आठौं संस्करणको विराट एक्स्पोमा व्यावसायिक सहकार्यका लागि विराट बजार बीटुबी पेभिलियनको व्यवस्था

काठमाडौं । उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म आठौं संस्करणको विराट एक्स्पो २०२५ आयोजना गर्ने भएको छ । उक्त एक्स्पोको अवलोकन गर्ने उद्योगी व्यवसायीहरूका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरूप एक्स्पो स्थलमा बिजनेश क्लिनिक पेभिलियन राख्ने तयारी गरिएकाे छ । यो पेभिलियनमा सबै प्रकारका व्यवसायीहरूले अर्को सम्बन्धित व्यवसायसँगको व्यावसायिक सहकार्यका लागि भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन् । यो पेभिलियनमा औद्योगिक विकासका लागि व्यावसायिक विकासका सेवाहरूको इकोसिष्टम अभिवृद्धि गर्ने विश्वास गरिएकाे छ । साथै एक्स्पोका मुख्य कार्यक्रमहरू उजागर गर्न यस पेभिलियनलाई आयोजक उद्योग संगठनले सेन्टर फर एक्सिलेन्सका रूपमा प्रस्तुत गर्दै छ । पेभिलियनअन्तर्गत बीटुबी डेस्कमा सबै प्रकारका व्यवसायीहरूले अर्को सम्बन्धित व्यवसायसँगको व्यावसायिक सहकार्यका लागि भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन् । विशेषगरी एसएमईसहरूसँग अन्य उद्योगहरूको व्यावसायिक सम्पर्क बढाउने गरी यसले काम गर्ने छ । त्यसैगरी, बजार प्रवर्धनका लागि मेरो देश मेरै उत्पादन, बिजनेश क्लिनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रक्रिया तथा स्टेपवाई स्टेप प्रक्रिया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, वैदेशिक लगानीको प्रक्रिया लगायतका उद्योग व्यवसायसँग सम्बन्धीत सबै सूचनाहरू भएको एकीकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जी इफिसियन्सी कार्यक्रम, इण्डष्ट्रिज एकेडेमिया लगायत संगठनका कार्यक्रमहरूको डिजिटलाइजेशन भर्सनसहितको एकीकृत सेवाहरूको व्यवस्था यो पेभिलियनमा गरिने छ ।

विराट एक्स्पो २०२५ : उद्योगका समस्या समाधान गर्न विजनेश क्लिनिक

काठमाडौं । उद्योग संगठन मोरङ आयोजना गर्ने विराट एक्स्पोमामा बिजनेस क्लिनिक राख्ने तयारी थालेको छ । माघ ११ देखि २० गतेसम्म आयोजना गर्ने आठौँ संस्करणको विराट एक्स्पो २०२५ को अवलोकन गर्ने उद्योगी व्यवसायीहरूका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरूप एक्स्पो स्थलमा बिजनेस क्लिनिक पेभिलियन राख्ने तयारी गरेको हो । एक्स्पोमा बिजनेस क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रूपमा व्यवस्थित गरेर अवलोकनकर्ता उद्योगी व्यवसायीहरूका उद्योग विशेष समस्याहरू दर्ता गर्ने र दर्ता गरिएका समस्याहरूलाई वर्गीकरण तथा आवश्यक प्रशोधन गरी तथ्यमा आधारित समाधान गर्ने गरी बिजनेस क्लिनिक सञ्चालन गर्न लागिएको उद्योग सङ्गठन मोरङले जनाएको छ । समस्यालाई गहन छलफल र अन्तरक्रिया गरेर समस्या समाधानको प्रयत्न गर्ने सङ्गठनको योजना रहेको सङ्गठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए। सङ्गठनले यो क्लिनिक विगत तिन वर्ष देखि सञ्चालन गर्दै आएको छ । त्यस अवधिमा सुनसरी मोरङ औद्योगिक क्षेत्रका विभिन्न ७५ वटा उद्योगको स्थलगत भ्रमण गरेर सम्बन्धित उद्योगका १२२ वटा मुद्दा पहिचान गरी समाधानको पहल भइरहेको उनले जानकारी दिए । फिजिकल अवस्थालाई सङ्गठनले एक्स्पो मार्फत भर्चुअल प्लेटफर्मको रूपमा विकास गर्न खोजेको जनाएको छ । यो प्लेटफर्म विकास भएपछि उद्योगीहरूले आफ्नो समस्या उद्योगमै बसेर दर्ता गरेर सङ्गठनको डिजिटल प्लेटफर्ममार्फत समाधान खोज्न सक्ने अवस्थाको सृजना हुनेछ । सङ्गठनले यो क्लिनिकलाई नियमित र व्यवस्थित बनाउन कार्य समिति सदस्य पारस लुनियाको नेतृत्वमा बेग्लै समिति गठन गरेको छ । सङ्गठनले सञ्चालन गर्दै आएको यही बिजनेस क्लिनिकको उपलब्धि र अवधारणालाई आधार मानेर चेम्बरहरूले गर्ने बहस पैरवीको क्षेत्रमा नयाँ आयाम थपेको मान्दै कन्फीडिरेशन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्ड्रष्ट्रिले उद्योग सङ्गठन मोरङलाई गत कात्तिकमा उत्कृष्ट च्याम्वर अवार्ड प्रदान गरेको थियो ।

नेपालमा सम्भावना नै छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा सम्भावना छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताएका छन् । अध्यक्ष ढकालले नेपालमा सम्भावना नै सम्भावना रहेकोले सम्भावना छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताएका हुन् । नेपाल योङ आन्टप्रेनर फोरम (एनवाइइएफ)ले काठमाडौंमा आयोजना गरेको चौथो स्टार्टअप अवार्ड वितरणका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । यसका साथै अध्यक्ष ढकालले नवप्रवर्तनशील सोच र जोश भएका युवाहरूमा उद्यमशीलताको विकास गर्न सके मात्रै देश विकास सम्भव रहेको बताए । उनले सूचना प्रविधि क्षेत्रमा भएका परिवर्तनलाई आत्मसात गर्दै स्टार्टअपलाई अगाडी बढाउनु पर्नेमा जोड दिए । ‘अहिलेको विश्व नवप्रतर्वनमुखी सोचबाट अघि बढिरहेको छ । साच्चि नै देशको आर्थिक उन्नती हेर्ने मन हो भने उद्यमशीलता प्रवर्द्धन, लघु घरेलु तथा साना उद्योगको स्तरोन्नति, औद्योगिक तथा व्यापार पूर्वाधार विकास र नवप्रतर्वनमुखी कार्यक्रममा हामी केन्द्रित हुनुपर्दछ र यो नै आजको आवश्यक्ता हो ।’ उनले भने । अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायको प्रर्वद्धनका लागि स्टटार्ट अप एण्ड ईन्नोभेशन फोरम, नेपाल युवा उद्यमी मञ्च, घरेलु तथा साना उद्योग, लगानी तथा अन्तरराष्ट्रिय फोरम (आइसीटी) र उद्योग तथा व्यवापार जस्ता समिति तथा फोरमहरुहरु स्थापनाका साथै उनीहरु मार्फत विभिन्न कामहरु गर्दै आईरहेको जानकारी दिए । उनले महासंघले मुलुक भित्र नविनतम सोंच सहितको उद्यमशीलता प्रवर्द्धनका लागि सरोकारवाला निकायहरूसङ समन्वय गरेर काम गरिरहेको पनि बताए । उनले अझै पनि नेपालका कतिपय कानून पुराना भएकोले काम गर्न समस्या हुने गरेको उल्लेख गर्दै समयानुकूल कानुन ल्याउन तथा पुराना कानूनहरुको संशोधन गर्न सरकारलाई सुझाव दिए । उनले भने, ‘पछिल्लो समय निजि क्षेत्रको सुझाव अनुसार कतिपय कानून परिमार्जन भएका छ्न् । प्रायः सबै दलहरू अहिले आर्थिक एजेन्डाबिना मुलुक समृद्ध हुदैन भन्नेमा सहमत छन् । यो सकारात्मक पक्ष हो । तर यो प्रयाप्त छैन ।’ स्टार्टअप अवार्डबाट सम्मानित हुनेलाई बधाई ज्ञापन गर्दै अध्यक्ष ढकालले स्टार्टअपको विकास र विस्तारको लागि महासंघ सधैं तयार रहेको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले देश विकासको लागि यूवाहरुको नविन सोचको सम्मान गर्दै सोही अनुरुपको वातावरण निर्माण गरिदिनुपर्ने बताए। उनले झन्झटिलो कानूनी प्रक्रियाको सुधारको लागि कार्यविधि, मापदण्ड जस्ता विषय खारेज गर्ने र सहजताका साथ काम गर्ने वातावरण बनाइने प्रतिवद्द्ता व्यक्त गरे । चौथो (एनवाईइएफ) स्टार्टअप अवार्डका लागि छनोट भएका ७ वटा कम्पनी मध्यबाट डिएल ड्ट सर्फले प्रथम, मेल्ट डाउनले दोस्रो र खेतीपाती अर्गानिक्सले पब्लिक च्वाइस अवार्ड प्राप्त गरेको छ ।