डेढ अर्ब कमाउने कसमस सिमेन्टको व्यापार २६ करोडमा झर्यो, अरू उद्योग पनि हायलकायल
काठमाडौं । सिमेन्ट उद्योगहरू लामो समयदेखि समस्यामा रहेको गुनासो गर्दै आएका छन् । विगतमा राम्रो व्यापार गरेर आम्दानी पनि सन्तोषजनक रूपमा गर्दै आएका सिमेन्ट उद्योगहरू पछिल्लो समय खर्च पनि उठाउन नसक्ने अवस्थामा पुगेका हुन् । अहिले अधिकांश सिमेन्ट उद्योगहरू घाटामा सञ्चालन भइरहेका छन् । धनुषामा कारखाना रहेको कसमस सिमेन्टले चालु आर्थिक वर्षको पाँच महिनामा २६ करोड १० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । विगतमा राम्रो आम्दानी गर्दै आएको कसमस सिमेन्टको व्यापारले पनि अहिले समग्र सिमेन्ट उद्योग समस्यामा रहेको बुझ्न सकिन्छ । यसअघि विकासन्यूजले तयार पारेको ‘६० अर्बको सिमेन्ट व्यापार ३० अर्बमा झर्यो’ शीर्षकको समाचारमा पनि सिमेन्ट उद्योगको व्यापार घटेको उल्लेख थियो । अहिले कसमस सिमेन्टको व्यापारले पनि त्यसलाई थप प्रमाणित गरेको छ । पाँच वर्षको अवधिमा कसमस सिमेन्ट उद्योगको सञ्चालन आम्दानी ८३ प्रतिशतले घटेको छ । यसअघि अर्थात् २०२३ मा उद्योगले ८४ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १९ करोड ३० लाख, सन् २०२१ मा १ अर्ब ३८ करोड र सन् २०२० मा १ अर्ब २९ करोड ५० लाख र सन् १ अर्ब ५३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । १ लाख ६५ हजार मेट्रिक टन क्लिन्कर र ४ लाख २९ हजार मेट्रिक टन ग्रान्डिङ उत्पादन गर्ने क्षमता भएको यो सिमेन्ट उद्योगको सात जना सेयरधनी छन् । यस उद्योगको अध्यक्ष प्रदीपजंग पाण्डे हुन् भने सञ्चालकका रूपमा ध्रुव थापा, हर्षमान श्रेष्ठ र प्रवलजङ पाण्डेले काम गरिरहेका छन् । यस उद्योगले ताज सिमेन्ट र कसमस ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । यो उद्योगले डेढ अर्ब रुपैयाँ ऋणका लागि रेटिङ पनि गराएको छ । कसमस सिमेन्टमा आन्तरिक विवाद तथा क्लिन्करको विषयले पनि ठूला व्यापार गुमाउनु परेको बुझिएको छ । अधिकांश सिमेन्ट उद्योगलाई अहिले सकस परिरहेको बेला कसमसलाई पनि त्यो समस्या देखिएको हो । कसमसले पछिल्लो समय सरकारको न्यून पुँजीगत खर्च र आर्थिक मन्दीसँगै बढ्दो प्रतिस्पर्धाले सिमेन्ट बिक्री घट्दा व्यापार पनि कम भएको बताएको छ । यस उद्योगले बजारमा आफ्नो प्रभावकारी विस्तार गर्न नसक्दा पनि व्यापार घटेको बुझिएको छ । कम्पनीलाई तरलता व्यवस्थानमा ठूलो चुनौती देखिन सक्ने रेटिङ एजेन्सी इक्रा नेपालको विश्लेषण छ । नेपालमा अहिले करिब साढे पाँच दर्जन उद्योगहरू सञ्चालनमा रहेका छन् । ती उद्योगलाई अहिले बैंकको ब्याज तिर्न पनि सकस परेको बुझिएको छ ।
विद्युत प्राधिकरणले ८ मेगावाट बिजुली नदिँदा हेटौँडा सिमेन्टको उत्पादन ३ महिनादेखि बन्द
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले करिब ३ महिनादेखि सिमेन्ट उत्पादन गर्न बन्द गरेको थियो । सिमेन्ट उत्पादन कहिलेदेखि नियमित गर्नेसम्बन्धी अझै अन्योलता रहेको उद्योग व्यवस्थापनले जनाएको छ । विभिन्न उपकरणलाई मर्मतसम्भार गर्नुपर्ने र केही नयाँ उपकरण जडान गर्नुपर्ने भएको भन्दै उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौंबाट हेटौँडा सिमेन्टलाई दैनिक ८ मेगावाट विद्युत् नियमित उपलब्ध गराउने जानकारी नआएसम्म उत्पादनलाई निरन्तरता दिन नसकिने बताए । उनले विद्युत् प्राधिकरणका पदाधिकारीसँग उद्योगका पदाधिकारीले पटकपटक वार्ता गरी ऊर्जा उपलब्ध गराउन आग्रह गरिरहेकाले यथाशीघ्र समस्या समाधान हुने जानकारी दिए । केही दिनअघि अपर तामाकोशीबाट थप विद्युत् उत्पादित विद्युतबाट उद्योगलाई नियमित ऊर्जा उपलब्ध गराउने सहमति भएपनि हालसम्म विद्युत् आपूर्ति नियमित हुन नसकेकाले दैनिक सिमेन्ट उत्पादन चुनौतीपूर्ण बन्दै गएको महाप्रबन्धक पाण्डेले बताए । हाल विद्युत् प्राधिकरण हेटौँडाबाट दैनिक २/३ पटक विद्युत् ऊर्जा कटौती हुँदै आएकाले उपकरण मर्मत र जडान गर्ने काममा जटिलता आएको उनले जानकारी दिए । उक्त उद्योगमा जीर्ण अवस्थामा रहेका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कार्य विद्युत् ऊर्जाका कारणले अझै केही साता लम्बिने भन्दै नियमित विद्युत् आपूर्ति भएपश्चात् उपकरण मर्मत गरी सिमेन्ट उत्पादन सुरु गर्ने सहमति अनुसार प्राविधिक जनशक्ति राखिएको नायब महाप्रबन्धक नवीनकुमार कर्णले उल्लेख गरे । जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार अग्रवालले पटकपटक विभिन्न उपकरण बिग्रिएर मर्मतसम्भार गर्नुपर्ने अवस्थामा वार्षिक रूपमा ३/४ पटक मात्र उद्योग सञ्चालन भइरहेको बताउँदै नयाँ प्रविधिबाट उद्योग सञ्चालनमा ल्याउन दीर्घकालीन योजनासहित सङ्घीय सरकारले पहल गर्नुपर्नेमा जोड दिए । विसं २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन सरकारद्वारा १ अर्ब ५० करोड रुपैयाँ लागतमा हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरिएको थियो । तत्कालीन श्री ५ महाराजधिराज वीरेन्द्र वीरविक्रम शाहदेवबाट विसं २०४३ मङ्सिर २६ गते हेटौँडा सिमेन्ट उद्योगको उद्घाटन भएको थियो । उद्योगको साविक सिमेन्ट उत्पादन क्षमता दैनिक १८ हजार बोरा भए पनि हाल उपकरण जीर्ण भएकाले १० हजार बोरामात्र उत्पादन भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ कोइला बोलपत्र आह्वान गरी चार हजार मेट्रिक टन ल्याउने प्रक्रिया सुरु भइसकेको बताउँदै अहिले उद्योगमा १ हजार २ सय मेट्रिक टन कोइला जगेडा राखिएको उद्योगका कार्यकारी अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार मकवानपुरको भैँसे र ओखरेबाट कच्चा पदार्थ चुनढुङ्गा ढुवानी गरी ल्याउने कामलाई निरन्तरता दिइएको छ ।
भक्तपुर इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा ह्योम्वा निर्वाचित
भक्तपुर । भक्तपुर इटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः नातिभाइ ह्योम्वा निर्वाचित भएका छन् । संघको शुक्रबार भक्तपुरमा भएको २९ औं वार्षिक साधारणसभा तथा १६ जिल्ला अधिवेशनबाट ह्योम्वाको नेतृत्वमा १० सदस्यीय नयाँं कार्यसमिति निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा आशाकाजी त्वानाबासु, सचिवमा आसाराम वैद्य, कोषाध्यक्षमा लक्ष्मीप्रसाद त्वानाबासु र सहसचिवमा रत्नलाल साँंढ चुनिए । साथै सदस्यहरूमा विष्णुसुन्दर प्रजापति, बालगोविन्द तचामो, केशव कवां, पूर्णप्रसाद गाइजू र राजेश त्वानाबासु चुनिए । यसअघि अधिवेशनको उदघाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद् प्रेम सुवालले गरेका थिए । त्यस अवसरमा उनले संसदलाई छलेर विधेयक ल्याउनु प्रजातन्त्रविपरीत भएको टिप्पनी गरे । संसद नरहेको अवस्थामा सहकारी ठगीविरुद्धको विधेयक ल्याउनु प्रजातन्त्रविरुद्ध रहेको उनको भनाइ थियो । उनले कानुन चाहिएको भए छिटै संसद बैठक बालाउन सकिने बताए । तर आफूलाई प्रजातन्त्रबादी भन्ने पार्टीले त्यसो नगरी प्रजातान्त्रिक व्यवहार नदेखाएको उनले बताए । उनले नाम एउटा र काम अर्काे गर्ने पार्टीहरूलाई निर्वाचनमा जनताले देखाइदिनुपर्ने बताए । कार्यक्रममा जिल्लाको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले इँटाभट्टाको विषयमा चाहिनेभन्दा बढी नकारात्मक टिकाटिप्पणी हुने गरेको बताए । नेपाल इँटा उद्योग व्यवसायी संघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अवाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीमैयाँ धौबञ्जा, भक्तपुर टक व्यवसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद गोरा, नेपाल इटा उद्योग व्यवसायी महासंघका महासचिव केदार गोसाई, सल्लाहकार विश्वराम कवां, बागमति प्रदेश अध्यक्ष आशाकाजी त्वानाबासू लगायतले इँटा उद्योग देशकै उद्योग भएकाले यसको प्रवद्धर्नमा सरकार लाग्नुपर्नेमा जोड दिए । कार्यक्रम अध्यक्ष नातिभाइ ह्योम्वाको अध्यक्षतामा सम्पन्न भएको थियो ।