निगमद्वारा बार्षिक एउटा वाइडवडी जहाज थप गर्ने योजना सार्वजनिक, नयाँ जहाजलाई पाइलट अभाव हुने
काठमाडौं। नेपाल वायुसेवा निगमले प्रत्येक वर्ष कम्तिमा एउटा वाइडबढी जहाज थप्ने महत्वकाङ्क्षी सोच अघि सारेको छ। निगमले नयाँ किन्न लागेको विमानका वारेमा फगत हल्ला फिँजाएर नेपालको ध्वजावाहक क्यारियरका लागि गलत प्रचार गरिएको निगमले जनाएको छ। फ्रान्सेली कम्पनी एयरबसको वाइडबडी ए ३३०–२०० खरिद गर्ने विषयमा उठेका प्रश्नको सम्बोधन गर्ने उद्देश्यले निगमले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले हरेक वर्ष कम्तिमा एउटा विमान थप्दै जाने योजना लिएको सुनाए। निगमका सञ्चालक समितिले स्वीकृति दिएपछि अमेरिकाको एएआर कम्पनीसँग वाइडबडीका विषयमा समझदारीपत्रमा हस्ताक्षर भई खरिद गर्नेसम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। वाइडबडी एयर बस सफलतापूर्वक सञ्चालन गर्न निगमका एक हजार ४०० कर्मचारी ढुक्क रहेको बताउँदै उनले विमान उपलब्ध गराउन चाहने तर बोलपत्र छनोटमा नपरेका कम्पनीले भ्रम फैलाउने काम मात्र गरेको आरोप लगाए। निगमले वाइडबडी खरिद सम्झौता आगामी चैत महिनासम्ममा गर्ने लक्ष्य निर्धारण गरेको छ। उक्त जहाजको मूल्य करिब रु १० अर्ब ९२ करोड पर्ने बुझिएको छ। वाइडबडी नेपाल भित्रिएपछि निगमको व्यावसायिक योजनाअनुसार दमाम, सिओल, सिड्नी, टोकियोजस्ता नयाँ गन्तव्यमा उडान गर्नेछ। नेपालको पर्यटन विकासका क्षेत्रमा क्रियाशील सङ्घसंस्था र सरोकार निकायसँग धेरै पटकको वार्ता र छलफलपछि राष्ट्रिय ध्वजावाहक विमान सेवालाई माथि नल्याएसम्म पर्यटन क्षेत्रको विकास र विस्तार नारामा मात्र सीमित हुने निष्कर्षका साथ वाइडबडी खरिद गर्ने निचोडमा पुगेको महाप्रबन्धक कंसाकारले जानकारी दिए। कंसाकारले निगमको पहिलो काम जहाज थप गर्ने र दोस्रो व्यबस्थापन सुधार रहने बताए। ‘एक खर्बको नेपाली हवाई क्षेत्रको व्यापारमा निगमको बल्ल ६ देखि सात अर्ब पुगेको छ’ उनले भने ‘अब हामी त्यसलाई बढाउन उद्दत भएर लागिरहेका छौं।’ ‘९० अर्ब भन्दा धेरै विदेशी कम्पनीले लैजाने अनि हामी एउटा विमान खरिद गर्दा पैसा खायो र त्यो गर्यो भनेर कराउँछौं, नेपालीको सबै पैसा जति उसले लान्छ। सानोतिनो कुरामा झमेला सृजना नगरी जहाज थप गर्नुपर्छ र नेपालको पर्यटन क्षेत्रलाई बढावा दिइनुपर्छ’ उनले भने। वाइडबडी एयर बस सफलतापूर्वक सञ्चालन गर्न निगमका एक हजार चारसय कर्मचारी ढुक्क रहेको बताउँदै उनले विमान उपलब्ध गराउन चाहने तर बोलपत्र छनोटमा नपरेका कम्पनीले भ्रम फैलाउने काम मात्र गरेको आरोप लगाए। ‘राम्रो सामान सस्तो मूल्यमा पाएका छौँ, विमान आएपछि जापान, कोरिया र लण्डनजस्ता व्यावसायिक दृष्टिले राम्रा मार्गमा उडान गरिने जनाउँदै निगमले आगामी छ महिनादेखि एक वर्षभित्रमा नेपालको हवाई उडड्यन क्षेत्रलाई युरोपेली मुलुकले राखेको कालो सूचीबाट माथि उठाउने अठोट गरेको छ’, उनले भने। दुई सय ८० सिट क्षमताको उक्त विमानमा १६ वटा सिट विजनेस क्लास रहने जनाइएको छ। निगमले आफूसँग भएका ७५७ बोइङलाई भने विस्तारै विस्थापन गर्ने प्रक्रिया सुरु गर्ने योजना बनाएको छ। मुलुकमा रहेका ३८ वटा संस्थानमध्ये निगम अझै पनि केही अग्रपङ्क्तिको सूचीमै रहेको दाबी गरेको छ। निगमले खरिद गर्ने नयाँ जहाजकालागि पाइलटको भने अभाव हुने भएको छ। हाल निगमसँग ७४ जना पाइलट रहेको र दुईवटा वाइड बडिका लागि एकसय २० जना पाइलट चाहिने भन्दै कोहि पनि पाइलटले अन्य कम्पनीसँग जाहाज चलाउनका लागि जानुनपर्ने कंसाकारले बताए। निगमले पाइलटको मनोवल बढाउनका लागि ३० प्रतिशत अलाउन्सेस समेत दिने भएको छ।
कतार एयरवेयद्धारा विश्वकै सबैभन्दा लामो व्यवसायिक उडान शुरु
काठमाडौं । कतार एयरवेयले विश्वकै सबैभन्दा लामो व्यवसायिक उडान शुरु गरेको छ । यो उडान कतारको दोहादेखि औकल्याडसम्मको रहेको कम्पनीको प्रबक्ताले बताएका छन् । बोइङ ७७७को क्वीआर९२० फ्लाईट सोमबार स्थानीय समय अनुसार ५ बजे दोहाबाट उडेको जहाज १६ घण्टा २० मिनेटदेखि १७ घण्टा ३० मिनेटको अवधिमा औकल्याण्डमा अवतरण गर्ने अनुमान गरिएको छ । यस उडानले पाँच देशको आकाशमा १४ हजार ५३५ किलोमिटर दुरी पार गर्नेछ । उडान ट्रायकिङ गर्ने वेवसाइट फ्लाईटर्याडर२४ का अनुसार यात्रुसहित व्यवसायिक रुपमा गरिएको यो सबैभन्दा लामो दूरीको उडान हो । सो उडानमा ५ जना पाइलट, १५ जना सहयोगि कर्मचारी रहेको उक्त उडानमा कति यात्रु उडेका छन् भन्ने कम्पनीले सार्वजनिक गरेको छैन । एजेन्सी
२३ लाखले हेरे राजा बस्ने दरबार संग्रहालय, पुरानो भयो मुसाका छाउराले दरबार जान नपाउने कथा
काठमाडौँ, २३ माघ । नारायणहिटी दरबार सङ्ग्रहालयमा हालसम्म २३ लाख १५ हजार सात सय सात स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् । विसं २०६५ फागुन १४ गतेदेखि नारायणहिटी दरबार सङ्ग्रहालय खुलेपछि विसं २०७३ को पुस मसान्तसम्म उक्त सङ्ख्याका पर्यटकले सङ्ग्रहालय अवलोकन गरेकामा सबैभन्दा धेरै नेपाली छन् भने विदेशी पर्यटकको संख्या कम छ । हरेक हप्ताको मङ्गलबार, बुधबार तथा सार्वजनिक बिदामा बन्द रहने सङ्ग्रहालयमा हालसम्म ११ लाख ३४ हजार सात सय ४६ सर्वसाधारण, नौ लाख ९५ हजार पाँच सय ४९ विद्यार्थी, एक लाख ३० हजार एक सय ८८ सार्क तथा चिनियाँ नागरिक र ५५ हजार दुई सय २४ तेस्रो मुलुकका पर्यटकले अवलोकन गरेको सङ्ग्रहालयका प्रमुख रोहितकुमार ढुङ्गानाले जानकारी दिए । स्वदेशी तथा विदेशी पर्यटकबाट सङ्ग्रहालयले हालसम्म १९ करोड ४७ लाख ८२ हजार नौ सय ८५ आम्दानीसमेत गरेको छ । सङ्ग्रहालय घुम्न आउने विद्यार्थीका लागि २०, नेपाली नागरिकका लागि १००, सार्क र चिनियाँ नागरिकका लागि दुई सय ५० र तेस्रो मुलुकका लागि पाँच सय शुल्क तोकिएको छ । सङ्ग्रहालयमा चालु आर्थिक वर्षको पुुस मसान्तसम्म मात्र १४ लाख आठ हजार आठ सय ३४ ले अवलोकन गरेकामा सर्वसाधारण ७७ हजार आठ सय आठ, विद्यार्थी ६० हजार चार सय ३४, सार्क तथा चिनियाँ पर्यटक ६ हजार सात सय ३४ र तेस्रो मुलुकका तीन हजार आठ सय ५८ रहेका छन् । चालु आवको ६ महिनामा मात्र एक करोड २६ लाख १९ हजार ८० राजस्व सङ्कलन भएकोे छ । दैनिक सङ्ग्रहालय घुम्न आउने पर्यटकका लागि महानगरीय प्रहरी नारायणहिटी गारद गुल्मले सुरक्षा दिइरहेको छ । गुल्मकी प्रमुख एवम् प्रहरी निरीक्षक पूर्णिमा चन्दले दैनिक एक हजारभन्दा बढी अवलोकन कर्तालाई जाँच गरेर सङ्ग्रहालयभित्र पठाउने गरेको जानकारी दिइन । गत वर्ष वैशाख १२ गते गएको भूकम्पले पर्खाल भत्केकाले सुरक्षामा विशेष जोड दिएको उनले बताइन। भूकम्पले गर्दा सङ्ग्रहालयबाहिर बग्ने धारा र पोखरी सुकेकाले सङ्ग्रहालयले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा धारामा पानी ल्याउन र पोखरी मर्मत गर्न बजेट माग गरिएको ढुङ्गानाले जानकारी दिए । रासस