एनबी टण्डनः अमेरिका र क्यानडामा नेपाल चिनाउने ‘मूर्ख’ ट्रक ड्राइभर
काठमाडौं, २५ साउन । दाङमा जन्मिएका एनबी टन्डन एघार वर्षदेखि रोजगारीको सिलसिलामा क्यानडामा छन् । उनको पेशा हो ड्राइभिङ । प्रवासमा रहेर ड्राइभिङको पेशा अँगाले पनि उनी नेपाल र नेपालको प्राकृतिक सौन्दर्यको पुजारी नै हुन् । उनी राष्ट्रियताप्रति निकै सचेत छन् । त्यसैले क्यानाडामा पनि नेपाल चिनाउने कर्म गरिरहेका छन् । उनी विगत ३ बर्ष देखि पेशा सँगसँगै नेपाल चिनाउने पवित्र कर्ममा लागि परेका हुन् । क्यानडामा अमेरिका र क्यानडा घुम्ने २९ लाख ट्रक छन् । तीमध्ये एउटा ट्रक चलाउँछन् टण्डन । उनको ट्रक अरुको भन्दा बिल्कुल भिन्न छ । उनको ट्रकभित्र अरू ट्रकमा जस्तै सामान हुन्छ भने बाहिर बिल्कुल अरू भन्दा फरक सिंगो नेपाल छ । ट्रक सगरमाथा, स्वयम्भू, लुम्बिनी, बुद्ध, पशुपतिनाथ र नेपालको राष्ट्रिय झण्डाका सुन्दर कलाकृतिले सजिएको छ । यी दृश्यले कस्लाई पो नलोभ्याउला । टण्डनले चलाउने नेपाल चिनाउने ट्रक उनी प्रायःजसो मानिसको ‘यो के हो ?’ भन्ने प्रश्नको घेरामा पर्दछन् । उनी सगर्व उत्तर दिन्छन्, ‘यो बुद्ध जन्मेको र सर्वोच्च शिखर सगरमाथाको देश नेपाल हो ।’ क्यानडा र अमेरिकाका विभिन्न शहरमा ट्रक लिएर घुमिरहदा एक दिन उनलाई यस्तो आइडिया फुरेको हो । उनले सोचे ‘यत्रो ठाउँ पुगिन्छ, हाम्रो देश नेपाल घुम्नका लागि अति राम्रो मुलुक हो भनेर कसरी भन्ने ? अनि सोच्दै जाँदा उनलाई यस्तो अक्कल आएको हो । अमेरिका र क्यानडा नियमित आवतजावत गरिरहनुपर्ने भएकोले अध्यागमनले रोक्ने हो कि भन्ने शंका उनलाई थियो । नीति–नियमले दिने–नदिनेबारे बुझ्न अध्यागमन गए र अध्यागमनका कर्मचारीलाई आफ्नो कुरा राखे । अध्यागमनका कर्मचारीले त उनलाई मूर्ख समेत भने । पूर्वप्रधानमन्त्री सुशील कोइरालासँग टण्डन आफ्नै पैसा खर्च गरेर किन यस्तो गर्ने भनेर उनीहरूले टण्डनलाई भनेका थिए । मूर्ख भनेर भनेका उनले त्यसको प्रवाह नगर्दै डेढ लाख बढी खर्च गरेर आफ्नो ट्रकलाई कलात्मक ढंगले सिंगारे । यस्तो कलात्मक दृृश्यले सिँगारेको देखेपछि अध्यागमनकै कर्मचारीले उनको प्रशंसा गर्दै ‘तिमीले त गजबै ग¥यौं’ भनेको उनी सम्झन्छन् । त्यसैले उनलाई नेपालबारे चिनाउन थप हौसला मिलेको छ । अहिले उनलाई कसैले सोध्यो भने नेपालबारे बताउने र एकचोटि घुम्न जानको लागि नेपाल जान सिफारिस गर्ने गरेका छन् । नेपाल बारे बताएपछि उनलाई प्रायजसोले जीवनमा एकपल्ट नेपाल गएरै छाड्ने प्रतिवद्धता गर्ने गरेका छन् । कति त उनलाई अर्को पटक भेट्दा नेपाल घुमेर फर्किएको बताउँछन् । यसबाट उनलाई थप आनन्द मिल्छ, थप खुशी मिल्छ । उनले यही नेपालका कलाकृतिले सिंगारिएको ट्रक लिएर पूरै क्यानडा मात्र होइन, झण्डै अमेरिका पनि घुमिसकेका छन् । टण्डनको नेपालका कलाकृतियुक्त ट्रक गत बर्ष गएको महाविनाशकारी भुकम्पमा पनि उनले ट्रककै माध्यमबाट राहत तथा पुनःनिर्माणका लागि सघाएका थिए । उनले आफ्नो ट्रकमा लेखेरै नेपालको पुनःनिर्माणमा सघाउन आग्रह गरेका थिए । नेपालमा ड्राइभरलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । त्यसलाई ड्राइभर आफैे र सरकारले यसलाई सुधार्न सहयोग गर्नुपर्ने उनी बताउँछन् । क्यानडामा ड्राइभरको पनि राम्रो सम्मान हुने हुनाले आँफूलाई ड्राइभर भन्न कुनै हिचकिचाहट नहुने उनी बताउँछन् । टण्डनकै पहलमा अहिले क्यानडा र अमेरिकामा ड्राइभिङ पेशा अँगालेकाहरुको एउटा संगठन बनेको छ । उनको संगठनमा अहिले सय जना भन्दा बढि कृयाशील सदस्यहरु छन् । उक्त संस्थाले नेपालको स्थास्थ्य र शिक्षा क्षेत्रमा सकेको योगदान दिने लक्ष्य लिएको छ । नेपाली ड्राइभरले महिला तथा किशोरीलाई जिस्क्याउने तथा गलत दृष्टिले हेर्ने गरेका कारण उनीहरुमाझ नै नकारात्मक सोचको बिकास भएको ठहर गर्दै त्यसलाई चिर्नका लागि किशोरीको स्वास्थ्यका लागि नै उक्त संगठनले पहिलो चरणमा लगानी गरी सकेको छ । ट्रक चालक एनबी टण्डन गुल्मीमा गंगा खड्कालाई स्वास्थ्य दूत बनाएर स्वास्थ्य चेतना अभिवृद्धी गर्ने तथा किशोरीहरुको लागि महिनावारी भएको समयमा प्रयोग गर्ने प्याड निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउनुका साथै दुर्गम क्षेत्रका विद्यालयका लागि ‘फस्ट एड किट’ वितरण गर्ने कार्य पनि भइसकेको छ । संगठनका सदस्यबाट उठाएको लेबीबाट स्वास्थ्य र शिक्षा क्षेत्रमा केही गर्न खोजिरहेको छ उक्त ‘ड्राइभर एसोसिएसन’ । अहिले उक्त संगठनमा अध्यक्षको भूमिकामा रही संगठनलाई हांकिरहेका छन् एनबी टण्डन । उनले नै गैर नाफामूलक संस्था नेपाल विकास टिमको अवधारणा पनि अघि सारेका छन् । नेपालको विकासका लागि नेपाललाई सहयोग गर्न चाहनेबाट सहयोग लिने र सिधा सम्बन्धित काममा सहयोग गर्ने योजना अन्तर्गत यो अवधारणा अघि सारेको टण्डन बताउँछन् । उनै ‘मूर्ख’ चालक पर्यटन दूत दाङदेखि क्यानडा पुगेर क्यानडा मात्र नभएर अमेरिकासम्म नेपालको पर्यटन क्षेत्र र सिंगो नेपाललाई चिनाउन टण्डनले गरेको कामको प्रशंसा गर्दै पर्यटनबोर्डको सिफारिसमा नेपाल सरकारले मे १९, २०१६ देखि टन्डनलाई क्यानडाको लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ । सरकारको यो निर्णयले आफू र आफ्नो टिमलाई आगामी दिनमा आगाडी बढ्न थप हौसला मिलेको टन्डन बताउँछन् । आफ्नो ट्रकमा नेपालका सुन्दर कलाकृती कुद्नका लागि सोधखोज गर्न अध्यागमनको ढोका पुग्दा त्यहींका कर्मचारीले ‘श्रीमतीलाई गहना जोड्न छोडेर ट्रकमा के के जाती बुट्टा भर्न दौडिएको मूर्ख’को संज्ञा दिईएका टण्डन अहिले सरकारको सानो सम्मान पर्यटन दूत बनेपछि पुलकित छन् । यसै बिच आफु क्यानडाको पर्यटन दुत नियुक्त भएलगतै बिभिन्न खालका पर्यटन प्रबद्रन गर्ने उदेश्यले क्यानडामा आयोजना भएको सन २०१६ जुन ११ मा झन्डै विश्व भरबाट ७ हजार भन्दा बढी मनिसहरूको सहभागिता रहने ’ब्राम्टन डे’ मा नेपालले पहिलो पल्ट आफ्नो सहभागिता जनाएको थियो । बिभिन्न खालका नेपाली कला धर्मसंस्कृति र रहनसहन झल्किने परिवेशको साथ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । उक्त कार्यक्रममा सहभागिता भए बापत नेपालको लागि मायाको चिनो प्रदान गरिएको थियो । उनले दाङगको तुलसिपुर नगरपालिका र क्यानडाको ब्राम्टन नगरपालिकालाई मित्र नगरपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको र केहि समय पछि ब्राम्टन नगर प्रमुखको टोलि उक्त कार्यक्रमको लागि नेपाल आउने समेत कार्यक्रम रहेको बताए । पर्यटन प्रबद्धनको लागि विद्यार्थी प्याकेज समेतको तयारी भैरहेको जानकारी समेत दिए । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिसद् क्यानडाले भुकम्प पिडित बालबालिकाको सहयोगार्थ क्यानडाबाट एनबी टन्डनको पहलमा स्कुलका किताबहरू पिसफर पिपुलकी डाईरेक्टर पुनम खड्कीलाई गत शक्ररबार काठमान्डौमा बितरण गर्नुका साथै टन्डनले व्यक्तिगत रूपमा नगद १० हजार रुपैयाँसमेत आर्थिस सहयोग गरेका छन् ।
चन्द्रागिरि केवलकारको परिक्षण सञ्चालन, एक जनाको ७०० रुपैयाँ
काठमाडौ । चन्द्रागिरि हिल्स प्रालिले थानकोटमा निर्माण गरेको केवलकार आज परीक्षणका रुपमा सञ्चालन भएको छ । त्यस क्षेत्रका स्थानीयवासी तथा त्यहाँ आउने आगन्तुकलाई आज निःशुल्क केवलकार चढ्नका लागि सुविधा उपलब्ध गराइएको थियो । थानकोटबाट चन्द्रागिरि पहाडसम्मको दूरी रहेको केवलकार चढ्नका लागि त्यस क्षेत्रमा अहिले ठूलो भीड लागेको छ । एउटा कारमा आठ जना सवार हुन सक्ने व्यवस्था मिलाइएको छ । उक्त दूरी जान र आउनका लागि प्रतिव्यक्ति ७०० रुपैयाँ मूल्य तय गरिएको छ । त्यसका लागि दूरी जान १४ मिनेट लाग्छ । आज निःशुल्क चढ्न पाइने आशामा सर्वसाधारणको घुइँचो लागेको छ । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । देशका ख्याति प्राप्त विभिन्न उद्यमीको संलग्नतामा करिब दुई वर्षदेखि निर्माण गर्न लागिएको केवलकार निर्माणको प्रक्रिया केही हप्ता अगाडि सकिएको थियो । कम्पनीका महाप्रबन्धक अभिषेक शाहले स्थानीयवासीलाई सेवा तथा सुविधा उपलब्ध गराउनका लागि आज केवरकारको सञ्चालन निःशुल्क गरिएको भए पनि स्थानीय क्षेत्रभन्दा बाहिरबाट आउनेको भीड व्यवस्थापन गर्न कठिन भएको जानकारी दिए । राजनीतिज्ञ देवेन्द्र प्रधानले उक्त स्थानमा स्थापना भएको केवलकारले त्यहाँको विकास निर्माणमा समेत सहयोग पुग्ने र पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्दै संस्थाले स्थानीयवासीलाई सक्दो सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
२०१६ को घुम्नैपर्ने उत्कृष्ट १० देशमा नेपाल पहिलो स्थानमा, भूकम्पपछि पर्यटन अागमनमा बृद्धि
काठमाडौं २४ असार। अनलाईन मार्फत पर्यटन सम्वन्धि सूचना तथा जानकारी दिने बेलायतको ‘रफ गाइड्स’ले तयार पारेको विश्वमा घुम्नैपर्ने १० देशको सूचिमा नेपाल पहिलो स्थानमा परेको छ। लन्डनमा कार्यालय रहेको ‘रफ गाइड्स’ ले ३४ वर्षदेखि विश्वभरका पर्यटकका लागि ‘गाइड बुक’ तयार पार्ने काम गर्दै आएको छ । सन् २०१६ का लागि रफ गाइड्सले तयार पारेको उत्कृष्ट घुम्नुपर्ने देशको सूचीमा दक्षिण एसियाबाट नेपाल र श्रीलंका परेका छन् । श्रीलंकाले उत्कृष्टको १० औं स्थान ओगटेको छ । त्यसैगरी दोस्रो स्थानमा कोलम्बिया, तेस्रोमा क्युबा, चौथोमा जोर्डन र पाँचौं स्थानमा अल्बानिया परेका छन् । त्यस्तै, छैठौं स्थानमा रोमानिया, सातौंमा एल साल्भाडोर, आठौंमा वेल्स, नवौंमा केन्या र दसौंमा श्रीलंका परेको छ। ‘भूकम्पले थलिएपनि नेपालको पर्यटन उद्योग फेरि उदाएको छ’ रफ गाइड्सले भनेको छ ‘हजारौं मान्छे घरबारविहीन भए र दैनिक जीवन पूर्ण रूपमा सामान्य अवस्थामा फर्किसकेको पनि छैन।’ यहाँको ऐतिहासिक सम्पदास्थल विस्तारै पुनर्निर्माण हुँदैछन्। पदयात्रा मार्गहरू पुनः खुला भइरहेका छन्। रफ गाइड्सले भनेको छ ‘नम्र तथा मृदुभाषी नेपाली विस्तारै सामान्य अवस्थामा फर्किन थालेका छन्।’ पर्यटकले खर्च गर्ने डलर स्वतन्त्र होमस्टेमा मात्र नभई स्थानीय तहमै खर्च हुने र त्यसको लाभ सबैले पाउने नेपालका टुर तथा ट्राभल कम्पनीले आश्वस्त पार्दै आएको रफ गाइड्सको भनाइ छ । ‘विश्वको सर्वोच्च शिखर सगरमाथादेखि बाघ, हात्ती र गैंडाको बासस्थान समथर तराईसम्मका विविध भौगोलिक परिदृश्यबाट पर्यटक नलोभिने प्रश्नै आउँदैन’ रफ गाइड्सले भनेको छ ‘त्यसकारण सन् २०१६ मा घुम्न जाँदै हुनुहुन्छ भने नेपाल तपाईंको पहिलो छनोट हुनैपर्छ।’