस्तरीय मैदा उत्पादन गर्दै देशमा आत्मनिर्भर भई राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ । ‘मैदा उद्योगले उत्पादन गर्ने मैदा तथा आँटा निर्वाहमुखी मात्र नभइ चीन, तिब्बत लगायत तेस्रो मुलुकका निर्यात गर्नसक्ने क्षमता राख्छन्, सरकारले कृषि र कृषिमा आधारित निर्यात योग्य कृषि उद्योगलाई संरक्षण गरिदिने हो भने किसान परिवार, देशको राजस्व, रोजगारी लगायत धेरै क्षेत्रमा अझ बढोत्तरी हुने निश्चित छ,’ उनले भने । मैदा जस्तो शतप्रतिशत कृषिमा आधारित उद्योगलाई सरकारले बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट), निर्यात अनुदान, कच्चा पदार्थ गहुँको सहज उपलब्धता लगायत करको दरमा सहुलियत दिनुपर्ने उनले माग गरे । मैदा उद्योग निर्यातजन्य राष्ट्रिय उद्योगका रूपमा स्थापित हुने भएकाले कृषि क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्ने सक्ने उनको भनाइ छ । यस्ता छन् मैदा उद्योगहरूका माग मैदामा मूल्य अभिवृद्धि कर लाग्नु हुँदैन । मैदा उद्योग कृषिमा आधारित उद्योग भएकाले यसको प्रत्यक्ष असर किसान परिवार र उपभोक्तलाई पर्न जान्छ । विगतमा मैदामा ७५ प्रतिशतसम्म मूल्य अभिवृद्धि कर छुट थियो । बिस्तारै ५० प्रतिशत हुँदै २५ प्रतिशत गरीएकोमा अहिले त्यो पनि हटाइएको छ । अहिले पूर्णरूपमा मूल्य अभिवृद्धि कर लागेकोले आयातित मैदासँगको प्रतिस्पर्धा लगायतका धेरै कारणले उद्योग सञ्चालन गर्न कठिन भएको छ । मूल्य अभिवृद्धि करलाई बहुदर प्रणाली, मुल्य अभिवृद्धि करका कारण मैदा लगायतका कृषिमा आधारित उद्योगहरू प्रत्यक्ष मारमा परेका छन् । स्वदेशी उद्योग बचाउन मूल्य अभिवृद्धि करलाई बहुदर प्रणली लागु गरी मैदा उद्योगलाई तल्लो तहमा राख्नुपर्छ । छिमेकी देश भारतमा जीएसटी ४ प्रतिशतबाहेक कुनै कर नलाग्ने र कृषिमा अन्य सुविधाहरू समेत दिने हुँदा नेपाली मैदा उद्योग संरक्षणको लागि मूल्य अभिवृद्धि कर पूर्ण छुट वा बहुदर प्रणाली लागु हुनु उचित देखिन्छ । नेपाल र चिनबीच भएको द्विपक्षीय व्यापार सम्झौताअन्तर्गत नेपालबाट निर्यात गर्ने तोकिएका वस्तुमा शून्य भन्सारदर कायम छ । उक्त लिस्टमा मैदा, आँटा र चक्की आँटा छुटेको हुँदा समावेश गर्न अनुरोध छ । चीनमा नेपाली मैदाको माग राम्रो छ तर हेभी ड्यूटीका कारण निर्यात गर्न सकेको छैन । पहिला मैदा, आँटा र चक्की आँटामा एक्सपोटए इन्सेटिभ ४ प्रतिशत थियो । बिस्तारै घटाउँदै अहिले शून्य प्रतिशत गरिएको छ । निर्यातमा ५ प्रतिशत अनुदान हुन सकेमा चीन र तेस्रो मुलुकमा नेपाली मैदा, आँटा र चक्की आँटामा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने हुँदा निर्यात अनुदान दिन अनुरोध छ । सिमेन्ट उद्योग र डण्डी (फलाम) उद्योगलाई दिएको निर्यात अनुदान सुविधा मैदा उद्योगलाई पनि दिएमा नेपाली मैदा विदेश निर्यात गर्न सक्षम छन् । किनकि मैदा नेपालमा आत्मनिर्भर भैसकेका वस्त हो । नेपालमा लगभग ४५ वटा ठूला उद्योगले मैदा र आँटा उत्पादन गर्दै आएकोमा बजार अभावका कारण लगभग ४० प्रतिशतको हाराहारीमा मात्र उत्पादन हुने गरेको छ । नेपाल सरकारले सहयोग गरी अनुदानमा निर्यात गर्न सकिने वातावरण बनाइदिएमा स्वदेशी उत्पादन धानी विदेश समेत निर्यात गरी विदेशी मुद्रा आर्जन गरी देशको आयात/निर्यातको व्यापार घाटामा समेत राहत मिल्नेछ ।

महिला उद्योगी व्यवसायी बढ्दै, साढे दुई करोड राजस्व सकंलन

वागमती । पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढ्दै गएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीको दर्तामा ५० प्रतिशत मात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि जिल्लमा प्रायः महिलालाई सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउनेक्रम बढेको हो । अचेल दैनिक १० देखि १२ वटासम्म नयाँ उद्योग व्यापार दर्ता हुने गरेकामा करिब ७० प्रतिशत उद्योग व्यापार महिलाकै नाममा दर्ता हुने गरेको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले बताए । उनले पुरुषका नाममा उद्योग व्यापार दर्ता गराउँदा बढी दस्तुर लाग्ने भएकाले महिलालाई  प्रमुख बनाएर व्यापार दर्ता गराउनेक्रम बढेको जानकारी दिए ।  घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा मकवानपुरमा तीन सय २८ नयाँ उद्योग दर्ता भएकामा त्यसमध्ये एक सय ४८ व्यवसायको मालिक महिला छन् । यस्तै चालु आवको वाणिज्यतर्फ दुई सय ९१ नयाँ व्यवसायी दर्ता हुदाँ एक सय ६१ व्यवसायीको सञ्चालक महिला नै रहेको छ । महिलाका नाममा दर्ता भएका व्यवसायतर्फ अधिकांश जेनरल स्टोर्स, सिलाइकटाइ टेलरिङ, ब्युटीपार्लर रहेका छन् भने उद्योगतर्फ अधिकांश कृषि र माछा तथा पशुपालन बढिरहेको छ । यसले पछिल्लो समय महिलालाई उद्योग व्यवसायको मालिक बनाउनेक्रम बढेको पुष्टि गरेको छ । सरकारले महिलाका नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुरमा छुट दिनु, स्थानीय प्रशासनले पनि उद्योग व्यवसायी दर्ताका लागि कडाइ गर्नु र बैंक तथा वित्तीय संस्थाबाट उद्योग व्यवसायमा ऋण लगानी सहज हुनसक्नेलगायत कारण घरेलु तथा साना उद्योग व्यवसाय दर्ता गराउनेक्रम बढेको प्रमुख भुसालको कथन छ । ‘घरकै काममा मात्र सीमित रहँदै आएकी महिलालाई उद्योग पहिलापहिला महिलालाई उद्योग व्यापारको मालिक बनाउनु हुँदैन भन्ने समाजमा मानसिकता थियो’, स्थानीय बुद्धिजीवी हरिप्रसाद रिजालले भने, ‘तर अहिले त्यो मानसिकता हट्दै गएकाले महिलालाई उद्योग व्यापारको मालिका बनाउन थालिएको छ ।’ यस अवधिमा उद्योगतर्फ ३३ वटा उद्योगको नामसारी, २४ वटा ठाउँ सारी, नौ सय ३४ वटा नवीकरण, चार सय ५१ वटाको पुँजीवृद्धि, ६७ वटाको प्रतिलिपि, एक सय ६७ वटाको लगत कट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले जनाएको छ । यस्तै सो अवधिमा वाणिज्यतर्फ १६ वटा को नामसारी, २५ वटा उद्योगको ठाउँ सारी, सात सय ७७ वटा उद्योगको पुँजी वृद्धि, एक हजार दुई सय १४ वटा उद्योगको नवीकरण, दुई सय सात वटा उद्योगको लगत कट्टा, तथा ४१ वटा उद्योगको उद्देश्य थप गरिएको प्रमुख भुसालको भनाइ छ । नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगत कट्टालगायतका शीर्षकबाट यस अवधिमा दुई करोड ६३ लाख २२ हजार तीन सय ५२  रुपैयाँ राजस्व सकंलन भएको प्रमुख भुसालले बताए । गत आर्थिक वर्ष २०७९/८० मा उद्योगतर्फ पाँच सय ७९ नयाँ उद्योग दर्ता, एक हजार ५६ उद्योगको नवीकरण, एक सय १० उद्योगको लगत कट्टा तथा वाणिज्यतर्फ चार सय ३० नयाँ दर्ता, एक हजार चार सय सात वटाको नवीकरण र एक सय ७३ वटाको लगत कट्टा गरिएको थियो । रासस